अन्य

धेरै कमाउनेमा सारापोभा अगाडि

पेरिस- टेनिस सुन्दरी मारिया सारापोभा पुनः सबैभन्दा धेरै कमाउने महिला खेलाडी सूचीको शीर्ष स्थानमा पुगेकी छिन्। फोर्ब्सले निकालेको सूचीमा रुसकी सारापोभा लगातार ११औं वर्ष शीर्ष स्थान ओगट्न सफल भएकी छन्। शीर्ष दसमध्ये सात खेलाडी टेनिसबाट छन्।गत वर्ष फ्रेन्च ओपन जितेकी सारापोभाले ६७ लाख डलर खेलेर कमाएकी थिइन् भने उनको कुल आम्दानी २ करोड ९७ लाख डलर रहेको फोर्ब्सले जनाएको छ। फोर्ब्स पत्रिकाले अन्य स्रोतबाट कमाएको आम्दानीलाई पनि सूची निर्धारणमा समावेश गरेको छ।

शीर्ष वरीयताकी अमेरिकी सेरेना विलियम्स भने दोस्रो स्थानमा छिन्। उनको कुल आम्दानी २ करोड ४६ लाख डलर छ। टेनिसबाहेक मोटर रेसिङका चालक डेनिका प्याटि्रक चौथो स्थानमा छिन्। उनको आम्दानी १ करोड ३९ लाख डलर छ। त्यस्तै टेनिस बाहिरबाट आठौं स्थानमा मिक्स मार्सल आर्टसकी रोन्डा रोउसी र नवौं स्थानमा गल्फकी स्टाके लेविस रहेका छन्।

टेनिस धेरै कमाइ हुने खेलमध्ये एक हो। यसमा पनि पुरुषको दाँजोमा महिलाको कमाइ केही हुने गर्छ। त्यसैले टेनिसमा सबैभन्दा धेरै कमाइ गर्ने स्विट्जरल्यान्डका रोजर फेडेररभन्दा सारापोभाको कमाइ तुलनात्मक रूपमा कम छ।

बक्सिङ खेलाडी फ्लोएड मेवेदर (३० करोड डलर) र मेन्नी पाक्वियो (१६ करोड ) क्रमशः पहिलो र दोस्रो स्थानमा छन् भने रियाल मड्रिडका क्रिस्टियानो रोनाल्डो तेस्रो स्थानमा छन्। रोनाल्डोको आम्दानी ७ करोड ९६ लाख डलर छ।

प्रकाशित: २८ श्रावण २०७२ २०:४० बिहीबार