घामको किरण नछिर्ने जङ्गलमा बाघ, भालु नलाग्ने कुरै भएन। मनको अठोट चिरिप्प डल्ले खुर्सानी चपाउदा जिब्रो छुए जसरी मनमा लाग्यो। पाँचपोखरी पुगेर आएका भाइ भेटें, गाउँ सोधेर नक्सा बनाए। बाटाको साथी नक्सा भएपछि आँट बढ्यो। उसले चिसो हुन्छ भनेर ज्याकेट सहयोग गर्योज। एक हातमा नक्सा अर्को हातमा ज्याकेट मन बलियो भएर आयो।
कुरा सुन्नु बूढाको आगो ताप्नु मुढाको, जति जति यात्रामा अघि बढ्न सुरियो त्यति त्यति डर मनमा पैदा हुँदै रह्यो। कोशिस गरि हेरुा भनेर पाइला अघि सारे। स्याउलेबाट भारी बोकी आउने दाईहरुसँग गफिदै आउँदा मैथानको पसले हुनुहुँदो रहेछ। पहिलो रात ढुक्क भयो उहाँकोमा बास पाएँ। एकदमै मिजासिलो हुनुहुँदो रहेछ हाँसी राख्न,े हसाई राख्ने। सानोतिनो यार्सा गुम्बाको व्यापारी भएकालेे यार्सा हेर्ने, छुने अवसर जुर्न पुग्यो। अर्कोतर्फ शेर्पा (मःम) रेल्दुक चाख्ने।
यात्रा गर्नु भनेकै अनुभव गर्नु हो। ओख्रेनी हुँदै मैथानबाट यात्रा अघि बढाएँ। भाग्यवश म जुन घरमा बसेको थिए त्यही घरको छोरा र भाई माथि गोठ उक्लिएका रहेछन्। ठूलो जङ्गलमा साथी पाएँ, तर उहाँहरुको हिडाइमा म कहाँ हिड्न सक्थे र! उहाँहरुको साथ आधा घण्टा भन्दा टिक्न सकेन। डाँडाकाडाँ हेर्दै अघि बढें। घना जङ्गलमा एक्लो फिरन्ते भएर। जब एक्लो पनले सताउँदो रहेछ तब मनमा विभिन्न विचार आउँदो रहेछ। जब विचार आउँथे, म आफैसँग बोल्थे। त्यसरी शहरमा बोले भने पागल कहलिन्छु होला।
आफ्नै प्रश्न र आफ्नै उत्तर– 'हेर कृष्ण तँ मर्न यात्रा गर्न आएको होइन त? बाँच्छस् अझ धेरै भोग्न बाँकी छ। नेपाल हेर्न बाँकी छ। तेरो प्रकृतिले रक्षा गर्छ। आमा मान्छस् प्रकृतिलाई तेरो पाँचपोखरीको यात्रा सुन्दर र स्मरण योग्य हुनेछ।'
जङ्गलमा खस्याक्क खुस्रुक्क हुँदा पनि हातका रौं ठडिए। कुनै समय हावा चल्दा। पतिङ्गर उडाउँदा हावाको सुस्केराले पनि सतायो। मलाई जब डर लाग्थ्यो त्यस बेला जङ्गलको साथी लठ्ठी बनाएको थिएँ। ढुँगामा लठ्ठी बजार्थे यसबाट निस्किएको कर्कस ध्वनी ट्वाङ्ग ट्वाङ्गले मलाई साथ दिन्थ्यो। मन आँटले भरिन्थ्यो। जहाँ चौबाटो आउथ्यो त्यहाँ पाँचपोखरी वन्यजन्तु चोरी निकासी समूहले बाटोमा साइनबोर्ड राखेको पाए कुन बाटो कता जान्छ सजिलै पत्ता लाग्थ्यो। यस्तोमा बाटो भुल्ने कुरै भएन। जब थकाई लाग्थ्यो म सुरक्षित स्थान खोजी आराम लिन्थे। पानी पिउँथे र फोटो कैद गर्थे।
जुका जुत्ता हुँदै खुट्टा चढी सक्थे। कतिबेला डसेर झर्थे अनि पो पत्ता पाउँथे रगत देखेर। अनि भन्थे आफैलाई 'जुका थेरापी, पैसा नतिरी प्रकृतिसँग गर्दैछस् अब त सफा हुन्छस् जुकाले पिउने रगत नराम्रो रगत हो।' आफैसँग फिस्स हाँस्थे। करिब चार घन्टाको एकसुरे हिडाइपछि पहिलो गोठ आइपुग्यो। जुके डाँडामा। आफ्नो बसाइँ सराइँ गर्न लागेको जस्तो देखिने ब्यागले मलाई थिचेको थियो। गोठमा सोधें, केही पाइन्छ कि भनि। उचाई बढ्दै जादा महँगो हुँदै जान्छ। गोठमा छ्याङ र चाउचाउ, बिस्कुट पाइँदो रहेछ। छ्याङले शरीर चङ्गा भो, पेट प्रशन्न। हँसिला शेर्पा छुर्पी व्यापार गर्दा रहेछन्।
पानी पर्न सुरु भो, बर्सातीले आधा काम गर्यो्। आधा ब्यागको कभरले शरीरलाई सुख्खा राख्न सफल भए नत्र बिमारी पर्ने चिन्ता हुन्थ्यो। करिब ५ घण्टा पछि अर्को गोठ आइपुग्यो, टुटुवानमा। गाँस बाँसको निधो भयो। तमाङको गोठ रहेछ, बुढा रसिला रैछन्, जीवन मा ९ वटा बूढी भित्र्याएका र हाल कान्छीबाट ४ सन्तान भएका। 'यो कान्छी भन्दा छोरी जेठी छ', उनले हाँस्दै सुनाए।
भाउजुलाई सोधे 'के तपाईलाई ८ वटा पहिल्यै विवाह गरेको दाईले भनेका थिए कि ढाँटेर ल्याका हुन्?' जवाफ बुढाले नै दिए, 'लु भुनी दे यिनी नानीलाई मुइले तुलाई भुनेरै ल्याको हो कि नाई?'
