अन्य

'दीपासँग मेरो स्वस्थ सम्बन्ध छ'

दोस्रो पटक पनि फिल्ममा गरेको लगानी फाप्यो है?
भगवानको कृपाले फाप्यो। दर्शकको मायाले फाप्यो। सबै टिमको सहकार्यले फाप्यो। हामीले हतार गरेर सिनेमा बनाएनौँ। सचेत भयौँ। एक वर्षभित्रै अर्को फिल्म बनाइहाल्नुपर्छ भन्ने रणनीति लिएनौँ। अनि फाप्यो।

भनेपछि फिल्म बनाउने काममा हतार गर्नु हुँदैन रहेछ?
हुँदै–हुँदैन। फिल्म बनाउनु भनेको हामी इतिहास बनाउँदै छौँ जस्तो लाग्छ मलाई। हल–हलमा गयो, कलेक्सन कति भयो भनेर हिसाब गर्नका लागि मात्र सिनेमा बनाउनु हुँदैन जस्तो लाग्छ। समय लगाएर राम्रो बनाउने कोसिस गर्नुपर्छ जस्तो लाग्छ।

तपाईंले फिल्म 'वडा नम्बर ६' मा जनयुद्धकै कथा किन रोज्नुभयो?
हामीले यसअघिको फिल्म '६ एकान ६' मा छजना केटा एउटी केटीको पछाडि लागेको हलुका कथामा मनोरञ्जनात्मक फिल्म बनाएका थियौँ। फिल्म चल्यो पनि। ७० प्रतिशत दर्शकले राम्रै भने। तर, ३० प्रतिशत दर्शकले कपी भयो, कथा राम्रो भएन भन्ने जस्ता गुनासा पोखे। त्यसपछि मैले अब बनाउने फिल्ममा अर्गानिक कथालाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरौँ न त भनेर जनयुद्धको कथा रोज्न पुगेको हुँ। जनयुद्धका कथामा धेरै फिल्म बने। तर, कुनैले पनि व्यावसायिक हिसाबले सफलता हासिल गर्न सकेनन्। एउटा 'टलकजंग भर्सेस टुल्के' बाहेक। जतिबेला 'टलकजंग भर्सेस टुल्के' हलमा प्रर्दशन भइरहेको थियो, त्यतिबेला म स्त्रि्कप्ट लेखिरहेको थिएँ। मलाई कथा जुध्ला कि भन्ने डर पनि लागेको थियो? मैले हलमा गएर पनि फिल्म हेरेँ। हेरेपछि कथा नमिल्ने रहेछ भन्ने थाहा भयो। त्यसपछि मैले कथालाई 'कम्प्लिट' गरेको हुँ।

फिल्ममा त्यस्तो गम्भीर विषयलाई पनि मनोरञ्जनात्मक ढंगले प्रस्तुत गर्नुभएछ नि?
यसरी प्रस्तुत गर्न निकै गाह्रो थियो। जनयुद्ध सुरु भएदेखि शान्ति सम्झौतासम्मको १० वर्षको अवधिलाई मिलाउनुपर्ने थियो। अर्को कुरा कमेडी पनि छोड्नु हुने थिएन। कमेडी भन्नेबित्तिकै पूरै हल्का पनि बनाउनु हुँदैन थियो। किनभने, कथावस्तु त गम्भीर खालकै हो। त्यही भएर हामीले स्त्रि्कप्टकै लागि छ महिना लगाएका थियौँ।

प्रियंका कार्की तपाईंलाई मन पर्ने अभिनेत्रीमध्ये पर्छिन् है?
हो। म उहाँको अभिनयको फ्यान हुँ।

