अन्य

बैंकभित्रै ब्लेडले ब्याग काटी ४ लाख चोर्ने ३ भारतीय पक्राउ

काठमाडौं– पाकेटमारी तथा ब्लेडले व्याग काटेर चोरी गर्ने पेशेवर अपराधमा संलग्न ३ भारतीयलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा भारतको विहार राज्यअन्तर्गत मोतिहार जिल्ला छतौनीठाना रक्सौल घर भएका ५८ वर्षीय जावेद अहमद, मोतिहारी जिल्ला छतौनीठाना घर भएका ६५ वर्षी अम्बीका साह, सोही ठाउँ बस्ने ४५ वर्षका राजु मिश्र रहेका छन् ।

पक्राउ परेकाहरुको साथबाट ९८ हजार रुपैयाँ, २ थान ब्लेड र १ थान मोबाइल बरामद गरेको महानगरीय प्रहरी वृत्त जनसेवाले जनाएको छ । उनीहरुले असोज २२ गते दिउँसो न्यूरोड भूगोलपार्कमा रहेको नेपाल बैंक लिमिटेडमा सुनको कर्जा बुझाउन भनी २ नम्बर काउन्टरको लाइनमा उभिएका चावहिल ७ का चेतनाथ पराजुलीले ब्यागमा बोकेको ४ लाख रुपैयाँ ब्लेडले काटी भागेका थिए ।

बैंकमा रहेको सिसिटिभि फुटेजका अधारमा उक्त घटनामा संलग्नको खोजतलास गर्ने क्रममा प्रहरीले न्यूरोड क्षेत्रमा रहेको एसबीआई बैंकमा सोही प्रकृतिका घटनाका शंकास्पद व्यक्ति देखि पक्राउ गरेको थियो । पक्राउ परेकाले घटना स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित: २९ आश्विन २०७२ ०८:१८ शुक्रबार