उनका दर्जनौं कृतिमा अति कम चर्चा हुने तर दार्शनिक, वैचारिक शक्ति र सौन्दर्यको सबैभन्दा ज्वलन्त कृति हो 'प्रमिथस'। नेपाली साहित्यमा हालसम्मकै साहित्यिक मूल्यका दृष्टिले र क्रान्तिकारी मूल्यका दृष्टिले रचिएको 'प्रमिथस'जस्तो सशक्त र सचेत महाकाव्य अर्को छैन। देवकोटा नेपाली साहित्यका सबैभन्दा गतिशील, तरल, झञ्झावात र तुफानी सर्वोच्च प्रतिभा हुन्। उनको यस्तो प्रतिभा साहित्यका प्रायः सबै विधामा उत्तिकै खरो रूपमा प्रस्तुत भएको छ। उनलाई नेपाली साहित्यका अतिरिक्त तत्कालीन हिन्दी साहित्यका विशिष्ट कवि विद्वान्हरूले उत्तिकै आदर गरेका छन्। नेपाली, संस्कृत र अंग्रेजी तीनै साहित्यमा महाकाव्यजस्तो जटिल र गरिमामय बृहत् विधामा हात हाल्न सक्ने अर्को प्रतिभा अहिलेसम्म नेपाली साहित्यमा उदाएको छैन।
उनले संस्कृतका सिकन्दर महाकाव्य लेखे, अंग्रेजीमा शकुन्तला महाकाव्य लेखे भने नेपालीमा त आधा दर्जन महाकाव्य नै लेखे। त्यसैले होला विद्वान्हरू उनलाई 'न भूतो न भविष्यति' प्रतिभाका रूपमा मान्छन्। विद्वान्हरू त के पनि भन्छन् भने त्यो समयमा यस उपमहाद्वीपमा देवकोटा जति प्रतिभावान्, सिंगो प्राच्य र पाश्चात्य साहित्य, कला र दर्शन पढेका विद्वान् अरू कमै थिए।
'प्रमिथस'को विद्रोह मानवतावादका निम्ति
देवकोटाद्वारा जीवनको उत्तरार्द्धबाट लेख्न सुरु गरिएको तर निकै लामो समयपछि मात्र आंशिक रूपमा पूरा भएको 'प्रमिथस' उत्कृष्ट गद्य महाकाव्य हो। प्राच्य–पाश्चात्य दुवै महाकाव्यीय मान्यतालाई आंशिक रूपमा अनुसरण गर्दै यो महाकाव्य रचिएको हो। यसको कथानक संरचनात्मक पक्षको तुलनामा केही शिथिल छ। ग्रिसेली पुराकथामा आधारित विषयवस्तु समेटिएर कथा, उपकथा बुन्दै तत्कालीन नेपालको २००७ सालतिरको क्रान्तिचेत र विद्रोही जनलहडलाई यस महाकाव्यले सम्बोधन गरेको देखिन्छ। 'प्रमिथस' पात्रको केन्द्रीयतामा रचिएको हुनाले चरित्रप्रधान महाकाव्य हो। देवकोटाका अन्य पूर्ववर्ती महाकाव्यको तुलनामा यस महाकाव्यको वैचारिक पक्ष अत्यन्त सबल र सुदृढ छ। उनले भावको डुंगालाई कतै पनि हल्लाएका छैनन्, चिप्ल्याएका छैनन् र डुबाएका पनि छैनन्; सफलतापूर्वक अगाडि बढाएका छन्। एघार सर्गमा संरचित महाकाव्य ठिक्क आयामको सन्तुलित महाकाव्य बनेको छ। प्राच्य महाकाव्यीय मान्यताका आधारमा हेर्दा यो महाकाव्यले आधारभूत महाकाव्यीय मान्यतालाई अनुसरण गरेको छ।
स्वर्गका देवराज जिउसको अन्यायी र अत्याचारी प्रवृत्तिका विरुद्धमा र मानवहरूका पक्षमा आफ्ना आत्मबलिदानी दिने 'प्रमिथस' एक महामानव हो। विश्वमानव सभ्यताको एक आग्नेय ज्योतिपुञ्ज हो। महाकाव्यभरि नै स्वर्गीय सत्ताविरुद्ध उत्रिएको विद्रोही प्रचण्ड चरित्र प्रमिथस जताततै मानवोत्थान र हितमै तल्लीन देखिन्छ। निःस्वार्थ परसेवामा लाग्ने सधैं सम्पुजित हुन्छ भन्ने शाश्वत सन्देश पनि प्रमिथसले देखाएको छ। यसरी हेर्दा भर्खरै विकसित हुन लागेको मानवमा ज्ञान, विवेक र चेतना सम्प्रसार गर्दै आफ्नो हक र हितका निम्ति