मजस्ता धेरै सनातनीहरूले आफ्ना वाहनलाई सम्झिने भनेको वर्षमा एक दिनको कर्मकाण्डबाट हो । भानुजयन्तीको एक दिन भानुभक्तलाई, लक्ष्मीजयन्तीको एक दिन लक्ष्मीप्रसाद देवकोटालाई, गुरुपूर्णिमाको एक दिन गुरुलाई, सहिद दिवसको एक दिन सहिदका लागि छुट्याएजसरी सवारी चालकहरू विजया दशमीअघिको महानवमीको एक दिन आफ्ना सवारीलाई छुट्याउछन् । पूजापाठको कर्मकाण्डपछि बलिमा दिइएको नरिवल, हाँस, कुखुरा वा बोका चपाउँछन् । तर, त्यस यान्त्रिक वाहनमा सवार हुनेहरू यन्त्रले उनीहरूको जीवनमा पु¥याएको महत्ताउपर कहिले मनन गर्दैनन् । नगरकोटी स्वयं त वाहन हाँक्दैनन् तर उनी सवारी यन्त्रको महत्ता प्रति कृतज्ञ देखिन्छन् । र, उनको यही कृतज्ञभावका कारण म वर्तमान किया र उसका पूर्ववर्ती सवारी यन्त्रहरूप्रति महानवमी अगावै एकमुष्ट कृतज्ञता जानउन गइरहेछु ।
जीवनको पूर्वाद्र्धमा मानिस चारखुट्टे, त्यसपछि दुईखुट्टे र उत्तराद्र्धमा तीनखुट्टे हुन्छ भनिन्छ । तर, मेरो सवारी यन्त्रसँगको साइनो दुईपांग्रे हुँदै चारपांग्रेमा पुगेको छ । दुई र चारबीचको तीनपांग्रे चलाउने संयोग मलाई जुरेन अथवा सवारीको मामिलामा मलाई डबल प्रमोसन मिलेछ भन्नुपर्ला । सायद रातो प्लेटको सवारी चलाउनु नियतिमा रहेकाले तीनपांग्रे चलाउन नजुरेको हुन सक्छ । रातोबाहेकका सरकारीको सेतो, सार्वजनिक संस्थाको पहँेलो, गैरसरकारी संस्था वा दाता निकायको निलो नम्बर प्लेट मेरो भाग्यमा परेको छैन । तर, मैले सुरु गरेको दुईपांग्रेको कथा नेपालको एकादेशको कथा राजतन्त्रसँग जोडिएको छ ।
नेपालको इतिहासमा राजदरबारले २०५२ सालमा पहिलोपटक पदपूर्तिका लागि गोरखापत्रमा सूचना निकालेको थियो । दलहरूबीचको सत्ताको छिनाझप्टी र माओवादीले हतियार नउठाएको त्यसबखत राजसंस्था विवादभन्दा पर र लोकप्रियताको शिखरमा थियो । मैले आधा लहड र आधा कौतुहलतावश नोकरीको लागि आवेदन दिएँ । लिखित र अन्तर्वार्ता हुँदै म नोकरीको लागि छानिएँ । कामको हिसाबले राजप्रासादको जागिर सहज भए तापनि त्यहाँ केही कुरामा लौह अनुशासन र औपचारिकता थियो । नियुक्त भएको पाँच वर्षसम्म जागिर छाड्न पाइँदैन थियो । दौरासुरुवाल कार्यालय प्रांगणभित्र प्रवेश गर्न अनिवार्य थियो । गधा पच्चिसीको उमेरमा दौरासुरुवालमा कस्सिएर कार्यालय लम्किनु लाजमर्दो हुन्थ्यो । आफ्नो निजी सवारी साधन नहुँदा कार्यालय समयमा नयाँ बानेश्वरदेखि रत्नपार्कसम्म बसमा कोचिएर र त्यहाँबाट मार्चपास गर्दै नारायणहिटीसम्म पुग्नु शारीरिकभन्दा पनि मानसिक सकसको काम हुन्थ्यो । जागिरका सुरुका दिनहरूमा एउटा झोलामा दौरासुरुवाल पोको पारेर पाइन्ट सर्टमा ठाँट्टिएरै सार्वजनिक बस चढेर रत्नपार्क हुँदै नागपोखरी पुग्थेँ । नारायणहिटी पूर्वको त्यस ठाउँमा मेरा विद्यालयकालीन मित्र प्रमेश श्रेष्ठको ट्राभल एजेन्सी थियो । जहाँ मैले पोसाक बदलीको तारतम्य मिलाएको हुन्थँे । त्यहाँबाट पाँच–सात मिनेटमा कार्यालय पुग्नु असजिलो थिएन । जागिरका प्रारम्भिक