अन्य

अज्ञात समूहद्वारा यार्सा ब्यापारीको ४० लाख लुटियो

मुगु-तिब्बत पुगेर यार्सागुम्बा बेचेर फर्किदै गरेको अवस्थामा सोमवार विहान मुगुका व्यापारिको चालिस लाख रुपैयाँ अज्ञात समूहले लुटेको छ । साउन २६ गते देखि चीनको स्वशासित क्षेत्र तिब्बतमा खुलेको हाटमा यार्सा बेच्न गएका मुगु गाविस ६ का २८ वर्षीया जिम्मेद लामाको साथमा रहेको चालिस लाख रकम लुटिएको हो।बन्दुक खुकुरी सहित आएको अज्ञात समूहले लुटेको जिम्मेदकी दिदी भागी लामाले जानकारी दिइन्।

उनिहरु तिब्बतबाट फर्कँदै गर्दा यालाङ्ग भन्ने स्थानमा आईतवार राती पाल हालेर बसेका थिए। सोमबार विहान पाँच बजे तिर हात हतियार सहित आएको लुटेराको समूहले रकम लुटेको बताईएको छ । पालमा तिब्बतबाट व्यापार गरि आएका लामा सहित अन्य सात जना थिए। लामा बाहेक अन्य ६ जनाको साथमा रहेको नगद पनि लुटिएको छ । अन्यको साथबाट कति लुटियो भन्ने जानकारी आउन बाँकि रहेको छ । लुटपाट भएको स्थान तर्फ जिल्ला प्रहरी कार्यालयबाट दश जना सुरक्षाकर्मी सोमवार नै पठाई सकिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक श्रीहजुर सिलवालले जानकारी दिए । प्रहरी नपुग्दासम्म केही भन्न नसकिने उनले बताए । सदरमुकाम गमगढी देखि लुटपाट भएको स्थानसम्म पुग्न तीन दिनको समय लाग्छ ।

अघिल्लो वर्ष पनि यार्सा संकलन गर्ने समयमा हिमालमा नै त्यस्तै हतियारधारी समूहले लुटपाट मच्चाएको थियो ।

प्रकाशित: ७ भाद्र २०७२ ०६:३४ सोमबार