सहरसँगै समानान्तर भएर बितिरहेको मेरो एक हावादारी अस्तित्व आजकाल बेलाबेला झरीमा खुब रु‰ने गरेको छ। मेरो अस्तित्व हावादारी, किनभने म प्रत्येकपटकको निश्वासमा एक मुठी हावा निल्छु अनि हावा नै ओकल्छु, बस्! त्यत्ति हो मेरो हुनुको अस्तित्व अनि आफैंलाई आफू हुनुको भ्रामात्मक बोध पनि।
अस्तित्ववादका अराजक घेराभित्र कैद बाँच्नेे पश्चिमी लेखक फ्रेडरिक नित्से र पारिजातको बहुचर्चित पात्र सकम्बरीलाई लिएर पाटनका गल्लीहरूमा हराउन खोज्छु। तिनै गल्ली, जहाँ आजकाल त्रासका रेखाहरू वृत्तचित्र खिच्दैछन्। ढल्नबाट जोगिएका बिहारहरूमा बुद्धका शून्यवादहरू सुस्केरा फेर्दैछन्। ढल्किएका टुँडालहरू आफ्नै प्रतिविम्ब नियाल्ने आशामा सयौं वर्षदेखि कुनै ठूलो ऐनाको प्रतीक्षामा छन्। अनि तिनै गल्लीमा, जहाँ मेरा शाब्दिक प्रेमहरू हराएका छन्। मेरा शब्द–प्रेमिका बौलाएका छन्। यी तुहिएका सपनाजस्ता अक्षरहरू सबैसबै बकवास हुन्। फुटेका रंगीन सिसाहरूमा टुक्राटुक्रा देखिने आफ््कनै मुहारको वैरागी प्रतिविम्बजस्तै।
पाटन सहर आजभोलि खुब रमाएको हुनुपर्ने हो। तर खोइ, सहरलाई के भएको छ? म बुझ्दिनँ। बुझेर बुझिसाध्य कुरा यहाँ छँदै छैनन्। बाइपोलार डिस्अर्डरले ग्रस्त मानसिक रोगीझैं सहर असन्तुलित भएको छ। साँघुरा गल्लीहरू असहज रूपमा सतर्क भएका छन्। रातमा समेत ती गल्लीहरूले होस नगुमाउनु पक्कै राम्रो लक्षण होइन। बित्दैछन् रात्रि प्रहरहरू चोक्टाचोक्टा अन्धकारमा अनि टुक्राटुक्रा उज्यालो फाल्ने मधुरो बत्तीहरूको मरन्च्याँसे प्रकाशमा।
अब एकफेर मत्स्येन्द्रानलाई भेट्नुपर्नेछ। उनै रातो मत्स्येन्द्रनाथ जसको कृपामा मेरो सहरले बर्सातरूपी एक रुमानी उपहार पाउने गर्छ । जसलाई श्री करुणामय लोकेश्वरको उपमा दिइएको छ। अनि उनैको रथयात्रा यो ऋतुमा सहरको सान बनेको छ। आफ्नो रथ यात्रा चलिरहँदा ती बूढा भने रथमा नबसेर गल्लीगल्ली पैदल हिँड्दैछन् भन्ने सुनेको थिएँ। तिनलाई भेट्नु थियो। नागबहाल, गाबहाल, मंगलबजार, च्यासल, सुन्धारा आदि ठाउँ चहार्दै खुब खोजेँ। कतै भेटिएनन्। तल बंगलामुखीतिर पनि हेरेँ। नित्से र सकम्बरी मैसँग थिए। तिनलाई पनि खुब हिँडाएँ। आकाशमा बादल बिहानैदेखि टम्म थियो। झरी पर्न ठिक्क परेको मौसम भएकोले चर्को घाम भने खप्नुपरेन।
शंखमूल नजिकै छानोभरि घाँस पलाएको एउटा थोत्रो पाटीमा मत्स्येन्द्रनाथ बसेका रहेछन्। बल्लबल्ल भेटेँ। नित्से र सकम्बरी त त्यतातिर आएनन्। तिनीहरू युएन पार्कतिर लागेजस्तो लाग्यो। बागमतीको तीरैतीर टेकु दोभानसम्म पुग्छौं भन्थे। भगवान्हरू मरिसके भनेर उहिल्यै घोषण गर्ने फ्रेडरिक नित्सेलाई मत्स्येन्द्रनाथको दर्शन गराउन पनि ठिक होइन जस्तो लाग्यो।
सुरुमा बिरबिर चुहिन लागेको पानीले एकै छिनमा दर्के झरीको रूप थियो। भूकम्पमा जसोतसो जोगिएको थोत्रो पाटीको छानो चुहिने रहेछ। पछाडितिरको गारो चिरा परेर बांगिएको थियो। झरी बाक्लो भएकोले बाछिटा हामीसम्म आइपुग्यो।
मत्स्येन्द्रनाथ र म गफ गर्न थाल्यौं। दुई–चार दिनदेखिको लगातार झरीले गर्दा होला अलितल वाग्मती नदीमा सानोतिनो बाढी नै बगिरहेको थियो। अलिपर खेतमा घुम ओढेको एउटा किसान धान गोड्दै थियो। किसान, झरी र रातो मत्स्येन्द्रनाथ; यी तीन तŒवहरूको समागममा पाटन सहरको प्राचीन अस्तित्व कुँदिएझैं लाग्यो। सायद एउटा जान्ने चित्रकारले भेटेको भए सुन्दर कलाको सिर्जना गर्ने थियो होला।
झरीको आवाजलाई ब्याकग्राउन्ड संगीत बनाएर ती देवता आफ्ना सोचाइ र भोगाइहरू बोल्न थाले। म सुनिरहेँ।
...
