अन्य

दसैंमा गुलजार शक्तिपीठहरू

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी
तृतीयं चन्द्रघण्टेति कुष्माण्डेति चतुर्थकम्
पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च
सप्तमं कालरात्रीति महागौरीति चाष्टमम्
नवमं सिद्धिदात्री च नवदुर्गाः प्रकीर्तिताः ।।


हिन्दुहरूको ठूलो चाड दसैंको चहलपहल सबैको घरमा देखिन थालेको छ । १५ दिनसम्म विभिन्न कार्यक्रम गरेर दसैं रमाइलो गरी मनाइन्छ । यो चाडमा मिठो खाने, राम्रो लाउनेमात्र नभई मान्यजनका हातबाट टीका र आशीर्वादसमेत लिने हुनाले यसको महत्व बेग्लै छ । प्रतिकूल परिस्थितिमा पनि चाडबाडलाई उत्तिकै महत्वका साथ मनाउँछौ, हामी नेपाली ।

दसैं मनाउन घटस्थापनाका दिन पूजाकोठामा राखिएको जमरालाई दशमीको दिनदेखि आशीर्वादसँगै प्रसादका रूपमा लगाउने परम्परा छ । दसैंलाई शक्तिको चाडका रूपमा पनि लिइन्छ । जमरा राख्ने र नौ दिनसम्म जमरा पूजा गर्ने भनेको नवदुर्गा कालीको पूजा गर्ने हो । राक्षसहरूलाई मारी देवता र पृथ्वीलाई तिनीहरूको भारबाट मुक्त गराउन कालीले लिएका अवतार नै नवदुर्गा अवतार हुन् । ती नवदुर्गाहरू शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्ड, स्कन्धमाता, कात्यायनी, कालरात्रि, माहागौरी र सिद्धिदात्रीका नामाले चिनिन्छन् ।

कालीलाई भगवान् शिवकी आदिशक्तिको रूपमा लिइन्छ । यो चाडमा गरिने पूजा, भक्ति र आशीर्वाद नै शक्ति प्राप्तिका लागि हो भन्ने स्पष्ट हुन्छ । घटस्थापनादेखि नवमीसम्म घरको पूजाका अतिरिक्त विभिन्न शक्तिपीठ दर्शन गर्ने परम्परा छ । शक्तिपीठ भन्नाले खासगरी सतीदेवीका अंग पतन भएका स्थानमा रहेका देवीका मन्दिर भन्ने बुझिन्छ । खासगरी ती भनेका सतीदेवीको दाँत पतन भएको धरानको विजयपुरको दन्तकाली, गुह्य पतन भएको काठमाडांैको गुह्येश्वरी तथा जिब्रो पतन भएको नेपालगन्जको बागेश्वरी आदि हुन् । तीमात्र नभई, भगवान् शिवकी आदि शक्तिको रूपमा रहेकी माता पार्वतीको कालीरूपका विभिन्न मन्दिर र कालबेलामा उत्पत्ति भएका वा स्थापना भएका देवी मन्दिरमा पनि नवरात्रभर भक्तजनको भिड लाग्छ ।

यस्ता मन्दिर नेपालको हरेक गाउँगाउँमा भएबाट कालीदेवी पुजनमा हामी कति लागिपरेका छौं भन्ने स्पष्ट हुन्छ । हरेक गाउँमा देवी मन्दिर भए पनि दसैंमा भिड लाग्ने केही प्रख्यात मन्दिर तथा शक्तिपीठहरूको यहाँ संक्षिप्त चर्चा गरिन्छ ।

पाथिभरा

पाथिभरा देवीको मन्दिर ताप्लेजुङको फुङ्लिङ बजारदेखि करिब १७ किलोमिटर उत्तरपूर्वमा पर्दछ । किंवदन्तीअनुसार परापूर्व कालमा केही मानिस त्यस भेगमा भेडीगोठ राख्ने र भेडा त्यसै भेगमा चराउने गर्दा रहेछन् । त्यसै बेला गोठका भेडा एकाएक हराउने गरेकाले तिनीहरूले भेडा पाइयोस् भन्ने कामनासाथ पाथिभराको स्तुति र भाकल गरेछन् । त्यसपछि हराएका भेडा भेटिन थालेकाले गोठालाले पाथिभराको नियमित स्तुति गर्न लागेछन् ।

