यो गलत कुरा हो। मेरो टाउको कहिल्यै पनि तालुखुइले थिएन। अलि पातलो भने छ। सानैदेखि म कपालको सोखिन थिएँ। मैले कपालका १४ थरी स्टाइल बनाइसकेँ होला। मलाई मन पर्ने बलिउड अभिनेता संजय दत्तदेखि सलमान खानसम्मको स्टाइलमा कपाल बनाइसकेको छु। पहिले कपाल धेरै लामो थियो। पछि पातलो भएपछि विग लगाएँ। धेरैले तालुखुइले भएरै विग लगायो भन्ठानेर यस्तो भनेका हुन्।
कपालको सट्टा अचेल दाह्री लामो पाल्न थालिएछ?
अहिले एकदम फरक लुक्समा देखापरेको हुँ। म आजभोलि फिल्ममा नयाँ–नयाँ भूमिका गर्न रुचाइरहेको छु। नयाँ फिल्म 'लामिछाने कमल' का लागि लामो दाह्री पालेको हुँ। कपाल भने सेट्ठी पार्ने हो।
दर्शकमाझ 'लभर ब्वाई' का रूपमा परिचित हुनुहुन्छ। फरक भूमिकामा देखिन के कुराले उक्सायो?
हरेक कुराको एउटा कालखण्ड हुँदो रहेछ। म जतिबेला अभिनय क्षेत्रमा प्रवेश गरेँ, त्यतिबेला मैले फरक भूमिकामा अभिनय गरेको भए फ्लप भइसक्थेँ। त्यसैले त्यतिबेला मलाई हिरो बन्नु थियो। पहिचान भएपछि न फलानोले यस्तो भूमिका पनि गर्योय भनेर मान्छेले ख्याल गर्छन्। जीवन लुइँटेल भनेर आफूलाई चिनाएँ। अब त्यो जीवन लुइँटेल के–के बन्न सक्छ भनेर देखाउँछु। मेरो बेला त्यस्तो भइसक्यो कि अब फरक भूमिकामा अभिनय गर्दा दर्शकले स्विकार्छन् भन्ने लाग्छ। १० वर्ष भयो दर्शकले मलाई 'लभर ब्वाई' का रूपमा हेरेको। मैले अब मेरो अभिनयलाई 'भर्सटायल' बनाउनुपर्छ। त्यही भएर चाँडै रिलिज हुन लागेको फिल्म 'काफल पाक्यो'मा मैले शहरमा बस्ने गाउँले मानसिकता रहेको युवाको भूमिकामा अभिनय गरेको छु।
अब चकलेटी हिरोमात्रै बन्ने उमेर घर्किन थाल्यो भन्ने महसुससमेत हुन थाल्यो कि?
त्यस्तो होइन। अझै २० वर्षसम्म त म हिरो नै हुन्छु। हलिउड र बलिउडमा ५० पुगेपछि हिरो बल्ल चम्कन्छ। मेरो दिन अहिले नै कसरी जाला? अब 'हिरो' लाई अभिनेताका रूपमा बदल्ने दिन आयो भन्न खोेज्या मात्र हो। सधँैभरि मैले केटीलाई 'जूनको ज्योति ल्याएर दिन्छु' भनेर फिल्ममा नाचेर मात्रै हुँदैन नि। त्यो त अब नयाँ पुस्ताले गर्छ। मैले त मेरो अभिनयलाई फराकिलो बनाउँदै जानुपर्छ।
अब कस्तो भूमिकामा देखिन मन लागेको छ त?
मलाई एक्सन हिरो बन्नुछ। पहिले–पहिले निर्माता/निर्देशकले 'लभस्टोरी' फिल्मका लागि फिट हुन्छ भन्ने यो मेरो लुक्सलाई अहिले 'एंग्री' लुक्स भन्न थालिसकेका छन्। त्यसैले चाँडै एक्सन फिल्ममा काम गर्ने अवसर मिल्छ जस्तो छ।
भर्खरै तपाईंले भुटानी शरणार्थीको कथामा आधारित फिल्म 'रिफ्युजी'मा अभिनय गर्नुभयो। कस्तो रह्यो त पर्दाका लागि बिताएको शरणार्थी जीवन?
