अन्य

कांग्रेस महोत्तरीका क्षेत्रीय सभापति महतो पक्राउ

महोत्तरी–नेपाली काँग्रेस महोत्तरी क्षेत्र नम्बर–६ का क्षेत्रीय सभापति रामश्रेष्ठ महतोलाई प्रहरीले पक्रेको छ। सुन्दरपुर ७ सिंहासनी घर भएका रामएकवाल यादवको १४ वर्षीया छोरी सविताकुमारी यादवको हत्यामा संलगन रहेको आरोपमा सभापति महतोलाई महानगरीय प्रहरी बृत गौशाला काठमाडौंले गौशालामने एक लजबाट पक्राउ गरेकाे हाे।महतोलाई कर्तव्य ज्यान मुद्दाको आरोपमा प्रहरीले आइतबार साँझ राजधानीबाट पक्राउ गरेको र सोमबार जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याइएको एसपी शौरभ राणाले बताए। गाउँकै राम जानकी मन्दिरको परिसरमा रहेको इनारमा २०७२ साल भदौ १४ गते सविताको इनारभित्र पानीमा तैरिरहेको अवस्थामा शव फेला परेको थियो ।

मृतकको परिवारजनले सभापति महतोलगायत अन्य पाँच जनाको नामै किटान गरी इलाका प्रहरी कार्यालय गौशाला महोत्तरीमा उजुरी दिएको र सोही उजुरीको आधारमा महतोलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरीले जनाएको छ।  घटनाका मुख्य योजनाकार सोही गाउँका रामजीवन राउतलाई प्रहरीले घटना लगतै तत्कालै पक्राउ गरिएको थियो। यता महतो घटना पश्चात पक्राउ पर्ने डरले फरार रहदंै आएका थिए । पक्राउ परेका महतो गौशालास्थित नवीन जनसेवा अस्पतालका संचालक समेत रहेका हुन्।

प्रकाशित: ११ आश्विन २०७२ ०६:०५ सोमबार