दिनहरू यसरी नै बितेका थिए । तर कार्यालय प्रवेशपूर्व र कार्यालय समयको समाप्तिपछि ट्राभल एजेन्सी पुग्नैपर्ने बाध्यता रहन्थ्यो । त्यसैले पोसाक बदलीको सनातन सास्तीबाट छुट्कारा पाउन एउटा मोटरसाइकल किन्ने निधो गरे । अनि केही दिनको अभ्यास र चालक अनुमतिपत्रको उपलब्धतापछि दौरासुरुवाल पहिरिँदै र अनुहारलाई हेल्मेटले लुकाउँदै घरबाट सिधै कार्यालय हुइँकिन थालेँ । उच्च शिक्षा अध्ययनका लागि संयुक्त अधिराज्य उड्नुअघिसम्म मेरो दुईपांग्रे यात्रा यसरी नै तीन वर्षसम्म निरन्तर रह्यो । लन्डन उड्नुसँगै दौरासुरुवाल र दुईपांग्रे स्वदेशमै छुटे ।
सम्वत् २०५७ मा काठमाडौं फर्किएपछि मेरो पहिरनले चोला फेरिसकेको थियो । मैले राजप्रासाद सेवालाई तिलाञ्जली दिँदै नेपाल पर्यटन बोर्डको जागिर सुरु गरे । अब दौरासुरुवालको सट्टा टाई र शुटमा ठाँट्टिएर कार्यालय जान थालेँ । नयाँ बानेश्वरदेखि भृकुटीमण्डपस्थित पर्यटन बोर्डको दुरी नारायणहिटीभन्दा लगभग आधा हुन्थ्यो । टाई कसेर बाटो हिँड्दा खिसिटिउरीको पात्र हुनु पर्देनथ्यो । म कार्यालय सार्वजनिक यातायात, साथीभाइको लिफ्ट र अभर परेका बखत ट्याक्सीमा पुग्थे । तर, कार्यालय समय सकिएपछि चाहिँ पैदलै घर फर्किन्थे । त्यसैले मलाई निजी साधनको उति दरकार पनि थिएन ।
पर्यटन बोर्डमा एउटा अजबको प्रचलन थियो । निजी सवारी हुनेहरूलाई इन्धनको कुपन दिने व्यवस्था रहे पनि पैदल वा सार्वजनिक सवारीमार्फत ओहोरदोहोर गर्नेलाई यातायात भत्ताको कुनै चाँजोपाँजो मिलाइएको थिएन । कर्पोरेट म्यानेजरको रहेकाले कुपनमा हस्ताक्षर गर्ने जिम्मेवारी मेरो हुन्थ्यो । अन्य सबै कर्मचारीका निम्ति कुपन वितरण गर्ने म स्वयंचाहिँ निजी सवारी नहुनाले इन्धनको लाभबाट वञ्चित थिएँ । यसरी महिना दिन बितेपछि कुनै सस्तो सेकेन्ड ह्याण्ड कार किन्ने निर्णयमा पुगँे । आफूले जोर–जुगाड गरेका केही पैसा र प्रतिमहिना आधा तलब काटिने गरी पेस्की लिएर अन्ततः एउटा सस्तो मारुती ८०० मोडलको कार खरिद गरेँ । जीवन अलि सुगम हुन थाल्यो ।
हालको हरियो कियाका विशिष्ट यात्रुहरूको फेहरिस्त मित्र कुमारले 'मिस्टिका'मा गरिसकेका छन् । तर, मेरो सेतो मारुती ८०० का यात्रुहरू अजबोगरिब हुन्थे । सेतो रङको भएकोले यसको नमुना आम ट्याक्सीहरूसँग हुबहु मिल्दथ्यो । ट्याक्सीको खोजमा अधैर्य बनेका मानिसहरू सेतो मारुती कार देख्नासाथ झुत्तिन्थे । तर, पछि त्यो निजी सवारी रहेको थाहा पाएपछि फर्केर हेर्दै आफ्नो आक्रोश पोख्थे । सडकमा छेउ लागेको अथवा चौबाटोको रातो बत्तीमा अडिएको बखत कतिपय मानिसहरू ह्वात्तै गाडीभित्रसम्म छिर्न पुग्थे र फलानो ठाउँ जाऊँ भन्दै आदेश फर्माउथे । जब आफू चढेको वाहन ट्याक्सी नभएर निजी कार रहेको हेक्का उनीहरूलाई हुन्थ्यो, ती अनिच्छुक यात्रुहरू केही विस्मित र धेरै क्षमाशील बन्थे । तर, यस्ता घटनाहरू झेल्दै आएकाले म उनीहरूलाई बाटो परेसम्म लिफ्ट दिँदै परिस्थितिलाई सहज बनाइदिन्थेँ ।