आफ्नो देशमा बस्न नपाउनुको पीडा साँच्चै दर्दनाक हुन्छ। फिल्मका लागि शरणार्थी भएर अभिनय गरिरहँदा त्यो पीडा मैले महसुस गरेँ। हुन त म मोरङकै बासिन्दा भएकाले भुटानी शरणार्थीको जीवनका विषयमा केही जानकार नै थिएँ। तर, आफैँ त्यो पात्र बन्नुपर्दा मात्र थाहा भयो, जुनसुकै देशमा गएर बसे पनि शरणार्थी भएकै कारण त्यो देशबाट हेपिएको महसुस हुँदो रहेछ।
'रिफ्युजी' मा पछिल्लो छिमलकी अभिनेत्री रिस्ता बस्नेतसँग अभिनय गर्दा 'तन्नेरी भएको महसुस भयो' भन्ने अभिव्यक्ति दिनुभएछ?
स्वाभाविक हो। मैले धेरै समकालीन र आफूभन्दा अग्रज निरुता सिंहजस्ता अभिनेत्रीहरूसँग काम गरेँ। तर, रिस्तासँग काम गर्दा एकपटक फेरि युवावस्थामा फर्किएको महसुस भयो। जस्तै, फिल्ममा उनलाई प्रेम प्रस्ताव राख्दा पनि अलि 'मोडर्न' भएर राख्नुपर्थ्यो।
अहिलेसम्म निर्वाह गरेकोमध्ये तपाईंलाई निर्वाह गर्न सबैभन्दा गाह्रो भएको भूमिका कुन थियो?
फिल्म 'काफल पाक्यो' को विष्णुप्रसाद शर्मा भन्ने पात्र बन्न मलाई सबैभन्दा गाह्रो भएको हो। म पूर्वेली केटो परेँ। लवज पूर्वेली। तर, फिल्ममा पश्चिमेली लवज चाहिएको थियो। गुल्मी परिवेशमा हुर्किएको सीधा–सादा केटोको भूमिका निर्वाह गर्नुपर्ने भयो। त्यसैले त्यहाँका केही युवासँग साक्षात्कार गरेँ। बोल्ने लवज पनि टिपेँ।
धेरैजसो लभस्टोरी फिल्ममा काम गर्नुभयो। कहिलेकाहीँ त पर्दाभित्र प्रेम गर्दागर्दै वास्तवमै प्रेम हुँदो हो?
त्यस्तो हुँदैन। म त सधँै आफूलाई कलाकार हो भन्ने ठान्छु। त्यही भएर अभिनयलाई दुरुपयोग गर्न चाहँदिन। फिल्मको स्त्रि्कप्ट पहिले नै पढिएको हुन्छ। त्यही अनुसार तयारी गरिएको हुन्छ। जतिबेला म सुटिङको सेटमा पुग्छु, त्यतिबेला म मेरो 'क्यारेक्टर' भित्र पसेको हुन्छु। सुटिङ सकिएपछि फेरि सामान्य हुन्छु।
परिवार र फिल्म दुवैलाई समय दिन गाह्रो हुँदो हो?
जिन्दगीको आफ्नै लय हुन्छ। आफैँ मिल्दै जान्छ। छिटो बिहे गर्दा बेलैमा छोरा–छोरी हुर्किन्छन्। यो एउटा फाइदा पनि हो। केही बेफाइदा पनि होलान्। सबै कतै न कतैबाट परिचालित हुन्छ, हामी त सकुञ्जेल पुर्याहइदिने निमित्त पात्र मात्र हौँ।
फ्यान धेरै छन् है तपाईंका?
खाल–खालका फ्यान छन्। उनीहरूले मेरो तस्बिर र पोस्टर घरमा टाँसेको देखेको छु। पहाडतिर त तोङ्बा र सुकुटी पसलमा पनि मेरो पोस्टर टाँसेको देख्थँे। साह्रै खुशी लाग्थ्यो। आफ्नो तस्बिर छापिएको पोस्टकार्ड आदानप्रदान हुँदा पनि कम्ती आनन्द आउँदैन। कलाकार भएर दर्शकको प्रेमचाहिँ मनग्य कमाइयो भन्ने लाग्छ।
जीवनको एउटा मोडमा पुगेपछि चर्चित र सफल नेपाली कलाकार पनि अमेरिका गइरहेका छन्। यस्तो के बाध्यता आइलागेको हो? कलाकारहरू अमेरिका जानुलाई मैले चाँहि गलत रूपमा लिएको छैन। कलाकारले किन देश छाडिरहेका छन् त भन्ने विषयलाई केलाउन पनि मैले आवश्यक देखेको छु। फिल्मको दुनियाँ भनेको रंगिन हो। कलाकारबाट समाजले अपेक्षा राखेको हुन्छ। राख्नु पनि पर्छ। तर, कलाकारको पनि परिवार हुन्छ। उसका पारिवारिक दायित्व हुन्छन्। हिरोले सधैँभरि फिल्ममा अफर पाउँदैन। एउटा कालखण्ड सकिएपछि ऊ पनि सामान्य जीवनतिर आइपुग्छ। सपनाको समुन्द्रबाट यथार्थको खोलामा आइपुगिन्छ। र, खोलामा आइपुगेपछि पानी नसुकोस् भनेर उसले वैकल्पिक उपाय खोज्छ। हो, त्यही उपाय अहिले अमेरिका हो। कलाकारहरू अमेरिका हानिनुको खास कारण भनेको आर्थिक समस्या नै हो जस्तो लाग्छ।
कलाकारलाई यहाँ बाच्न सक्ने अवस्था छैन भन्न खोज्नुभएको हो?
