अन्य

छुट्टिँदै सारापोभा र डिमिट्रोभ

सोफिया- पाँचपल्टकी ग्रान्ड स्लाम च्याम्पियन मारिया सारापोभाको बुल्गेरियन प्रेमी ग्रिगोर डिमिट्रोभसँगको सम्बन्ध विभाजनको स्थितिमा आइपुगेको छ। 'हाम्रो बाटो विभाजन भएको छ,' २४ वर्षे डिमिट्रोभले भनेका छन्, 'हामीले अद्भूत क्षणको अनुभव बटुल्यौं। टेनिस र जीवनमा उनी अझै खुसी र सफल हुन्छिन् भन्ने कामना व्यक्त गर्दछु।'

एटिपीको वरीयतामा डिमिट्रोभ १६ औं स्थानमा छन्। २८ वर्षीया रुसी सारापोभा विम्बल्डनमा डिमिट्रोभकी पूर्व प्रेमिका सेरेना विलियम्ससँग पराजित भएको दुई हप्तापछि यो सार्वजनिक भएको हो।

डिमिट्रोभले शुक्रबार बुल्गेरियन सञ्चारमाध्यमलाई सारापोभासँगको आफ्नो प्रेमसम्बन्ध टुंगिएको बताएका छन्। उनले भने, 'सिजन मेरा लागि नयाँ सुरुआत हुनेछ। अहिले पूर्ण रूपमा खेलमा केन्द्रित भइरहेको छु। मलाई विश्वास छ, नतिजा भविष्यमा राम्रो देखिनेछ।' गत वर्ष विम्बल्डनको सेमिफाइनलमा पुगेका डिमिट्रोभ विश्व वरीयताको आठौं नम्बरमा पुग्न सफल भएका थिए।

टेनिसमा शक्तिशाली जोडीका रूपमा परिचित सारापोभा र डिमिट्रोभले सन् २०१३ देखि आफूहरूबीच प्रेम सम्बन्ध सुरु भएको बताउँदै आएका थिए। सन् २०१५ सम्म सारापोभा र डिमिट्रोभले विवाह गर्ने अड्कल काटिएको बेला उनीहरूको सम्बन्धमा अड्चन आएको हो।

प्रकाशित: ८ श्रावण २०७२ २०:३० शुक्रबार