दन्तकाली

दन्तकाली मन्दिर सुनसरीको धरान नगरपालिका–१४ विजयपुर डाँडोमा पर्छ । मध्यकालतिर स्थापित दन्तकालीको चर्चा रुद्राक्षारण्य महात्म्यले दुर्गा नामकी भवानीका रूपमा गरेको देखिन्छ । दन्तकालीका पुजनीय वस्तु दाँत आकारको प्रस्तर हो, जसलाई स्वस्थानी व्रत कथामा आधारित सतीदेवीको कथासँग जोडिएको छ । कथामा वर्णित सतीदेवीको दाँत पतन भएको जनविश्वास पाइन्छ । यसै आधारमा यसलाई दन्तकाली भनिएको हो ।

छिन्नमस्ता

सप्तरीको सखडा गाविसमा पर्ने सखडादेवीलाई छिन्नमस्ता भन्ने गरिन्छ । शिर छिनेकी देवीका रूपमा छिन्नमस्ता भनिएको हो । सखडामा पर्ने हुनाले यो स्थान छिन्नमस्ताभन्दा पनि खसडादेवीका नामले प्रसिद्ध छ । सप्तरी सदरमुकाम राजविराजदेखि करिब ११ किलोमिटर दक्षिणमा सखडा भगवतीको मन्दिर छ । छिन्नमस्ता मध्यकालिक तिरहुते राजाहरूकी इष्टदेवी मानिन्छिन् । तसर्थ यिनको स्थापना पनि तिरहुते राजा नान्य देवका पाँचौं पुस्ताका शक्रसिंहले गराएको मानिन्छ ।

गढीमाई

बाराको बरियारपुर गाविस–२ मा प्रसिद्ध गढीमाई मन्दिर छ । ती देवीको स्थापना सिम्रौनगढका तिरहुतेहरूको समयमा भएको मनिन्छ । बाराको सदरमुकाम कलैयाबाट करिब पाँच किमि पूर्वमा रहेको गढिमाई स्थानमा प्रत्येक पाँच वर्षमा ठूलो मेला लाग्छ । किंवदन्तीअनुसार कुनै समयमा एक थारू जातका व्यक्ति मकवानपुर गढीमा बन्दीका रूपमा थुनिएका रहेछन् । उनलाई उक्त गढीमा रहेकी देवीले सपनामा त्यहाँबाट कतै लगेर स्थापना गर्न सल्लाह दिइछन् । ती कैदी त्यसै रात जेलबाट छुटेछन् र त्यहाँँकी देवीलाई बरियारपुरमा लगेर स्थापना गरेछन् । त्यसपछि गढीमाईमा तिनै व्यक्ति पुजारी बनेछन् ।

पलान्चोक भगवती

काभ्रेको पलाञ्चोक स्थानमा पलाञ्चोक भगवतीको मन्दिर छ । किंवदन्तीअनुसार पलान्चोक भगवती, नक्साल भगवती र शोभा भगवती दिदीबहिनी थिए । साथै तिनीहरूको मूर्ति एकै जना कलाकारले निर्माण गरेको पनि उल्लेख पाइन्छ । सुरुमा एक कलाकारले पलान्चोक भगवतीको मूर्ति निर्माण गरेका थिए । तर पुनः त्यस्तो मूर्ति उनले अन्यत्र बनाउन नसकून् भनी तत्कालीन शासकले उनको दायाँ हात काटिदिएछन् । त्यसपछि उनले देब्रे हातले नक्साल भगवतीको मूर्ति बनाए, बायाँ हात पनि काटिइयो । कालान्तरमा उनले खुट्टाले शोभा भगवतीको मूर्ति पनि बनाएको हुनाले उनलाई मृत्युदण्ड दिइएछ । लिच्छवि राजा मानदेवको समयमा देस भट्टारिका नामक एक महिलाले पलान्चोक भगवतीको स्थापना गराएको ऐतिहासिक प्रमाण पाइएको छ । पलान्चोक भगवती उत्पत्तिबारेको अर्को किंवदन्तीअनुसार एकपटक बुकोटका बासिन्दाले भगवतीलई सपनामा देखेछन् । त्यसपछि तिनीहरूले भगवती स्थापना गर्न कतै लैजान लाग्दा बाटामा हालको पलान्चोक भगवती भएको ठाउँमा यिनलाई एकपटक बिसाएछन् । तर पुनः तिनलाई त्यहाँबाट उठाउन नसकेको हुनाले त्यसै स्थानमा स्थापना गराएछन् ।

