अन्य

रेडियो महिषासुर

हामी राष्ट्रिय नाचघरमा 'धनबहादुरको मृत्युमा परिवारको आँसु' नामक नाटक देखाउँदै थियौं। निर्देशक थिए, कृष्णप्रसाद अधिकारी। म नायक र शकुन्तला गुरुङ नायिका। नाटक सकिएर पर्दा लाग्नेबित्तिकै मञ्चमा दुई जना आए। श्यामदास वैष्णव र जितेन्द्र महत अभिलाषी।

वैष्णवले भन्नुभयो, 'तपाईंको स्वर दमदार छ, नाटक खेल्ने इच्छा छ भने रेडियो नेपाल आउनुस्।' ढुंगा खोज्दा देउतै मिल्यो। हामीजस्ता कलाकारको ठूलो सपना हुन्थ्यो, रेडियो नेपाल।

त्यस्तो बेला रेडियोकै नाटक निर्देशकको तारिफ! खुसीले मन छमछमी नाच्यो।

खासमा उहाँहरू नाटक हेर्न आउनुभएको थियो। सन्दर्भ विसं २०२२ सालको। पकनाजोल, काठमाडौंको युवक माविमा पढ्थेँ। हामीले विद्यालयकै तर्फबाट नाटक देखाएका थियौं। तीन वर्ष युवकमा पढेँ। बाँकी समय जन्मथलो दोलखाको भीम पब्लिक हाइस्कुलमा। भीमबाटै २०२६ मा एसएलसी परीक्षा दिएँ।

अभिलाषीसँग पहिल्यै परिचय भएको थियो। उहाँ रेडियोमा शाही सैनिक कार्यक्रम चलाउनुहुन्थ्यो। बुबा सरकारी जागिरे भएकाले बरोबर काठमाडौं आउजाउ गर्थेँ म। तिनताका नेपाल (काठमाडौं) आउन दोलखाबाट सात दिन हिँड्नुपर्थ्यो।

दोलखामा छँदै नाटकले तान्यो। मावली दसैं र गाईजात्रामा नाटक देखाउँथे। गाउँका मण्डलीको संगतले नाटकमा टक बस्यो। युवक मावि पढ्ने बेलाको संगत पनि राम्रै थियो, वसन्त श्रेष्ठ, गौतमरत्न तुलाधर, राधेश्याम प्रधान आदि साथी थिए।

वैष्णव गुरु बन्नुभयो। रेडियोमा मेरो पहिलो रेडियो नाटक 'श्रीकृष्ण जन्म' थियो। रेकर्डेड होइन लाइभ। स्टुडियोभित्र डर लाग्यो। हरियो बत्ती बलेपछि स्त्रि्कप्ट हेर्दै डायलग बोलेँ। साथमा थिए कलाकार अभिलाषी र मिठू दिदी। बेलाबेला वैष्णव पियानोको काठे ढकनमा मादल गुडाउनुहुन्थ्यो।

'मादलचाहिँ किन गुडाउनुभएको गुरु?' नाटक सकेपछि सोधेँ। 'कंश रथ चढेर आएको झल्को दिन,' उहाँले भन्नुभयो, 'रथका पांग्राको इफेक्ट दिन।'

अहिले सबै इफेक्ट इन्टरनेटमै पाइन्छ। त्यो बेला इन्टरनेट थिएन, हामीले निकै मेहनत गर्नुपर्थ्यो। चराको चिरबिर, स्याल हुइँया...हुइँया गर्दै कराएको आवाज रेकर्ड गर्न सूर्यविनायक र गोदावरी जंगलसम्म पुग्थ्यौं।

ती दिनमा समस्यै समस्या थियो। महिला कलाकार पाउनै गाह्रो। पाइहाले पनि कसैकी श्रीमती र आमा भएर खेल्दैनथे। दिदीबहिनी वा फुपू बनेर खेल्न मान्थे। नाटक लेखकले पात्र नै त्यस्तो खडा गर्नुपर्थ्यो। दुःख थियो।

नाटक गर्ने दिन अर्थात् शनिबार सधैं रेडियोमा जान थालेँ। कहिले अभिनयको पालो पाइन्थ्यो, कहिले पाइन्नथ्यो। पहिलो रेडियो नाटक खेलेर नौ रुपैयाँ कमाएँ। एक मिनेट रेडियोमा बोलेको तीन रुपैयाँ पाइन्थ्यो। मैले तीन मिनेट बोलेँछु। स्कुले जीवनमा नौ रुपैयाँ कमाउँदा संसारै जितेझैं खुसी भएँ।