फिल्ममा पनि प्रियंकाको जोडी तपाईं नै बन्नुभएको छ। आफूलाई मन पर्ने अभिनेत्री भएकै कारणले कथामा त्यस्तो 'केमेस्ट्री' मिलाउनुभएको त होइन?
त्यस्तो होइन। फिल्ममा रहेका पाँचजना प्रमुख कलाकारमध्ये म नै त्यो क्यारेक्टरका लागि फिट थिएँ। 'लभर ब्वाई' जस्तो देखिने कमेडियन म नै थिएँ। मन परेको हिरोइनसँग काम गर्नकै लागि लाखौँ रुपैयाँ कसले खर्च गर्छ र? कथाले मागेकै भएर प्रियंकासँग मेरो केमेस्ट्री बुनिएको हो।

सानो पर्दाकी आफ्नो जोडी दीपाश्रीलाई नै ठूलो पर्दाको जोडी किन बनाउनुभएन?
मैले अघि नै भनिसकेँ कथाले प्रियंकालाई नै मागेको थियो। अर्को कुरा, हाम्रो दक्षिण एसियामा के छ भने केटा ४० कटेपछि हिरो हुन्छ। तर, हिरोइनचाहिँ जवान हुनैपर्छ। हिरोइनको जीउडाल मिलेकै हुनुपर्छ।

फिल्म चलाउनलाई अनेक फन्डा अपनाउने निर्माताका रूपमा पनि तपाईं चिनिँदै हुनुहुन्छ। 'वडा नम्बर ६' रिलिजपूर्व नै फिल्मका कलाकारले सार्वजनिक स्थानमा एकअर्कालाई बोक्ने र चुम्बन गर्ने होडबाजीसम्म चल्यो नि?
बोक्ने र चुम्बन खाने होडबाजीचाहिँ रेलै–रेलामा भयो। कतिपय कुरा 'न्युज मेकिङ'कै लागि पनि भए। तर, हामीले पूर्वतयारीसाथ गरेकोचाहिँ सडक संघर्ष हो। हामी राजधानीका सडक–सडकमा पुग्यौँ। दर्शकलाई रमाइलो दिलाउँदै फिल्मका बारेमा जानकारी दियौँ। आफूले उत्पादन गरेको चिजको राम्रो प्रवर्द्धन गर्नका लागि फन्डा त अपनाउनै पर्दो रहेछ।

तपाईंलाई बारम्बार सोधिने एउटा प्रश्न छ। अहिले पनि सोधियो भने...
त्यही दीपाश्री निरौलासँगको सम्बन्धको कुरा त होला नि! हामी कहिले झगडा गर्छौं, कहिल्यै मिल्छौँ। किनकि, हामी 'बेस्ट फ्रेन्ड' हौँ।

'बेस्ट फ्रेन्ड' मात्रै?
बाहिर चलेजस्तो हल्ला होइन। हामीबीच प्रेम छैन भन्ने होइन। प्रेम त भइहाल्छ नै। प्रेमकै कारणले हामी यहाँसम्म आइपुगेका हौँ। हामीबीच एकदम स्वस्थ र अनुशासित सम्बन्ध छ।

तपाईंले लामो समय 'तीतो सत्य' निर्देशन गर्नुभयो। तर, दुइटा फिल्म निर्माण गर्दासम्म निर्देशनको जिम्मा अरूलाई नै सुम्पिनुभयो नि?
सम्भवतः म फिल्म निर्देशन गर्दिनँ। ठूलो पर्दाका लागि 'स्त्रि्कप्ट राइटर' र 'एक्टर' नै ठीक छु। हाम्रो तेस्रो फिल्मको निर्देशन दीपाश्रीले गर्दै हुनुहुन्छ। म त्यो फिल्मको निर्देशन सहयोगीचाहिँ बन्न सक्छु।

