चीनले भौतिक क्षेत्रमा मात्र उन्नति गरेको छैन, साहित्य र संस्कृतिका क्षेत्रमा पनि गरेको छ। चीनले गरेको भौतिक प्रगतिको इतिहास त्यति लामो छैन। सन् १९४९ सम्म पनि पछौटे मुलुक रहेको चीनमा १९४९ मा जनवादी क्रान्ति सम्पन्न भयो। यसपछि ऊ साम्राज्यवादी एवं सामन्तवादी उत्पीडनबाट मुक्त भयो। चीनले अहिले गरेको छक्कलाग्दो भौतिक प्रगतिको आरम्भ मूलतः असीको दशकदेखि भएको हो। यस दृष्टिले चीनले गरेको भौतिक प्रगतिको इतिहास जम्माजम्मी तीस–पैंतीस वर्षको देखिन्छ। चिनियाँ राजनीतिमा देङ सियाओ पिङको उदय, चिनियाँ कम्युनिष्ट पार्टीले अंगीकार गरेको नयाँ दृष्टिकोण एवं नीतिहरू वर्तमान चीनले प्राप्त गरेका आर्थिक भौतिक उपलब्धिका आधार मानिन्छन्। नेपालको २००७ सालको परिवर्तनभन्दा एक वर्षपहिले चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएको थियो। आज ऊ विश्वको पहिलो शक्ति बन्ने प्रतिस्पर्धामा छ। हामी गरिबी, बेरोजगारी, राजनीतिक अस्थिरता आदिको भुंग्रोमा परेर झन् पछि झन् बिल्लीबाठ बन्दै गइरहेछौं।
चिनियाँ सभ्यता र संस्कृतिको इतिहास निकै पुरानो छ। चिनियाँ साहित्यको इतिहास पनि तीन हजार वर्षभन्दा लामो छ। आधुनिक चिनियाँ साहित्यको आरम्भ भने मूलतः १९१७ तिरबाटै भएको हो। आधुनिक साहित्यको निर्माणको पृष्ठभूमि अलि पहिलेदेखि बन्न सुरु गरे पनि १९११ मा भएको मञ्चु राजवंशको अन्त्य, गणतन्त्रको स्थापना आदिका कारण उत्पन्न नयाँ परिस्थितिले आधुनिक साहित्य लेखनलाई आधार प्रदान गर्योर। १९१९ मा भएको ४ मई आन्दोलनले यसका निम्ति अझ महत्वपूर्ण भूमिका सम्पादन गर्योर। राष्ट्रिय भावधाराको निर्माणका दृष्टिले ४ मई आन्दोलनको निकै ठूलो भूमिका रहेको छ। चिनियाँ साहित्यका विद्वान्हरूले आधुनिक चिनियाँ साहित्यलाई १९१७ देखि १९४९ र त्यसपछि गरेर दुई भागमा बाँडेका छन्। १९४९ पछिको साहित्यलाई समकालीन साहित्यका रूपमा उल्लेख गरिन्छ। आधुनिक साहित्यको आरम्भ र यसको समृद्धिमा लुसुन लगायतका स्रष्टाहरूको भूमिका र योगदान अत्यन्त महत्वपूर्ण छ। १९१७ देखि १९२७ को अवधिलाई आधुनिक चिनियाँ साहित्यको पहिलो महत्वपूर्ण दशकका रूपमा लिइन्छ। यस कालखण्डमा विभिन्न साहित्यिक समूह र स्कुलहरू देखापरे। १९१७ मा 'नव युवा' पत्रिकाका माध्यमबाट साहित्यमा सुधार, परिवर्तन र क्रान्तिका प्रस्तावहरू अघि सारिए। आधुनिक साहित्यको निर्माणमा यसले महत्वपूर्ण योगदान दियो र यसैलाई आधुनिक साहित्यको प्रस्थान बिन्दुका रूपमा लिइयो। साहित्यमा यथार्थवादले यसै अवधिमा प्रवेश पायो। लोकभाषा र शैलीलाई महत्व प्रदान गरियो। साहित्यमा तात्कालीन यथार्थ, परिवर्तनका स्वर र स्वप्न, बाह्य उत्पीडन र सामन्ती शोषणको विरोध, देशभक्तिको भावना र नयाँ चीन निर्माणको आकांक्षाले सशक्त कलात्मक अभिव्यक्ति पाउन थाल्यो। साहित्यमा यथार्थवादी रचना पद्धति प्रमुख बन्यो।