वैष्णव गुरुबाट रेडियोको प्रारम्भिक ज्ञान पाएँ। पछि उहाँलाई प्रज्ञा प्रतिष्ठानको प्राज्ञ बनाइयो। रेडियो नाटक निर्देशकको जिम्मेवारी हरिप्रसाद रिमालले पाउनुभयो। २०२४ सालदेखि नाटक रेकर्ड गर्ने चलन सुरु भयो। नाटकमा निरन्तर काम गरेँ। विसं २०२८ मा करारमा रेडियो नेपालको जागिरे भएँ। उद्घोषण पनि गर्न थालेँ। त्यसभन्दा पहिला २०२७ सालदेखि प्रज्ञा प्रतिष्ठानमा 'क' श्रेणीको नाटक कलाकारको जागिर पाएको थिएँ। महिनाको २२५ रुपैयाँ पाउँथेँ।

०३५ देखि रेडियोमा फुलटाइमर भएँ। रेडियोका नबिर्सने क्षण धेरै छन्। बिहानी सेवामा कार्यक्रम चलाउँदै थिएँ। गीत बज्दै गर्दा प्राविधिकसँग जिस्कन्थ्यौं। टक ब्याक स्वीच थिचेँ र प्राविधिक कृष्णराज मुल्मीलाई गाली गरेँ। तर, अन एयर स्वीच पो थिचेछु। मुल्मीले 'के गरेको' भनेपछि स्टुडियोभित्रै मैले खाडलमा भासिएको अनुभव गरेँ। उनले थाहा पाएर लाइन काटिदिइसकेछन्। धन्न बचेँ।

अर्को घटना छ, बिहान छ बजे रेडियो नेपाल सुरु हुन्थ्यो। शंखध्वनिसहित रेडियो अन गर्नेबित्तिकै 'जय नेपाल, यो रेडियो नेपाल हो' भनेर बोल्नुपर्थ्यो। डेरा घट्टेकुलोमा। छोरी पाँच महिनाकी थिइन्। उनी सधैं साढे चार बजे ब्युँझेर रुन्थिन्। छोरी उठेपछि म उठ्थेँ।

अलार्मको काम छोरीले गर्थिन्। एक दिन छोरी छिटो ब्युँझिनन्। ब्युँझेर घडी हेर्दा साढे पाँच भइसकेछ। मुखै नधोई कुदेँ। रेडियो नेपालको गेट पुग्दा छ बज्यो। हत्त न पत्त स्टुडियोमा पसेँ र, स्वाँस्वाँ गर्दै भनेँ, जय नेपाल!'

रेडियो अचम्मकै मिडिया हो, एक छिन पख है पनि भन्न नमिल्ने। स्टुडियोबाट बाहिर आउँदा छाती फुट्लाजस्तो भयो। त्यति बेला बिहानको ड्युटी अफिसर पुरुषोत्तम सापकोटा हुनुहुन्थ्यो।

कहिलेकाहीँ प्राविधिक उँघ्छन्। 'अब सुन्नुहोस् तारादेवीको स्वर' भनेर उद्घोषण गरेको प्राविधिक निदाएछ। शिशामा ढकढक गरेँ। नारायणगोपालको गीत पो बजाइदियो।

बिबिसीको सहयोगमा ०३४ सालतिर रेडियो कार्यक्रम उत्पादन र स्त्रि्कप्ट लेखनसम्बन्धी तीन महिने तालिम लिने अवसर पाइयो। दुई जना बेलायती तथा तीन नेपाली किरणमणि दीक्षित, प्रचण्डमान सिंह र खगेन्द्र नेपालीले तालिम दिए। धेरै कुरा सिकेँ। हिरण्य भोजपुरे, पाण्डव सुनुवार, विश्व वल्लभ, आनन्द पुरी, सरिता भट्ट, धन लामा, सूर्यकुमारी पन्त लगायतले तालिम लियौं।

