नढाँटी भनूँ कि मिलाएर भनूँ ? नढाँटी भन्छु– नेपालमा फिल्म चल्दैमा त्यसका कलाकार चल्ने होइनन्। फ्लप हुँदैमा पनि कसैलाई केही फरक पर्ने पनि होइन। 'रेशम फिलिली' चर्चित भयो। मलाई सुनीताको भूमिकामा धेरैले चिने। पहिले थोरैले चिन्थे, यसपल्ट धेरै दर्शकले चिने। त्यही भएर यो फिल्म चर्चित भएपछि पनि मेरो करिअरमा त्यस्तो उतारचढाव केही छैन।
यो फिल्म रिलिज भएकै भोलिपल्ट भूकम्प गयो । धेरै क्षति बेहोर्नेमै पर्नुभयो तपाईं पनि?
भूकम्पले हाम्रो फिल्मलाई असर पार्योक भन्ने त मैले सोचेकै रहिनछु। वरिपरि धेरै ठूला कुरा भइरहेका बेला त्यो दिमागमा आउँदैन पनि। त्यस्तो सोच्नु हुँदैन पनि। त्यसले मलाई नै क्षति पुर्याचउँछ। फिल्मको कुरा नजोडेरै पनि म भूकम्पपीडित हुँ। घरबाहिर बस्दा बिरामी भएर झन्डै टाइफाइड भइसकेको। बुबा काठमाडौँ आएर चितवन लिएर जानुभयो। बल्ल तंग्रिएर फर्किंदै छु। काठमाडौँमा पनि म बसिरहेको घर भूकम्पले चर्किएर साथीको कोठामा सामान राखेकी छु।
नामकै लागि कला क्षेत्रमा लागेको मान्छेलाई त्यही प्रक्रिया अवरुद्ध हुँदा एकपल्ट पनि त्यस्तो सोचाइ नआउनु त गजबकै कुरा भयो !
साँच्ची भन्ने हो भने म 'नेम' र 'फेम'का लागि अभिनयमा आएकै होइन। म यस कारण यो क्षेत्रमा लागेँ कि मलाई यो काम गर्न मज्जा लाग्छ। अरू त काम राम्रो गरियो भने मात्रै जोडिएर आउने कुरा न हुन् ।
प्रायः मान्छे नामका लागि आउने यो क्षेत्रमा तपाईंलाई चाहिँ कामले नै तानेर कसरी ल्यायो ?
म त सानैदेखि नृत्यमा रुचि भएको मान्छे । टीभीअघि उभिनु, त्यहाँका कलाकारको नक्कल गर्नु मेरा रुचि थिए। खासमा वंशाणुगत रुचि सरेको हो जस्तो लाग्छ मेरा ड्याडी–ममी फिल्ममा निकै चाख राख्नुहुन्थ्यो हरेक नयाँ फिल्म चल्दा हलमा लिएर जाने गर्नुहुन्थ्यो ममी घरमा पनि फिल्मका भीसीडी ल्याएर हेर्नुहुन्थ्यो। ड्याडी केटाहरू बटुलेर सांस्कृतिक कार्यक्रम गर्ने, नाच्ने, गीत गाउने गर्नुहुन्थ्यो रे । यो क्षेत्र ड्याडीको लगावको क्षेत्र थियो । ड्याडीको त्यो लगाव ममा सरेको हो ।
लवजमा अझै मणिपुरको भाषाको छनक रहेछ । कुन उमेरसम्म त्यहाँ रहनुभयो ?
पाँच वर्षको उमेरसम्म मात्रै हो। त्यहाँ म कक्षा २ पुगिसकेकी थिएँ, नेपाल आयौँ। मलाई त नेपाली भाषा फिटिक्कै नआउने रहेछ। बाबाले यूकेजीमा भर्ना गरिदिएर नेपाली भाषाको शिक्षककै व्यवस्था गरिदिनुभएको थियो।
'रेशम फिलिली'की पात्र सुनीता त्यस्तो रिसाहा छे । तर, तपाईं त हाँसेको हाँस्यै गर्नुहुन्छ ।
त्यो पात्र नै रिसाहा थिई। त्यो अनुसार गर्नुपर्यो।। त्यो पात्रसँग मेरो एउटा कुरा भने मिल्छ। म पनि 'टोटल्ली' केटी पाराको छैन ।
अर्थात् ?
