अन्य

जनजाति महासंघका पूर्व महासचिव आङ्काजी शेर्पा पक्राउ

काठमाडौं—जनजाति महासंघका पूर्व महासचिव आङ्काजी शेर्पालाई प्रहरीले पक्राउ गरेको छ।

 

सोसल मिडियामा सामाजिक सद्भाव बिथोलिने पोस्ट गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी अपराध मशाखाले बौद्धबाट उनलाई पक्राउ गरी ल्याएको एसएसपी सर्वेन्द्र खनालले बताए।

'उहाँको नामको फेसबुक अकाउन्टबाट सामाजिक सद्भाव बिथोल्ने खालका सामग्री सम्प्रेषित भएका छन्। त्यसबारेमा अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिएका हौं', एसएसपी खनालले नागरिकन्युजसँग भने, 'विस्तृत अध्ययनपछि मात्रै अरु कुरा भन्न सकिन्छ। '

के लेखेका थिए आङ्काजीले?

फेसबुकमा अाङ्काजी शेर्पाको नाउँमा रहेको अकाउन्टमा गृहमन्त्री बामदेव गाैतमलाई हत्यारा भन्नेसम्मका स्ट्याटस राखिएको पाइएको छ। 'वीरगञ्जमा शान्तिपूर्ण अान्दोलनमाथि गोली प्रहार गर्ने र दिलिप चौरसियाको हत्यारा गृहमन्त्री बामदेव गाैतमलाई बर्खास्थ गर', मंगलबार बिहान ६ वटा फोटो सहित ९:४४ बजे उनको फेसबुक स्ट्याटसमा लेखिएको थियो। 

निजी तथा सामाजिक गतिविधिहरु सबै अपडेट हुने उनको फेसबुक अकाउन्टमा फेसबुककै नियमविपरित ग्राफिक्स कन्टेन्टहरु समेत अपलोड हुने गरेका थिए। अरु मान्छेलाई हानी पुर्‍याउने किसिमका त्यस्ता कन्टेन्टहरुलाई फेसबुक अाफैँले 'ग्राफिक्स कन्टेन्ट' भनेर फोटो बाहिर खतराको सूचना सहित कालोपोतिदिएको पाइएको छ।

उनको पोस्टलाई फेसबुकले यसरी ग्राफिक्स कन्टेन्ट भनेर छुट्याइदिएको छ

नेपाल आदिबासी जनजाती महासंघका पूर्व महासचिव अाङ्काजी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य हुन्। फेसबुकको उनको अकाउन्टसँग २५ हजार व्यक्ति अावद्ध छन्। उनका ५ हजार फेसबुक फ्रेन्ड छन्। २० हजार ६८४ उनको अकाउन्टलाई फलो गर्छन्।

प्रकाशित: १६ भाद्र २०७२ ०३:१६ बुधबार