अन्य

कल्पनाको मिस्टिका, गोप्य फिरफिरे

काठमाडौं- कुमार नगरकोटी र बुद्धिसागरको लेखनशैली विपरीत लयका लाग्छन्। बुद्धिसागर वास्तविकतासँग नजिक रहेर लेख्छन्। आफ्नो 'मेमोरी'को भरपुर प्रयोग गर्छन्। भाषा सरल बनाउँछन्। नगरकोटी उनीभन्दा ठिकविपरीत छन्। यथार्थभन्दा बाहिर, अधिक कल्पनाशीलता र बेग्लै स्वादको लेखनी पस्कँदै आफूलाई 'फिक्सन डिजाइनर'का रूपमा चिनाइरहेका छन्।

यी दुई लेखकबीच समानता पनि छ। दुवैको उपन्यास भदौमा आउँदैछ। दुवैले दिमागबाट औपन्यासिक संसार कागजमा उतारी प्रकाशकलाई जिम्मा लगाएर आफूलाई 'रिक्त' बनाएका छन्। फरक शैलीले पाठकका मन जित्न सफल यी दुईले शुक्रबार शिल्पी थिएटरमा उपस्थित भएर आफ्नो आनीबानी प्रस्तुत गरे।

बुद्धिसागर वास्तविकतामा आधारित पात्रलाई कल्पनाशीलता भरेर उपन्यासमा उतार्छन्। ती पात्र उनलाई मित्रजस्तो लाग्छ। जब उपन्यासको बिट मार्छन्, उनमा अभाव खट्किन्छ। 'बसमा लामो यात्रा गरेपछि आ–आफ्नो झोला भिरेर छुटिनुपर्दा जस्तो एक्लो अनुभव हुन्छ,' उनले उपन्यासको बिट मारेपछि पात्रको सामीप्यताप्रति उनमा उब्जिएको भाव यस्तो छ।

नगरकोटीलाई 'मिस्टिका' सक्दा बुद्धिसागरलाई जस्तै शून्य त लागेको छ तर, पात्रप्रतिको 'अट्याचमेन्ट'ले भने गाँजेको छैन। उनलाई उपन्यास लेख्दा, त्यसमा रमाउँदाको आनन्द भने बुद्धिसागरले व्याख्या गरेजस्तै रोचक लागेको छ। उनी बुद्धिसागर जसरी उपन्यासको सुरु र अन्त्य सोचेर लेख्न बसेका थिएनन्। जब लेख्न बसे, त्यसपछि सोचे। 'उपन्यास लेख्दाको आनन्द यति गहिरो हुँदो रहेछ। यसअघि अनुभूत गरेकै थिइनँ,' उनको 'जोय अफ राइटिङ' यस्तो छ।

नगरकोटीलाई उपन्यास लेख्ने हुटहुटी बुद्धिसागरले नै जगाइदिएका रहेछन्। पाँच वर्षदेखि 'फिरफिरे' लेख्न थालेको उनले पहिलो ड्राफ्ट सकेपछि मात्रै नगरकोटीलाई उपन्यास लेखनका आनन्द बताउँदै त्यसो गर्न सुझाए। तर, भयो कस्तो भने 'फिरफिरे' प्रेसमा जाँदै गर्दा 'मिस्टिका' छापिएर आउँदैछ। नगरकोटीको लेखन लगावले बुद्धिसागरलाई चकित पारेको छ।

'उपन्यास लेख्न के चाहिन्छ?'

यस्ता प्रश्नको थुप्रैपटक उत्तर दिएका छन्, बुद्धिसागरले ।

'म उपन्यास लेख्दैछु। तर, यो बताइदिनुस् कि मैले उपन्यास किन लेख्ने?' यस्तो अनौठो झड्का लाग्ने प्रश्नपछि भने उत्तर खोज्न प्रेरित गर्योर उनलाई।

'साँच्चै म किन उपन्यास लेख्छु?' लामो चिन्तनपछि प्राप्त भएको जवाफ बताए उनले, 'एक जीवन दोहोर्यागएर बाँच्न। जीवनमा तुस छाडेर गएका घटनाहरू हुन्छन्, त्यसलाई मेटाउन।'

आफ्नो यस्तो अनुभूतिमा उनले नगरकोटीको समर्थन खोजे।

'म आइडिया वा फ्ल्यासब्याकलाई हेरेर लेख्दिनँ। त्यही भएर किन लेख्छु भन्ने विषयमा तपाईंको भन्दा फरक जवाफ हुन्छ मेरो,' यसो भन्ने नगरकोटी कसरी लेख्छन् त?

'कल्पनालाई सक्दो फैलाउँछु। क्यारेक्टरभन्दा सेटिङमा बढी ध्यान दिन्छु। समाजको वास्तविकताबाट तानिन्न। उपन्यासको क्लाइमेक्ससम्म थाहा थियो तर बाँकी के लेख्न गइरहेको छु, आफैंलाई थाहा थिएन,' नगरकोटीको 'मिस्टिका' यसरी तयार हुन्छ।

'कर्नाली ब्लुज' लगत्तै थालेका हुन्, बुद्धिसागरले 'फिरफिरे'को काम। उपन्यास थालेपछि उनको प्रेम सम्बन्ध गाँसियो तर प्रेमिकालाई समय दिन सकेनन्। बिहे भयो, श्रीमतीलाई समय दिन सकेनन्। छोरी जन्मिइन्, उनलाई पनि समय दिन सकेनन्। एउटै कारण थियो, उपन्यास सक्नु। उनी राम्ररी सुत्न सकेनन्। 'राम्रो लेख्यो खुसीले निन्द्रा नलाग्ने, ढिलो सुत्यो ढिलै उठिन्छ अनि हिजो लेखेको चित्त नबुझेर बैचैनी हुने,' लेख्दाको आनन्द र पीडाले उनी निकै गुजि्रए।

तर, एउटा पक्षले भने उनलाई खुसी दियो। 'वास्तविक संसार विरक्त लागे उपन्यासको काल्पनिक संसारमा छिर्यो।,' उनको रमाउने तरिका आफ्नै छ, 'उपन्यासको संसारले बेचैन बनाए, वास्तविक संसारमा भुल्यो।'

प्रकाशित: २२ श्रावण २०७२ २२:१९ शुक्रबार