मेरो बोलीको 'कन्फिडेन्स' र कुरा गराइले मेरा साथीहरू एक लेभलमा आफूसँग केटी साथी छ भन्ने बिर्सिंदा रहेछन्। केटाहरू अलि अश्लील शब्द बोल्नेतिर अघि बढेपछि उनीहरूलाई 'यहाँ केटी नि छ' भन्छु। त्यसपछि सजग भएर 'ए तँ केटी पो हो' भन्छन्। मेरो बेस्ट फ्रेन्ड भाइ हो। बाबा पनि साथी जस्तो हुनुहुन्छ। मिल्ने साथीमध्ये धेरै केटा साथी नै छन् । सानैदेखि केटा साथीहरूको संगत भएपछि उस्तै पारा आउँछ पनि । मेरो परिवार खुला दिमागको भएकाले मैले केटीजस्तो बाँधिनुपरेन । बाँधिएको चिज मन पनि पर्दैन । हरेकलाई आफ्नै तरिकाले उड्न दिनुपर्छ जस्तो लाग्छ ।
स्वतन्त्र रूपमा धेरै उड्न पाएर सीमा कत्तिको मिचिएको छ नि ?
मेरो ममी मणिपुरको हुनुहुन्थ्यो। म कक्षा ५ मा पुगेपछि उहाँ फेरि मणिपुर नै फर्किनुभयो। म त्यस्तै ९-१० वर्षकी थिएँ । ड्याडी अफिसतिर भएपछि घर सम्हाल्ने जिम्मा मेरै टाउकोमा आयो। मैले स्वतन्त्र रूपमा उड्न पनि सिकेँ र कहाँसम्म पुगेपछि सम्हालिनुपर्छ भन्ने पनि । मान्छेको स्वभाव दुःखबाट सिक्ने खालको हुन्छ । त्यसैले केही सिक्नका लागि उसको जीवनको यात्रा दुःखबाट पनि गुज्रेको हुनुपर्छ ।
आफ्नो 'केटा पारा'ले कहिलेकाहीँ अप्ठ्यारोमा पारेको छैन ?
साथीहरूको घरमा जाँदा अलि समस्या परेको छ । आफूलाई कन्फिडेन्सका साथ प्रस्तुत गर्दा बस्ने तरिका पनि केटा पाराकै हुने भयो । साथीहरूले कोट्याउँछन्– कसरी बसेको तँ भन्दै ? मलाई केटी पाराले बस्न त आउँदैन।
फिल्म लाइनमा चाहिँ यसको घाटा–फाइदा कत्तिको छ ?
मेरो यही तरिकाले मैले पहिलो फिल्म पाएँ। जगदीश्वर थापाको 'बाघचाल' भन्ने फिल्मका लागि अडिसन दिन गएकी थिएँ। खासमा त्यो समय आइपुग्दा अडिसनदेखि यति दिक्क भइसकेकी थिएँ कि 'यो एउटा नौटंकी हो' जस्तो लागिसकेको थियो। आफ्नो तरिका नै लज्जालु हिरोइन बन्ने खालको नदेखिने। त्यसमाथि अडिसनप्रति घट्दो मोहले एउटा एट्टिट्युड देखियो होला। मेरो तरिका मन नपराएरै जगदीश्वर सरले 'तिमी पनि हिरोइन बन्न आ'को ?' भनेर सोध्नुभयो। हिरोइन होइन, एक्टर बन्न आ'को भनिदिएँ। उहाँ त उत्तर दिने तरिका देखेरै युटर्न हुनुभयो। एउटा क्यारेक्टरमा मलाई लिनुभयो। मेरो काम गर्ने तरिका देखेर दुईचारवटा सिन थपिदिनुभयो।
तपाईंको अनुभवमा अडिसन कत्तिको निष्पक्ष हुन्छ ?
एकचरण त मलाई यो अडिसनले नै निराश बनाइसकेको थियो। अडिसन दिन्थेँ, 'हामी तपाईंलाई पछि फोन गर्छौं' भन्थे । ती फोन कहिल्यै आउँदैनथे । अर्थात्, कहिल्यै छानिइनँ म। त्यो त्यतिबेलाका कुरा थियो । अहिले भन्नुपर्दा अडिसन कसले गर्दैछ भन्ने कुराले अर्थ राख्छ। मैले अघिल्लो चरणमा झेलेका अडिसनवाला फिल्मलाई रमाइलो गर्ने पेशा ठान्थे। आफ्नो सपना जोडिएको हुन्छ, पूरै दत्तचित्त भएर लागिएको हुन्छ। अरूले हल्का रूपमा लिएको देखेर म अडिसनमै झगडा गरेर पनि हिँडेँ। जो फिल्मकर्मलाई सपना ठानेर आएका छन्, उनीहरू राम्रोबाट राम्रो छान्नकै लागि अडिसन गर्छन् र फेयर पनि हुन्छ। जस्तो फिल्म 'एक दिन एक रात'मा म अडिसन दिएरै छानिएकी थिएँ। अनुप (बराल) सरले अडिसन लिनुभएको थियो। त्यसपछि मेरो कला यात्रा अझ फराकिलो भयो ।
तपाईंको काठमाडौँ यात्रा कलाकार बन्नकै लागि थियो ?