अभिशप्त आभासमा समयका स्वर युगौंदेखि गुन्जिरहेका छन्। म बारम्बार भादगाउँका राजा नरेन्द्रदेव सम्झन्छु, कान्तिपुरका तान्त्रिक बन्धुदत्त बज्राचार्य सम्झन्छु, पाटनका किसान रथचक्र सम्झन्छु अनि कर्कोटक नागलाई पनि म झलझली सम्झन्छु। ती चार प्राणीहरू मलाई लिन आएका थिए— कामारुकामाक्ष आसामसम्म। उति टाढाबाट यो ठाउँसम्म आउने मन मलाई पटक्कै थिएन। मेरा बाआमा पनि मलाई पठाउन चाहँदैन थिए। मेरी आमा त ढोकाको संघारमा लम्पसार परेर सुतेकी थिइन्, मेरो बाटो छेक्न। बिचरी आमाको एकएक केशराशी पन्छाएर बाटो बनाउँदै मैले आउनुपर्योम।
आसाम एकफेर फर्कन मन छ। तर त्यसका लागि मलाई त्यही तान्त्रिक बन्धुदत्तको सहायता चाहिन्छ, जसले मलाई यहाँसम्म तानेर ल्याएको थियो। सहरवासीहरूसँग अग्घोर रिसाएको गोरखनाथलाई सर्पको आसनबाट उठाउन त्यो बूढो तान्त्रिकले मलाई जाल गरेर यहाँसम्म ल्यायो। उसैले फर्काउन सक्ने हो। तर बूढो मरिसक्यो जस्तो लाग्छ । त्यसैले, आसाम फर्किएर जाने कुरो अब एउटा असम्भव आशामात्र पनि हुन सक्छ।
देवता भएर पनि यसरी लाचार हुनु लाजमर्दो कुरा हो। यो जमानामा ममात्र होइन, कैयन् देवता मजस्तै विवश र शक्तिहीन भएर बाँचिरहेछन्। मान्छेलाई अचम्म लाग्नुपर्ने हो— देवताहरू शक्तिहीन भएकोमा। जाबो भूकम्पमा समेत तिनले आफ्नो थलो अर्थात् मन्दिरहरूको रक्षा गर्न सकेनन्। बित्थैमा मान्छेहरू पूजा गर्छन् हाम्रो। बिचरा मानवहरू महाभ्रममा बाँचेका छन्।
आसाम छाडेर यहाँ आएपछि म नितान्त एक्लो भएँ। हुन त यहाँ मेरा आफन्तहरू थिए, मीननाथ अनि गोरखनाथ। लगनखेलनेर पोडेटोलमा मेरो ससुराली पनि भयो। तर धेरैजसो म सधैं एक्लै नै रहेँ। वास्तवमा मलाई एक्लै हिँड्न र एक्लै बस्नमै रमाइलो पनि लाग्यो। मान्छेहरूको जस्तो देवताको एक–आपसमा मिल्ती हुँदो रहेनछ। मेरो भोगाइले कम्तीमा त्यसै भन्छ।
सायद म एउटा शरणर्थी देउता हँु। अर्काको सहरमा पुजिँदा पुजिँदै मैले सिंगो सहरलाई नै आफ्नो बनाएँ। त्यति बेला पाटन सहरसँग अपरिचित म, आज पाटन मेरो भएको छ। म पाटनको भएको छु। पाटनका गल्लीहरूसँग अन्योन्याश्रित साइनो गाँस्न सकेको छु। कहिलेकाहीँ लाग्छ— यी गल्ली नहुँदा हुन् त म उहिल्यै बहुलाइसक्थेँ। मान्छेले मेरा लागि भनेर अनेक मन्दिर बनाएका छन्। तर म बस्दिनँ कुनैमा पनि। त्यहाँ उकुसमुकुस हुन्छ। अत्यास लाग्छ। क्लस्ट्रोफोबियाको म पुरानो रोगी हुँ। तर साँघुरै सही, गल्लीहरूमा भने म रमाउँछु। बरु बेवारिसे छाडिएका पुराना र जीर्ण पाटी अनि सत्तलहरू मलाई प्रिय लाग्छन्। रात म यिनै पाटीहरूमै काट्छु।
म बसेको छु भन्ने भ्रममा मान्छेहरू मरीमरी मेरो रथ तान्छन्। मचाहिँ पर भिडदेखि अलग्गै उभिएर आफ्नो रथको जात्रा हेरिरहन्छु। चाही–नचाही यो सहरको संस्कृति र परिवेशसँग भने म लीन नै भइसकेको छु। मलाई यो सहरले जबरजस्ती प्रेम गर्योा। मैले के गरेँ, त्यो हेक्का छैन। हुन सक्छ मैले सहरलाई प्रेम गरिनँ। प्रेम त मैले आफैंलाई पनि सायद गरिनँ। नत्र किन यस्तो प्रेतजस्तो भएर हिँड्थेँ र? सुन्दर मन्दिरहरू छाडेर यस्ता थोत्रा सत्तल र पाटीहरू चहार्दै!