वास्तवमा यो सही पनि हो। किनभने, यहाँ कलाकारको पारिश्रमिक चित्तबुझ्दो छैन। कलाकारले समाजलाई प्रभावित गरेको हुन्छ। तर, देशले कलाकारका विषयमा केही सोचेको पाइँदैन। देशका होनहार कलाकार विदेशिँदा कुनै वास्ता गरेको पाइँदैन। त्यसैले उनीहरू कहिलेसम्म अप्ठेरोमा परेर 'हिरो' भइरहने? स्वतन्त्रता, सहजता र सुरक्षाका कुरा पनि हुन्छन्।
तपाईं पनि केही महिनाअघि अमेरिकामा हुनुहुन्थ्यो। ग्रिन कार्डका लागि अप्लाई पनि गर्नुभएको छ भन्ने कुरा छ नि?
हो। म ढाँट्दिनँ। मैले अप्लाई गरेर आएको छु। तर, मैले मेरा लागि अप्लाई गरेको होइन। मेरो परिवारको सुनिश्चित भविष्यका लागि हो। मेरा छोराछोरीका लागि हो। हरेक मान्छे आफ्नो भविष्यलाई सुखद बनाउन चाहन्छ। सिर्जना र अवसरका कुरा मानिसका लागि गलत हुँदैनन्। त्यही भएर मेरो परिवारका लागि मैले यस्तो गरँे। तर, राज्यले कलाकारलाई यसो गर्नु गलत हो भन्ने कानुन बनाउँछ भने म त्यसो गर्दिनँ। यस्तो कानुन बनाउने राज्यले कलाकारको सम्मान र भविष्यका विषयमा पनि पक्कै सोच्छ।
तपार्इंलाई 'कवि हिरो' पनि भन्छन् है?
एकपटक कान्तिपुरको कोसेलीमा एउटा कविता छपाएको थिएँ। त्यसपछि मैले कविता पनि लेख्दोरहेछु भन्ने धेरैलाई थाहा भयो। र, केहीले 'कवि हिरो' नै भन्न थालेका हुन्। तर, मैले त्यसपछि कविता छपाएको छैन। म चाँडै 'नायक' नामक कवितासंग्रह प्रकाशन गर्न खोज्दै छु।
दर्शकले देख्ने जीवन र वास्तविक जीवनमा के फरक छ?
पर्दाका जीवन कुनै एउटा फिल्मको पात्र हो। कथाको मागअनुसार ऊ अभिनय गर्छ। तर, वास्तविक जीवन लुइँटेल एउटा साधारण मान्छे हो। कहिले प्रकृति, कहिले साहित्य त कहिले एक्लोपनमा हराउने एउटा साधारण मान्छे!
तर, जीवन लुइँटेल परिवर्तन भइरहन्छ भन्छन् नि।
म मात्र होइन। हरेक मान्छे समयअनुसार परिवर्तन हुन्छ। मान्छेको जीवन परिवर्तन भइरहनुपर्छ। एकनास हुनुहँुदैन। म आजभोलि पहिलेको जस्तो अध्यात्ममा साह्रै अभिरुचि राख्ने मान्छे होइन। पारिवारिक भएको छु। परिवारको जिम्मेवारी छ। समाजको जिम्मेवारी छ। त्यही भएर म व्यावहारिक देखिएको हुँ। अर्को कुरा, मलाई जिन्दगीभर जोगी भएर बाँच्न सक्छु जस्तो लागेन।
प्रकाशित: ३१ श्रावण २०७२ ०५:०१ आइतबार