साहित्यलाई समाजसँग अझ गहिरो गरी जोड्ने र यसको समाजपरक भूमिकालाई अझ प्रभावकारी बनाउने दृष्टिले १९२८ देखि १९३७ को दशकको आधुनिक चिनियाँ साहित्य महत्वपूर्ण मानिन्छ। यसै अवधिमा वामपन्थी लेखक संघको स्थापना भयो। साहित्यमा मार्क्सवादको गहिरो प्रभाव पर्यो्। साहित्यकारहरूले साम्राज्यवाद एवं सामन्तवादको विरोध, त्यसको अन्त्य तथा स्वतन्त्र एवं जनवादी चीनको निर्माणलाई आफ्नो लेखनको मुख्य विषयवस्तु बनाए। यस अवधिको साहित्यले सामन्तवादी एवं साम्राज्यवादी उत्पीडन, जनताको दयनीय एवं कारुणिक स्थितिलाई मात्र अभिव्यक्ति दिएको छैन, उनीहरूमा आएको जागरण, विकसित प्रतिरोध चेतना, आत्मसात गरेको नयाँ विचारधारात्मक बाटो तथा त्यसको गहिराइलाई पनि अभिव्यक्ति दिएको छ। १९३८ देखि १९४९ सम्मको अवधिको आधुनिक चिनियाँ साहित्यमा वर्गसंघर्ष र जापानविरोधी संघर्षलाई केन्द्रीय महत्व प्रदान गरिएको छ। यो अवधि कम्युनिस्ट आन्दोलन विजयोन्मुख हुँदै अगाडि बढेको र चीनविरूद्ध जापानी आक्रमण तीव्र भएको अवधि हो। यस अवधिमा चिनियाँ साहित्यकारहरूले जापानविरोधी प्रतिरोध चेतना र उत्पीडक वर्गविरुद्धको संघर्षमा आफूलाई केन्द्रित गर्दै त्यसलाई आफ्ना रचनाहरूमा सार्थक अभिव्यक्ति दिएका छन्। १९४२ मा साहित्यसम्बन्धी माओका विचारहरू सार्वजनिक भएपछि साहित्यमा यसको अत्यधिक प्रभाव पर्योत। माओले मजदुर, किसान र सिपाहीसित साहित्यलाई गाँस्नुपर्ने कुरामा मात्र जोड दिएनन्, चिनियाँ साहित्य चिनियाँ प्रकृतिको हुनुपर्नेमा पनि जोड
दिए।
१९४९ देखि १९६५ सम्मको अवधिलाई समकालीन चिनियाँ साहित्यको पहिलो उपचरण मानिन्छ। आधुनिक चिनियाँ साहित्यले स्थापित गरेका उदात्त साहित्यिक प्रवृत्तिहरूलाई जीवित राख्दै यस अवधिको साहित्यले समाजवादी यथार्थवादी रचना पद्धतिलाई अघि बढायो। साहित्यलाई नयाँ समाज निर्माणको अभियानसँग गाँसियो। चीनमा भएको परिवर्तन, चिनियाँ जनताका स्वप्न र संघर्ष, नव चीन निर्माणको आकांक्षा साहित्यको केन्द्रीय सरोकार बने। समाजवादी ध्येयलाई उच्च महत्व प्रदान गरियो। १९६६ देखि १९७६ सम्मको अवधि समकालीन चिनियाँ साहित्यको अर्काे महत्वपूर्ण अवधि हो। यो अवधि सांस्कृतिक क्रान्तिको अवधि हो। सांस्कृतिक क्रान्तिको केन्द्रीय प्रभाव यस समयको साहित्यमा परेको छ। १९७७ देखि १९९५ सम्मको समय समकालीन चिनियाँ साहित्यको अर्काे महत्वपूर्ण कालखण्ड हो। सांस्कृतिक क्रान्तिको अन्त, सुधार र समाजवादी बजार अर्थतन्त्र, चिनियाँ कम्युनिस्ट पार्टीको दृष्टिकोण एवं नीतिहरूमा आएको महत्वपूर्ण परिवर्तन आदिका कारण यस अवधिको साहित्यमा नयाँ प्रवृत्तिहरू देखा पर्न थाल्यो। पश्चिमी साहित्य चिन्तनसँग चिनियाँ स्रष्टाहरूको खुला अन्तक्रियाका दृष्टिले यो समय महत्वपूर्ण रहेको छ। १९९६ देखि हालसम्मको साहित्यलाई भूमण्डलीकरण, सूचना