उनको पहिलो पुस्तक २०५३ सालमा 'सशस्त्र संघर्षबारे विश्व सर्वहारा दृष्टिकोण' हो। राजनीतिक क्षेत्रमा छ पुस्तक लेखेका उनले शान्तिवार्तायता साहित्यिक कृतिका रूपमा आफूलाई उभ्याएका हुन्। यसअघि उनका 'जीवन यात्रा र जीवन' निबन्ध (२०६३), 'तरङ' कविता (२०७०) प्रकाशित छन्।
शर्माको नवौं कृति 'यात्रा र अनुभूति' शान्ति प्रक्रियाको सेरोफेरो र त्यसपछिका राजनीतिक र अन्य जिम्मेवारीका क्रममा युरोपलगायत विभिन्न मुलुकका कार्यक्रम, सेमिनार, भ्रमण र स्वदेशभित्रका केही यात्रानुभूतिमा केन्द्रित छ। यहीबीचमा उनी क्रमशः पार्टीको संसदीय दलको प्रमुख सचेतक, प्रवक्ता र शिक्षामन्त्री पनि भइसकेकाले यात्रानुभूति बटुल्ने अवसर बढी जुरेको देखिन्छ। त्यसो त पछिल्लो समय साझा प्रकाशन सञ्चालक समितिको सदस्य बस्नुले पदलाई भन्दा कामलाई महŒव दिने तथा नयाँ क्षेत्रमा अनुभव लिन खोज्ने स्वभाव शर्माले देखाएका छन्।
पुस्तकमा लेखकले नेताको हैसियतलाई सकेसम्म न्युनीकरण गर्दै लेखकका रूपमा उभ्याउन खोजेका छन्। लेखनीमा पनि प्रगतिशीलता र राष्ट्रवादी धारलाई खरो रूपमा आफूलाई प्रस्तुत गरेका छन्। त्यसैले होला उनले पार्टीभित्रको तत्कालीन अन्तरविरोध र वास्तविकतालाई यथार्थ रूपमा सार्वजनिक गर्ने आँट गरेका छन्। कतिपय स्थानमा भने पार्टीभन्दा माथि उठ्न नसकेको छनक पनि नमिलेको होइन। सशस्त्र द्वन्द्व (भूमिगत) कालमा पार्टीको निर्णयअनुसार २०५९ सालमा सरकारसँग वार्ताको वातावरण मिलाउन कृष्णबहादुर महराका साथ भारतबाट गोरखपुर–लखनउ, सुनवल–भैरहवा हुँदै तत्कालीन मन्त्री नारायण सिंह पुनको हेलिकोप्टरबाट जोखिम मोलेर काठमाडौं भित्रिएको सन्दर्भ पुस्तकको एक दस्तवेजीय पक्ष हो। त्यस क्रममा राजनीतिक दलका मुख्य नेता तथा बुद्धिजीवीसँग भेटवार्ता गरेको सन्दर्भदेखि संघीयताको अध्ययनका लागि वैदेशिक भ्रमणको अनुभवसम्म लिएका विषय पुस्तकमा छ। गोप्य भेटवार्तामै नेकपा (एमाले) का तत्कालीन महासचिव माधवकुमार नेपालले संविधानसभाको निर्वाचन र राजतन्त्र अन्त्यबारे सोच्न नसकिने र अन्य विषयमा वार्ता हुने भनी बताएको कुरा पनि नियात्रामा छ। सोही क्रममा राष्ट्रिय जनशक्ति पार्टीका तत्कालीन अध्यक्ष सूर्यबहादुर थापाले गोप्य भनी तय गरेको भेटवार्तामा पत्रकार आमन्त्रण गरेर अविश्वसनीय व्यवहार देखाएको पुस्तकमा उल्लेख छ।
सरकारसँग वार्ताको वातावरण बनाउने जिम्मेवारी सम्पादनका क्रममा आफूले संविधानसभा, गोलमेच सम्मेलन र अन्तरिम सरकारको अवधारणा राखे पनि राजाले संविधानसभा सकारेको खण्डमा दरबारसँग सिधै वार्ता गरी अन्य संसदीय दलसँगको सहकार्यलाई किनारा लगाउन पनि पार्टीकै कतिपय नेताले खोजेको सन्दर्भमा उनको आलोचना छ। आफूले पुष्पलालको विचारधारालाई पछ्याउँदै त्यसमा सहमति नजनाएको उनले स्पष्ट पारेका छन्। त्यही भएर होला आफूलाई हेडक्वाटर एक महिनाका लागि पठाइए पनि एक सातामै भारत फिर्ता बोलाएको भनी शर्माले लेखेका छन्।
