अन्य

उमंगहीन दसैं

दसैंघर, पूजाकोठा या मन्दिरका सत्तलहरूमा जमरा टुसा–नटुसाउँदै पहेंलिन थालेका छन् यसपालि । टिनका टहरा–छाप्राभित्र–बाहिर सलबलाइरहेका चिचिलाहरु लोकसुसेली गाउँदै पर्वेली रौनक थपिरहेछन्– दसैं आयो, दसैं आयो, खाउँला–पिउँला ..., चचहुई !'धेरै समयपछि सहरी भान्साघरमा बाध्यताले पुत्ताइरहेका दाउराबाट निस्केको पिरो धुवाँसँगै गृहिणीहरु नेपाली नियतिसँगै दसैं–दशाको नमिठो स्वाद पिइरहेका छन् । मलमासले ठेलिएर करिब एक महिना ढिलो नेपालीको 'महान्' चाड दसैंले घुम्टी खोलिसकेको छ । रमाउन नसके पनि नेपालीमन संस्कार र परम्पराको संगीतमा नाच्न थालिसकेको छ ।

दसैं परम्परा धान्दैमा थलिने प्राय नेपाली यसपालि पर्व सुरु नहुँदै थेचारिएका छन् ।

पहिले, भूकम्पले ।

अनि, 'सांस्कृतिक सहचरी' छिमेकी देशको नाकाबन्दीले ।

अर्थात् जमरा नपहेंलिँदै पहेंलियो नेपाली मन, दसैं सुरु नहुँदै थलियो नेपाली जीवन, यसपालि ।

अमिलो मन लिएर हामी पहेंलो समयबीच यस वर्षको दसैं मनाउँदैछौ्रं । उधारो खुसी सँगालेर दसैंको उमंगमा रमाउँदैछौं ।

... ... ...

दसैंमा के लेख्दै हुनुहुन्छ ?

दसंैमा के पढ्दै हुनुहुन्छ ?

कस्तो सिर्जना गर्दै हुनुहुन्छ ?

सोध्ने बेला होइन यो । पृष्ठभूमिमा प्रश्नै प्रश्न असरल्ल छिरलिएका बेला उत्तर खोज्ने चेष्टा स्वयंमा असहज महसुस हुन सक्छ ।

यद्यपि, सबै थलिँदा पनि स्रष्टा थलिँदैनन् । सबै थाक्दा पनि स्रष्टा थाक्दैनन् । सृष्टि जो गर्नु छ, थलिएर, थलोमै थेच्चिएर पनि । सर्जक केही न केही सिर्जिरहेका छन् । उसो त पीडाले उकुसमुकुस समय र अभावले पिरलिएको जीवनमा झन् भर्भराउँदा सिर्जना जन्मन्छन् ।

पूजापाठ, काटमार, टीकाटालाजस्ता यन्त्रवत परम्पराबाहेक थोरै फुर्सद पनि दिन्छ दसैंले । दसैंबिदामा भेटघाट, जमघट र घुमघामका पृष्ठभूमिले मन बहलाउँछ । त्यसैले केही न केही नयाँ सिर्जना गर्ने राम्रो अवसर पनि हो दसैं । फुर्सदलाई सिर्जनात्मक बनाउने पाठकका निम्ति झन् उपलब्धिमूलक हो यो समय । बिस्तारै पठन संस्कृति विकास हुँदै गरेको नेपाली साहित्य बजारनिम्ति पनि यो समय निकै मलिलो मानिन्छ ।

त्यसो त दसैं व्यवसायका दृष्टिले पनि उपयुक्त याम हो । लत्ताकपडा, भेंडाच्याङ्ग्रा, चामलचिउरा मात्र होइन, पुस्तक र चलचित्र व्यवसायी पनि दसैंलाई व्यावसायिक मौका ठान्छन् । दसैंनिकल्दा नयाँ पुस्तक प्रकाशन गर्ने, एल्बम सार्वजनिक गर्ने, चलचिल चलाउने योजनामा दुईचार महिनाअघिदेखि नै हतारपतार चल्छ स्रष्टा, प्रकाशकको । अर्थतन्त्रले दसैंमा किनमेल र खर्चन अतिरिक्त बजेट जुटाइदिने हुनाले पनि लेखन र प्रकाशन मात्र होइन, बिक्रीवितरणले पनि गति पाउँछ यतिबेला । लामो दुरीका यात्रा र लामो बिदा सदुपयोगनिम्ति दसैंछेक नयाँ पुस्तक किन्ने र नयाँ चलचित्र हेर्न हलसम्म पुग्ने चलनैजस्तो छ ।

