अन्य

गाडीमा बसेर मध्यराति भैँसेपाटी घुमेकी महिलाले बलात्कारको उजुरी गरेपछि...

ललितपुर— बिहान साढे तीन बजे महानगरिय प्रहरी प्रभाग पुल्चोकको टेलिफोन बज्न थाल्यो। सोमबार बिहान झिसमिसेमै प्रभाग इन्चार्ज प्रहरी निरिक्षक हर्क विश्वकर्मालाई ड्युटी अफिसरले सूचना दिए। एकजना महिलाले आफू अपहरणमा परेको र अपरहरणकारीले बलात्कार समेत गरेको र प्रहरी उद्दारका लागि टेलिफोन आएको बताए।

होटल हिमालयबाट एकजना महिलाले आत्तिएको श्वरमा गम्भीर अपराधको सुचना दिँदै उद्दारका लागि आग्रह गरेको सुचना पाएपछि निरिक्षक विश्वकर्माले तत्काल सिआरभी भ्यानलाई घटनास्थल तर्फ दौडाए। होटलको रिसेप्सनमा एकजना महिला मादक पर्दाथले लठ्ठिएको अवस्थामा प्रहरीलाई आफूलाई उद्दार गर्न आग्रह गरिरहेकी थिइन्।

प्रहरीसँग कुराकानी चल्दाचल्दै ती महिलाका आफन्त समेत होटलमा आइपुगे। महिला र उनका परिवारले आफूहरु कमाण्डरसँग कुरा गर्ने भन्दै त्यहाँ केही बताउन चाहेनन् । प्रहरीको सिआरभी भ्यानले उनीहरुलाई महानगरिय प्रहरी परिसर जावलाखेल पु¥यायो।

'हामीसँग कुरा नगर्ने कमाण्डरसँग घटनाको जानकारी दिने भनेपछि परिसर लगेका हौ', विश्वकर्माले भने।

मदिरापान, गाडीमा सयर र होटलको बास

भैसेपाटीमा रहेको होटल तिरुपतीमा आइतबार राती जग्गा व्यवसायी भुषण थापा मदिरा पिउँदै थिए। उनकै नजिकको टेबलमा अनुपमा (नाम परिवर्तन) समेत मदिरा पिउँदै थिइन्। मध्य राती मदिराको मातले दुवैलाई झनै नजिक बनायो। केही बेरमै सँगै बसेर गफिँदै मदिरा पिउन थाले। होटल बन्द हुने भएपछि दुवैजना सँगै एकजना कुँवर थरका साथि कहाँ पुगे । त्यहाँ पनि मदिरा पिउने क्रम केही समय चल्यौ । रातको करिब सवा दुई बजे दुवैजना थापाको गाडीमा सँगै निस्किए।

'दुवैैजना मगरगाँउ र भैसेपाटीमा केही समय घुमेको महिलाले बयानमा भनेकी छन्, प्रहरी होटल हिमालयमा पुग्दा थापा हिँडिसकेका थिए', अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने।

परिसरमा अनुपमाले आफूलाई थापाले अपहरण गरी डर,धाक, धम्की दिएर बलात्कार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले कारवाही अगाडि बढाएको थियो। प्रहरीले फोन गरेपछि परिसर पुगेका थापा हाल हिरासतमा छन्। प्रहरीसँगको प्रारम्भिक बयानमा महिलाले दिएको बयानमा भनेजस्तै थापाले पनि आईतबार रातिदेखि बिहानसम्मको घटना सत्य भएपनि आफूले बलात्कार र अपहरण नगरेको बताएका छन्।

प्रहरीले तत्काल महिलालाई अस्पताल पठाएर गरेको स्वास्थ्य परिक्षणमा बलात्कार र जर्वजस्तीको कुनै संकेत नदेखिएको रिपोर्ट दिएको छ। महिला र उनका परिवार भने बलात्कार भएको दाबी सहित थप कारवाहीका लागि पहल गरिरहेका छन्।

परिसर प्रमुख एसएसपी पिताम्बर अधिकारीले घटनाका विषयमा अनुसन्धान भइ रहेको र निष्कर्षमा पुगिनसकेको बताए। 'उजुरी आएको छ, जर्वजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडी बढाएका छौ', अधिकारीले भने।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार दुवैैजनाले रातभरसँगै मदिरा सेवन गरेको र एउटै गाडीमा सँगै घुमेको तर अन्तमा महिलाले अपहरण र बलात्कारको उजुरी दिएपछि घटनासँग सम्बन्धीत एकएक तथ्यमा सुक्ष्म अनुसन्धान सुरु भएको बताए।

'मदिराले घटना हुन महत्वपूर्ण योगदान गरेको देखिन्छ, पुरुष सम्हालिन नसकेको अवस्था हुनसक्छ' ती अधिकारीले भने।

प्रकाशित: १८ कार्तिक २०७२ ०७:४२ बुधबार