ढुकुर कु ! ढुकुर कु !
बिचरा मान्छे,
जन्म कता, मरण कता !
काँशी पुगी फर्किआउँछ, पुरानो गुँडमा गांैथली
र, सुनाउँछ उही पुरानो गीत
दाजुले किन्देको चोलो भाउजूले च्याती,
ए, जहाँ फूलबारी उतै घुम्छ पुतली
जहाँ धान फल्छ उतै नाच्छ मयूर
मान्छेको पो आफ्नो ठाउँ काँ छ र ?
गाई–बस्तुलाई चरन जस्तो
बाघ–भालुलाई वन भए जस्तो
बिचरा मान्छे,
लेकबेँसी चरिहिँड्ने— ढुकुर जस्तो
ढुकुर कु ! ढुकुर कु !
आज यहाँ, भोलि कहाँ
ए, मान्छेले त भाग्नु मात्तै छ
जाडोसँग भाग्नु छ
गर्मीसँग भाग्नु छ
साहुसँग भाग्नु छ
राहुसँग भाग्नु छ
आफ्नो मायासँग भाग्नु छ
आफ्नो घाम–छायाँसँग भाग्नु छ
भाग्नु छ...भाग्नु छ... भाग्नु छ...
मान्छेले भागेर त जीवन जितेको हो
सत्ते,
मान्छेले भागेरै जीवन जितेको हो ।
प्रकाशित: २९ आश्विन २०७२ २०:३३ शुक्रबार