अन्य

भक्तभित्रको कस्तूरी

पृथ्वीनारायण क्याम्पस, पोखरा
संवत् २०२९।
स्कुल छँदै नयाँनयाँ आविष्कार, ब्रह्माण्ड, भूगोलका विषयमा चाख मान्ने उनको रोज्जाको विषय थियो, 'साइन्स'। एसएलसी पास गरेपछि उच्च शिक्षा सुरु भयो, पृथ्वीनारायण (पिएन) क्याम्पसबाट। आइएस्सी त भर्ना भए, पाठ्यक्रमले उनलाई तान्न सकेन। परीक्षाका बेला अरू साथीझैं कलेज जान्थे तर परीक्षा हलमा नबसी लुसुक्कै भागिदिन्थे। सँगैका साथीहरूले तीन घन्टासम्म हलमा परीक्षा लेख्दैगर्दा उनी भने सेती खोलाको बगरतिर टहलिइरहेका भेटिन्थे। सायद, पुस्तकको सीमित शिक्षाभन्दा खुला जीवनको पुस्तक पढ्न चाहन्थे उनी!

एउटै कलेजमा पढ्न जाने भाइले समेत उनी कहाँ जान्थे, के गर्थे; भेउ पाएनन्। आफ्नै घर नजिकको क्याम्पस र खोलाकिनारमा हुने यसखाले गतिविधि सधैं छिप्ने कुरो पनि थिएन। कसोकसो बाआमाले पत्तो पाइहाले। छोरोले धेरै पढेर डाक्टर बनोस् भन्ने अपेक्षा राख्दामात्रै पनि बाआमाको अनुहारमा खुसी नाचिसकेको उनलाई थाहा थियो। परीक्षा नै हापेको बाले थाहा पाएपछि भने उनको चिन्ता माछापुच्छ्रे भएर चुलियो। बाआमाले थप पढाइका लागि काठमाडौं पढाउने कुरा गर्दा सुरुमा त उनी हिउँजस्तै जमिरहे। बिस्तारै पग्लिएर शान्त फेवाताल बने, अनिमात्रै काठमाडौं आउन राजी भए।

छोरोले घर नजिकको क्याम्पस पढ्न मन गरेन त के भो! बाआमाले काठमाडौं पठाउने निधो गरे, डाक्टर जो बनाउनु थियो।

अमृत साइन्स क्याम्पस (अस्कल) मा पुनः आइएस्सीमै भर्ना भए, उनी। दुई सेमेस्टरसम्म त पढिहेरे तर, पिएन क्याम्पसकै हविगत दोहोरिइहाल्यो। परीक्षाका बेला हलमा होइन बाहिर कतै भौंतारिइरहेका हुन्थे, उनी। छ कक्षादेखि नै होमवर्क गर्ने कापीमा कविताका अक्षर कुदाउँदा आनन्द मान्ने उनका लागि सायद, केमेस्ट्रीको 'अर्गानिक केमेस्ट्री' र बायोलोजीको 'सेल थ्योरी'ले तान्नै सकेन। अस्कलमा उनलाई केहीले खुसी दिएको थियो भने त्यो हस्तलिखित साहित्यिक बुलेटिन नै दियो; जसको उनी सम्पादन गर्थे।

पिएन हुँदा 'इन्जिनियर बन्न' फिजिक्स पढेका उनले अस्कलमा 'डाक्टर बन्न' बायोलोजी लिएका थिए। छात्रवासको कोठा नम्बर ३०१ मा साइन्सका मोटामोटा ठेलीको चाङ हुन्थ्यो, उनको मन भने विभिन्न साहित्यिक पुस्तकमा नै अडिइरहन्थो। यसरी अधकल्चो पढाइ अधुरै छाडेर उनले पोखरै फर्किने निर्णय लिए।

यो थियो ०३२–३३ सालको कुरो।

डाक्टर बन्ने उनको सपना टुटिसकेको थियो भने बाआमाको मन भाँच्चिइसकेको। पोखरा फर्किएर पिएनमै मानविकी संकायअन्तर्गत आइएमा भर्ना भए। ०३४ सालमा पोखरेली युवा सांस्कृतिक परिवार र ०३५ मा युवा नाटक परिवार स्थापनापछि साहित्यिक गतिविधिमा उनको सक्रियता बढ्यो, पढाइको स्तर फेरि खस्कियो।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा रहेर कुरा गर्दा उनै सरुभक्तले भनेका थिए, 'साहित्यतिरको आकर्षण र पढाइप्रतिको मोहभंग हुनुको कारण नै ०२८ सालको त्यही घटना हो जस्तो लाग्छ, जुन बेला म कक्षा दसमा पढ्थेँ।' उक्त घटना नै आफ्नो जीवनको 'टर्निङ प्वाइन्ट' भएको ठान्छन्, उनी।