प्रमिथस विद्रोहमा उत्रनुपर्ने खरो आह्वान गर्दछ। मानवताकै निम्ति विद्रोह गर्नु र मानवता रक्षाका निम्ति आवश्यक परे बलिदानी गर्नु प्रमिथसको उदात्त चरित्र चेतना हो। यस्ता प्रमिथस मानवसभ्यताका विकासमा धेरैपटक धर्तीमा विभिन्न रूपमा अवतरण गरेका छन्। त्यस्तो महावीर तत्कालीन समयका पथप्रदर्शक हुन् र समयका सारथि पनि। निर्भीकता र निडरताका पर्याय हुन्। नेपालको तत्कालीन (२००७ अघि/पछि) को राजनीतिक कालखण्डमा आफ्नो प्राणोत्सर्ग गर्ने हाम्रा महान् सहिदको आत्मबलिदानीको प्रशंसा र समर्पणको श्रद्धा गायन हो, प्रमिथस। समयको प्रवाहमा गतिशील हुनु अन्याय र अत्याचारका विरुद्धमा 'कुइरोको काग होइन रश्मिपुञ्ज बन्नु' यो महाकाव्यको सशक्त वैचारिक पक्ष हो। त्यसका निम्ति जस्तोसुकै बलिदानी गर्न पनि तयार हुनुपर्दछ भन्ने शाश्वत सन्देश यस महाकाव्यमा अभिव्यञ्जित भएको छ। यही मानवतावादी स्वतन्त्रताप्रेमी र विश्वबन्धुत्वका निम्ति आवश्यक परे विद्रोहमा समेत उत्रनु पर्ने देवकोटेली दर्शनको अभिलक्षण हो। यसमा अभिव्यञ्जित विद्रोही मानवतावादी सञ्चेतना यस महाकाव्यको सशक्त वैचारिक जीवनदर्शन हो।
महाकाव्यको प्रमुख पात्र प्रमिथसले देखाएको विद्रोह र गरेको बलिदानी मानवतावाद र मानवसभ्यताको उत्थानका निम्ति हो। महाकाव्यका विभिन्न विशेषतामध्ये मानवताप्रेमी टाइटान देव प्रमिथसले मानवजाति र मानवसभ्यताको विकासका लागि दानवी प्रवृत्ति भएका स्वर्गाधिराज जिउस र स्वर्गको विरुद्ध गरेको विद्रोह नै प्रबल रूपमा आएको छ। महाकाव्यको पहिलो सर्ग पश्चिमी शारदादेवीको वन्दनामा केन्द्रित छ भने दोस्रो सर्गदेखि अन्तिम सर्गसम्म विद्रोही चेतना सशक्त ढंगले मुखरित भएको छ। मुख्य रूपमा विद्रोहको नायकका रूपमा प्रमिथसको भूमिका उल्लेखनीय भए पनि जिया र रियाको विद्रोही चेतना, त्यही चेतनाबाट उत्प्रेरित हुँदै उनका सन्तानले आफ्ना पिताका विरुद्ध गरेको संघर्षले महाकाव्यको विद्रोही भावलाई कुनै न कुनै रूपमा प्रदिप्त तुल्याएको छ। स्वर्गमण्डलका सुरदेव यूरानसले आज्ञा नमानेका कारण आफ्ना अति बलवान् सन्तानहरूलाई अन्धकारमय पातालको खाडीमा कैद गरेपछि वीरजननी जियाले फेरि तेह्र जना महावीर टाइटानलाई जन्म दिएर क्रूर स्वेच्छाचारी यूरानसविरुद्ध संघर्ष गर्न आफ्ना सन्तानलाई प्रशिक्षित गर्दछिन्। सबैभन्दा कान्छो टाइटान क्रोनोसले आफ्ना दाजु र दिदीहरूलाई संगठित बनाएर आमाको सल्लाहअनुसार पिता यूरानसका विरुद्ध युद्ध गर्दछन्। त्यस युद्धमा अति बलवान् भए पनि संगठित शक्तिका सामु सुरदेव यूरानसका विरुद्ध उनका आफ्नै सन्तानले विद्रोह गरेका छन् र बाबुको अत्याचारबाट मुक्ति पाएका छन्।