दाउन्ने देवी

दाउन्ने देवी नवलपरासीको दुम्कीबास गाविस–५ मा पर्छ । यी देवीको मन्दिर दाउन्ने बजारदेखि १,०३३ मिटरमाथि दाउन्ने पहाडमा अवस्थित छ । उक्त स्थानमा धेरै पहिलेदेखि देवीको सामान्य थान थियो तर पछि विसं १८८० मा प्रभाकर नामक व्यक्तिले दाउन्ने देवीको मन्दिर निर्माण गराएको उल्लेख पाइन्छ । तर वर्तमानको देवी मूर्ति भने राणा प्रधानमन्त्री जंगबहादुरले चढाएको विश्वास गरिन्छ ।

मनकामना

गोरखा जिल्लाको मनकामना गाविस वडा नं १, ३ र ४ को सिमाना कफेक भन्ने डाँडामाथि मनकामना मन्दिर छ । मनकामनाको उत्पत्तिसम्बन्धी किंवदन्तीअनुसार राम शाहकी एउटी रानी सधैं रातको समयमा बेपत्ता हुने र दिउँसो देखा पर्ने गर्दथिन् । तसर्थ राम शाहले त्यसको रहस्य पत्ता लगाउन लखन थापालाई खटाए । तिनको पछि लागी रहस्य पत्ता लगाउन हिँडेका लखन थापाले एकपटक रानीलाई हालको मनकामना भएको कफेक भन्ने स्थानमा सिंहमाथि चढेकी साक्षात् देवी भगवतीलाई देखेछन् । ती देवीले पनि लखन थापालाई तिमीले मेरो रहस्य थाहा पायौ, अब मलाई यहाँ स्थापना गरी मेरो पुजारी तिमी नै बस्नु भनिछन् । त्यसपछि लखन थापा मनकामनाको पुजारी भई बसेछन् ।

बाग्लुङ कालिका

बाग्लुङमा काली मन्दिर छ । यिनी खड्काहरूकी इष्टदेवी मानिन्छिन् र खड्काहरूले बसाइँ सरेर आउने क्रममा पश्चिमबाट यस भेगमा यिनको मूर्ति यस स्थानमा ल्याएको मानिन्छ । यो मन्दिर कालिगण्डकी र काँडेखोलाको बीचमा पर्ने जंगलमा छ । तले शैलीको मन्दिरमा राखिएकी देवीको प्रस्तर मूर्ति पुजारीबाहेक अरूले हेर्नु हुँदैन भन्ने जनविश्वास छ ।

बागेश्वरी

बागेश्वरी मन्दिर बाँके जिल्लाको नेपालगन्ज बजारको बीच भागमा पर्दछ । भारततिरबाट समेत तीर्थयात्री आइरहने मन्दिर भेगमा सतीदेवीको जिब्रो पतन भएको मानिन्छ । बागेशवरीको उत्पत्ति किंवदन्तीअनुसार कुनै समयमा काठमाडौंको पशुपति दर्शन गर्न गएका जोगीहरू फिरेर आउँदा यसै स्थानमा बास बसेछन् । त्यस रात सपनामा देवीले ती जोगीलाई एउटा खाल्डो देखाउँदै मेरो जिब्रो यही पतन भएको हो भनिछन् । भोलिपल्ट ती जोगीले देवीको जिब्रो पत्ता लगाएछन् र त्यहाँ देवीको भव्य मन्दिर बनाएछन् ।

शैलेश्वरी

डोटीको सदरमुकाम सिलगढीमा प्रसिद्ध शैलेश्वरीको मन्दिर छ । स्थानीय यसलाई शिलादेवी पनि भन्ने गर्छन् । लोकोक्तिअनुसार शिवपार्वती एक–अर्कामा हाँसखेल गरिरहेको समयमा त्यहीँ अन्य देवताहरू टुप्लुक्क आइपुगेछन् । त्यसबाट पार्वतीले शरम मान्दै शिलाको रूप लिइछन् । यसैबाट शैलेश्वरीको अभ्युदय भएको हो भन्ने मान्यता स्थानीयमा छ । शैलेश्वरीलाई अर्धनारीश्वरका रूपमा समेत पूजाआजा गरिन्छ ।

