विश्व वरीयताको दोस्रो स्थानका स्विस खेलाडीले बुधबारको जितबाट आफू निकै उत्साही भएको बताए। 'साँच्चै नतिजा जस्तो आयो, त्यो मैले सोचेको थिइनँ। मैले कडा प्रतिस्पर्धा अपेक्षा गरेको थिएँ,' फेडेररले भने, 'मैले सुरुदेखि आक्रामक रूपमा खेलेँ। यसरी खेल्न मलाई मजा लाग्छ। संयोगले आज त्यो शैली सफल पनि भयो।'
क्वार्टरफाइनलको सहज जितका बाबजुद फेडेरर सेमिफाइनलमा वावरिन्काबाट भोग्नुपर्ने कडा चुनौतीप्रति सचेत छन्। दुई मित्रबीच अहिलेसम्मका १९ खेलमा फेडेररले १६ पटक जित हासिल गरे पनि वावरिन्काको वर्तमान फर्म उनका लागि टाउको दुखाइ बन्नसक्छ। जुनमा फ्रेन्च ओपन जित्ने क्रममा वावरिन्काले क्वार्टरफाइनलमा फेडेररलाई सोझो सेटमा पराजित गरेका थिए।
'वावरिन्काले पेरिसमा मविरुद्ध निकै उत्कृष्ट खेलेका थिए। उनैले उपाधि जितेकाले मलाई खुसी पनि लाग्यो। वास्तवमा फ्रेन्च ओपनमा उनी उपाधिको सच्चा हकदार थिए,' ग्रान्ड स्लाममा ४६ औं क्वार्टरफाइनल खेलेपछि फेडेररले भने, 'पछिल्लो समयमा वावरिन्काले धेरै मिहिनेत गरेका छन्। उनको खेलमा व्यापक सुधार आएको छ। पहिलोपल्ट युएस ओपनमा उनीसँग खेल्न पाउँदा मलाई खुसी लागेको छ। मेरो विचारमा यो खेल हामी दुई खेलाडीसँगै स्विट्जरल्यान्डका लागि पनि दबाबरहित रहनेछ।'
वावरिन्काले पनि बुधबार आक्रामक प्रदर्शन गर्दै दक्षिण अफ्रिकाका केभिन एन्डरसनमाथि सोझो सेटमा विजय पाएका थिए। विश्व वरीयताका पाँचौं स्थानका ३० वर्षे वावरिन्काले ६–४, ६–४, ६–० को सहज विजय पाए। यसअघि २०१३ मा पनि अन्तिम चारको यात्रा तय गरेका वावरिन्काको युएस ओपनमा यो दोस्रो सेमिफाइनल उपस्थिति हो।
'आज मैले जारी प्रतियोगितामा सबैभन्दा राम्रो प्रदर्शन गरेको दिन हो। तर, फेडेररसँग जित्न मैले आफ्नो करिअरकै उत्कृष्ट खेल्न सक्नुपर्छ। फेडेररविरुद्ध कोर्टमा उत्रिनु भनेको एउटा ठूलो चुनौती हो। म त्यसका लागि तयार छु,' वावरिन्काले भने, 'एन्डरसनलाई पनि मैले कमजोर आकेको थिइनँ। यही प्रतियोगितामा उनले ठूल्ठूला स्तब्ध नतिजा ल्याइसकेका छन्। उनको चुनौती पार गरेँ। अब मैले थप दुई खेलमा मिहिनेत गर्नुछ।'
१५ औं वरीयताका एन्डरसनले तेस्रो वरीयताका बेलायती स्टार एन्डी मरेलाई निराश पार्दै करिअरमै पहिलोपल्ट ग्रान्ड स्लाम क्वार्टरफाइनल पक्का गरेका थिए। तर, बुधबारको हारपछि १९८० मा योहान क्रिइकपछि युएस ओपनको सेमिफाइनल पुग्ने पहिलो दक्षिण अफ्रिकी खेलाडी बन्ने एन्डरसनको सपना पूरा हुन पाएन।
बुधबारै महिलातर्फ क्वार्टरफाइनलमा चेक गणतन्त्रकी पेट्रा भिटोभा इटालीकी फाबिया पेनेट्टासँग स्तब्ध बनेकी छन्। २६ औं वरीयताप्राप्त पेनेट्टाले विश्व नम्बर पाँच भिटोभालाई तीन सेटसम्म संघर्ष गर्दै निराश पारेकी हुन्। पेनेट्टाले पहिलो सेट ४–६ ले गुमाए पनि त्यसपछि दुई सेटमा लगातार ६–४, ६–२ को नतिजा हात पारिन्।
सेमिफाइनलमा पेनेट्टाले विश्व वरीयताको दोस्रो स्थानकी रोमानियाली प्रतिद्वन्द्वी सिमोना हालेपसँग प्रतिस्पर्धा गर्नेछिन्। हालेपले बुल्गेरियाकी २० औं वरीयताप्राप्त भिक्टोरिया अजारेन्कालाई ६–३, ४–६, ६–४ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेकी थिइन्।
प्रकाशित: २४ भाद्र २०७२ २०:०५ बिहीबार