त्यसो त प्रकाशन दृष्टिले निराशाजनक रह्यो वर्षको यो पूर्वाद्र्ध । वर्षको सुरुमै नेपालले महाभूकम्पको वज्रपात सहनुप¥यो । वर्ष ०७२ को वैशाख १२ मध्याह्न दसौं हजार प्राण लिने गरी शक्तिशाली भूकम्प गयो । गोरखा, बारपाक केन्द्रबिन्दुबाट तरंगित कम्पनले राजधानी उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर र आसपासका काभ्रे, सिन्धुपाल्चोक, दोलखा, धादिङ र नुवाकोटलगायत १४ जिल्लाको जनजीवन तहसनहस बनायो । हजारौं घाइते भए, लाखौंका घरबास धुलीसात भए । लगातार अनुकम्पनले बचेका संरचना पनि थिल्थिलो पारिदिए । वैशाख २९ गते हाराहारी शक्तिशाली अनुकम्पन दोहोरिँदा थप नेपालीले ज्यान गुमाए, भौतिक संरचना तहसनहस भए । अनुकम्पन पातलिए पनि अझै रोकिएको छैन । भूकम्पको त्रासदीले सुरु भएको मनकम्पन त पुस्ताभर रहिरहनेछ । कहिल्यै भुल्न नसक्ने प्राकृतिक पीडा बोकेर नेपाली जुर्मुराउनु नै थियो, जृुर्मराए ।

वर्षको सुरुमै प्रकोपले थलिएको नेपाली बजारमा साहित्य पनि त्यति राम्ररी फुल्न सकेन यस अवधि । प्रकाशन गति मन्द भयो । तत्काल व्यावसायिक प्रकाशन गर्न हच्किए प्रकाशक । लेखकमन पनि आउँदो समयप्रति निश्चिन्त हुन सकेन । परिणाममा यस वर्षको दसैंले संख्या र गुण दुवै दृष्टिले धेरै नयाँ सिर्जना अपेक्षा गर्न सकेन । यद्यपि, थोरै भए पनि यस अवधिमा केही महŒवशाली कृति भने प्रकाशनमा आएका छन् ।

... ... ...

देशले भने ठूलै सिर्जना पायो यसपालि । झन्डै सत्तरी वर्षअघि नेपालीले देखेको सपना– आफ्नै मनले संविधान लेखेर देशको न्यायिक व्यवस्थापन गर्ने, आर्थिक समृद्धिको मार्गचित्र कोर्ने, समावेशी समाज सिर्जना गर्ने, संविधानसभा बनाएर आफ्नो संविधान आफैं लेख्ने नेपालीको त्यो सपना यही अवधि पूरा भएको छ । दोस्रोपटक निर्वाचित संविधानसभाले असोज ७ गते नयाँ संविधान जारी ग¥यो, देशलाई नयाँ ढंगले पुनर्संरचना गर्ने मार्गचित्रयुक्त संविधान सिर्जनाको खुसीमा आम नेपाली झुम्न नपाउँदै दक्षिणबाट अशान्तिको बिजारोपण गरियो ।