चाहना कलाकार बन्ने थियो, बहाना पढ्ने थियो । शंकरदेव क्याम्पसमा बीबीएस भर्ना गरेँ । अभिनय सिकाउने ठाउँ खोज्न थालेँ। गुरुकुलमा अभिनय सिकाइन्छ भन्ने थाहा पाए पनि भर्ना समय सकिसकेको थियो । चितवनमा हुँदा त त्यहाँ सुटिङ गर्न गएकाहरू जसलाई कलाकार चाहिए पनि मेरो स्कुलको गुरुले मेरै नाम लिनुहुन्थ्यो। उहाँको काठमाडौँका फिल्मकर्मीसँग राम्रै सम्बन्ध पनि थियो। स्थानीय टीभीमा पनि काम गर्नुहुन्थ्यो । त्यो टीभीका सिरियलमा पनि काम गराउनुभयो। स्कुलमा त अरू के बन्छन्? भन्ने कन्फ्युजन थियो। म चाहिँ भविष्यमा हिरोइन बन्छु भन्ने सबैलाई थाहा थियो।
कलाकार बन्न अभिनय सिक्नैपर्छ भन्ने चाहिँ सानैदेखि रहेछ !
म रमाइलाका लागि आएकी थिइनँ। सपना थियो, त्यसैले मनमा धेरै जान्नुपर्छ भन्ने आयो होला। अनुप सरसँग काम गरेपछि सुटिङका क्रममा उहाँसँग धेरै सिकेँ। उहाँहरूको एक्टर्स स्टुडियोमा अभिनय सिकाइन्छ भन्ने थाहा पाएपछि सुरु हुनेबित्तिकै मलाई खबर गर्नू भनेकी थिएँ। त्यतिबेला अभिनय कक्षा बन्द थियो। बरु उहाँहरूले नाटकका लागि अफर गर्नुभयो। त्यो नाटक गरेपछि अभिनय सिकेँ। सिक्दै गर्दा अनुप सर आफूले अडिसन लिने फिल्मका लागि अडिसन दिन भन्नुहुन्थ्यो। मैले सिक्न थालेपछि पूरा नगरी अडिसन नदिने बताएँ। उहाँ खुशी हुनुभयो।
आइटम डान्सतिर पनि तपाईंको झुकाव देखिन्छ ।
डान्स मलाई असाध्यै मन पर्ने कुरा हो। सानैदेखि डान्स गर्ने भएकाले मलाई आउँछ पनि । तर, आइटम डान्स गर्छु जस्तो लागेको थिएन । एउटा कार्यक्रममा मेरो डान्स देखेपछि 'टलकजंग भर्सेस टुल्के'का लागि निश्चल बस्नेतले उक्त फिल्मको आइटम डान्सका लागि अफर गर्नुभयो । मैले उहाँको मोबाइलमा म्यासेज पठाएँ– 'म कुन एंगलबाट त्यो आइटम गर्न सक्छु जस्तो लाग्छ ?' मलाई डान्स ख्यालठट्टा हो जस्तो लाग्दैन, अझ आइटम त झन् जोखिमपूर्ण हुन्छ। यही नबुझेर गर्नेले गर्दा आइटमलाई हेर्ने नजरिया त्यति राम्रो भएन। त्यसैले मैले निश्चललाई 'अडिसन दिन्छु चित्त बुझे गरौँला' भनेँ। उहाँहरूका लागि होइन, आफ्नै लागि एकपल्ट उहाँहरूलाई नाचेर देखाएकी थिएँ। फिल्म 'भैरव'मा पनि गीत डान्सका लागि लायक ठानेर गरेकी थिएँ। तर, सुटिङपछि सम्पूर्ण रूपमा सन्तुष्ट हुन सकिनँ ।
तपाईंले 'झिग्राना'मा दिएको बेडसिनलाई 'खतरा' भनिँदो रहेछ !
त्यो दृश्य खिच्नुअघि निकै सोचविचार पुर्याइएको हो। त्यो दृश्य सेन्सरले किन काट्यो? थाहा छैन । म आफैँ पनि काम गर्दा बजेटमा कम्प्रमाइज गर्न सक्छु तर मैले त्यो किन गर्ने भन्ने कुराको तर्कचाहिँ बलियो चाहिन्छ। यो दृश्य सेन्सुअल छ, तर भल्गर छैन। म फिल्मको कथाअनुसार कन्भिन्स्ड भएकी हुँ। 'यसलाई कलात्मक देखाइन्छ भने गर्ने' भनेँ । केही कुरामा मैले आफ्नो आइडिया पनि दिएँ। मैले काम गरेपछि मान्छेहरूले कि खतरा नै भनून, कि त झुर भनून् जस्तो लाग्छ। बीचको भन्यो भने मलाई मन पर्दैन।
प्रकाशित: ६ श्रावण २०७२ ०९:१८ बुधबार