तपाईं नेतालाई बढी व्यंग्य गरेर सामाजिक सञ्जालमा स्ट्याटस लेख्ने गर्नुहुन्छ। संविधान आयो। के छ प्रतिक्रिया?
संविधान आयो, यो खुशीको कुरा हो। अलि–अलि समस्या लिएरै आयो। सबैलाई समेट्न सकेन। तर, विश्वमै एउटा सत्य के हो भने कसैको पनि शतप्रतिशत चित्त बुझाउन सकिन्न। त्यसैले यो वास्तविकतालाई सबैले स्विकार्नुपर्छ। जहाँ समस्या छ, त्यसको समाधानतिर सम्बन्धित निकायले ध्यान दिनुपर्छ।

संविधान पढ्नुभयो?
फिल्म हलमा लागिरहेको बेला त्यत्रो ३०८ धाराको संविधान पढ्ने फुर्सद कहाँबाट हुनु? समय मिलाएर विस्तृत रूपमा पढ्नेछु।

संविधानले कलाकारका विषयमा के बोलेछ त?
संविधानले कलाकारको विषयमा त्यस्तो केही बोल्नुपर्दैन। संविधान आएपछि देशमा शान्ति र विकास भए पुग्छ।

कलाकारले संविधानमा हामीलाई विशेषाधिकार दिनुपर्योद भनेर आन्दोलन पनि गरेका थिए। कस्तो विशेषाधिकार हो?
कलाकारलाई किन चाहियो विशेषाधिकार? हामीचाहिँ अर्कै ग्रहबाट आएको हो र? हामीलाई त्यस्तो विशेषाधिकार केही पनि चाहिँदैन। हामी पनि अरूजस्तै सामान्य मान्छे नै हौँ।

भगवानले बिहेको खुशी दिएनन् : दीपाश्री निरौला


निकै व्यस्त देखिनुहुन्छ नि?
व्यस्त छु। 'वडा नम्बर ६' को चर्चा छ। दर्शकले माया गर्नुभयो। हामी पनि माया खोज्नलाई हलहलमा पुगिरहेका छौँ। यो व्यस्ततालाई मायासँग जोडेर हेरौँ न।

फिल्मका बारेमा यति धेरै सोच्नुहुन्छ। आफ्ना बारेमा किन नसोच्नुभएको? बिहे गर्ने उमेर त ढल्किँदै छ त?
ढल्क्यो र? म त अझै तन्नेरी नै छु। यति राम्री देखिइरहेकी छु। यो सन्दर्भमा एउटा गीत पनि गाउन चाहन्छुः
वसन्तमा सबै फूल फुल्नैपर्छ भन्ने छैन
जिन्दगीमा सबै बाजी जित्नैपर्छ भन्ने छैन
यो गीतमै सबै कुरा भनिएको छ। आफ्नो बारेमा यसरी नै सोच्छु म।

घरबाट बिहेका लागि 'प्रेसर' आइरहेको छैन?
एकदम धेरै आइरा'छ। प्रेसर कुकरमा सिटीचाहिँ लागिरहेको छ।

दीपकराज गिरीसँग तपाईंको प्रेम सम्बन्ध छ भन्ने कुरा फिल्म वृत्तमा चलिरहन्छ। वास्तविकता के हो?
हो, दीपकसँग मेरो प्रेम छ, माया छ। ऊप्रति मेरो सम्मान छ। त्यही भएर अहिलेसम्म हाम्रो जोडी टिकिरहेको छ। नत्र यहाँ धेरै हास्यजोडीमा फुट आएको छ। माया नभएको हामी यति लामो यात्रा पार गर्न सक्दैनथ्यौँ। तर, हामीबीच अरूले सोचेजस्तो सम्बन्ध भने छैन। दीपक विवाहित हो, म अविवाहित। अनि कसरी यस्तो हुन सक्छ? मलाई हरेक अन्तर्वार्तामा बिहेबारे प्रश्न सोधिने भएकाले मेरो जिन्दगीमा यो अनिवार्य प्रश्न नै भइसकेको छ। मलाई पनि बिहे गर्न मन नलागेको कहाँ हो र? भगवानले सबैजनालाई सबै खुशी दिँदैनन्। मलाई करिअरको खुशी दिए, विवाहको खुशी दिएनन्।

