अन्य

'दिल्लीमा बलात्कृत महिलालाई न्याय देऊ'

काठमाडौं- एमनेस्टी इन्टरनेसनलले साउदी अरबका कूटनीतिज्ञद्वारा बलात्कृत नेपाली महिलालाई न्याय दिलाउन र पुनःस्थापना गर्न भारत र साउदी अरब सरकारलाई संयुक्त रूपमा आग्रह गरेको छ। भारतस्थित एमनेस्टी इन्टरनेसनलको कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै पीडित दुई नेपाली महिलालाई न्याय गर्न आग्रह गरेको हो।गत सेप्टेम्बर ९ मा हरियाणा प्रहरीले भारतमा कार्यरत साउदी कूटनीतिज्ञको गुणगाउँस्थित अपार्टमेन्टमा छापा मार्दा दुई नेपाली महिला भेटिएका थिए। कूटनीतिज्ञको अपार्टमेन्टमा घरेलु कामदारका रूपमा कार्यरत उनीहरूले प्रहरीलाई साउदी कूटनीटिज्ञ र अन्यले आफूहरूलाई बारम्बार बलात्कार गरेको बताएका थिए।

नयाँ दिल्लीस्थित साउदी अरेबियाको दूतावासले नेपाली महिलाले लगाएको आरोप अस्वीकार गर्दै आएको छ। भारतीय प्रहरीले कूटनीतिज्ञको निवासमा छापा मार्नुलाई 'डिप्लोमेटिक कन्भेन्सन्स' उल्लंघन भएको समेत दूतावासले बताएको छ। भारतीय विदेशमन्त्री सुषमा स्वराजले भियना कन्भेन्सनले गर्दा बलात्कारको आरोप लागेका साउदी कूटनीतिज्ञमाथि कारबाही गर्न नमिल्ने बताउँदै आएकी छन्। हरियाणा प्रहरीले नाम नखुलाइएका ६ जनामाथि आपराधिक मुद्दा दर्ता गरे भए पनि अदालत पुर्यााउन सकेको छैन।

'कूटनीतिक उन्मुक्तिले मानवअधिकार हनन गर्ने छुट दिँदैन,' एमनेस्टीको विज्ञप्तिमा उल्लेख छ, 'भारतको सम्बन्धित निकायले घटनाका आरोपितमाथि गम्भीर अनुसन्धान गरी मुद्दा अघि बढाउन जरुरी छ। आवश्यक परे आरोपितलाई सुपर्दगीसमेत गर्नुपर्छ।'

दुवै पीडित महिला अहिले काठमाडौंमा छन्। उनीहरूलाई मनोवैज्ञानिक परामर्श दिइँदैछ। पीडित महिलाले न्यायको माग गरिरहेको जनाउँदै एमनेस्टीले उनीहरूलाई जतिसक्दो छिटो न्याय दिलाउनुपर्ने जनाएको छ।

प्रकाशित: ३ मंसिर २०७२ २०:०५ बिहीबार