'सायद, शान्ति सरलाई स्कुलले त्यसरी ननिकालेको भए, म साहित्यकार हुने थिइनँ। कतै पठाउने टिचर पो हुन्थेँ कि!' प्रतिष्ठानका कुलपति सरुभक्तले आजभन्दा ४४ वर्षअघिको त्यो टर्निङ प्वाइन्ट सम्भि्कन चाहे।

...

नेपाली आदर्श बोर्डिङ स्कुल, लामाचौर

संवत् २०२८।

दार्जिलिङबाट आएका शान्ति सुब्बा त्यस बेला विद्यार्थीहरूका प्रिय गुरु त छँदै थिए, अभिभावकहरूले पनि खुब सराएका शिक्षकमध्येमा पर्थे। एसएलसी परीक्षा नजिकिँदै थियो, विद्यार्थीको सफलताका लागि शान्ति सर पसिना चुहाइरहेका हुन्थे। सधैं प्रथम हुँदै आएका सरुभक्तले पनि घुँडा धसिसकेका थिए, किनकि उनको लक्ष्य थियो— जसरी भए पनि बोर्डमा आउने। यसैबीच शान्ति सरलाई स्कुलले अवकाश दिने निर्णय गरेको सरुभक्तको कानमा पर्योश। केही साथी भेला गरे, र स्कुलले लिएको निर्णय फिर्ता गराउन नेतृत्व आफूले लिए। कुनै सुनुवाइ नभएपछि स्कुल नै छोड्ने अडान लिए, उनीसहित छ जना साथीहरूले। पुरानो टुँडिखेलको बहुउद्देश्यीय माविमा भर्ना लिए, त्यहीँको विद्यार्थी भएर एसएलसी परीक्षा दिए।

'बाल्यकालदेखि पढ्दै आएको स्कुल छोड्नुपर्दा भित्रभित्रै खुब बिथोलिएको थिएँ,' उनी सम्झन्छन्, 'सधैं पहिलो हुने म त्यही मनोवैज्ञानिक कारणले हुन सक्छ, एसएलसीमा सेकेन्ड डिभिजनमात्र आयो। त्यसपछि त पढाइमा किन हो किन मन जानै सकेन। बरु यसरी साहित्यकर्ममा रमाइरहेको छु।'

...

बासँग ०२८ सालमा पहिलोपटक काठमाडौं टेक्दा सायद सरुभक्तले सोचेका थिएनन्, यहाँ प्रज्ञा प्रतिष्ठानजस्तो संस्था पनि छ। सोचून् पनि कसरी— बाआमाको हौसला पाएपछि एउटा किशोर मस्तिष्कमा डाक्टर बन्ने भूत सवार थियो। तर, देखिएका सबै सपना कहाँ पूरा हुन्छन् र! उनका लागि डाक्टर बन्ने त्यो सपना क्षितिजझैं परपर हुँदै गयो। उनी जतिजति पढ्दै जान्थे, उति नै असफल बन्थे। 'पढाइ मेरो ओरालो लाग्दै थियो, मभित्रको साहित्यचाहिँ उकालो चढिरहेको रहेछ,' उनी सम्भि्कएझैं गर्छन्, तर बिर्सिन्छन्, 'अब साहित्य साधनामै लाग्छु र गम्भीर रचना गर्छु भनेर भनेर कहिलेदेखि योजना बनाएँ भन्ने आफैंलाई थाहा छैन।'

