खोटाङ– खोटाङ सदरमुकाम दिक्तेलमा व्यवसायीको घरमा बिष्फोटक पदार्थ राखिएको भेटिएको छ। दिक्तेल नगरपालिका–२ का राजेन्द्र लयालुका घर अगाडिको पेटीमा सोमबार बिहान तार जडान गरेर प्लाष्टिकको पोकोमा राखिएको डेटोनेटर बम फेला परेको हो।
खोटाङ उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालुको घरको पेटीमा राखिएको बिष्फोटक पदार्थ।
खोटाङ उद्योग बाणिज्य संघका अध्यक्ष रहेका लयालुको घरमा बिष्फोटक पदार्थ राख्ने व्यक्तिको पहिचान हुन सकेको छैन।
संविधान जारी भएको दोस्रो दिन आतंक फैलाउनका लागि बिष्फोटक पदार्थ राखिएको अनुमान गरिएको खोटाङका डिएसपी बिद्यानन्द माझीले बताए। डेटोनेटरलाई गहुँको पिठोमा तारसहित पोको पारेर लयालुको घर अगाडि राखिएको भेटिएको थियो। बजारमा बम भेटिएको हल्लाले स्थानीय त्रसित भएका थिए । संबिधानको स्वगतमा सोमबार दिक्तेलमा कांग्रेस, एमाले र एमाओबादीको संयुक्त कार्यक्रमको तयारी भएको कार्यक्रमप्रति समेत विष्फोटक पदार्थ लक्षित गरिएको कतिपयको आशंका छ। बिष्फोटक पदार्थ शेर गण मुढेका नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ। पोको पारेर राखिएको संकास्पद वस्तु डेटोनेटर भएको यकिन भएपछि सेनाले सुरक्षित स्थानमा लगेर डिस्पोज गरेको हो। शंकास्पद वस्तु भेटिएपछि प्रहरीले नेपाली सेनालाई खबर गरेको थियो।
बाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालुको घरको पेटीमा राखिएको बिष्फोटक पदार्थ हेर्दै स्थानीय।
आईतबार संबिधानको विपक्षी दलले आव्हान गरेको बन्दको अवज्ञा गराउन भूमीका खेलेका कारण अध्यक्ष लयालुको घरमा बिष्फोटक पदार्थ राखिएको अनुमान गरिएको छ। सदरमुकाममा रातभर प्रहरीको गस्ती टोली परिचालन भएकाले बिष्फोटक पदार्थ सोमबार बिहान ३ बजेपछि राखिएको हुनसक्ने प्रहरीले जनाएको छ।
बाणिज्य संघका अध्यक्ष लयालुको घरमा बिष्फोटक पदार्थ राखिएको घटनाप्रति जिल्लाका उद्योगी व्यावसायी आक्रोशित बनेका छन्।
घटनाको बिरोधमा व्यवसायीले दिक्तेलमा बिरोध र्याली निकालेका छन्। उनीहरुको बिरोध र्याली त्रिबेणीचोकमा कोणसभामा परिणत भएको संघका महासचिव समुन्द्रप्रसाद जोशीले बताए। घरमा बिष्फोटक पदार्थ राखिएको घटनाप्रति बाणिज्य संघले भत्र्सना र बिरोध जनाएको छ। संविधान घोषणा भएको खुसीयालीमा बन्दलाई अवज्ञा गरेका कारण आफ्नो घरमा बम राखेर तर्साउन खोजिएको अध्यक्ष लयालुले बताए। बन्दको आव्हान गरिए पनि उद्योग वाणिज्य संघले संविधान जारी भएको खुसीयालीमा 'दिपावली गर्न' व्यवसायीलाई आग्रह गरेको थियो।
'बाणिज्य संघको आग्रहमा व्यवसायीले बन्दका दिन पनि बजार पसल खुलाएको थियो,' लयालुले भने, 'त्यसपछि भोलि के–के हुन्छ यसको जिम्मेवार बाणिज्य संघ हुनुपर्छ भन्दै बन्दकर्ता हिँडेकै रात बिष्फोटक पदार्थ राखिएको पाइयो ।'
प्रकाशित: ३ आश्विन २०७२ २३:४१ आइतबार