जावलाखेल – टीकाभैरब
जावलाखेल, लगनखेल, महालक्ष्मी स्थान हुदै नख्खिपोटबाट दायाँ लागेर नख्खु फाँटको माझमा पुगियो । चारैतिर क्षितिजमा जोडीएका हरिया डाँडा । निलो आकासको गुम्मज मुन्तिर पहेंलपूर सुन जस्तै धानका बाला । बीचबाट बग्ने सफाखोला । अहा ! कति सुन्दर छ नख्खु फाँट । मन थामीएन । नख्खु खोला किनारै किनार पाउदान घुमाउने निधो ग¥्यौ । बगरमा फुलेका सेताम्ये काँस । साइकलेलाई देखेर होकी कालो र सोतो छिरबिरे रंगको धोबीनी चरी निक्कै उत्ताउलीई । फाराक र फुरुक गर्छे । पुच्छर तल माथि गर्दै एक ठाँउबाट अर्को ठाँउ भुरुर्र भुरुर्र उड्छे ।
नदि किनारमा तह, तह परेका स साना धानका खेत । खोला, झरना, चराचुरुङ्गीका चिरबिरे गाना सुन्दै । झरना, गल्छि छिचोल्दै टीभैरब पुगेको पत्तो पाइएन । सातदोबाटो, सुनाकोठी, ठेँचो, चापागाँउ हुदै पिच बाटो भएर पनि टिका भैरब पुगिन्छ । लगभग दुरी उस्तै छ । एकान्तकुना, सैंबु, छ्रयासीकोट, चुन् देबी हुदै पनि टिका भैरब पुग्न सकिन्छ । हाम्रो रोजाइ नख्खु खोला किनारै किनार । यो बाटो साइकल कुदाउन त बिछट्टै रमाइलो छ । ढुंगा, गिट्टि बोक्ने ट्रिपरले भने दिक्क लगाउछन् । करिब ११ कि.मी कच्ची बाटोको यात्रामा ।
घुमफिर गर्दाबिचित्रका कुरा देख्न पाइन्छ । खेतमा काम गर्दै गरेकाहरुलाई एक हुल बकुल्लाका बथान डर भरै नमानि घेरेर बसेका छन् । कति आत्मीय छ किसान र बकुल्लाको सम्बन्ध । मुलुक भित्र भने एक भेगको मान्छे देखि आर्को भेगको मान्छे शसंकीत छन् । यहाँ भने अचम्मै लाग्छ चरा र मान्छेको सम्बन्ध । हामीले पनि धेरै सिक्नु छ यिनिहरुबाट ।
टिका भैरब – तीनपाने
भट्टे डाँडाको फेदि, लेले र नल्लु खोला संगम बीचमा टिका भैरव मन्दिर । नल्लु खोला किनारको सानो बजार । बजारबाट उकालो लाग्नु पर्छ । चिया, पानी र थोरै खाजा खाएर यतै उर्जा भर्नु बेश । बजारबाट तीन तिर जाने बाटा छन् । पहिलो दायाँ तर्फको बाटो छम्पी हुदै बुङ्गमती । दोस्रो दायाँ तर्फको बाटो बुरुन्चुली देवीचौर । तीनपाने जान कान्तीराज पथ बायाँ तर्फ लाग्नुपर्छ । बाटो कच्ची भएकाले मूल बाटो भएर जाँदा धुलो धेरै उड्छ । करिब डेढ किमि पर दाँया तर्फ बाटो लाग्नु बेस । बास्तवमा दुवै बाटोको दुरी बराबरी जस्तै छ । लप्से, कोट डाँडागाँउ रमाइलो छ । लप्से कोट डाँडाको पश्चिम पट्टि खोल्चा पारी झुरप्प तामाङ्ग गाँउ बुरुन्चुली देखिन्छ । प्रकृती बडा गजब छ । ठाँउ बिशेष माटोको पनि छुट्टै बासना । ठाँउ अनुसार हावाको पनि छुट्टै सुवास । सिजन अनुसार प्रकृतीले पनि रंग फेर्छ । लप्सेमा एक महिना अघि मात्र गाढा हरीया लप्सीका रुखका पातमा विस्तारै पहेंलो रंग चढ्दो छ ।
चैतमा छरेको मकै भर्खरै पाक्दैछ । खेती किसानी गर्नेहरु मकै भित्राउदै बारीमा तोरी छर्दै छन् । अबको एक महिनामा तोरी फुल्छ होला । त्यो बखत त स्वर्गको टुक्रै खसेजस्तो देखिन्छ होला । कल्पनामा डुब्यौ हामी ।