यूरानको अन्त्यपछि स्वर्गको गद्दीमा आसीन क्रोनोस आफ्नो पिताको हत्या भएको समयमा सुनेको अद्भुत र भयंकर भविष्यवाणीबाट त्रसित हुन्छन् र आफ्नो शक्ति–सत्ताको रक्षार्थ रियाले सन्तान जन्माउनेबित्तिकै कंशले झैं खान थाल्छन्। आफ्ना पतिको यस्तो राक्षसी स्वभावले गर्दा मातृहृदयी रियामा क्रोनोसप्रति अति घृणा र विद्रोहको भावना जागृत हुन्छ। क्रोनोसको दानवीय स्वेच्छाचारी एवं पाशविक व्यवहारबाट उन्मुक्ति पाउन उनले कान्छो सन्तान जिउसलाई होसियारीपूर्वक बचाएर राख्छिन्। जिउस हुर्केर ठूलो भएपछि रियाले उनलाई बाबुले आफूहरूमाथि गरेको अन्याय र अत्याचारबारे बोध गराउँछिन् र त्यस्ता तानाशाही क्रूर शासक पिता भए पनि उनीसँग संग्राम गरेर अन्याय र अत्याचारबाट मुक्त हुनु नै पहिलो कर्तव्य भएको कुरा सुझाउँछिन्। रियाले जिउसलाई बाबुको विरुद्ध युद्ध गरेर स्वर्गमण्डलमा न्याय, समानता र सुशासन कायम गर्न निर्देशित गर्छिन्। आफ्नो आमाको विद्रोही चेतनाको रापले दीक्षित भएका जिउसले अन्य टाइटानको सहयोगमा मुख्यतः स्वतन्त्रताप्रेमी ओजश्री टाइटानदेव प्रमिथसको सल्लाह र सक्रिय सहयोगले पिता क्रोनोससँग भीषण युद्ध लड्छन् र अन्त्यमा स्वर्गमण्डलको स्वर्गाधिपति बन्दछन्। पिताको अन्याय, अत्याचार र स्वेच्छाचारिताविरुद्ध युद्ध गरेर दाजुहरूलाई पातालबाट मुक्त गराउन सफल भएका क्रोनोसले पनि आफ्नो सत्ता बचाउनका लागि मनोवैज्ञानिक डरले सशंकित भएर सन्तानमाथि राक्षसी व्यवहार देखाएका कारण उनको विरुद्ध पनि विद्रोह भयो र अन्ततः उनको पनि नाश भयो।
क्रोनोसको पतनपछि सत्तासीन भएका जिउसमा केही सकारात्मक र केही मानवीय चरित्रको विकास भएको देखिन्छ र उनको व्यवहार पनि क्रमशः परिवर्तित हुन्छ। तर आफू र बाबु क्रोनोसको बीचमा युद्ध भइरहेको समयमा पृथ्वीमा देखापरेका अति अविकसित, तुच्छ र कुरूपजस्ता देखिने अनौठा मानवजातिप्रति उनका घृणा उपहास र शंकाको भाव उत्पन्न हुन्छ। ती जीवलाई समूल नष्ट गर्ने र आफ्नो अनुकूल जीव धर्तीमा सृष्टि गराउने सामर्थ्यको विकास गर्न चाहन्छन् र तर अन्याय अत्याचार र कुशासनका विरुद्ध जस्तोसुकै जातिलाई पनि सहयोग गर्न तत्पर हुने प्रमिथस जिउसको यो क्रूर निर्णयविरुद्ध समस्त मानवजातिलाई आन्दोलित गराउन चाहन्छन्। त्यस आन्दोलनको नेतृत्व आफैं लिन्छन्। प्रमिथस आफू स्वर्गका अधिकारी भए पनि स्वर्गाधिराजको दानवीय निर्णयको विरुद्धमा सशक्त रूपले प्रस्तुत हुन्छन्। अति अविकसित र आफ्नै अज्ञानताका कारण असभ्य, कुरूप एवं घिनलाग्दा मानिएका मानवजातिलाई विकसित र सभ्य तुल्याउन स्वर्गबाट आगो चोरेर ल्याउने अत्यन्त कठिन र जोखिमयुक्त काम गर्न पनि हिचकिचाउँदैनन्। स्वेच्छाचारी देवराज जिउसको दानवीय आकांक्षाविरुद्ध उनी धर्तीमा झरेर आगोको उज्यालोले मानवजातिलाई उनीहरूको स्वजातिको अस्तित्व रक्षार्थ जागरुक बनाउने काम गर्दछन्। प्रमिथसले स्वर्गबाट चोरेर ल्याएको आगोको माध्यमबाट मानवजातिले आशातीत प्रगति गर्दै अघि बढ्छन् र आफ्नो अस्तित्व नाश गर्न खोज्ने जिउसका विरुद्ध जस्तोसुकै कठिन संघर्ष गर्न पनि तत्पर हुने आत्मबलको विकास गर्दछन्।