साइन्सप्रतिको उनको रुचिले उच्च शिक्षामा सफलता पाएन तर 'विज्ञान साहित्य' लेखेर भए पनि उनी त्यो भोक मेटिरहेका छन्। ०४० मा लेखेको 'ईथरमा कोरिएको प्रेमपत्र'लाई उनी आफ्नो पहिलो विज्ञान साहित्य मान्छन्। 'निमावीय', 'युद्धः उही ग्यास च्याम्बरभित्र', 'समयको दुःखान्त गीत', जस्ता नाटकहरू पनि उनको विज्ञान साहित्यभित्रै पर्छन्। कथा संग्रह 'छोरी ब्रह्माण्ड', 'यामागल', 'एक अविनवको आत्मकथा', 'पदार्थहरूको गीत' मा पनि उनले विज्ञान मिसाएका छन्।

साइन्सका विद्यार्थी उनी अधिकांश समय इन्डियन लाइब्रेरीमा लुसुक्क छिर्थे र, महात्मा गान्धी, रुसो, नेहरू, आदिका संस्मरण, जीवनी खोजीखोजी पढ्थे। साइन्स उनका लागि दूध नै थियो भने साहित्यचाहिँ पानी। उनले दूध पिउनै चाहेनन्। तिर्खा लाग्दा पिउने पानी नै हो; उनमा साहित्यको तिर्खा असीमित थियो। 'तीस–पचास दशकबीचमा धेरै पढियो,' उनी सन्तुष्टिको स्वास फेर्छन्, 'आफूले मन पराएका लेखकलाई त्यसरी सहजै पढ्न पाउनु नै ठूलो कुरा थियो।' लाइब्रेरीको सदस्य नै बनेका उनी दिनभर त्यहीँ बिताइदिन्थे। आफूले आदर्श मानेका लेखकका हरेक कुरा पढ्दा आत्मसन्तुष्टि मिलेको बताउँछन्, उनी।

स्नातकोत्तर अध्ययनका लागि ०३९ सालमा पुनः काठमाडौं आउँदा उनको दुइटा डेरा थियो— कीर्तिपुर र नयाँसडक नजिकको संकटा लज। छ वर्षे काठमाडौं बसाइमा उनको पढाइ गम्भीर हुन सकेन। 'विद्यार्थी' हुँदा कीर्तिपुर बस्थे भने साहित्यिक गतिविधिका दौरान संकटा।

केन्द्रीय क्याम्पस कीर्तिपुरमा उनले अर्थशास्त्रबाटै उनको स्नातकोत्तर पढाइ सुरु भयो। त्यसलाई अधुरै छाडेर अंग्रेजीमा भर्ना भए, त्यो पनि छिचोल्न सकेनन्। त्यसपछि इतिहास र समाजशास्त्रमा भर्ना भए। यहाँ पनि उनी कहिलेकाहीँ कलेज गइटोपल्थे तर परीक्षा कहिल्यै लेखेनन्। बरु केन्द्रीय क्याम्पसको परिवेशमा रहँदा हुने गरेका साहित्यिक गतिविधिमै सक्रियतापूर्वक लागिरहे। छ वर्षे काठमाडौं बसाइमा पनि उनी पढाइप्रति सन्तुष्ट हुन सकेनन्। कलेजको बोझिलो पाठ्यक्रमभन्दा बाहिरी पुस्तकले उनलाई बढी तान्थ्यो। विश्वविद्यालयीय कोर्स होइन उनी समाज–जीवनको बृहत् संसार पढिरहेका हुन्थे। उनी कल्पना गर्छन्, 'पढाइ अधुरो भयो। राम्रोसँग पास गरेको भए कुनै स्कुलको टिचर वा विश्वविद्यालयको लेक्चर भएर पढाइरहेको हुन्थेँ कि!'

काठमाडौंबाट ०४४ सालतिर पोखरा फर्किएपछि उनको बाँकी जीवन नै साहित्य कर्ममा समर्पित हुन पुग्यो।

...

सरुभक्तको जीवन पढ्दा भरखरै प्रकाशनमा आएको अमर न्यौपानेको उपन्यास 'करोडौं कस्तूरी'को सम्झना आउँछ। 'कस्तूरी, जसले आफ्नै नाभिबाट आएको बिनाको सुगन्ध थाहा नपाएर, कहाँबाट सुगन्ध आयो भन्दै घाँसपातहरूमा, रूखबिरुवाहरूमा वनभरि खोज्दै भौंतारिन्छ तर सुगन्ध उसको आफ्नै नाभिमा भएको बिनाबाट आइरहेको हुन्छ, (करोडौं कस्तूरी, पृ. ३५३)।'