'भुनेरै जानेरै आएको', उनले भनिन्। त्यहाँ जंगली च्याऊ खाने अवसर जुट्यो। रातभर बालबच्चा च्याँ च्याँ गर्दा राम्रो निद परेन। बिहानी चिया खाई यात्रामा लम्किए। बाटो डरलाग्दो, पहाड चिरिएका, रुख ढलेका, पहिरो गएको र काठमाडौंका एक तल्लाजत्रा ढुङ्गा। ‰याल जसरी झरिहाल्ला जसरी बसेका, बाटोमा हिँड्दा हिँड्दै माथिबाट आएर किचिहाल्ला जस्तो।
जसै ठाडो उकालो सुरु भयो पुकुभञ्ज्याङ, पोखरे, मेसरमा गोठ केही आहारा खाई नूनथाला डाँडा, हिले, फेदीमा फेरि गोठ आयो। नोत्स्याङ पाटीमा ठूलै गोठ पाएा। दश गोठ एकै थलोमा। पानी पार्न सुरु भयो भिज्न मन लागेन, आराम गरें। पाहुना सत्कार भनेर लोकल कुखुरा काटियो, रक्सी पारियो र रातमा पार्दै गरेको तातो रक्सी चाखियो। आफू नेपाली भएकामा गर्वले मन प्रफुल्ल भयो। सयौं थरी फुलका माली हामी त्यसै भनिएको रहेनछ।
बिहानीको नास्ता खाएर बाटो लागे। म पाँचपोखरी नजिक थिएँ मात्र ३ घन्टाको पर्खाइमा। म पहिलो डेट जाँदाको केटा वा केटीले पार्टनरलाई कुर्दाको मज्जा लिए झैं मन रमाइरहेको थियो। पहिरो गएको रहेछ पाइला, पाइलामा साबधानी अपनाएँ।
म पुगे लौरो फ्याक्ने स्थान जहाँ प्रत्येक यात्रा गरि फर्किएकाहरुले लौरो फ्याक्नै पर्ने मान्यता छ नत्र मनोकामना लौरोसँगै बसि रहनेविश्वास छ। एकै छिनमा आयो भेडा गोठ जहाँ बूढा बस्दा रहेछन्। 'केही पाक्छ कि' अनुरोध गरें। बूढा बाले बाख्राको मोही टक्रयाए। नाई किन भन्नु तन्काएँ १ बटुका। र, लागे अन्तको उकालो र चुमें पाँचपोखरी। चिताउनु पर्ने रहेछ पुरा हुन्छ भन्ने लाग्यो। एक पल कराएरै भने, 'पाँचपोखरी हेर कृष्ण आइपुग्यो चिन' भने। ढिला नगरि गोठतर्फ बढे र खानाको अर्डर दिएँ। १० बजेको थियो क्यामरा भिरि दौडिए उकालोतर्फ।
मौसमको ठेगाना थिएन छिनमै उघ्रने, छिनमै बादलले ढाक्ने। टेन्ट गाडें पाँचपोखरी बीचको चौरीमा जहाँ चौरी भेडाको चरन थियो। डाँडामा पुगेर हेर्दा शरीरको थकान हरायो, मन आनन्दले भरिएर आयो। गोठमा फर्किएर खाना खाएँ। गोठवाला मन्दिरका पुजारी रहेछन्। मन्दिर परिक्रमा गरि पोखरी घुम्ने गरिदो रहेछ। ठूलो पोखरीको नाउँ आमा, त्यसको दाइनेतर्फ ठूली छोरी र अरु साना छोरा, छोरीका नामले। आमा घुमेपछि ठूली छोरी नहेरी परिक्रमा गर्ने चलन रहेछ। ठूली छोरी हेरेमा चिताएको उसले खोसी आफूले राख्ने र तीर्थ घुमेको बेकार हुने विश्वास रहेछ।
सिन्धुुपाल्चोकको भोताङ गाविसमा पर्ने पाँचपोखरी ४२ सय मिटरमा छ। तेइस सय पच्चीस वर्ष अघि शिकारी बुुम्बा रुवा बाइवा शिकार खेल्दै पाँचपोखरी आइपुग्दा धान खेती गरिरहेको देखे। कस्तो अचम्म हिउँ पर्ने ठाउँमा खेती! खासमा त्यहाँ महादेवले रोपाइँ गरिरहेका थिए। उनले वाइवालाई देख्नेवित्तिकै हाल मन्दिर रहेको ठाउँमा अलप भएछन्।