प्रमिथस दयनीय अवस्थाबाट गुजि्रएका निरीह मानवजातिको रक्षार्थ र अरूको अस्तित्वलाई नामेट गर्न तल्लीन निरंकुश जिउसविरुद्ध सशक्त ढंगले अगाडि बढ्दछन्। क्रोनोस र जिसउले आफ्ना बाबुहरूको अन्याय र अत्याचारविरुद्ध युद्ध गरेका थिए, जसको उद्देश्य मुक्तिप्राप्तिका साथै स्वर्गको बागडोर सम्हाल्ने व्यक्तिगत महत्वाकांक्षा पनि थियो। त्यही सत्ताको महत्वाकांक्षा र सत्तालोलुप्ताले गर्दा क्रोधान्ध भएर उनीहरूले आफ्नो बाबुले जस्तै दमन र निरंकुशतालाई सहारा बनाउन पुग्छन्। अशक्त उनीहरूले बाबुहरूविरुद्ध गरेको विद्रोह मुक्तिप्रतिको आकांक्षा भए पनि सारमा एउटा निरंकुश शासनको ठाउँमा अर्को निरंकुशताको पुनरावृत्ति भएको तथ्य पुष्टि हुन्छ। यसको विपरीत प्रमिथस भने दुर्बल र सहाराविहीनहरूको बलियो सहारा बन्दै दैवी सर्वसत्तावादी चिन्तनविरुद्ध जीवनपर्यन्त संघर्ष गरिरहन्छन्। जिउसको आज्ञाअनुसार कठोर हृदय भएका क्राटोसले प्रमिथसलाई ककेसस पर्वतमालको मध्यभागमा फलामको जञ्जिरले बाँधेर फलामको किला ठोक्दछन्।
जस्तोसुकै चरम यातना पाउँदा पनि बागी स्वभाव भएका निर्भीक प्रमिथस असह्य पीडा सहन तयार हुन्छन् तर क्रूर जिउससामु आत्मसमर्पण गर्न अस्वीकार गर्दछन्। केवल मानवजातिको अस्तित्व रक्षा र मानवसभ्यताको विकासका लागि उनी असीम यातनासँग संघर्ष गरेर दुःखलाई पनि पराजित गर्न सक्ने कठोर योद्धाका रूपमा उभिन्छन्।
मस्तिष्क नै सर्वोच्च शक्ति हो, विचार देवता हो र शरीरचाहिँ राकस वा राक्षस तथा विश्वको अकन्टक राज बैद्धिक शक्तिले नै गर्नेछु (देवकोटा, प्रमिथस महाकाव्य) भन्ने मान्यता राख्ने मानवताप्रेमी तथा स्वतन्त्रताका पुजारी प्रमिथसले आफ्ना सम्पूर्ण वैयक्तिक इच्छाकांक्षालाई तिलाञ्जली दिएर सम्पूर्ण मानवजातिको मुक्ति र अभ्युदयका लागि सम्पूर्णतः समर्पित गर्दछन्। उनको यस्तो उच्च आदर्श र बलिदानी समस्त स्वतन्त्रताप्रेमी मानवजातिका लागि उत्प्रेरण र मार्गदर्शनका रूपमा रहेका छन्।
यसरी प्रमिथसले देखाएको विद्रोह समस्त मानवजातिको अभ्युत्थानका निम्ति, सभ्यताका निम्ति र विकासशीलताका निम्ति अत्यन्त महत्वपूर्ण ऐतिहासिक कदम हो। जसले मानवतावादलाई केन्द्रीयतामा राखेर मानवसभ्यतालाई द्रुततर गतिमा अगाडि बढाउँछ। यस्तो किसिमको सचेतना सम्पूर्ण परिवर्तनकामी मानवजातिमा आउनु आवश्यक देखिन्छ।
प्रमिथस मानवतावाद र विद्रोहको संवाहक हो। सबैको पथप्रदर्शक हो। निडरता र निर्भीकताको अतुलनीय पात्र हो। यसरी हेर्दा सिंगो प्रमिथस महाकाव्य विद्रोही मानवतावादी सञ्चेतनाले परिपूर्ण देखिन्छ। तर, हाम्रो विडम्बना के छ भने यस्ता विशिष्ट प्रतिभा जसले विश्वका आदर्शलाई विश्वभरि फैलाउने सामर्थ्य राख्छन्, त्यस्ता प्रतिभालाई विश्व साहित्यकाशमा पुर्यादएर चर्चाको पात्र बनाउन सकेका छैनौं। त्रिशूलीको बेगमा बग्ने देवकोटालाई हामीले अझै रानीपोखरीमा कैद गरेका छौं र लक्ष्मीपूजाका बेला यसो एकपटक दर्शन गरेका छौं। त्रिशूलीको त्यो बेगबाट बिजुली निकालेर संसार चम्काउनुपर्ने त्यो देवकोटेली शक्तिलाई रानीपोखरीमा जम्मा पारेर भ्यागुता र माछा पालेका छौं र वर्षको एकपटक ती माछा भ्यागुता गन्ने गर्छौं। हाम्रो नियति र नीति यस्तै छ।
प्रकाशित: २० कार्तिक २०७२ २२:४८ शुक्रबार