हरेक लेखकलाई 'मैले राम्रै लेखेँ' भन्ने लाग्छ तर लेखनको तह र स्तर पाठकको हातमा पुगेपछि मूल्यांकित हुने हो। समीक्षकले हात धोएर गाली ठोक्दैमा 'झुर' हुनेे र ढाकरमा बोक्दैमा 'एक्सेलेन्ट' हुने होइन। आजका पाठकहरू लेखकभन्दा लाटा हुँदैनन् भन्ने सामान्य ज्ञानचाहिँ लेखकलाई हुनैपर्छ।
...
भाषा चयन लेखनको लागि लेखकीय स्वतन्त्रता हो। अंग्रेजी होस् वा नेपाली, नेवारी होस् वा मैथिली। त्यसले लेखकको 'भाषिक–साहित्यिक पूर्वधारणा' र 'ज्ञानको तह' बोध गराउँछ। साहित्यिक लेखनमा 'भाषा'भन्दा पनि 'भाव–परिपाक' लेखकीय विचारको परिपक्वताप्रधान देखिएको बुझिन्छ। स्तरीय रचनाहरूले संसारप्रसिद्धि पुस्तकको रूपमा अंग्रेजीमा विश्वव्यापी चर्चा कमाउनु केवल संयोगमात्र हो। नेपालमा अंग्रेजी किताबको रूपमा आइपुग्ने टैगोर, टोल्सटोय, गोर्की, खलिल जिब्रान, मार्खेज, मुराकामी, काफ्का, पाउलो कोहेलो अंग्रेजी लेखक होइनन्। उनीहरूले सुरुमा आ–आफ्ना मातृभाषामा लेखेका (स्तरीय रचनाहरू मात्र) किताब हिट खाइसकेपछि 'माल' बनाएर बेच्न अंग्रेजीमा अनुवाद गरिएका हुन्। एउटा किताब चल्दा हेलिकोप्टर चढेर संसार भ्रमण गर्न सक्ने बजार छ, अंग्रेजी साहित्यको। लेखन उनीहरूको आफैंमा गतिलो व्यवसाय हो। तर, नेपाली साहित्यको औसत बजारले एउटा लेखकले 'दसैं खर्च'सम्म मेन्टेन गर्न सक्दैन। यी दुईलाई जोख्ने 'तुलो' नै पक्षपाती हो। जहाँसम्म अंग्रेजी साहित्य र नेपाली साहित्यको क्वालिटी मापनको कुरो छ, त्यो शतप्रतिशत अवैज्ञानिक बहस हो।
दोस्रो कुरा नेपालमा बस्ने मान्छेले नेपाली साहित्यमा क्वालिटी छैन भन्दै अंग्रेजी किताबको नाम फलाकिरहनु 'मूर्खता र ढोङ'को चुडान्त हो। पढ्दै नपढी नेपाली साहित्यको क्वालिटी नाप्ने यन्त्र कहाँ किनेर ल्याउनुभयो? अर्को कुरा 'फर्म पल्पसा क्याफे टु करोडौं कस्तुरी'को पठन–यात्रा र पठन–संस्कृति भएका पाठकले 'नेपाली साहित्यको क्वालिटीमा लेभल ट्याग हान्नु' र 'अन्धाले हात्ती छाम्नु'मा दार्शनिक–व्यावहारिक भिन्नता छैन।
नेपाली साहित्यमा गुणस्तर खोज्ने अतिविद्वान् मित्रहरूलाई लेखनाथ पौड्याल (ऋतुविचार र तरुणतपसी), लक्ष्मीप्रसाद देवकोटा (मुनामदन, पागल, के नेपाल सानो छ?), गुरुप्रसाद मैनाली (सहिद, परालको आगो), दौलतविक्रम विष्ट (चपाइएका अनुहार, भोक र भित्ताहरू), रमेश विकल (एउटा बूढो बकैनाको रूख, आज फेरि अर्को तन्ना फेरिन्छ), इन्द्रबहादुर राई (आज रमिता छ, खीर, जयमाया आफूमात्र लिखापानी आइपुगी), गोविन्दबहादुर मल्ल 'गोठाले' (म