फिल्म 'वडा नम्बर छ' मा तपाईंले पनि अभिनय गर्नुभएको रहेछ। किन 'सस्पेन्स' राख्नुभयो?
मेरो पात्र नै 'सस्पेन्स' हो । मलाई सस्पेन्स नराखिएको भए फिल्मको कथा बाहिरिन्थ्यो। '६ एकान ६' मा राजेश हमालजस्तै मलाई यो फिल्ममा सस्पेन्स राखिएको हो। यसलाई फिल्म चलाउने फन्डा भने पनि हुन्छ।

फिल्ममा तपाईं माओवादी लडाकुका रूपमा देखिनुभएको रहेछ। हँसाउने मान्छे गम्भीर भूमिकामा देखिन कति गाह्रो भयो?
सबै खाले भूमिकामा अभिनय गर्न सक्ने हुनुपर्छ भन्ने लाग्छ मलाई। यो फिल्ममा काम गर्दा एकदम रमाइलो भयो। लडाकुको तालिमका दृश्यहरू गर्दाचाहिँ केही गाह्रो महसुस भएको थियो। तर, पनि गर्दै जाँदा सहज भयो।

दीपाश्री निरौला भन्नेबित्तिकै दीपकराज गिरीको नाम जोडेर आउँछ। तर, यो फिल्ममा केदार घिमिरे 'माग्ने बूढा'सँग तपाईंको 'लभ केमेस्ट्री' देखाउन खोजिएको छ नि?
हो। हामी एकदमै मिल्ने दिदीभाइ हौँ। फिल्म सुटिङका बेला 'लभ सिक्वेन्स'को कुरा हुँदा म माग्नुलाई भन्थेँ, 'मलाई तिमी लभको आँखाले हेर त माग्नु?' उसले हेर्नै सक्दैन थियो। 'म चस्मा लगाएर हेरौँ' भनेर रमाइलो गर्थ्यो। फिल्मको 'ट्वीस्ट' भनेकै यही हो।

फिल्ममा आफैँ लगानी गरेर आफैँ माथि उठ्न खोज्ने चलन छ। तपाईंले किन त्यस्तो नगर्नुभएको? आफैँ हिरोइन हुन सकिँदैन थियो र?
त्यही भएर त डुबिन्छ। आफ्नो हातमा डाडुपन्यू छ भन्दैमा जति पनि पस्केर खानु राम्रो होइन।

फिल्मको सुटिङताका 'हँसिली, रसिली दीपाश्रीको रौद्र रूप पनि धेरैपटक देखियो' भनेको सुनियो?
त्यस्तो त होइन। तर, फिल्मको लगानीकर्ता पनि भएपछि अलिकति कडा त हुनुपर्दो रहेछ। त्यही भएर अलि–अलि कडाइ गरिन्थ्यो। एकातिर फिल्म गुणस्तरीय पनि बनाउनुपर्ने थियो र अर्कोतिर अनावश्यक खर्च पनि रोक्नुपर्थ्याे।

फिल्म पनि निर्देशन गर्दै हुनुहुन्छ क्यारे?
हो। हाम्रो टिमले निर्माण गर्ने आगामी फिल्म 'छ भने माया छपक्क लाइदेऊ' मा मलाई निर्देशन गर्ने जिम्मेवारी सुम्पिने कुरा भएको छ।

सानो पर्दा र ठूलो पर्दा दुवैमा काम गर्नुभयो। के भिन्नता पाउनुभयो?
काम गर्ने सिलसिलामा जहाँ पनि अप्ठेरो नै हुन्छ। म ठूलो र सानो पर्दा भनेर छुटाउने गर्दिनँ। मलाई दुवै उस्तै लाग्छ। कथावस्तु लगभग उस्तै हुन्छन्। खालि स्त्रि्कन मात्र फरक हो।

प्रकाशित: १० आश्विन २०७२ ००:३१ आइतबार