टीका भैरबबाट तीनपाने ८ कि.मी । समुन्द्र सतहबाट १९३० मी. उचाइमा रहेको तीनपाने भञ्ज्याङ्गबाट हिमाल देखिन्छ । बिस्तारै उकालो चढ्दा करिब ८ कि.मी दूरी डेढ घण्टामा तय हुन्छ । तिनपानेबाट कान्तिराजपथ हुदै मकवानपुर गढी, हेटौंडा पुगिन्छ । २०११ सालमै खुलेको यो बाटो निर्माण कार्य चिप्लेकिराको गतिमा छ । पुरा हुन सकेको छैन । बायाँ(पूर्व) तर्फ लागे दलचोकी, मनकामना हुदै लेले जान सकिन्छ । दायाँ(पश्चिम) तर्फ लागे भट्टे डाँडा टावर । तीनपाने भञ्ज्याङ्गमा चिया पसल छन् । मन र तिलक भोम्जनको पसलमा अण्डा, चनाको तरकारी, चिउरा, सेल पाइन्छ । उकालो लागे पछि बाटोमा बस्ती भेटिदैन ।
तिनपाने भञ्ज्याङ – देवी चौर
हाम्रो रोजाइ भट्टेडाँडा, देबीचौर देउराली । पश्चिम तर्फ उकालो लागीयो । हल्का चुनौती पूर्ण ३ किमि उकालो कच्ची बाटो पार गरेर टावरमा पुगिन्छ । चुनौतीको सामना गर्न हिच्किचाउनु हुदैन । जति सामना ग¥यो उत्तीकै क्षमता बढ्छ । क्षमता विकासले अवसरका ढोका खोल्छन् ।
बाटाका छेउ छाउमा लटरम्म हाडे ओखर, कटुस फलेको देखिन्छ । स्थानीय भेटिए । जंगलबाट ओखर जोहो गर्दै गरेका । आम्दानीको पैसा तिारमा खर्च गर्ने बताए । कति स्वावलम्बी विचार ।
उकालिदै जाँदा अघि हिडेका बाटाका धर्सा प्रष्ट देखिए । भिउँट आकारको उपत्यका भित्रका गज्याङमज्याङ पनि प्रष्ट देखियो । अझै सुन्दरै छ कान्तिपूर । अघि टिका भैरब बाट देखिएको भिमकाय भट्टे डाँडाको टुप्पोमा उभिए पछि हामी दुई साइकले भट्टेडाँडा भन्दा अग्ला भयौं । करिब २,२५० मी. उचाई । भट्टेडाँडामा साइकलका पाङ्ग्रा टेकाउने सपना पूरा भएकाले दिपकजीको अनुहार खुसीले धपक्क भयो । लामो समय देखिको तृष्णा मेटियो । पालै पालो फोटो खिच्यौं ।
देबीचौर – डुकु छाप– बुङमती
टावर नपुग्दै पश्चिम तर्फ लाग्ने बाटो आउछ । जंगलको बाटो तीन कि.मी पार गरे पछि देबीचौर देउराली पुगिन्छ । हिमाल खुलेको बेला उत्तर तिरको चाँदिका पर्खाल हेरेर कहिल्यै धीत मर्दैन । सल्लाको रुखले भरिएको रमाईलो जंगल कटेपछि बाटो मुन्तिर एउटा घर छराम बहादुर थिङ्गको । फुर्सदले अर्डर गरेर स्थानीय खाना(भात, ढिंडो, समय अनुसारको तरकारी, लोकल कुखुरा) खान पाइन्छ । आफैले माछा, मासु लगे पनि पकाइ दिन झन्झट मान्दैनन् ।
अलि अगाडिश्री दुधेश्वरी दुर्गा प्राथमिक विद्यालय पुगिन्छ । बाटोको दायाँ (उत्तर) तर्फ लागे बुरुन्चुली हुदै टिका भैरब निस्कन्छ । पश्चिम तर्फकै बाटोलाई निरन्तरता दिए जौबारी पुगिन्छ । जौबारी निक्कै रमाइलो छ । दुई डाँडाका खाेंचमा बगेको बाग्मती । पारी पट्टि छैमले, दक्षिणकाली, फर्पिङ्ग लगायत ठाँउ असाध्य रमाइलो । जौबारीबाटदायाँ (उत्तर) तर्फ लागेसलिम, ब्यासी हात्ती गौंडा, डुकु छाप हुदै फर्सी डोल निस्कन सकिन्छ । डुकु छापको दनुवार बस्ती बाक्लै छ । जौबारीबाट यहाँ सम्म दुरी करीब १०कि.मी. छ । डाँडाका फेदकाफाँटलाई चिरेर नागबेली आकारमा बगेकी बाग्मती यहाँबाट हेर्न पाइन्छ । यस्तो प्राकृतीक छटा हेर्दै ओह्रालो लाग्दा स्वर्गानुभूती नै हुन्छ ।