'रोटी र बेटी' को सांस्कृतिक सम्बन्धको बहानामा सदियौंदेखि नेपाली शासनसत्ता र प्राकृतिक स्रोतमाथि हस्तक्षेप, शोषण र दोहन गर्दै आएको 'प्रिय' छिमेकी भारतले मधेसी दलको आन्दोलन बहानामा नाकाबन्दी लगाइदियो । नाकाबन्दी घोषणा नै नगरी भूपरिवेष्टित देशको नैसर्गिक अन्तर्राष्ट्रिय अधिकार मटियामेट पारियो । नेपालीले नेपालीका लागि बनाएको संविधान भारतले मन पराएन । आफ्ना केही अधुरा आकांक्षालाई मधेसका केही पार्टीहरुले भारतको नियतसँग सौदा गरिदिए । तराई–मधेस आन्दोलनका नाममा बल्यो । त्यसअघि पश्चिमको कैलालीमा थारु समुदायबीच घुसपेठ गराएर सुरक्षाकर्मीमाथि अमानवीय र क्रुर हमला गराउने तत्व तराईमधेस आन्दोलनमा त खुलेआम घुस्यो । भारतीय अधिकारी खुलमखुला बोल्न थाले, 'नेपालमा जारी संविधानले मधेसीको हित गर्दैन, मधेसमा बसोबास गर्ने नेपाली नागरिकता लिएका एक करोड भारतीयको हामी रक्षा गर्छाैं ।' तत्कालीन सत्ता र विपक्षी दुवै हैसियतमा रहेका दलले छिमेकीसँग कूटनीतिक चातुर्य देखाएर यो कपटी स्वर थुन्न सकेनन् । अन्ततः मधेस आन्दोलनले आफ्नो सुरक्षामा खलल पुग्ने बहाना देखाएर भारतले बिनाकारण नाका सिल ग¥यो । अन्तर्राष्ट्रिय समुदायलाई नाकाबन्दी नगरेको देखाउन कुनै नाकाबाट दिनमा दुईचार ट्यांकर पठाएर अझै पनि नेपाललाई उसले नाकाबन्दी गरिरहेकै छ । सारा नेपाली त्यसको प्रभावले आहत छन् । विशेष गरी इन्धन रोकिँदा यातायातदेखि भान्साकोठासम्म प्रभावित छ । नयाँ सरकार गठनपछि पनि यो पीडाबाट मुक्ति पाउन सकेका छैनन् जनताले । पीडाले आहत भए पनि सारा नेपाली राष्ट्रवादले उद्वेलित देखिन्छन् ।

हिन्दु महŒवको भए पनि विभिन्न धर्म र सम्प्रदायले समेत राष्ट्रिय पर्व मानेर उल्लासपूर्वक मनाउने दसैं नाकाबन्दीको सिकार भएको छ । भूकम्प र पहिरोले उत्तरी नाका ठप्प रहेका बेला भारतले सीमा बन्द गरिदिँदा दसैंका लागि आवश्वक सामानसम्म पाउन सकेका छैनन् नेपालीले । तैपनि, दसैं मनाउनु छ, परिस्थिति सामना गर्दै अघि बढ्नु छ, सारा नेपाली परिस्थतिसँग जुझ्दै संस्कृति धान्दैछन् ।

... ... ...

गरिब छैन नेपाली साहित्य । यहाँ विश्वस्तरका साहित्य सिर्जना सम्भव छ भन्ने प्रस्ट सन्देश देवकोटा, पारिजातहरुले हिजै दिएका हुन् । त्यसयता पनि थुप्रै स्रष्टा सिर्जनामा अभ्यस्त छन् जुन प्रकाशन र प्रचार पुगे विश्व साहित्यसँग कुम जोर्न सक्षम हुन सक्छन् । विचारले हुन् या संरचनाले, प्रयोगले हुन् या कलाले– नेपाली साहित्य दिनपरदिन उत्तरोत्तर छ । कुनै समय या अवधिविशेष राम्रा साहित्य सिर्जना नहोलान्, साहित्यको मूलधर्म विचलित हुनसक्ला अथवा साहित्य समाज र समाज साहित्यसँग एकाकार सम्भव नरहला– समग्रमा नेपाली साहित्य अन्य भाषाका साहित्यले होच्याउनैपर्ने हदमा छ भन्नेसँग सहमति हुन सकिँदैन ।

