अन्य

बढिखेल सपरिवार हत्याकाण्डका अभियुक्त १२ वर्षपछि पक्राउ

काठमाडौं— दशैको अष्टमीको दिन ललितपुरको बडिखेलमा स–परिवारै मारिएको १२ वर्ष पुरानो हत्याकान्डका आरोपी पक्राउ परेका छन्। २०६० मा भानु नगरकोटी दम्पत्ति र उनका लालाबाला सहित ५ जनाको हत्या भए पनि हत्यामा संलग्नबारे खुलेको थिएन।

 

२०६० साल असोज १६ गते दशैंको अष्टमीको बेलुका ललितपुरको बडीखेल–८ खेल खेलगाउँमा हिरालाल भनिने भानु नगरकोटी, उनको श्रीमती धनकुमारी नगरकोटी, १० वर्षकी लुरी र ८ वर्षका टुकुली तथा १३ वर्षका रविन्द्रको हत्या भएको थियो ।

हत्याको अनुसन्धानका लागी ११ अनुसन्धान अधिकृत र ५ अनुसन्धान समिति गठन गरिए पनि रहस्यको गुत्थी खुलेको थिएन। १२ वर्षपछी महानगरीय प्रहरी अपराध महाशाखाले नरकोटी परिवारको हत्यामा संलग्न रहेको आरोपमा जेठान नाता पर्ने चन्द्रबहादुर पहरीलाई विहिबार सार्वजनिक गर्‍यो।

'श्रीमतीसँगको निकटता, जागिर नलगाइदिएको रिसइवीले हत्या गरेको बयानमा खुलेको छ' अनुसन्धान विवरण सार्वजनिक गर्दै महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने।

प्रहरीका अनुसार भानु नगरकोटी र चन्द्रबहादुर छिमेकीनै हुन् । भानु अत्यधीक मदिरा सेवन गर्थे । भानु र चन्द्रबहादुरकी पत्नी सूर्यकुमारी बेलखबखत सँगै बसेर रक्सी खाने गर्थे । दुबैविचको निकट सम्बन्ध रहेको छिमेकीले आशंका गरेका थिए ।

भानु नेपाल राष्ट्र बैंक थापाथलीको नोट शाखामा पिउन पदमा कार्यरत थिए। चन्द्रबहादुरले भानुसँग आफुलाई पनि जागिर लगाइदिन भनेका थिए। उनले आफ्नै भाईलाई जागिर लगाइदिएपछि चन्द्र रिसाएका थिए । प्रहरीका अनुसार घटना हुनुभन्दा ५ महिना अगाडि यी दुबैविच झगडाहुँदा चन्द्रले भानुलाई मार्ने धम्की दिएका थिए ।

प्रहरीका अनुसार घटनाको दिन अष्टमीमा नेवारी परम्पराअनुसार कुची भोजका लागी रागा काटेर भानुले २ भाग मासु लगेका थिए । बेलुका यी दुबैले आ–आफ्नो घरमा भोज खाए ।

अत्याधिक मदिरा सवेन गरेका चन्द्रबहादुर बेलुका १२ वजेतिर उठेर आफ्नो घरबाट बहिनी ज्वाइँलाई सिध्याउँछु भन्दै घरबाट निस्किएर भानुको घरमा गए ।

ढोका बन्द रहेकाले शौचालयको छतबाट घरको छतमा पुगेर घरको दोस्रो तलामा पुगे । भर्‍याङ ओर्लनेबेला त्यही खुँडा देखेपछी उनी त्यही बोकेर कोठाभित्र छिरेर खाटमा सुतिरहेका २ जनालाई हाने ।

झ्यालबाट आएको जुनको उज्यालोमा खाटमा सुतेकाहरुको आकार सानो देखेपछी ओठ्ने पल्टाएर हेर्दा भान्छा भान्जी मारिएको देखेपछी उनी पुन तल्लो तलामा आएर कोठामा छिरेर धनकुमारी, भानु र टुकुलीलाई हानेर झ्यालहुँदै भागेका थिए ।

घरबाट जाँदा उनले प्लास्टिकमा लुगा समेत लिएर गएका थिए । हत्यापछी घर नजिकै बाँसको झ्याङमा हतियार फालेर खोलामा गएर लुगा फाले, नुहाएको एसएसपी खनालले जानकारी दिए ।

घटनापछि घर नगई मामाको श्राद्धका लागि पण्डित गोपाल ओझालाई बोलाएर ललितपुरकै लेले काभ्रेस्थित मामाको घर गएका थिए । उन िफर्किएर आउनेक्रममा कान्छो छोरा महेश्वरले घटनाबारे जानकारी दिएपछी नगरकोटीको घर गएका थिए । आफुमाथी शंका नहोस् भनेर उनले घटनास्थलमा आएका प्रहरीलाई शब उठाउन, गाडिमा राख्न सघाएका थिए ।

घटनाको प्रकृतीको आधारमा परिचित आफन्तबाटै परिवार मारिएको निष्कर्ष निकाल्दै प्रहरीले उनी सहित छिमेकी र मृतकका परिवारका सदस्यसँग सोधपुछ गरेको थियो । योक्रममा चन्द्रलाई प्रहरीले तीन पटक सोधपोछ गर्दा समेत उनले आफुलाई थाहा नभएको दावी गरेर उम्किइरहेका थिए ।

पछिल्लो समय उनी चाँगुको झौखेलमा सरेका थिए । विहिबार नियन्त्रणमा लिएर सोधपुछ गर्दा घटनामा आफ्नो संलग्नता स्विकार गरेको प्रहरीको दावी छ ।

'उ सँग एक घन्टा जति कुरा गरे, पहिल्यै किन हो नभनेको भनेर सोधे' महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख विज्ञानराज शर्माले भने' त्यो बेला प्रहरीले सोध्न लगेका सबैले हैन भने, त्यो बेला ज्यान बलियै थियो, प्रहरीको थप्पड सहन पनि सक्थे भने ।'

प्रकाशित: ३ भाद्र २०७२ ०८:१८ बिहीबार