डेढ वर्षभन्दा बढी पर्यटन बोर्डको जागिर गरेर कुनै पूर्वयोजना विना म कान्तिपुर पब्लिकेशन छिरेर मूलधारको पत्रकारितामा हेलिन पुगेँ । मारुती ८०० नै सही त्यसबखत कार चढ्ने पत्रकारहरू विरलै भेटिन्थे । रिपोर्टर, फोटोपत्रकार सहितको समूह कुनै रिपोर्ट वा अन्तर्वार्ताका लागि पुग्नुपर्दा कार निकै उपयोगी हुन्थ्यो । तसर्थ, तिनताका मेरा यात्रुहरू अक्सर पत्रकार र सर्जकहरू नै हुन्थे । कुमारले कियाको फ्रन्ट सीटमा बसेर 'मिस्टिका'मा बच्चाहरू आकाशमा उडेको स्वप्नमय कल्पना गरेजस्तै सेतो मारुतीको फ्रन्ट सीटमा बसेर कोही एक लेखक पनि चिन्तनशील बनेका रहेछन् भन्ने कुराको रहस्य ती लेखकको कृति प्रकाशनपछि मात्र मैले थाहा पाएँ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अंग्रेजी विभाग प्रमुख रहुँदा परीक्षा नजिताबाट असन्तुष्ट बनेका केही विद्यार्थीहरूले विभागको पुस्तकालयमा आगो झोसेपछि विभाग प्रमुख अभि सुवेदी नराम्ररी आहत भएका थिए । त्यस घटनाले मानसिक अवशाद निम्याएपछि उनी कुनै पाठ्यरचना गर्न चाहन्थे । विश्वविद्यालयमा लगाइएको आगो र सशस्त्र युद्धका नाममा मुलुकभर भइरहने निर्दोष नरनारी दैनिक हत्याबाट आक्रान्त उनी बुद्धको सन्देशलाई नाटकमार्फत उजागर गर्न चाहन्थे । मेरो बौद्ध दर्शनप्रतिको रुचिबारे जानकार उनी मसँग स्तुपा र गुम्बाहरू चाहर्न चाहन्थे । उनको चर्चित नाटक 'अग्निको कथा'का कतिपय प्रसंगहरू सेतो मारुतीका लामा–छोटा ड्राइभहरूमा अंकुरण भएको रहस्यले पछि म हर्षविभोर भएको थिएँ ।
सेतो मारुती र अहिलेको हरियो कियाको बीचमा एउटा 'ट्रान्जिसन'को रूपमा रातो मारुती जेन मैले एकाध वर्ष हाकेँ । जसले सर्जक वा विशिष्ट व्यक्तिहरू बोक्नुभन्दा पनि धेरै बिरामीहरूलाई अस्पतालसम्म ओसा¥यो । हाम्रो समाजमा कार चढ्नुलाई विलासिताको रूपमा केहीअघिसम्म हेरिन्थ्यो । तर बजारमा उपलब्ध गाडीहरूमध्येका कम मूल्यका वाहनलाई अहिले आवश्यकताको दृष्टिले हेरिन्छ । यस गरिब मुलुकको खाल्डाखुल्डी बाटोहरूमा हिजोआज करोड रुपियाँभन्दा बढी पर्ने टोयोटा, फक्सवागन, ल्यान्डरोभर आदि कम्पनीका गाडीहरू बग्रेल्ती गुडेका देखिन्छन् । तर, वैशाख २०७२ को महाभूकम्पले महँगा अपार्टमेन्ट र बंगलामा बस्नेहरूलाई सस्ता कोठा र छिँडीमा भाडामा बस्नेहरूसँगै त्रिपालमुनि तानेर ल्याएजस्तै भारतको इन्धन नाकाबन्दीपछाडि महँगा कार चढ्नेहरू आम मानिससँगै सार्वजनिक यातायातमा कोच्चिएर यात्रा गर्न थालेका छन् । प्रकृतिको क्रूरता र छिमेकीको परपीडन अनेकौं कष्टहरूबीच पनि समतामूलक समावेशी समाज बनाउन सहायक बन्न सकेको तथ्यले म विस्मयकासाथ चकित पर्छु, बारम्बार ।
इन्धनको असहजतापछि बा. ४ च. २७४६ चलाउने मौका थोरैमात्र जुर्न थालेको छ । खोलाजस्तै चलायमान हुने गाडीहरू अहिले पोखरीजस्तै स्थिर हुन थालेका छन् । कुमारले आकाशमा बच्चाहरू उडेको कल्पना गरेको किया स्वयं पनि सायद सडकमा गुड्ने कल्पना गरिरहेको होला अहिले ।
प्रकाशित: २९ आश्विन २०७२ २१:११ शुक्रबार