अन्य

धमाला बिनाको पत्रकारिता नूनबिनाको तरकारी!

काठमाडौं— गाइजात्राको अवसरमा रिपोटर्स क्लबले आइतबार कलाकार निम्त्याएर कार्यक्रम गरेको छ। कार्यक्रममा सहभागी कलाकारले मुलुकको राजनीति, नेता तथा क्लबकै अध्यक्ष ऋषि धमालाप्रति व्यग्यवाण प्रहार गरे।कलाकार दिपकराज गिरीले पीडामा मनोरञ्जनको मल्हम लगाउनु पर्ने आवश्यकता भएको भन्दै खुसी खोज्न आफूहरु लागि परहेको उल्लेख गरे। उनले क्लबका अध्यक्ष ऋषि धमलाको प्रस्तुती शैलीमा व्यंग्य प्रस्तुत गरेका थिए।

कलाकार मनोज गजुरेलले मधेसी दलहरुले आन्दोलनमा मारिनेलाई ५० लाख दिने भनि गरेको घोषणा प्रति ब्यग्य गर्दै 'आज नगद कल उधार' भनेर जनताले भन्नु पर्ने उल्लेख गरे। ५० लाख रुपैयाँ र जनताको ज्यान कसैको मुख्य मन्त्री बन्ने सिँढी नबनोस् भन्ने उनले कामना गरे। गजुरेलले धमला बिनाको पत्रकारिता नुन बिनाको तरकारी भन्दै उनको शैलीप्रति कटाक्ष गरेका थिए।

सिताराम कट्टेलले देशको पछिल्लो अवस्था, राजनीति दलहरुको गतिविधि, भारतीय हस्तक्षेप र धमलाको प्रस्तुती शैली प्रति ब्यङग्य गर्दै काग्रेस बरिष्ठ नेता शेरबहादुर देउवा, हरिबंश आचार्य, केपी ओली, रामचन्द्र पौडेलको क्यारिकेचर प्रस्तुत गरेका थिए।

दिपाश्री निरौलाले रोपाइँमा नजानु होला कृषि मन्त्रीले समाउला भन्ने प्यारोडी प्रस्तुत गरिन्। उनले भाग्य भन्दा पहिला कोही नभेटिने भन्दै धमलाले विवाह कहिले गर्नु हुन्छ ? भनी सोधेको प्रश्नको जवाफ दिइन्।

कलाकारहरु शिवहरी पौडेल, राजाराम पौडेल, केदार घिमिरे, किरण केसी, देवी राम पराजुली तथा शिवशंकर रिजालले व्यंग्यात्मक खुराक पस्केका थिए।

प्रकाशित: १२ भाद्र २०७२ २३:५४ शनिबार