जुजुमान, भाँडो), माधवप्रसाद घिमिरे (पापिनी आमा, गौरी), भूपि शेरचन (हामी, सहिदहरूको सम्झना), वैरागी काइँला (पर्वत, मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसित), मोदनाथ प्रश्रित (मानव), डोरबहादुर विष्ट (सोताला), सरुभक्त (पागल बस्ती), नारायण ढकाल (दुर्भिक्ष, प्रेतकल्प), उपेन्द्र सुब्बा (लाटो पहाड), अमर न्यौपाने (पानीको घाम) पढ्न सिफारिस गर्छु। ती न कुनै एंगलबाट 'अंग्रेजी वादहरूका फोटोकपी' लाग्छन्, न त आयातित परिवेश र संस्कृतिका उपज। यी 'गोल्डेन क्वालिटी' भएका कृतिको भावसार्थक र मूल्यवत्ताको परिभ्रमण नगरेको व्यक्तिले अंग्रेजी मोह देखाउनु 'आफ्नो आङको हात्ती छोप्ने' अथक प्रयास गर्नुसिवाय केही होइन। अन्य स्तरीय किताब छुट्नुमा मेरो आफ्नै अल्पपठन पनि जिम्मेवार ठहर्न पाउँछ।
नेपाली भाषा र साहित्यको पक्षपोषण गर्नु हाम्रो धर्म हो। गणतान्त्रिक नेपालमा जसरी 'शाहवंशीयको सामन्तवाद' निमिट्यान्न भो, त्यसैगरी 'अंग्रेजीको भाषिक साम्राज्यवाद'बाट अब हामीलाई मुक्ति चाहिन्छ। नेपाली भाषा र साहित्यको माया गर्नु अज्ञानताको द्योतक होइन, आफ्नो पहिचान र अस्तित्वको खोजी हो। नेपाली साहित्य त हाम्रो लागि अर्गानिक उत्पादन हो। न यहाँ ओबामावादको गन्ध आउँछ, न टोनी ब्लेयरको 'गुर्खाज हिनताबोध'। नेपालको 'राता माटोको सुगन्ध' बोकेर मुस्कुराइरहेका छन्, नेपाली साहित्यका यी 'रेडबुक'हरू/'निधि'हरू।
मनोरन्जनकै लागि पढ्ने भए युधीर थापा, प्रकाश कोविद, वसन्तहरू यहीँ छन्। फेन्टासी पढ्ने भए नगरकोटी, मोराश, धु्रवचन्द्र यहीँ छन्। जिकज्याक पढ्ने भए इलियट किन? मोहन कोइराला, मदन रेग्मी, ईश्वर बल्लभहरू यहीँ छन्। फिलोसोफी पढ्ने भए बालकृष्ण सम, शंकर लामिछाने, पारिजात, सरुभक्त यहीँ छन्? होमरको 'इलियड/ओडिसी'भन्दा मलाई 'महाभारत/रामायण' स्तरीय लाग्छन्। सेक्सपियरसँग कालिदास हार्दैनन्। जो पूर्वीय दर्शनका उपज र नेपाली साहित्यका निधिलाई अवमूल्यन गर्छ अहँ! मन थापिँदैन र क्रोधित भएर उसलाई 'पश्चिमपन्थी' भनूँ–भनूँ लाग्छ। र सोच्छु— 'नजिकको तीर्थ हेला' त्यसै भनिएको होइन रहेछ।
उसै पनि आजको प्लस टु पुस्ता बोर्डिङ स्कुल पढेर आएका पुस्ता हुन्। अबको दस/बीस वर्षपछिका पाठक वा लेखक उनीहरू नै हुन्। अंग्रेजी भाषामा औपचारिक शिक्षा लिएका र बच्चैदेखि 'पाउलो कोहेलो' र 'चेतन भगत' पढेका पुस्ताले नेपाली साहित्य लेख्लान् त? यो साहित्यिक संकट अब चाँडै बेहोर्नुपर्ने सम्भावना देखिएको कुरामा कसैको ध्यान पुगेको छैन।
...