अन्तर्राष्ट्रिय सांसद् युनियनको सम्मेलनमा जाँदा विकसित मुलुकले विकासोन्मुख र अल्पपविकसित मुलुकका सांसद्लाई आफ्ना पुँजीवादी उपयोगिताको पाठ पढाउन खोजेको अनुभूतिलाई लेखकले उल्लेख गरेका छन्। त्यस्ता सम्मेलनबाट राजनीतिक पाठ सिक्ने भन्दा पनि ठाउँ घुम्ने अवसरका रूपमा उनले लिएको देखिन्छ। विकसित मुलुकमा पुगेर आफ्नी जीवनसंगिनी सरलाले आफू भूमिगत हुँदादेखि घरगृहस्थी सम्हालेर बसेको मार्मिक यादसहित उनका लागि घडी उपहार किनिदिएको प्रसंगले मध्यमवर्गीय परिवारबाट राजनीतिमा अघि बढ्नेका पीडालाई झल्काउँछ। पुस्तकमा अर्काे के पनि बोध हुन्छ भने जतिसुकै ठूलो पद वा नेता भए पनि नयाँ ठाउँ र वातावरणको अनुभूति तथा उत्सुकता सबै मानिसका लागि उत्तिकै महŒवको हुँदो रहेछ। यात्राका क्रममा रात नपरी सुत्नुपरेको तथा उज्यालो नहुँदै उठ्नु परेका क्षणलाई लेखकले कवितात्मक अनुभूतिसहित पस्केका छन्।
मार्क्सवादका जन्मदाता काल मार्क्स र सिद्धान्तकार लेनिनका मुलुकमा पुगेर त्यहाँको वर्तमान स्थिति, राजनीतिक परिवेश र विश्व कम्युनिष्ट आन्दोलनमा साम्रज्यवादी तथा पुँजीवादी हस्तक्षेपपूर्ण प्रभावबारे पनि पुस्तकमा चर्चा छ। शान्तिवार्तापछि पार्टीमा चीन भ्रमणको लर्काे लागेका बेला आफूले भ्रमणमा पारिदिन आग्रह नगरेको र कसैलाई पठाउने हैसियतमा पनि नरहेका बेला एकपटक सो मुलुकको भ्रमणमा जान पाएकामा लेखक उत्साहित छन्। विश्वकै ठूलो मानवनिर्मित पर्खाल (६,३०० किलोमिटर) लाई पनि चुम्न पाएकामा हरेक चीन पुग्ने यात्री खुसी हुन्छ। पर्खालको प्रवेशद्वारमा लेखिएको 'ग्रेटवाल नचढेसम्म तिमी मानव हुनेछैनौ' भन्ने उद्गारबाट प्रभावित हुँदै चिनियाँ त्याग, बलिदान र समर्पणको सम्मानमा पनि कविता लेख्न पुग्छन्।
कोपनहेगन रहँदा सडकमा युवा–विद्यार्थीले चुरोट तान्दै हिँडेको र अन्य सामाजिक विकृति देखेको प्रति लेखक चिन्तित बन्दै त्यसको प्रभावको हाम्रो मुलुकका स्वीकार्न नहुने आग्रह गर्न पुछन्। त्यसैले उनी भन्छन्, 'नेदरल्यान्ड वा बेल्जियमका रेडलाइटहरू मेरो देशको आदर्श हुन सक्दैनन्।'
पुस्तकमा नयाँ पुस्ता राजनीतिप्रति उदासिन भएको, उनीहरूलाई राजनीति गर्ने फुर्सद तथा कुनै पनि पार्टीको अनुशासनको घेरा वा नियममा बस्ने चाहना नभएको औंल्याइएको छ। तर, त्यसको निदानका लागि पार्टीले खेल्न सक्ने भूमिकाबारे उल्लेख गर्न भ्याएको भए थप राम्रो हुने थियो। अनुभूति प्रस्तुतिमा कतिपय दैनिकीका सामान्य पक्षलाई पनि उल्लेख गर्नु र वामपन्थी नेता भएर एक ठाउँबाट अर्काे ठाउँमा हिँड्दा 'साइत' का कुरा गर्नुलाई आलोच्य मान्न सकिए भए पनि मूलतः शर्माको लेखकीय इमानदारिता पुस्तकमा प्रकट भएको छ। यो पक्षले उनलाई नियात्रा र आख्यान विधामा अझ अभिप्रेरित गर्न सक्नेछ।
पुस्तकः नियात्रा
लेखक : दीनानाथ शर्मा
प्रकाशक : अक्फोर्ड इन्टरनेसनल पब्लिकेसन्स
पृष्ठ : २८०
प्रकाशित: २२ श्रावण २०७२ २२:५९ शुक्रबार