प्रविधिको विकास र साहित्यमा त्यसले पारेको प्रभावसँग गाँसेर व्याख्या गर्ने गरिन्छ। चिनियाँ साहित्य चिन्तकहरू यही अवधिबाटै साहित्य विविधतापूर्ण हुँदै गएको र यसमा नयाँ प्रवृत्ति देखिन थालेको उल्लेख गर्दछन्। विविधता यस समयको साहित्यको मुख्य विशेषता देखिन्छ। अहिलेका चिनियाँ स्रष्टाहरूले राष्ट्रिय चेतनालाई आ–आफ्ना वैयक्तिक संवेदना र भावनासहित अभिव्यक्ति दिएका छन् र कलात्मक अभिव्यक्तिका विभिन्न रूप र दृष्टिकोण विकसित भएका छन्। भूमण्डलीकरण र सूचना प्रविधिको विकासले खडा गरेका चुनौतीहरूको सामना पनि चिनियाँ साहित्यले गर्दैछ।
आफ्नो समय, समाज, इतिहास, सभ्यता र संस्कृतिसँग गहिरो गरी जोडिनुलाई समकालीन चिनियाँ साहित्यको सर्वाधिक महत्वपूर्ण विशेषताका रूपमा लिइन्छ। समकालीन चिनियाँ साहित्यले समकालीन चिनियाँ समाजका सरोकार, संवेदना, स्वप्न र संघर्षहरूलाई उच्च कलात्मक अभिव्यक्ति दिएको छ। आजको समयले खडा गरेको जटिलता, त्यसविरूद्ध मनुष्यको संघर्ष र एक सुन्दर समाज निर्माणको उसको आकांक्षालाई समकालीन चिनियाँ स्रष्टाहरूले आफ्ना रचनाहरूमा उच्च महत्व दिएर प्रस्तुत गरेका छन्। समकालीन स्रष्टाहरूले अन्तरवस्तुको अभिव्यक्तिका निम्ति विविध कलात्मक रूपहरूको विकास गरेका छन्। यसलाई समकालीन चिनियाँ साहित्यको अर्काे विशेषता मानिन्छ। दृष्टान्तका निम्ति नोबेल पुरस्कार विजेता चिनियाँ उपन्यासकार मो यानका उपन्यासहरूलाई लिन सकिन्छ। मो यानका उपन्यास 'हलुसिनेइटरी रियालिज्म'का उत्तम उदाहरण हुन्।
मो यानका उपन्यासमा पाइने 'हलुसिनेइटरी रियालिज्म'लाई 'म्याजिकल रियालिज्म'सँग गाँसेर हेरिन्छ। 'म्याजिकल रियालिज्म' ल्याटिन अमेरिकामा १९४० र ५० को दशकमा विकसित भएको हो। यो राष्ट्रिय चेतनासहितको ल्याटिन अमेरिकी यथार्थवादी परम्पराबाट विकसित भएको थियो। विख्यात उपन्यासककार मार्खेजको 'वन हन्डे्रड इअर्स अफ सोलिच्युड' उपन्यास यसको उत्कृष्ट दृष्टान्त हो। मो यान यसबाट प्रभावित र अभिप्रेरित भएर आफ्नो परम्परा र इतिहासको गहिरो अध्ययनतर्फ लागे। उनको लेखनमा चिनियाँ लोककथा र संस्कृतिको गहिरो प्रभाव छ। उनको औपन्यासिक लेखनमा वास्तविक र अवास्तविकका बीचमा अनौठो सम्बन्ध पाइन्छ। उनले यथार्थलाई भ्रमपूर्ण यथार्थका माध्यमबाट सजीव अभिव्यक्ति दिएका छन्। उपन्यास लेखनको विधि र त्यसमा प्राप्त सफलता मो यानको लोकप्रियताको प्रमुख आधार हो। अन्य चिनियाँ उपन्यासकारहरूको लेखनमा पनि शैलीगत नवीनता र प्रयोग पाइन्छ तर त्यो प्रयोग आफ्नो माटो, त्यसको सुगन्ध र गन्तव्यसँग जोडिएको छ। मार्खेजको विशेषता जादुमय यथार्थवादका माध्यमबाट आफ्नो धर्तीप्रतिको प्रेम, संवेदना र स्वप्नलाई अभिव्यक्ति दिनु थियो। मार्खेजजस्तै मो यान पनि सार्थक प्रयोग, नवीनता र अप्रतीम कलात्मक अभिव्यक्तिका विलक्षण स्रष्टा हुन्।
