अन्य

उपकप्तानबाट अनलाइन सपिङ उद्‍घाटन

काठमाडौं- खेलकुद पोशाक निर्माता कम्पनी आरजे स्पोर्टस बुटिक प्रालिले बुधबारबाट अनलाइन सपिङ सुरु गरेको छ। राष्ट्रिय फुटबल, क्रिकेट, भलिबल, बास्केटबल टोली लगायतको खेलपोशाक उत्पादन गर्दै आएको आरजेले आफ्ना सबै उत्पादन अनलाइनमार्फत बिक्री गर्ने प्रबन्ध निर्देशक जनक न्यौपानेले जनाए।आरजे स्पोर्टस नेपाल डटकमको औचारिक सुरुआत गर्दै राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले आरजेलाई समक्षसापेक्ष अघि बढेकोमा शुभकामना दिए। 'अहिलेको जमाना भनेको इन्टरनेटको जमाना हो। हामी विदेश जदाँ क्रिकेट जर्सीको निकै माग भएको पाउँछौं,' उनले भने, 'त्यस्ता खेलप्रेमीलाई यो अनलाइनले सहयोग पुग्नेछ। एक क्लिकमा आफूले चाहेको सामान किन्न सकिन्छ।'

एन्फाका विकास निर्देशक सञ्जिव मिश्रले नेपाली खेलकुद विकासमा आरजेको महत्वपूर्ण भूमिका रहेको जनाउँदै नयाँ रुपमा खेलप्रेमीमाझ जान लागेकोमा खुसी व्यक्त गरे। 'लामो समयदेखि उहाँहरूले सहज रूपमा हरेक खेलका खेलाडीलाई जर्सी उपलब्ध गराउँदै आउनुभएको छ,' उनले प्रशंसा गरे, 'राजनीतिक रूपमा देश अस्थिर रहेका बेला पनि उहाँहरूले आफ्नो सेवालाई निरन्तरता दिनुभएको छ। यो एक तहसम्मको सामाजिक सेवा पनि हो।'

आरेजको तर्फबाट अनलाइन सपिङको जानकारी दिँदै उत्तम पुडासैनीले भने, 'अहिले हामीले सातवटा अलगअलग उत्पादन अनलाइनमा राखेका छौं। एक क्लिकमा चाहेको खेलपोशाक उपलब्ध हुनसक्ने अवस्थाको सिर्जना गराउने प्रयास हो।'

अहिले राजधानीबाट अनलाइनमार्फत खरिद गर्नेलाई निःशुल्क डेलिभरी दिइनेछ। आरजेका निर्देशक रमेश रुपाखेतीले विदेशमा खास गरी अस्ट्रेलियामा जर्सी, ट्र्याकसुटको अत्यधिक माग रहेकाले अनलाइन पछि अझै सहज हुने विश्वास व्यक्त गरे।

प्रकाशित: १३ आश्विन २०७२ २२:२५ बुधबार