अन्य

बन्द खुल्नै लाग्दा सिलिण्डर बम बिस्फोट

बनेपा—नेकपा–माओवादी (वैद्य) सहितका दलले आह्वान गरेको नेपाल बन्दको दोस्रो दिन काभ्रे, बनेपा नपा–११, खत्री गाउँ स्थित सल्लापाखा सामुदायिक बनमा सिलिण्डर बम बिष्फोट भएको छ । करिब पौने १ बजेतिर बिष्फोट भएको काभ्रे प्रहरीले बतायो।एलपी ग्यास सिलिण्डरलाई बोराले ढाकेर टायरबीचमा राखी पड्काइएको अवस्थामा फेला परेको घटनास्थलबाट फर्किएका प्रहरी निरीक्षक दीपक कार्कीले जानकारी दिएका छन्।

पहिलो दिनको तुलनामा आज बन्दको प्रभाव कम भएकाले बन्दकर्ताहरुले बनेपावासीलाई त्रसित बनाउन विष्फोट गराएको हुनसक्ने प्रहरीको भनाइ छ।

मोहन वैद्य नेतृत्वको माओवादीको आह्वानको प्रत्येक पल्टको बन्दमा यसरी बनेपा शहरको बाहिरी भागमा सिलिण्डर बम बिष्फोट हुँदै आएको छ ।

बनको भित्री भागमा विष्फोट भएकोले मानवीय र भौतिक क्षति भएको छैन । बनेपाभेगमा ४ वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन्।

प्रकाशित: ३२ श्रावण २०७२ ०५:०६ सोमबार