अन्य

अर्द्धमत्स्येन्द्रासन

योगी मत्स्येन्द्रनाथ शिवजीको शिष्य हुनुहुन्थ्यो। उहाँले शिवजीबाट योग सिक्नुभएको हो। उहाँ प्रायः अर्द्धमत्स्येन्द्रासनमा बस्नुहुन्थ्यो। त्यसैले यो आसनको आविष्कारकको रूपमा उहाँलाई लिने गरेको पाइन्छ। यद्यपि काठमाडौं सहरमा मत्स्येन्द्रनाथलाई रथमा राखी जात्रा मनाइने गरिन्छ।यो आसनको पार्श्व आसनहरूको अभ्यास गर्दा शरीरलाई अगाडि, पछाडि लैजाँदा ढाडमा ठूलो दबाब महसुस भई लचकता उत्पन्न हुन्छ। शरीर चंगा भएको अनुभूति हुने हुनाले यो आसनलाई पाश्चात्य मुलुकहरूमा स्पाइन् टुइस्टको नामले जानिन्छ।

मानिलिनुस् यहाँहरूले ढाडलाई दायाँबायाँ चलाउनुहुन्छ अथवा भनौं कपडा धुँदा भिजेको कपडालाई निचोरेको जस्तो ढाड हुन गई यसले शरीरमा रक्तसञ्चारको अभिवृद्धि हुन गई विजातीय पदार्थको निष्कासन गर्छ। पेटमा रहेका बोसोयुक्त तन्तुहरूलाई हटाई भित्री अंगहरूमा प्रभाव पारी व्यक्ति विशेषको एकाग्र शक्ति बढाउँछ। प्राण वायुलाई सम्पूर्ण स्नायुमण्डलमा पुर्या्ई ऊर्जा प्राप्त भई स्मरण शक्तिमा अभिवृद्धि हुन जान्छ। यो आसनको अभ्यास गर्दा मेरुदण्ड उसको धुरीमाथि नै दायाँबायाँ घुम्ने हुनाले स्नायुमण्डलमा अत्याधिक प्रभाव परी कम्मर, ढाड दुख्ने व्यथा निको हुनुका साथै ब्रह्मचर्य पालन गर्नमा लाभदायक छ। चपाचय (पाचन यन्त्र) कलेजो, फोक्सो, हृदयमा प्रभाव पार्छ। यसमा कुहिनाले घुँडा दाबिने भएकोले बायाँतिरको आमाशय, क्लोम ग्रन्थि, ठूलो आन्द्रा र प्लीहा प्रभावित हुने र दायँातिर दबाउँदा कलेजो, ठूलो आन्द्रा प्रभावित भई दुवै मृगौला, साना आन्द्रामा बल प्राप्त हुन्छ। यो आसन गर्दा कम्मरलाई झुकाउनु हुँदैन।

यो आसनले पेन्त्रि्कयाजमा मालिस भई बिटासेलहरू बढ्न गई इन्सुलिन हर्मोन उत्पादन हुन्छ जसले कार्बोहाइड्रेट मेटाबोलिजमलाई नियन्त्रण गर्ने कार्य गरी मूत्रदाह हुनबाट जोगाउँछ। बिटासेल जुन पेन्त्रि्कयाजभित्र रहेको हुन्छ र यसले काम गर्न ढिला भएमा इनसुलिनको उत्पादनमा कमी भई मधुमेह रोग उत्पन्न हुने भएकाले पनि यो आसन मधुमेह रोगको लागि रामवाण मानिन्छ।

विधि

स्वच्छ वातावरणमा तन्ना, म्याट, चटाई अथवा कार्पेट बिछ्याई त्यसमा बस्ने। मुटुको धड्कन, श्वासप्रश्वासको गति स्वाभाविक स्थितिमा आएपछि ढाड, कम्मर र गर्दन सोझो पारेर बस्ने। दायाँ खुट्टाको घुँडा मोडेर कुर्कुचा देब्रे वक्षस्थल मुनि राख्ने, त्यसपछि देब्रे खुट्टा दाहिने तिघ्राबाट मोडेर दाहिने घुँडाको छेउमा एउटै रेखामा पारी ४५ डिग्रीको कोणमा पर्ने गरी उभ्याइराख्ने। त्यसपछि दाहिने हात ४५ डिग्रीको कोणमा स्थिति भएको देब्रे घुँडामाथिबाट मोडेर सोही खुट्टामा समानान्तर रहेको दाहिने हातलाई राख्दै त्यही हातले देब्रे खुट्टाको कुर्कुचा समात्ने प्रयास गर्ने। देब्रे हातलाई ढाडको पछाडि जमिनमा राख्ने। मेरुदण्ड, ट्रंक (धड), घाँटी सोझो रहेको खण्डमा श्वास भित्र लिने अब विस्तारै मेरुदण्ड, ट्रंकलाई श्वास फ्याँक्दै देब्रेपट्टि सम्भव भएसम्म घुमाउने र च्युँडोले कुममा छुवाउने। दृष्टि बायाँ हातका आंैलाहरूमा राख्ने र श्वास फ्याँकेर रोकेको स्थितिमा रहँदै जालन्दर बन्द, उडियान बन्द र मुल बन्द लगाउँदै स्वाभाविक श्वासमा ५०–१०० गन्तीसम्म स्थिर रहने। अप्ठेरो भएपछि पहिलाको स्थितिमा आउँदा यस आसनको आधावृत्ति पूरा भएको मानिन्छ। त्यस्तै अर्कोतिरबाट यस आसनको अभ्यास गर्नु अनिवार्य हुन्छ। सय गन्तीलाई योगमा एक यौगिक मिनेट मानिन्छ। यो आसन कम्तीमा एक मिनेट र धेरैमा तीन मिनेटसम्म गर्न सकिन्छ।

(आरोग्य आश्रम भाटभटेनी)

प्रकाशित: २५ भाद्र २०७२ २१:०२ शुक्रबार