अन्य

आफ्नै पार्टीका नेता हत्या अरोपमा पक्राउ परेका कांग्रेस नेता हिरासत मुक्त

पोखरा—नेपाली कांग्रेसका स्थानीय नेता रामजी बादलको हत्यापछि प्रहरी हिरासतमा रहेका पार्टीको लेखनाथ नगर सभापति राजेन्द्रमणि लामिछाने बुधबार मुक्त भएका छन्। साउन १८ गते तरुण दल आवद्ध कार्यकर्ताद्वारा बादल मारिएपछि लामिछाने अनुसन्धानका क्रममा हिरासतमा थिए। 

 

जिल्ला सरकारी वकिलले उनीविरुद्ध मुद्दा चलाउन आवश्यक प्रमाणको कुनै अंश नभेटेपछि लामिछानेलाई कास्की प्रहरीले हिरासत मुक्त गरेको हो । बादल मारिएलगत्तै आक्रोशित भीडका बीचमा कांग्रेस नेताहरु नै तारो बनेका थिए । सोही क्रममा लामिछानेसमेत असुरिक्षत बनेको र अनुसन्धानमा सघाउ पुग्नेभएपछि उनी प्रहरी सुरक्षामा पुगेका थिए । अत्यन्तै लोकप्रिय छवि भएका नेता लामिछाने हिरासत मुक्त भएपछि बुधबार लेखनाथका स्थानीयले खुसीयाली मनाएका छन् । 

हत्याकाण्डमा संलग्न भएको आरोपमा समातिएका विश्वास गौतम, राजु रानाभाट र प्रकाश गुरुङसहित अरु २ जनालाई भने बिहीबार जिल्ला अदालतमा पेस गरिने जानकारी कास्की प्रहरी प्रवक्ता डिएसपी गोविन्द अधिकारीले दिए । कांग्रेसको नगर निर्वाचन नजिकै आएका बेला भएको हत्याकाण्डलाई पार्टीकै संस्थापन र अर्काे पक्षको मतभेदको उपज भन्ने प्रारम्भिक अनुमान गरिएको थियो । तर, तरुण दल कार्यकर्ता गौतम र कांग्रेस कार्यकर्ता नारायणहरि तिवारीबीचको मनमुटावपछि उत्पन्न विवाद मिलाउन अघि सरेका नेता रामजी बादललाई गौतमसहितले मारेको प्रहरीको प्रारम्भिक बयानबाट खुलेको छ ।

प्रकाशित: २३ भाद्र २०७२ ०९:२० बुधबार