फर्सी डोलको फराकीलो फाँटबाट हल्का उकालो लागे पछि बुङ्गमती पुगिन्छ । फर्सी डोलबाट बुङ्गमती, नख्खु खोला, एकान्तकुना हुदै जावलाखेलसम्म पुग्दा करिब १० कि.मी बाटो तय हुन्छ । यसरी जावलाखेल बाट टिका भैरब, तिनपाने भञ्ज्याङ्ग, भट्टे डाँडा, देबीचौर देउराली, जौबारी, डुकुछाप, फर्सी डोल, बुङ्गमती हुदै पुनः जावलाखेल आइपुग्दा करिव दुई बीस आधा जति बाटो तय हुन्छ ।
शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जले साइकललाई हेलिकप्टर पछिको दोस्रो विलासी सवारी साधन देखेको छ । साइकल प्रति उत्साहित अधिकांश युवाहरुलाई शिवपूरी उक्लन चर्को मुल्य तिर्नु पर्ने भएकाले खल्लो बनाएको छ । कस्तो विडम्वना ! काठमाडौंका सभासद्ले शुल्क यथासिघ्र घटाउन पहल गर्ने बचन दिए । तर अझै हुन सकेन । त्यसको विकल्पमा यो रुट उपयोगी हुन सक्छ ।
बाह््य पर्यटकका लागि एकतर्फी डाउन हिल गर्ने वा एक फन्को परिक्रमा गर्ने साइकल मार्गका रुपमा विकास गर्न सकिन्छ । सामान्य पूर्वाधार बिकास गरेर यो रुटको बजारीकरण गर्न जरुरी छ ।
अन्तमा
साइकलनै ठीक । तेलको चिन्तै छैन । बाजे पुस्ताका भन्छन् 'हामीले त हिंडेरै निर्वाह गरेका हौ । सवेरै टुंडिखेलमा कवाज खेल्न पुगिन्थ्यो ।' बाउ पुस्ताका भन्छन् 'हामीले साइकलै चढेर जागिर भ्याएका थियौं । आजकलका केटाकेटीका बानी बिग्रीयो । साग किन्न जानपनि मोटर साइकल चाहिने भैसक्यो । अति नै परनिर्भर भए ।'
साइकल यात्रामा यस्ता अनेक टिप्पणी सुनिन्छ । गाडिबाट गन्तव्य जान पर्खाइमै व्यस्त जमात सडक किनारबाट साइकले लाई हेर्छन् । भन्दा हुन्, जमाना त साइकलकै ठीक ।
बाग्मती अञ्चलमा मात्रै सवा आठ लाख भन्दा बढि निजि सवारी साधन दर्ता छन् । जसमध्ये ६ लाख ५० हजार भन्दा बढि त मोटर साइकल र स्कुटर नै । काठमाडौंमा सामान्य दिन दैनिक ३ लाख ५० हजार लिटर पेट्रोल खर्च हुन्छ ।
५० बर्ष भन्दा कम अवधिमा तीन पटक भारतको नाकाबन्दिको सामना गर्नु परिसक्यो । परनिर्भरताले निम्त्याएको दुर्गतीको पराकाष्ट भोग्नु प¥्यो । शहरी बिकास योजनामा साइकल मैत्री सडक कहिल्यौ प्राथमिकतामा परेन । साइकलप्रति युवा जमातको आकर्षण बढ्दो छ । तर सडकमा साइकल यात्रा गर्नु निक्कै जोखिम पूर्ण छ ।
नाकाबन्दि आत्म निर्भर हुनु पर्छ भन्ने पाठ सिकाएको छ । कठीन परिस्थितीमा पनि जीवन सहज बनाउन सबैभन्दा सुलभ, भरपर्दो, एकमात्र बैकल्पिक सवारी साधन साइकल मात्रै हो । त्यसैले साइकलमैत्री शहर निर्माणमा जुटौं ।
प्रकाशित: १३ कार्तिक २०७२ २०:११ शुक्रबार