कुरा भाषामा मात्रै टुंगिँदैन। 'समाज चेतना र समयबोध' पनि यसमा जोडिएर आउँछन्। सेक्सपियरको नाटक (ह्याम्लेट) को द्वन्द्वले थारूवान, खसान र लिम्बुवानमा सल्किएको द्वन्द्वको आगो सम्बोधन गर्न सक्दैन। कताको सोह्रौं शताब्दीको युरोप, कताको एक्काइसौं शताब्दीको सुदूर गाउँ। एउटालाई अर्काको गोडामा बाँध्न पनि सुहाउँदैन। सामुदायिक र सांस्कृतिक द्वन्द्वको लागि 'हेत्छाकुप्पा' र 'जूनकिरीको संगीत' पढ्नेलेे 'साहित्य र समाजको सम्बन्ध' बरु अलि बढी बु‰न सक्छ। 'ओडिपस रेक्स' पढेर 'दरबार हत्याकाण्ड' घटाइएको होइन। 'कोत पर्व' घटाउने शासकले 'ओडिसी'बाट सिकेका होइनन्।
'समाज र संस्कृति' सुहाउँदो 'अर्गानिक सुगन्ध' सिक्न चिन्तन (जो जीवनसँग जोडिएको छ) नबुझी विदेशी नीतिशास्त्रलाई दर्शन मानेर राजनीति गर्ने 'राजनेता' र अंग्रेजी साहित्यका वाद घोकेरै नेपाली साहित्य लेख्ने 'राजलेखक' एउटै कित्ताका 'पर–चिन्तक' लाग्छन्। मलाई त 'लु सुन' र 'मुराकामी'भन्दा 'भूपि' र 'भूपाल' क्रान्तिकारी लाग्छन्। मलाई त गहुँगोरो 'मार्खेज'भन्दा गहुँगोरो अफ्रिका (आहुतिको कविता) जीवन्त र नेपाली माटोप्रति उत्तरदायी लाग्छ। तपाईंले लेखेको/पढेको अंग्रेजी वाद–उपवादको 'घोषणा पत्र' अन्यत्र जीवनको कुनै ठाउँमा सदुपयोग हुँदैन? त्यसैले 'नेपाल र नेपाली मन' बु‰न नेपाली लेखन नै पढ्नुपर्छ।
अंग्रेजी पढ्नै हुन्न भन्ने 'बुर्जुवा चिन्तन'बाट पे्ररित छैन म। पढ्नुपर्छ। ज्ञानको व्यापकता त गहना हो। तर गहना भिर्ने कान (अर्थात् नेपाली समाज संस्कृति, सभ्यता माटो र मूल्य–मान्यता) छैन भने के काम गहनाको? थारूले थारूवानको लागि गरेको 'चिनारी आन्दोलन' र मैले नेपाली भाषा र साहित्यको लागि आज गरिरहेको यो 'जिकिर' प्रकारान्तले 'सामन्तवादी र साम्राज्यवादी'माथिको हुङ्कार हो। स्वाभिमान रक्षाको चेतना।
कुरो भाषा चयन र समाज चेतनाको मात्रै होइन। यसमा लेखकीय स्वत्व पनि जोडिएर आउँछ। पछिल्लो दशक किताबलाई बजारिया 'माल' बनाएर बेच्न थालेदेखि नेपाली साहित्यमा 'फिनिसर खेताला' वा सम्पादक नियुक्त गर्ने चलन फस्टाएको छ। विषयवस्तुलाई बुँदा टिपोटको रूपमा दिए पनि खिरिलो कोरलीझैं 'सुन्दर किताब' तयार गरिदिने 'काटकुटजीवी' सम्पादकहरू छन्। उनीहरू 'मुटु निचोरेर' किताबलाई 'सुगन्धित', लेखकको नामलाई 'सेलिब्रिटी' र कमाइलाई 'बाँच्नलायक' बनाइदिन्छन्। यसको अर्थ नेपाली साहित्यमा क्वालिटी छैन भन्ने होइन। लेखकको स्वत्व खिइएर क्रमशः 'लिलिपुट' हुने दिशामा छ, लेखकको स्वत्व क्रमशः हराउँदै गइरहेको छ। आजका 'सिपाही सम्पादक'हरू हाबी भइरहेका छन् भन्ने हो। यसका लागि हिजो टाइपराइटरमा टाइप गर्ने तर लेखकले 'हातैले लेख्ने' जमानाका लेखक र आजका 'प्रविधिपूजक लेखक'मा पाइने क्वालिटी भेद नै पुग्दो उदाहरण हो।
