अन्य

रुसमा गौरिकाको कीर्तिमान

काठमाडौं- रुसको कजानमा भएको १६औं फिना विश्व पौडी च्याम्पियनसिपमा गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छन्। गौरिकाले सोमबार १०० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा रहेको कीर्तिमान भंग गरेकी हुन्।१३ वर्षीया गौरिकाले सोमबार निर्धारित दुरी १ मिनेट ८.१२ सेकेन्डमा पूरा गरिन्। यसअघि उनले जेठमा काठमाडौंमा भएको २०औं खुला राष्ट्रिय तथा उमेर समूह पौडी प्रतियोगितामा १ मिनेट १३.१३ सेकेन्डको कीर्तिमान बनाएकी थिइन्।

६६ जनाले प्रतिस्पर्धा गरेको उक्त इभेन्टमा गौरिका ५८औं स्थान रहिन ्। आफ्नो हिट–१ मा गौरिका पहिलो स्थानमा थिइन्। हिट चरणबाट सेमिफाइनलका लागि छानिनेमा हंगेरीकी कातिन्का होसजु अगाडि थिइन्। कातिन्का ५८.७८ सेकेन्डबाट अघिल्लो चरणमा पुगिन्। उनीभन्दा गौरिका समग्रमा ९.३४ सेकेन्डले पछि थिइन्।

गौरिकाले अब १ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछिन।

पछिल्लो समय नेपाली पौडीमा उदीयमान खेलाडीमा परिचय बनाएकी गौरिकाले दुई वर्षमा १४ पल्ट राष्ट्रिय कीर्तिमान बनाइसकेकी छन्। उनको नाममा २ सय मिटर फ्रिस्टायल, २ सय मिटर ब्याकस्ट्रोक, १ सय मिटर ब्रेस्टस्ट्रोक, २०० मिटर व्यक्तिगत मिड्ले, १ सय मिटर फ्रिस्टायल, १०० मिटर बटरफ्लाई, १०० मिटर ब्याकस्ट्रोक, ५० मिटर फ्रिस्टायल र ५० मिटर ब्याकस्ट्रोकमा राष्ट्रिय कीर्तिमान छ।

रुसमा भैरहेको प्रतियोगितालाई रियो ओलम्पिक छनोटका रुपमा पनि लिइएको छ। प्रतियोगितामा गौरिकासँगै नेपालका कीर्तिमानी पौडीवाज शिरीष गुरुङ, सोफिया शाह, गौरिका र किरण कार्कीले भाग लिएका छन्। प्रतियोगितामा सहभागी किरणलाई मात्र नेपाली टोलीका प्रशिक्षक ईश्वर कार्कीले प्रशिक्षण गराएका थिए।

सोमबार कीर्तिमान बनाएकी गौरिका आफनो अभिभावकसँगै लन्डनमा बस्दै आएकी छिन। प्रतियोगिता खेल्न उनी लन्डनबाटै रुस प्रस्थान गरेकी थिइन। यसैगरी रिओ ओलम्पिक तयारी स्वरुप शिरीष र सोफिया १ वर्षे प्रशिक्षणको अवसर पाएपछि बैंककमा प्रशिक्षण गरिरहेका छन्।

प्रतियोगितामा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गर्ने दुई खेलाडी १ सय ७० स्थानमा परे रियो ओलम्पिकका लागि छनोट हुने नेपाल पौडी संघले बताएको छ।

प्रतियोगितामा शिरीषले ५० र १ सय मिटर फ्रिस्टायल, सोफियाले ५० र २ सय मिटर फ्रिस्टायल, किरणले ५० र १ सय मिटर ब्रेस्टस्ट्रोकमा भाग लिनेछन्।

प्रकाशित: १८ श्रावण २०७२ २०:१४ सोमबार