उग्रतारा

डडेलधुरा सदरमुकामदेखि पाँच किमि उत्तर उग्रतारा गाउँमा दसरथचन्द राजमार्ग छेउमा उग्रतारा देवीको मन्दिर छ । डडेलधुराको शक्तिपीठ उग्रतारालाई सन्तान दिने, आफन्तको मिलन गराउने र प्राकृतिक विपत्तिबाट जोगाउने देवीका रूपमा लिइन्छ । किंवदन्तीअनुसार त्यस भेगमा एक साउद थरका व्यक्तिले हलो जोतेको समयमा बारीमा भेट्टाएर यो मूर्ति स्थापना गराएका थिए । हलोको फालीले भेटिएको मूर्तिलाई चोट लाग्दा त्यहाँबाट रगत आएछ र ती हलीले आफूले खान ल्याएको खिचडीले त्यसको रगत टालेका रहेछन् ।

काठमाडौं उपत्यकाभित्र भने अझ ठूलो मात्रामा देवीको पूजा गर्ने परम्परा रहेको यहाँ अवस्थित सयौं देवी मन्दिरले बताउँछन् । उपत्यकामा रहेका केही महŒवपूर्ण शक्तिपीठहरू यस्ता छन्—

भद्रकाली

काठमाडौं टुँडिखेलको पूर्वतिर बाटाको बीचमा भद्रकालीको प्रसिद्ध मन्दिर छ । नवदुर्गा र दसमहाविद्या मध्येकी एक देवी भद्रकालीको स्थापना पूर्व मध्यकालका राजा गुणकामदेवले गराएको मानिन्छ । भद्रकालीको स्थापनाबारे किंवदन्तीअनुसार प्राचीन कालमा उपत्यकाका एक किसानले खेत रोपाइँ गर्दा बालिका रोइरहेको भेटेछन् । त्यसपछि उक्त बालिकालाई किसानले नरुनका लागि फकाएछन् । तर जति फकाउँदा पनि बालिका रुन नछाडेकाले उनले तिनलाई आफ्नो खाजाका रूपमा लगेको रोटी खान दिएछन् । रोटी पाएपछि ती बालिका रुन छाडेर हाँसिछन् र अन्तरध्यान भइछन् । यता उनले दिएको पिठोको रोटी भने सुनको रोटीमा परिणत भएछ । नेवारी भाषामा लुँको अर्थ सुन र मडीको अर्थ रोटी हुने हुँदा ती बालिकालाई किसानले साक्षात् देवी मान्दै लुमडी देवी भन्न लागेछन् । तसर्थ भद्रकालीलाई लुमडी भगवती पनि भन्ने गरिन्छ । माथि वर्णित किंवदन्तीअनुसार किसानले साक्षात् देवी मानेकी लुमडी भगवती अन्तरध्यान भएपछि उक्त कुरा राजा गुणकामदेवलाई सुनाएछन् । त्यसपछि राजा गुणकामदेवले त्यस स्थानलाई देवीको बासस्थान मानी त्यहाँ भद्रकाली पीठको स्थापना गरेछन् ।

दक्षिणकाली

प्रसिद्ध दक्षिणकालीको मन्दिर काठमाडांै उपत्यकाको दक्षिणपश्चिममा फर्पिडदेखि पश्चिमतिर एउटा पहाडको फेदीमा अवस्थित छ । उपत्यकाको दक्षिणतिर रहेकाले यी देवीलाई दक्षिणकाली भनिएको हो । यिनलाई चामुण्डा देवी पनि भनिन्छ । देवीको मन्दिरका लागि छानो आकाश नै हो भन्ने मान्यताअनरूप दक्षिणकाली मन्दिरमा छानो बनाइएको छैन । दक्षिणकाली सुरुमा मूर्ति नभएको सादा पीठ थियो । पछिमात्र यहाँ कालीको मूर्ति स्थापना गरिएको हो । किंवदन्तीहरूमा पाइएअनुसार प्रताप मल्लले यी देवीलाई सपनामा देखेकाले उनका सल्लाहकार लम्बकर्ण भट्टको सुझावअनुसार दक्षिणकालीको मूर्ति स्थापना गरेका थिए ।