भूमण्डलीकरण र यसको प्रतिविम्ब समकालीन चिनियाँ साहित्यमा पनि पाइन्छ। समकालीन स्रष्टाहरूमा नयाँको भोक पनि छ, यसबाट उत्पन्न दुविधा पनि। भूमण्डलीकरण र बजार अर्थतन्त्र गम्भीर साहित्य र लोकप्रिय साहित्य बीचको दुरीलाई समाप्त गर्न चाहन्छन्। गम्भीर साहित्यको लोकप्रियकरण यसको उद्देश्य हो। चिनियाँ साहित्य कतिपय दुविधासहित यससँग संघर्षरत छ। भूमण्डलीकरणका अँध्यारा पक्षहरूसँग जु‰दै चिनियाँ यथार्थको नयाँनयाँ ढंगले पुनर्सिर्जनमा समकालीन स्रष्टाहरू सक्रिय पाइन्छन्। उनीहरू आफ्नो पहिचानप्रति बढी सजग छन् तर बाँकी दुनियाँसँग पनि जोडिन चाहन्छन्। साँस्कृतिक क्रान्तिपछिको लेखन यसअघिको लेखनभन्दा कतिपय कुरामा भिन्न भए पनि यथार्थवाद अहिले पनि चिनियाँ लेखनको मुख्य आधार हो। यथार्थवादी लेखनलाई उनीहरूले आफ्नै विशेषतासहित अघि बढाएका छन्।
चिनियाँ लेखकहरूसँगको संवादमा उनीहरू आफ्नो लेखनको चिनियाँ विशेषताहरूप्रति बढी सजग रहेको मैले पाएँ। उनीहरू समकालीन चिनियाँ साहित्यलाई चिनियाँ साहित्यको उदात्त परम्परासँग जोड्दै आफ्नै विशेषतासहित अझ समृद्ध गर्न सक्रिय छन्। आफ्नो मौलिकताप्रति बढी सजगता र गम्भीरता समकालीन चिनियाँ स्रष्टाहरूको महत्वपूर्ण विशेषता हो। उनीहरू समकालीन विश्व र यसका उज्याला–अँध्यारा पक्षहरूप्रति सचेत छन् र यसैअनुरूप लेखनमा अभिव्यक्ति दिएका छन्। लेखकहरूको नयाँ पुस्ता भर्चुअल साहित्यमा व्यापक रूपमा प्रवेश गरेको छ र यसले साहित्यिक प्रवृत्तिलाई पनि प्रभावित गरेको छ। तर, पनि यसमा आफ्ना राष्ट्रिय विशेषताहरूको आधिक्य पाइन्छ। समकालीन चिनियाँ साहित्यसँग सार्थक संवाद हाम्रा निम्ति धेरै दृष्टिले महत्वपूर्ण छ।
नेपाली साहित्यका आफ्ना विशेषताहरू छन्। हामी आफ्नो माटो, त्यसका सुख–दुःख, आँसु–हाँसो, उज्याला–अँध्यारा पक्षहरूलाई लेखिरहेछौं। हामी आफ्ना रचनाहरूमा हाम्रा स्वप्न र संघर्षहरूलाई अभिव्यक्ति दिइरहेछौं। हामी अभिव्यक्तिका नयाँनयाँ एवं प्रभावकारी रूपहरू खोजिरहेछौं। चिनियाँ साहित्यको पठनले चिनियाँ साहित्यलाई बुझ्न, त्यसबाट कैयौं कुरा सिक्न र अघि बढ्नमात्र मद्दत पुग्नेछैन, छिमेकी राष्ट्रसँगको हाम्रो साहित्यिक–सांस्कृतिक सम्बन्धलाई अझ गाढा र आत्मीय बनाउन पनि सहयोग पुग्नेछ। चिनियाँहरूका निम्ति पनि नेपाली साहित्यको पठन धेरै दृष्टिले महत्वपूर्ण छ। दुवै देशका स्रष्टाहरूबीच सघन सार्थक साहित्यक संवादको आयोजना एवं साहित्यलाई एक–अर्काको भाषा अनुवाद गर्ने कुरामा सम्बन्धित संस्थाहरूले विशेष प्रयत्न गर्न आवश्यक छ। चीन भ्रमण र चिनियाँ स्रष्टाहरूसँगको संवादले यसको आवश्यकतालाई अझ बढी प्रस्ट्याएको छ। समृद्ध चिनियाँ साहित्यको आस्वादन नेपाली स्रष्टा एवं पाठकहरूले व्यापक रूपमा कसरी गर्न पाउँछन् भन्ने कुरामा यथोचित ध्यान जानुपर्दछ।
प्रकाशित: १५ आश्विन २०७२ २३:३८ शुक्रबार