लेखनको खास मेरुदण्ड लेखकको सांस्कृतिक/मौलिक चेतनाप्रतिको आस्थाले निर्धारण गर्ने हो। 'मार्खेज'को सांस्कृतिक चेत र 'आहुति' (कवि) को सांस्कृतिक मनोविज्ञानको जग नै फरक छ। 'लु सुन'को संास्कृतिक बोध (जुन धर्म होइन) पारिजातको संस्कृति बोधभन्दा फरक हुन्छ। यस अर्थमा पनि लेखनको 'हिरो' सिनेमाको हिरोजस्तो कृत्रिम हुनुहुँदैन। अर्को, हाम्रो सामाजिक सांस्कृतिक मूल्यबोध संकुचन–उन्मुख देखिइरहेको छ। अर्को 'विचार समूह'को लेखक वा पाठकको 'दिमागको बिर्कोमा भोटेताल्चा झुन्ड्याइएको' ठान्ने अहमवादी सोचबाट प्रशिक्षित छौं हामी। उत्तरपन्थीले दक्षिणपन्थीलाई र दक्षिणपन्थीले उत्तरपन्थीलाई 'न्यारो माइन्डेड' प्राणी मान्ने मैमत्ताले हाम्रो पुस्तालाई 'असललाई असल र खराबलाई खराब' भन्न सक्ने खास आलोचनात्मक क्षमतासम्पन्न सचेत व्यक्ति वा पाठकबाट 'कि त अन्धभक्त कि त गालीविद्' बनाइसकेको छ। फरक विचार समूहका पाठकलाई पनि दिमागसहितका पाठक स्वीकार्न हामीलाई दिगमिग लाग्छ। यसमा म आफू पनि घुलिसकेँछु भन्ने लाग्न थालेको छ अचेल।
जहाँसम्म सांस्कृतिक चेतनाको कुरा छ, त्यो समय समाज र पुस्तान्तरसँगै 'हस्तान्तरण र रूपान्तरण' हुँदै जानुपर्ने हो। तर, राजनीतिमा देखिएको 'अग्रगामी र यथास्थितिवादी' भन्ने बहसले साहित्यलाई नराम्ररी गाँजिसकेको छ। यसले नेपाली संस्कृति (सबै जातजातिका मौलिक पहिचानसहितको) पश्चिमी–चेतनाको सामुद्रिक खाडीमा डुबिसकेको अवस्था छ। 'मातृभाषा'मा साहित्य लेख्ने लेखक हामीलाई 'अर्कै ग्रहका प्राणी वा पुरातनपन्थी' लाग्छन्। बौद्धिक संकुचनको योभन्दा दुःखलाग्दो अवस्था अरू के हुनु?
'मेरोमात्र पढिदिऊन्, म उनीहरूको किन पढूँ?' भन्ने बुझाइ त अब नेपाली साहित्यको लेखकको संस्कृति नै बनिसक्यो। आफ्नो विचार समूहबाट खुम्चिएर 'साथी समूह'मा झरिसकेको हाम्रो संस्कृतिले नेपाली साहित्यका लेखक–पाठक आफ्नै देशभित्र त कुवाको भ्यागुत्तो भइसकियो भने के प्रगति हुन्छ नेपाली साहित्यको? अंग्रेजीमात्र किन? फ्रेन्स, रसियन, जर्मन, चिनियाँलगायत सबै पढ्नुपर्छ। तर ती भाषाका साहित्य जतिसुकै पढे पनि नेपाली 'मौलिक' र 'नेपाली जातीय पहिचान बोकेका' सिर्जना नपढी आफ्नो संस्कृति रक्षा गर्न सकिन्न। शतप्रतिशत अंग्रेजीमात्रै पढ्नु र हरेक साल डिभी भरिरहनुलाई कदापि नेपाली हुनुको गौरव मान्न सकिन्न। पहिला नेपाली साहित्यको लगभग अढाइ सय वर्षे परम्पराका मोटामोटी उपलब्धिहरू पढिसकौं। तबमात्र विदेशी भाषाका साहित्य पढ्ने मानसिक तयारी अवस्थामा पुग्छौं।
नेपाली समाजको लामो समाज विकासको आलोचित इतिहास व्यक्त गर्ने साहित्यको परम्परा पढेर लेखेको लेखन मलाई 'अर्गानिक लेखन' लाग्छ। अनि विदेशी समाज र संस्कृतिको चित्रण गरिएको आयातित अंग्रेजी प्रभावित लेखनचाहिँ 'ब्रोइलर लेखन'। आर्गनिक लेखनमा जोड दिने कि ब्रोइलर? चयन गर्ने तपाईं लेखककै जिम्मामा छ।
प्रकाशित: १५ आश्विन २०७२ २३:३६ शुक्रबार