तालिमपछि समूह छुट्याएर कार्यक्रम उत्पादन गरियो। मैले 'चुनिएका गीतहरू' भनेर रत्नदास, मित्रसेन र वटुकृष्ण ज्वाला लगायतका गीत बजाएँ। सबैले मन पराए। अर्को 'हाम्रा आराध्यदेव पशुपतिनाथ' कार्यक्रम बनाएँ। त्यसले उत्कृष्ट पुरस्कार पायो। त्यसमा पशुपतिनाथको महिमा, पुजारी, फूल व्यापारी, दर्शनार्थी र जुत्ता हेर्नेको कुराकानीसम्म समेटेको थिएँ।

प्रशिक्षक किरणमणि कृषि विभागको कृषि सूचना महाशाखा प्रमुख हुनुहुन्थ्यो। 'गोरखापत्रमा पदपूर्ति सूचना आउँदै छ,' उहाँले भन्नुभयो, 'तपाईं कृषिमा जागिर खान आउनुस् है।'

दुई महिनापछि उहाँको फोन आयो, 'किन निवेदन हाल्नुभएन मदनदासजी?'

'मेरो योग्यता पुगेन सर' भनेँ। एसएलसीपछि जितेन्द्र महत अभिलाषी र म महेन्द्ररत्न क्याम्पसमा भर्ना भएका थियौं। तर, पढाइ अघि बढ्न सकेन।

'त्यसो भए त्यो भ्याकेन्सी रद्द गराउँछु र अर्को निकाल्छु,' दीक्षितले भन्नुभयो। सूचना निक्लियो। नासुसरह जेटिए पदको। लिखित पास भइयो। अन्तर्वार्तामा प्रश्न सोध्नेहरू चार जना थिए। अरूले विषयभन्दा बाहिर गएर प्रश्न सोधे दीक्षितजी 'रेडियोकै कुरा सोधौं न भनेर मोड्नुहुन्थ्यो।'

यसरी कृषि सूचना महाशाखाको जागिर मिल्यो। हामीले रेडियोमा 'जेटिए र बूढी आमा' कार्यक्रम चलाउन थाल्यौं। म जेटिए र लक्ष्मी भुसाल बूढीआमा बनेर। शुक्रबार साँझ बज्थ्यो रेडियोमा। कार्यक्रम लोकप्रिय बन्यो।

मदनकृष्ण श्रेष्ठ र फोटोग्राफर नवीन चित्रकार पनि कृषिमै काम गर्नुहुन्थ्यो। हामी बेलाबेला रेडियो कार्यक्रमका लागि काठमाडौंबाहिर जान्थ्यौं। एकचोटि इलामको बरबोटे जाँदै थियौं। बाटोमा तिर्खा लाग्यो। 'ए दाइ पानी खाऊँ न,' पिँडीको फलैंचामा बसेको मान्छेलाई आग्रह गरेँ। उनले स्वर चिनिहाले। भने, 'तपाईं रेडियोमा बोल्ने जेटिए हैन?'

एकै छिनमा दुई–चार जना जम्मा भए। एउटा भाइले चार वटा पुराना रेडियो अगाडि राख्दै भन्यो, 'सबै बिग्रेका छन्, बनाइदिनुपर्योम दाइ।'

उनको कुरा सुनेर नवीनले भने, 'उहाँ त रेडियोमा बोल्ने मान्छे पो। बनाउन जान्नुहुन्न।'

कुरा ०३६ सालतिरको, हामी यात्रामा थियौं। साथमा थिए हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ र नवीन चित्रकार। तिनताका हरिवंश रेडियोमा बैंकिङ कार्यक्रम चलाउँथे। हामी चितवनमा रोकियौं। नवीनले रत्न फिडमा गएर बसौं भने। त्यहाँ झोला बिसाएर डुल्न निस्कँदा एउटा मान्छे भेट्यौं।

'अहो मदनकृष्ण र हरिवंश,' त्यो व्यापारी रमायो, 'भरे बेलुका चारै जना मकहाँ खाना खान आउनुपर्छ है।' उसले आफ्नो ठेगाना बतायो।

मदनकृष्णले भने, 'आजको छाक त टर्योी नि।'

कहिले छ बज्ला भन्ने भयो। त्यो नेवार व्यापारी थियो। उसको बैठकमा पुग्दा टनाटन मान्छे रहेछन्। हामी पुग्नेबित्तिकै उसले भन्यो, 'ल जोकरहरू त आए नि।'

कुरा सुनेर हरिवंशले अँध्यारो अनुहार लाए, 'हामी त फस्यौं नि दाइ।'