पुरानो र नयाँ गुह्येश्वरी

काठमाडौं उपत्यकाको गुह्येश्वरी, पशुपतिनाथ मन्दिरदेखि केही उत्तरतिर वाग्मती नदीको किनारमा छ । गोपालराज वंशावली, हिमवत्खण्ड पुराण, नेपाल महात्म्य र वराहपुरणमा समेत यसको नामोल्लेख पाइन्छ । मृगारेश्वरी, शिखर वासिनीदेवी र पार्वतीका रूपमा यिनलाई गुणगान गर्दै श्लेशमान्तक वनमा बस्ने देवी भनिएको छ । यिनलाई सतीदेवीको गुह्य पतन भएको स्थानमा उत्पन्न देवी मानिन्छ भने पार्वती गुप्त भएको छिद्रका रूपमा पनि चर्चा गरिन्छ ।

काठमाडौंको गोलढुंगामा पुरानो गुह्येश्वरीको मन्दिर छ । पशुपति मृगदावनको गुह्येश्वरीलाई नयाँ गुह्येश्वरी र गोलढुंगाको गुह्येश्वरीलाई पुरानो गुह्येश्वरी भन्ने गरिन्छ । पुरानो गुह्येश्वरीसँग सम्बन्धित एउटा किंवदन्तीअनुसार परापूर्व कालमा कालकुट विष गलामा राखेर हिँडेका शिवजी विषको दहन खप्न नसकी चिसो ठाउँमा रहेको गोसाइँकुण्डतिर जाँदा यस ठाउँमा विश्राम गरेछन् । यता उनका साथमा आएकी पार्वती त्यही स्थानमा रजस्वला भएकाले यस्तो बेला श्रीमान्का साथमा हिँडडुल गर्न हुँदैन भनी यसै स्थानमा भार दिन बसिछन् । त्यही स्थान नै हालको पुरानो गुह्येश्वरी हो ।

मैतीदेवी

काठमाडौंको मैतीदेवीमा प्रसिद्ध मैतीदेवीको मन्दिर रहेको छ । किंवदन्तीअनुसार परापूर्व कालमा त्यस स्थानमा एउटा मयूर कतैबाट उडेर आएछ र बसेछ । कुनै एक स्थानीयले त्यसलाई लौराले हिर्काउँदा उक्त मयूर त्यहाँबाट उडेर गएछ । तर त्यस मयूरले छोएका त्यहाँका फलाम लगायतका धातुहरू सुनमा परिणत भएकाले त्यस मयूरलाई दैवी रूप मानी मैतीदेवीको स्थापना गरिएछ ।

नक्साल भगवती

काठमाडौंको नक्सालमा प्रसिद्ध नक्साल भगवतीको मन्दिर छ । तले शैलीको भव्य उक्त मन्दिरमा नक्साल भगवतीको चिल्लो र आकर्षक मूर्ति छ । वंशावलीहरूमा चर्चा गरिएअनुसार उक्त देवीको स्थापना लिच्छविकालतिर भएको हो । उपत्यकाका नक्साल भगवती, शोभा भगवती र नाला भगवतीमा एकै प्रकारका मूर्ति राखिएका छन् र यी देवीलाई दिदीबहिनी मान्ने चलन छ । यता पलान्चोक भगवतीमा पनि त्यस्तै मूर्ति पाइन्छ । नक्साल भगवतीको उत्पत्तिबारेको किंवदन्तीअनुसार कलियुग प्रारम्भ भएको करिब एक हजार वर्षपछि कान्तिपुरमा शासन गर्ने राजा विक्रमकेशरीको समयमा एक कलाकारले भगवतीको भव्य मूर्ति निर्माण गरी रानी नवसागरलाई दिएछन् । त्यसबाट रानी अत्यन्त खुसी भई आफ्नै नाममा ती भगवतीलाई नक्सालमा स्थापना गर्न लगाइछन् र ती देवीको नाम नवसागर भगवती राखिएछ । कालान्तरमा यसैलाई नक्साल भगवती भन्न लागिएको विश्वास गरिन्छ । देवीको स्वरूप ज्यादै डरलाग्दो भएकाले तिनलाई एउटा खाल्डामा पुरेर त्यसैमाथि पूजाआजा गर्ने चलन चलाइएकोमा पछि शंकरदेव नामक राजाले उक्त मूर्ति खाल्डोबाट निकालेर प्रेत चतुर्दशीका दिन उनको रथयात्रा गर्ने चलन चलाएछन् ।