एसएलसीपछि नै औपचारिक पढाइप्रति सरुभक्तको मोहभंग भइसकेको थियो। उनी कलेजको पुस्तकभन्दा बढी बाहिरी पुस्तक पढ्दा आनन्द मान्थे। नाटक लेख्थे, निर्देशन गर्थे र मञ्चमा सफलतापूर्वक उतार्थे। उनले आफूभित्रको कस्तूरी समयमै पहिचान गर्न भ्याएनन्, रुचि नहुँदा नहुँदै जबर्जस्ती पढाइमा घोटिइरहे। 'हरेक मान्छेसँग कुनै न कुनै प्रतिभा हुन्छ,' उनी भन्छन्, 'ढिलै भए पनि साहित्यलाई नै आफ्नो कर्मक्षेत्र बनाउनुपर्छ भन्ने ज्ञान ममा आयो। अहिले मसँग कुनै गुनासो बाँकी छैन।'

पोखरा–काठमाडौं र काठमाडौं–पोखराको यात्राक्रममा उनले जीवनका थुप्रै असजिला बाटाहरू पार गर्नुपर्योन। तिनै कहरिला यात्रा स्विकारेकै कारण उनको साहित्यिक लक्ष्य टुक्रिन पाएन। जीवनलाई बांगाटिंगा धर्साहरू ठान्ने उनी यसमै रमाउँछन्।

यहाँ हरेक मान्छेको जीवन बांगाटिंगा धर्साहरू नै हुन्। उनको विद्यार्थी जीवन, साहित्यिक जीवन र अहिलेको प्राज्ञिक जीवन पनि त्यही धर्साहरूमा बग्दैबग्दै यहाँसम्म आइपुगेको हो। कतिपयको जीवनमा ती धर्साहरू टुक्रिन्छन् र व्यर्थ हुन्छन्। तर, उनको साहित्यिक जीवनमा ती धर्साहरू जोडिए, अर्थ भए। र त, उनी भक्तराज श्रेष्ठबाट सरुभक्त भएर बाँचिरहेका छन्।

अन्तिम पर्दा खसेपछि

'केही अग्रजहरूसितको सत्सङ्ग। तिनका स्नेह, अनुप्रेरणा र सहयोगको त्रिवेणीमा हुर्किएँ। अकस्मात् केही अग्रजहरूले जीवन त्याग गर्दा स्वतःस्फूर्त रूपमा संस्मरण लेखिए। यसरी अनायास मेरो 'संस्मरण यात्रा' आरम्भ भयो।'

भूकम्पअघि प्रकाशनमा आएको सरुभक्तको संस्मरण कृति 'बाङ्गाटिङ्गा धर्साहरू'मा उनले लेखेका हरफहरू हुन्, यी।

लेखनको मूल विधा कविता र नाटक भए पनि सरुभक्तले धेरैपछिदेखि मात्रै संस्मरण लेख्न थाले। कविहरू सिद्धिचरण श्रेष्ठ, भूपि शेरचन, हरिभक्त कटुवाल, विजय मल्ल, धुस्वाँ सायमि आदिसँग भेटिरहन्थे उनी। उनीहरूकै निकटता र सम्बन्धमा रहँदा साहित्य लेखनबारे अनेक कुरा भइरहन्थ्यो। 'एकेडेमीतिर पनि गइरहन्थेँ म,' उनी ती अग्रजहरूको मायालु धाप कहिल्यै भुल्दैनन्, 'राम्रो लेख्नका लागि सधैं हौसला र प्रेरणा दिइरहनुहुन्थ्यो। त्यसले नै मलाई सधैं लेखनमा सक्रिय बनाइरहह्यो।'

दिनभर आफूसँगै रहने सूर्य साँझमा टाढा कतै बिताएपछि धरतीको अनुहार अँध्यारोले छोपिदिन्छ। आफू निकटको मान्छेले छाडेर सधैंका लागि टाढा गएपछि त्यो कि आँसुको रूपमा बाहिर आउँछ कि सिर्जनाको अभिव्यक्तिका रूपमा।

जब हरिभक्त कटुवाल बिते, त्यो पीडा सरुभक्तको आँखाबाट मात्रै व्यक्त भएन संस्मरणको रूपमा आयो। हरिभक्तको जीवनको अन्तिम पर्दा खसेपछि सरुभक्तको डायरीको नयाँ पाना पल्टियो, जुन उनको पहिलो व्यक्ति–संस्मरण थियो।

