२३ सदस्यीय केन्द्रीय समितिको पूर्णताका लागि निर्वाचित समितिले ३ उपाध्यक्ष र ५ सदस्य मनोनीत गर्नेछ। बाँकी २ सदस्य राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मनोनीत गर्नेछ।
सात वर्षअघि संघमा प्रवेश गरेकी राणाले पारिवारिक वातावरणका कारण टेनिसप्रतिको लगाव कायम रहेको बताइन्। 'खेलाडीका हिसाबले म सौखिन मात्र हुँ। हाम्रो परिवार भने लामो समयदेखि टेनिसमा आबद्ध थियो। मेरो श्रीमान् खेलाडी हुनुहुन्थ्यो। पछि संघको नेतृत्व पनि गर्नुभयो,' संघमा आफ्नै पति मनोजलाई स्थानान्तरण गरेकी राणाले भनिन्, 'मेरा छोरीहरूले पनि राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका थुप्रै प्रतियोगिता खेलेका छन्। झन्डै तीन दशकयता हामी कुनै न कुनै रूपमा टेनिसमा छौं।'
लामो समयदेखि टेनिस संघमा बसेर काम गर्दै आएका कारण नेतृत्व गर्न सक्ने विश्वास जुटेको उल्लेख गर्दै राणाले भनिन्, 'संघ एक्लै चलाउने होइन। टिमवर्क हो। अहिलेसम्म हामीले जसरी काम गरिरहेका छौं। त्यसका आधारमा यो संघको नेतृत्व गर्न सक्छु भन्ने विश्वास छ।'
अध्यक्ष राणाले संघले अन्तर्राष्ट्रिय उमेर समूहको प्रतियोगिता आयोजनाको पहल गर्ने बताइन्। 'हामीसँग अन्तर्राष्ट्रिय स्तरका ६ वटा कोर्ट छन्। तर सावर, चेन्जिङ रुम र अन्य भौतिक पूर्वाधार निर्माण गर्न आवश्यक छ,' उनले थपिन्, 'सरकारले त्यसमा सहयोग गर्छ भन्ने विश्वास छ। भौतिक पूर्वाधार तयार भएपछि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न हामीलाई कुनै समस्या छैन।'
टेनिस तल्लो स्तरसम्म पुर्यानउन संघले हप्तामा तीनदिन प्रशिक्षण दिइरहेको प्रसंग कोट्याउँदै नवनिर्वाचित अध्यक्ष राणाले भनिन्, 'त्यस्ता कार्यक्रमलाई आउँदा दिनमा पनि निरन्तरता दिनेछौं। मासिक १ हजार रुपैयाँ लिएर साताको तीनदिन प्रशिक्षण दिँदा खेलाडीहरू बढिरहेका छन्। भविष्यमा अन्य कार्यक्रमको योजना पनि बनाउने छौं।'
साधारण सभाको उद्घाटन राखेप उपाध्यक्ष लामा टेन्डी शेर्पाले गरेका थिए। साधारण सभामा १४ जिल्लाका २७ र केन्द्रीय समितिका १३ गरी ४० जना सहभागी थिए।
प्रकाशित: ४ भाद्र २०७२ २१:३६ शुक्रबार