सहरमा बर्सात हुनु र नहुनुसँग मेरो कुनै सरोकार छैन। नागहरूलाई मैले नियतवश मुक्ति दिलाएको पनि होइन। मान्छेहरू त्यस्सै मेरो पूजा गर्छन्। यत्तिचाहिँ हो, झरी मेरो अन्तरंग बनेको छ। बर्सातमा रुझ्दै हिले गल्लीहरू चहार्दा आत्मसन्तुष्टिको मिठो आभास हुन्छ।
कहिलेकाहीँ लाग्छ, यो सहर बहुलाएको छ। वा, यसलाई बहुलाहा पारिएको छ। यसको रौनकतामा भद्दा रङहरू थपिएका छन्। निःशब्दताको मिठो ध्वनिमा ज्याज म्युजिकजस्तो हल्ला मिसाएर एउटा सिम्फोनी वा ब्लुज रच्न खोज्ने सहरवासीको प्रयास केवल मिथ्या चेतनाको उपजबाहेक केही होइन।
तैपनि, यो सहर छ र म छु। म छु र यसले अनेकन विशेषण पाएको छ। आफ्ना खिइएका सपनाहरू खल्तीमा हालेर मान्छेहरू हिँडेका छन्। निरर्थकताका भारीहरू पिठ्युँमा बोकेर आफैंबाट भाग्ने निस्सार यात्रामा लाम लागेका छन्। बस्, यत्ति हो सहरको रूप। बस्, यत्ति हो मेरो बुझाइ। बुङ्मतीमा भत्किएको मेरो मन्दिरले एउटा प्राचीन आर्टको मेलान्कोलिक अर्थ बोक्छ। र बोक्छ, निलो आकाशको एक चोक्टा गहिरो दृष्टि।
धुमधामसँग भोटो जात्रा मनाउछन्। प्रत्येक वर्ष मेरो रथको टुप्पोमा चढेर एक पौराणिक नाटक मञ्चन गर्छन्। म झलझली सम्झन्छु, औषधिमूलो गर्न सिपालु त्यो ज्यापुलाई, जसले नागबाट सुन्दर भोटो उपहार पाएको थियो।
जीवन कहिलेकाहीँ कुनै पुरानो स्लो रक संगीतको तालजस्तो लाग्छ, जसमा अनेक आवेग छन् र त्यत्तिकै संवेग पनि। यहाँ धेरै लामो कुरा गर्नुको के अर्थ? इतिहासहरू लिखित अलिखित भएर फेरिँदै गए। समय बितिरहेको आभास घामका रंगीन रेशाहरूमा मैले पाइरहेँ। सहर बदलिँदै गयो। म स्थिर र अचल रहेँ। म गाडिएँ यो सहरमा— पिपलको जराजस्तै।
...
मत्स्येन्द्रनाथको बिलौन भनौं या कथा सकिएको थियो। बर्सात कम भइसकेको छ। नित्से र सकम्बरी फर्किएर आएनन्। कहाँ पुगे कुन्नि? अब मलाई फर्किनु थियो। करुणामय लोकेश्वरलाई त के भो र ! जहाँ रात काटे पनि। उनी त्यतै बसे। म आफ्नै बाटो लागेँ। अलिपर पुग्दा सुनेँ, मौन विलौनाको ध्वनिमा आरोह–अवरोह रच्दै तिनै रातो देवता कविता गाइरहेका थिए-
युगका अवशेषहरू
प्राचीन सहरको भग्नावशेषमा
कुरूप कल्पनाको आकार खोतलिरहेछन्
म लम्पसार बाँचिरहेछु-
एक महाशून्य जिन्दगी!
प्रकाशित: १ आश्विन २०७२ २२:११ शुक्रबार