अन्य

रिमा–रोबर्ट विवाह: फेसबुक गफ हुँदै प्रणयसम्म

अभिनेत्री रीमा विश्वकर्मा असोज १० गते विवाह गर्दै छिन् । धेरै अभिनेत्रीको प्रेमदेखि विवाहका कुरा पहिल्यै बाहिरिने भए पनि उनी आफ्नो प्रेम सम्बन्ध गुपचुप राख्न सफल भइन् । हुनेवाला जीवनसाथीसँग पहिलो संवाद, प्रेम र विवाहसम्मका कुरा उनले पहिलोपल्ट शुक्रवारमार्फत सार्वजनिक गरेकी छिन्।

अभिनेत्री रीमा सामाजिक सञ्जाल फेसबुकमार्फत सामाजिक र राजनीतिक विचार बाँड्न रुचाउँछिन् । डेढ वर्षअघि उनले फेसबुकमा राजनीतिक अस्थिरतालाई लिएर आफ्नो विचार पोस्ट गरेकी थिइन् । उनको पोस्टमा लाइक र कमेन्ट गर्नै धेरै थिए । राम्रो तथा साह्रै मन छोएको भनेर इनबक्समा कमेन्ट पठाउने पनि उत्तिकै थिए । तर, एउटा अपरिचित फेसबुक साथीले इनबक्समा पठाएको कमेन्टको उनी रिप्लाई गर्न बाध्य भइन् । भन्छिन्, 'त्यो कमेन्ट ओजपूर्ण लाग्यो । जवाफ फर्काएँ ।'

भेरी जोन नामक एक अमेरिकन टेलिकम कम्पनीको यूके शाखामा फाइनान्स म्यानेजरका रूपमा कार्यरत रोबर्ट विश्वकर्माको कमेन्ट थियो त्यो । पहिलो फेसबुक कुराकानीमा उनीहरूले लामै समय राजनीतिक बहस गरे । त्यसपछि फेरि लामो समय उनीहरूबीच कुराकानी भएन । तस्बिर हेर्दा अल्लारे उमेरकै लाग्ने एउटा केटाका गहन विचारले रीमाको दिमागमा एउटा छाप छाडिसकेको थियो ।



केही महिनापछिको कुरा हो, रीमा धरानबाट काठमाडौँ फर्कंदै थिइन् । काठमाडौँको त्रिभुवन विमानस्थलबाट बाहिरिने क्रममा एकजना पाको महिलाको कोटमा गएर उनको नजर ठोक्कियो । सम्झिन्छिन्, 'उमेरले पाको भए पनि फेशनेबल कोट लगाउनुभएकी ती महिलालाई मेरा आँखाले पछ्याएछन् ।' ती महिला अरू कोही नभएर उही फेसबुक साथी रोबर्टकी आमा रहिछन् । उनलाई लिन एयरपोर्टमा रोबर्ट पुगेका थिए । मान्छे उस्तै लागे पनि ठ्याक्कै ठम्याउन मुश्किल भएपछि रीमाले फेसबुककै सहारा लिइन्, 'नेपाल हो तपाईं ?' उनले उताबाट निकै समयपछि रिप्लाई गरे, 'हो, कहाँ देख्नुभयो ?' रीमाले एयरपोर्टमा देखेको बताइन् । त्यसपछि रोबर्ट नेपाल रहँदा उनीहरूको न भेट भयो न कुरा ।

रोबर्ट यूके फर्केपछि फेसबुकमै उनीहरूको संवाद निरन्तर भइरह्यो । उनीहरूले कहिल्यै व्यक्तिगत कुरा गरेनन्, देश, समाज र राजनीतिका कुरा गरिरहे । फेरि नेपाल आउने बेला भएपछि रोबर्टले प्रस्ताव गरे, 'मिल्यो भने यसपल्ट भेटौँ ।' त्यत्रो संवाद हुँदासमेत 'जेन्टलम्यान'को पहिचान बनाएका रोबर्टको प्रस्ताव रीमाले अस्वीकार गरिनन् ।

उनीहरूले पहिलोपल्ट दरबारमार्गको एक कफी सपमा भेटे । कफी खाने समय छुट्याएर आएका उनीहरूको संवाद लम्बियो । त्यसपछि नजिकै रहेको नाङ्लोमा गएर सँगै खाजा समेत खाए । रोबर्ट सम्झन्छन्, 'मलाई सुकुटी मन पथ्र्याे । त्यसैले त्यहाँ जान प्रस्ताव गरेँ ।' त्यो भेटमा उनीहरू वर्षाैं पुरानो साथीझैँ लामो समय गफिएर बसे । 'त्यो सम्बन्धका लागि सकारात्मक संकेत थियो,' रोबर्टलाई लाग्छ । कुरा मिल्ने साथीकै रूपमा उनीहरूले एकअर्काका परिवारसँग भेटघाट गराए । परिवारले चाहिँ उनीहरूबीच प्रेम रहेको र विवाहका लागि सकारात्मक हुँदै गएको बुझ्यो ।

उनीहरूभन्दा परिवार जोडी बनाउन चाँडो अघि सर्‍यो। विवाहको कुरा चलेपछि उनीहरू एकअर्काका विषयमा सोच्न बाध्य भए । रीमालाई लाग्यो, 'उमेर पनि भइसकेको छ, यो भन्दा सही जीवनसाथी भेट्न मुश्किल पर्छ ।' रोबर्ट भन्छन्, 'सुन्दर त छिन् नै, उनको बानीबेहोरा र सबैभन्दा धेरै आफैँ केही गरौँ भन्ने भावनाले मलाई आकर्षण गरेको हो।' रीमा भन्छिन्, 'रोबर्ट वचनको पक्का छ।'



ठ्याक्कै छ महिनाअघि परिवारले नै उनीहरूलाई विवाहका लागि तयारी गर्न भन्यो । उनीहरूले एकअर्कालाई अझ नजिकबाट हेरे। डेढ महिनाअघि भने विवाह गर्ने अन्तिम टुंगोमा पुगेका हुन्।

रीमा यता कला क्षेत्रमा छिन् भने उता रोबर्ट आफ्नै ढंगले करिअर अघि बढाइरहेका छन् । विवाहपछि धेरै हिरोइनले कला क्षेत्र छाड्ने विषयमा रीमा भन्छिन्, 'मलाई यो क्षेत्रमा थप अघि बढ्न उहाँको साथ हुने भएरै विवाहको निर्णय लिएकी हुँ ।' रोबर्टलाई पनि रीमाले आफ्नो करिअर अझै अघि बढाए हुन्छ भन्ने लाग्छ । भन्छन्, 'मेरो शतप्रतिशत सहयोग रहन्छ ।'

विवाहपछि उनीहरूसँग अहिले एक हप्तामात्रै सँगै रहन समय छ। उता रोबर्ट आफ्नो कम्पनीको काममा व्यस्त छन् भने रीमाले पनि एक महिनाका लागि काम थाती राख्नुपरेको छ । 'विवाहपछि सँगै ट्राभल गर्ने सोच थियो तर यसपल्ट पूरा नहुने भयो,' रोबर्ट भन्छन् ।

रीमा अभिनीत फिल्म 'भाले फाइट' शुक्रवारदेखि प्रदर्शनमा आउँदै छ।

तस्बिर: शिवलाल श्रेष्ठ

प्रकाशित: ७ आश्विन २०७२ ०१:१२ बिहीबार