उताबाट फर्माइस आयो, 'ल एउटा जोक्करी कुरा जाओस् न।'

मदनकृष्णले मतिर औंल्याउँदै सोधे, 'उहाँलाई चिनेको छ, रेडियो नाटकको कलाकार हो।'

मलाई चिन्नेबित्तिकै एउटाले भन्यो, 'ल गब्बरसिंहको डायलग बोल्नुस् न।'

हरिवंश खोकेझैं गरेर बाहिर निस्के। त्यसपछि नवीन र मदनकृष्ण निस्के। अन्तिममा म पनि निस्केँ। निम्तो मान्न गएका हामी भोकै निस्कियौं। तिनले हाम्रो अवमूल्यन गरे।

चितवनबाट हामी वीरगन्ज गयौं। रिक्सामा डुल्दै थियौं। आनन्द वैद्य भेटिए। उनी मेरा साढु दाजू उल्लासका दाइ हुन्। 'भरे त तपाईंहरू खानपिन गर्न मकहाँ पाल्नुपर्छ,' उहाँले आग्रह गर्नुभयो। नाइँ भन्न सकेनौं।

साँझ यति राम्रो अतिथि सत्कार गर्नुभयो कि हामी गद्गद् भयौं। अनि माहोल झुम्यो, हरिवंश र मदनकृष्णले रमाइलो प्रस्तुति दिए।

धेरै छन्, यस्ता घटना। ०४२ सालमा कृषिबाट रेडियो नेपालमै जागिर सरुवा भयो। हरिप्रसाद रिमालको सहायक भएर धेरै वर्ष काम गरेँ। रिमालको अवकाशपछि रेडियो नाटक शाखा प्रमुख भएँ।

रेडियोमा अभिनय गरेँ। निर्देशन गरेँ। तर, स्त्रि्कप्ट लेखिन। मुलुकभित्र रेडियो नाटक लेख्नेहरू कम छन्। दृश्य र श्रव्य नाटक लेखन फरक छ। वैष्णव, बिबी सिंह, खेमराज केशवशरण, जितेन्द्र महत अभिलाषी, कुवेर गर्तौला राम्रा लेखक हुन्।

मैले रेडियोमा धारावाहिक नाटक सुरु गराएँ। पहिलो धारावाहिक नाटक बाल श्रम शोषणविरुद्ध बनाइएको थियो, ०५२ सालमा। 'आवरण अवतरण' नाटक ५१ भाग प्रसारण भयो।

नाटकमा सबैखाले भूमिका निर्वाह गरेँ। सामाजिक, धार्मिक पात्र बनेँ। गीतिकथा र सांगीतिक कार्यक्रम पनि चलाएँ। बडादसैंमा बज्ने 'दुर्गा' नाटकको महिषासुर अभिनय धेरैले सम्झन्छन्। ०३४ सालमा रेकर्ड भएको थियो त्यो। घटस्थापनादेखि दशमीसम्म धारावाहिक नाटक बजाउन थाल्यौं। त्यसमा महिषासुषर दैंत्यको अभिनय गरेँ। महिषासुषरको अट्टहाँस चर्चित बन्यो। साथीहरू देख्नेबित्तिकै भन्थे, 'ऊ आयो— रेडियो महिषासुर'।

आज पनि कतै कार्यक्रममा जाँदा मान्छेहरू भन्छन्, 'त्यो महिषासुरको हाँसो एकपटक हाँसिदिनुस् न।'

स्वस्थानीको पनि धारावाहिक नाटक बनायौं। ०५६ मा हामी स्याङ्जा पुगेका थियौं। 'माघभर हामी स्वस्थानी किताब पूजा गर्छौं। पढ्न जानेका युवा लाहुरे भइहाले,' गाउँलेले भने, 'स्वस्थानी नाटक बनाइदिनुस् न।'

त्यहाँबाट फर्केपछि ३१ अध्यायको व्रतकथालाई ३१ भागमा नाटक बनायौं। माघ महिनाभर प्रसारण भयो। स्वस्थानी व्रतकथा चल्दा रेडियोले अचेल पनि त्यो नाटक प्रसारण गर्छ।