यो दसैंमा के पढ्ने त ? रुचि, उमेर समूह र पठनक्षमता दृष्टिले पाठकका चयन फरकफरक हुन सक्छन् । देवकोटा, बिपी, पारिजात, सम, घिमिरे, लामिछाने, विकल, ध्रुवचन्द्र, मदनमणि, सरुभक्त– थुप्रै मानक स्रष्टाका अमर कृति जतिपटक पढे पनि न अपच हुनेछ, न पखाला लाग्नेछ । उपन्यास, कविता, संस्मरण, आत्मकथा, नियात्राजस्ता आख्यान हुन् या विविध विषयगत आयामका गैरआख्यान कृति, नेपाली साहित्यमा बर्सेनि पठनीय पुस्तक आइरहेका छन् ।

पछिल्लो समय प्रकाशनमा आएको कुमार नगरकोटीको 'मिस्टिका' गहन पाठकनिम्ति रचनात्मक खुराक हो । भारतीय लेखक बेन्यामिनको मलायमलम भाषाबाट नेपालीमा अनूदित 'खबुज' को नेपाली संस्करण, विजयकुमारको 'खुसी', नारायण ढकालको 'वृषभ बध', सरुभक्तको 'एक अभिनवको आत्मकथा', मोहन मैनालीको 'मान्ठा हराएको जुग', नयनराज पाण्डेको 'घामकीरी' र 'उलार' ले सालाखाला पाठकलाई रोमाञ्चित बनाउँछन् । रुक्मांगत कटवाल, किशोर नेपालका आत्मकथा पनि अल्छीलाग्दा छैनन् । अमर न्यौपानेको 'करोडौं कस्तूरी', सुविन भट्टराईको साया र समर लभ, बुद्धिसागरको कर्णाली ब्लुज, नारायण वाग्लेको पल्पसा क्याफे रोचक र साहित्य पढ्ने बानी बसाउन असाध्यै काम लाग्ने पुस्तक हुन् ।

... ... ...

दसैं आयो । दसैंले उमंग ल्याएन । अपितु, उमंगहीन भएर समयका चुनौती झेल्न सकिन्न । चाडपर्वको विशेषता संस्कृति र परम्पराको निरन्तरता मात्र होइन, मन प्रफुल्लित पारेर अगाडिका फड्का अझ लामा र सिर्जनशील पार्ने, पीडा भुल्ने र अझ सक्रिय भएर सिर्जनारत बन्ने प्रेरणा पनि हो । समस्या जीवनका अफ्ठेरा हुन्, त्यसलाई पन्छाएर सिर्जनारत रहनु स्रष्टाको कर्तव्य हो, चाडपर्व र यिनका संस्कृतिले मानवलाई यही पाठ सिकाउँछ ।

दसैं क्रान्तिपर्व हो । अर्थात् यसको रङ रातो हुन्छ । दसैंको टीका सायद यसैको प्रतीक हुनुपर्छ । तर जमराको पहेंलो रङले दसैंका बहुआयामको संकेत गर्छ सायद । सत्यमाथिको थिचोमिचो अन्त्यको सन्देश दिने यस पर्वको मान्यता नै क्रान्तिको सफलतामा सन्निहित छ । अर्थात् दसैंकथा भन्छ– सत्यका प्रतीक देवमाथि असत्यका बिम्ब दानवको अत्याचार शक्तिदेवीले अन्त्य गरेको स्मृतिमा यो पर्व–परम्परा निरन्तर छ । दानव रुपमा पशुबलि दिने परम्परा भलै आलोचित हुँदै आएको छ, तर यसको सन्देश 'सत्यको सधैं जित हुन्छ' भन्ने नै हो । यद्यपि, दसैंका कतिपय परम्परा परिष्कार हुनुपर्ने आवाज समयान्तरमा उठान भइसकेका छन्, हुने नै छन् ।

भूकम्प र नाकाबन्दीले आक्रान्त भए पनि नेपाली आफ्नो मौलिक संस्कृति बिर्सन सक्दैनन् । दसैं नेपाली संस्कृतिको पहिचानमध्ये एक हो । त्यसैले आफ्नो क्षमताअनुसार, परम्परा परिष्कृत गर्दै दसैं मनाउन आम नेपाली जुटिसकेका छन् ।

हामीले पनि दसैंलाई सिर्जनात्मक बनाउन यस शनिबारीय अंक साहित्य विशेष बनाउने जमर्काे गरेका छौं ।

प्रकाशित: २९ आश्विन २०७२ १९:२४ शुक्रबार