पक्कै पनि महादेव तथा देव गण परिवारले रोपाइँ गरेको हुनु पर्छ भन्ने लागेर उनले मन्दिर स्थापना गरे। त्यसका लागि शिकारी कुकुरको घण्टा फुुकालि रोपाइँ गर्दै अलप भएको ठाउँमा झुुण्ड्याइदिए। मन्दिर स्थापना गरे। रोपाइँ गरेको ठाउँमा धानको बाला खोज्ने काम गरिन्छ। बाला भेटे धनवान भइन्छ भन्ने विस्वास छ।
किम्वदन्ती अनुुसार पाँचपोखरीमा एक जोडी हाँस छन्। भाग्यमानीले मात्र तिनलाई देख्न सक्छन् भनिन्छ। पाँचपोखरीमा एक चिज बर मागे भगवानले पुुर्यालइदिने विश्वास छ। हरेक वर्ष जनै पुर्णिमाका दिन त्यहाँ मेला लाग्छ।
पाँचपोखरीमा सूर्यादय मनमोहक देखिन्छ। पाँचपोखरी आँखा र मनमा कैद गरि फर्कें। लौरो फाल्ने स्थानमा लौरोमा मिति र कसैको सम्झना कुँदेर चढाएँ। नोस्याङ पाटी हुदै नयाँ बाटो लम्किए मेलम्चिको बाटो पुरै ओरालो झर्नुपर्ने भयो। दिनभर पानी पर्योा। जुकाले खानु खाए ढाड, गर्दनसम्म। ओराली उकाली गर्दा लोथ परे गाउँ्क आयो नाम देउराली रहेछ। देउराली तामाङ् बस्ती , सत्कार उस्तै न्यानो पाएँ।
त्यहाँका दाइले मलाई धुपीको लौरो, सुनपाती, धुपी, गोबर धुपी, बैरुङ, पाती र टिमुर कोसेली पठाए। मैले बाटो भुल्ला भनेर दाई चार घन्टाको बाटोसम्म पुर्यााउन आए। संसारमा यस्ता मानिस पनि छन् हैं।
भोताङ् आइपुग्दा कसैले चिया खुवाए। टुप्पीभन्दा माथि रौं छैन भोताङ्भन्दा माथि गाउँ छैन भन्ने भनाइ रहेछ। गोठमा खाजा खाँदा सित्तैमा रक्सी खुवाए, त्यो पनि २९० रुपैयाँ पर्ने। यस्तै अर्का भेटिए, थाङपाल ढापमा, उहाँका आत्मियतालाई नाई भन्न सकिन। बास बसें। पुरा गाउँका बूढा पाकालाई स्पष्टिकरण दिएँ घुम्न आएको भनेर।
बिहान चियासँग मलाई चिउरा दिए, अमिलो चिउरा। खान सकिँन तर त्यहाँकि आमा भने झुरुम झुरुम खाइन्। मसँग खाना र बासको पैसा नलिने छाँट देखेर पसलबाट १८ पाकेट बिस्कुट ल्याई हातमा थमाए। जबरजस्ति बिरामीका लागि भनेर। यसरी म त्रिवेणी हुदै मेलम्ची आएँ। मेलम्चीबाट गाडिमा काठमाडौं।
हामीले आन्तरिक तथा विदेशी पर्यटक पुर्या उन सके भुकम्प पीडित सिन्धुपाल्चोकलाई केही राहत मिल्थ्यो। जो कोही ढुक्क भएर गए हुन्छ, खान र बस्न चिन्ता छैन पाँचपोखरीमा। बेसिजनमा भने समस्या पर्छ। पाँचपोखरीमा चैत्तदेखि कार्तिकसम्म गोठ हुन्छ। जनै पुर्णिमामा मात्र नभई अरु बेला पनि घुम्न जाऔं।
(सानु तामाङ्का अनुसार : (फोन नं. ९७४१५०५०६६)
पाँचपोखरी मन्दिरका पुजारी सानु तामाङ्का अनुसार पहिरो गएको स्थानमा मेला भर्नेलाई सजिलो होस् भनेर समितिले सफा गर्दैछ। मेलामा मात्र नभएर चैत्तदेखि कार्तिकसम्म पाँचपोखरीमा खाने र बस्ने सुविधा पाइन्छ। साथै बाटोमा स–साना होटल बनाउन सके राम्रो हुन्छ। पाँचपोखरी यात्रा हिँड्न सक्नेलाई जम्मा दुई दिन मात्रै हो।
प्रकाशित: ४ भाद्र २०७२ २३:१८ शुक्रबार