जीवनमा सयौं नाटक निर्देशन र अभियन गरेँ। रेडियोबाट ०६६ सालमा रिटायर्ड भइसकेपछि पनि अभियनकर्ममै सक्रिय छु। फिल्म खेल्दै छु। अहिले वीर गणेशमानको शतवार्षिकी अवसरमा गणेशमान फाउन्डेशन र रेडियो नेपालको संयुक्त प्रयासमा १५ भागको नाटक बनाउँदै छु। गणेशमानजीको जीवनीमा आधारित नाटकको आठ भाग उत्पादन भइसकेको छ।

वीर गणेशमानको कथा माथवरसिंह बस्नेतले लेखेका हुन् भने नाट्य रूपान्तर प्रकाशप्रसाद उपाध्यायले गरेका। उपाध्याय तिनै व्यक्ति हुन्, जो अल इन्डिया रेडियोमा धेरै वर्ष नेपाली कार्यक्रम चलाएर नेपाल फर्कनुभएको छ। उमेर ७३ वर्ष भए पनि निकै सक्रिय हुनुहुन्छ।

राष्ट्रलाई योगदान दिएका युगपुरुषका जीवनगाथा समेटेर नाटक बनाउनु आवश्यक छ। बिपी, पुष्पलाल, मनमोहन अधिकारी, राजा महेन्द्र लगायतका विषयमा धारावाहिक रेडियो नाटक बन्नुपर्छ।

नेपालमा ०४३ सालदेखि नेपाल टेलिभिजन सुरु भयो। रंगमञ्चका कलाकार त्यसमा आकर्षित हुन थाले। टिभी खुलेपछि मैले पनि रंगमञ्चमा कम सक्रियता देखाएँ। टिभीका महाप्रबन्धक नीर शाह हुनुहुन्थ्यो। टिभीलाई स्थापित गर्न हामीले सुरुसुरुमा निःशुल्क काम गर्यौं । केही टेलिफिल्म खेलेँ। वृत्तचित्र बनाएँ। प्रश्नोत्तर कार्यक्रम चलाएँ।

केही चलचित्रमा काम गरेको छु। के घर के डेरा, तिलहरी, झझल्को, वसन्ती, युगदेखि युगसम्म, कन्यादान, संकल्पलगायत फिल्ममा। नेवारी चलचित्र कृतिलक्ष्मी तयार छ। बिपीको कथा तीन घुम्तीमा आधारित फिल्म छायांकन भइसक्यो।

मलाई त रेडियो नाटकमै मजा लाग्छ। रंगमञ्च र चलचित्रमा शब्दमा व्यक्त गर्न नसक्ने कुरा दृश्यमा देखाउन सकिन्छ, तर रेडियोमा स्रोतालाई त्यसको अनुभूति दिलाउन निकै कसरत गर्नुपर्छ। कल्पनाशीलता चाहिन्छ। संगीतको सहारा लिनुपर्छ। रेडियो नाटक चुनौतीपूर्ण छ।

आज पनि रेडियो नाटकको सान्दर्भिकता उत्तिकै छ। मान्छे टिभी सुरु भएपछि रेडियो ओझेल पर्यो् भन्छन्। म मान्दिनँ, नेपालमै हेर्ने हो भने रेडियो र एफएम सुन्नेहरू कति धेरै छन्। आ–आफ्ना श्रोता र दर्शक हुन्छन्। त्यसैले रेडियोको भविष्य उज्ज्वल देख्छु।

कतिपय मान्छे मलाई बूढो देख्छन्। म बूढो भएको छैन। ठमठमी हिँड्दै छु, काम गर्दै छु। जोस–जाँगर छउन्जेल मान्छे बूढो हुँदैन। हिँडडुल गर्न नसक्ने एकैथलोमा बसेर अरूमा निर्भर हुने मान्छेमात्रै बूढो हो। ज्येष्ठ नागरिकबाट विचार, अनुभव र जीवन संघर्ष सिक्नुपर्छ। जेष्ठ नागरिक प्रेरणास्रोत हुन्।

मलाई चुनौतीपूर्ण जीवन मन पर्छ। ६७ वर्षको भएँ। अभिनय गर्दै छु। बाँचुन्जेल रेडियोमा बोल्ने ऊर्जा मिलिरहोस् भनेर भगवान्सँग प्रार्थना गर्दछु।

(अमृत भादगाउँलेसँगको कुराकानीमा आधारित)

प्रकाशित: ८ श्रावण २०७२ २२:३५ शुक्रबार