अन्य

बालबालिकाले लोकापर्ण गरे आफ्नै पत्रिका

काठमाडौं–प्रारम्भिक सिकाइ उमेर समुहका बालबालीकालाई लक्षित गरीएको बाल पत्रिका आहा सार्वजनिक भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा बालबालिकाहरुले नै सो पत्रिकाको पहिलो अंक सार्वजनिक गरे।बाल सिकाई समुहले प्रकाशन शुरु गरेको मासिक पत्रिका सिकाईको प्रारम्भिक चरणमा रहेका बालबालीका लक्षित रहेको कार्यक्रममा जानकारी गराइएको थियो। बाल पत्रिकाको प्रधान सम्पादक शरच्चन्द्र वस्ती हुन्।

कथा, उपयोगी सचित्र जानकारी, इलुस्ट्रेटेड आर्ट, अभिभावक र बच्चा मिलेर गर्ने विभिन्न कृयाकलाप यसका विशेषता रहेको प्रकाशन समुहले जानकारी दिएको छ।

कार्यक्रमका प्रमुख बक्ता शिक्षाविद् एवं त्रिभुवन विश्वविद्यालयका पूर्व उपकूलपति, केदारभक्त माथेमाले केटाकेटीहरुमा सानै देखि पढ्ने बानीको विकास र सही तरीकाले पढ्ने सीपको विकास गराउँदा उनीहरुको ब्यक्तित्व चम्किने बताए।

'बालबालीकामा रिडिङ्ग कल्चरको विकास महत्वपूर्ण विषय हो ' उनले भने।

शिक्षा मन्त्रालयका सहसचिव डा लवदेव अवस्थीले पठन सँस्कृतिको विकास सानै उमेरबाट हुनुपर्ने बताए । रमाइलो लाग्ने किताबहरु पढ्न पाए भने बालबालीकामा किताब प्रतिको चाह बढ्दै जाने उनले बताए ।

प्रकाशित: १० आश्विन २०७२ ०७:५० आइतबार