संस्मरण लेखनको सुरुवात नै व्यक्ति संस्मरणबाट भएकाले आफूले आदर्श मानेका अग्रज लेखक–साहित्यकारबारे उनी अहिले पनि लेखिरहेका छन्।

भूपि हुन् वा हरिभक्त, सिद्धिचरण श्रेष्ठ हुन् वा वाशु शशि; उनीहरूसँगको निकटता र साहित्यिक सम्बन्धको अनेक पाटालाई उनले आफ्नो संस्मरण कृतिमा अटाएका छन्। विजय मल्ल, धुस्वाँ सायमिहरूको अभिभावकत्व र प्रेरणा नै आफूलाई निखार्ने माध्यम भएका सगर्व बताउँछन्, उनी।

'नजिकबाट संगत गरेकाले उहाँहरूको अभिभावकीय स्नेह मेरो स्मृतिमा पटकपटक आइरहन्छ,' उनी भावुक बन्छन्, 'आफूपछिको पुस्ता झनै सशक्त भएर आउनुपर्छ भन्ने उहाँहरूको विचार थियो। सायद, त्यो निकटता नपाएको भए मेरो लेखनले यसरी निरन्तरता नपाउन पनि सक्थ्यो।'

संस्मरण लेखनलाई हल्का ठान्नु नहुने बताउँछन्, उनी। 'सम्भि्कएका सबै कुरा लेख्दैमा त्यो संस्मरण रचना हुन्न। यसको आफ्नै खालको अनुशासन छ,' भन्छन्, 'सम्झनाको पोकोमा भएका सबैलाई लेख्दा त्यो अव्यवस्थित हुन्छ। निश्चित संरचनामा ढाल्नु, व्यवस्थित गर्नु र कलात्मक बनाउनु यसको चुनौती हो।'

संस्मरण, जीवनी र आत्मकथालाई फरक ढंगले व्याख्या नगरिँदा कतिपय भ्रममा रहेको ठान्छन्, उनी। उनको संस्मरण कृतिको पहिलो खण्डमा बितिसकेका लेखक–साहित्यकारप्रति समर्पित सम्झनाहरू छन् भने अर्को खण्डमा साहित्यिक सम्बन्ध केही पुस्तकको रचनागर्भमा रहेर लेखिएका रोचक प्रसंग छन्।

एउटा साहित्यकारको सम्झना पढेर पाठकहरूले के पाउँछन् त?

'पाठकलाई आफ्नो मन परेका लेखकका पुस्तकमात्रै होइन उसको जीवनका विविध पाटोबारे पनि चासो हुन्छ। मेरा कविता, नाटक, कथा वा उपन्यास पढ्ने पाठकले मसँग जोडिएका विविध संस्मरण रुचाउँन् भन्ने लाग्छ,' सरुभक्त भन्छन्, 'साहित्यमा सम्पूर्णतामा म आफू आउँदिन। मेरो अन्य व्यक्तिगत कुराहरू संस्मरणमा समेटेको छु। पाठकहरूले थोरै भए पनि केही फाइदा त लेलान्।'

उनको पुस्तकमा व्यक्ति संस्मरण, साहित्यिक सम्बन्ध र जीवन भोगाइका विविध पाटाहरू समेटिएका छन्। 'प्रसंगवश बाल्यकालीन सन्दर्भ र युवावस्थाका भोगाइ पनि कतै न कतै आएका होलान्,' उनले प्रस्ट पारे, 'तर, यो सम्पूर्णतामा मेरो जीवन–कहानी होइन।'

पाठकहरूले जीवन–कहानी समेटिएको आत्मकथा कहिले पढ्न पाउलान् त?

'केही साथी र पाठकहरूले पनि लेख्नका लागि प्रेरित गरिरहनुभएको छ। मैले आवश्यक ठानेँ भने लेख्न सकिएला,' उनले हाँस्दै भने, 'अहिले आत्मकथा लेख्ने उमेर होइन। यो त त सिर्जना गर्ने समय हो। अहिले आएको संस्मरण मेरो आत्मकथाको 'साहित्यिक अंश'। यसको पूरा अंशचाहिँ पछिको कुरा!'

प्रकाशित: १५ श्रावण २०७२ २२:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App