शोभा भगवती

काठमाडौंको स्वयम्भूदेखि केही पूर्व विष्णुमती नदीको किनारी भागमा प्रसिद्ध शोभा भगवतीको मन्दिर छ । यिनलाई पलान्चोक भगवती र नक्साल भगवतीका बहिनीहरू मान्दै यी तीनवटै मूर्ति एकै कलाकारले निर्माण गराएको बताइन्छ । शोभा भगवतीको मूर्ति रानी विक्रमकेशरीले विष्णुमती र भद्रमतीको दोभानमा गराएको किंवदन्ती पाइन्छ ।

यी मन्दिरहरू बाहेक पनि दसैंको बेला पूजाअर्चना गरिने र भक्तहरूको भिड लाग्ने असंख्य देवी मन्दिर नेपालमा छन् । पूर्वको भोजपुरस्थित सिद्धकाली, संखुवासभाको सिद्धकाली, धनकुटाको छिन्ताडदेवी, रामेछापको खाँडादेवी, विराटनगरमा रहेको काली मन्दिर, संसारी माइस्थान, रंगेली बजारमा रहेको रंगेली काली मन्दिर, सप्तरीको भारदहमा रहेको कंकालिनी माइको मन्दिर, राजविराजमा रहेको राजदेवी, कमला नदीको किनारामा रहेको कमलामाई र उदयपुर सदरमुकाममा रहेको पन्चकन्या भगवती र रौता भगवती मन्दिर नेपालका प्रसिद्ध देवी मन्दिरमा पर्दछन् ।

मध्यमाञ्चलका अन्य प्रसिद्ध देवी मन्दिरहरूमा वीरगन्जको बिन्ध्यवासिनी, गहवा माई, चुरे पर्वतकी चुरियामाई, हेटौंडाको भुटनदेवी, चितवनको इच्छाकामना, नुवाकोटको भैरवी, दोलखाको कालिन्चोक, धादिडको खड्कादेवी र मण्डलीमाई अनि काठमाडौंको अन्नपूर्ण, टोखा चण्डेश्वरी, कलंकी, कालिकास्थान, रक्तकाली, नरदेवी, मनमैजु, नीलवाराही, संकटा, तलेजु भगवती, टुँडालदेवी, म्ह्ेपी, साँखुको बज्रयोगिनी, भक्तपुरको नवदुर्गा, नीलवाराही अनि ललितपुरको बगलामुखी, फूलचोकी, बज्रवाराही आदि प्रख्यात छन् ।

पश्चिमाञ्चल पनि देवी मन्दिरका दृष्टिले धनी छ । यहाँ गैंडाकोटको मौलाकालीका, तनहुँका ढोर र छाब्दीवाराही, कास्कीका अकलादेवी, तालवाराही र बिन्ध्यवासीनी, गोर्खाको गोरखकाली, स्याङ्जाको आलमदेवी र जगत्रदेवी, अर्घाखाँचीको अर्घा भगवती, लम्जुङको अकला र कालिका, पाल्पाको रणउज्जेश्वरी केही प्रमुख र प्रसिद्ध मन्दिर हुन् ।

मध्य र सुदूर पश्चिममा पनि देवी मन्दिर कम छैनन् । कैलालीको घोडाघोडी, सुर्खेतको देउती बज्यै, सल्यानको खैराबाङ भुवनेश्वरी, डोल्पाको बाला त्रिपुरा सुन्दरी, मुगुको ऋणमोक्ष भगवती, दैलेखको बिन्दासैनी, कालिकादेवी, बैतडीको डिलासैनी, निंगलासैनी र त्रिपुरासुन्दरी, दाङको अम्बिकेश्वरी मुख्य हुन् ।

प्रकाशित: २९ आश्विन २०७२ २०:२२ शुक्रबार