भुइँचालोबाट चरिकोटको पर्यटनमा ३० करोड रुपैयाँभन्दा बढी क्षति पुगेको उनले बताए। भूकम्प प्रविधि राष्ट्रिय समाजले बजारका घर निरीक्षण गरेर फर्केको धेरै भइसक्यो तर के गर्ने भनेर सुझाव नदिएकामा उनी दुःखी छन्।
विशेषतः धार्मिक पर्यटक दोलखा घुम्छन्। 'भूकम्पपछि घुम्ने हिसाबले मान्छे आएका छैनन्,' कार्कीले भने, 'राहत र पुनःस्थापनामा खट्नेहरू आइरहेका छन्।' बजारका आशीर्वाद, शुभेच्छा, फागुपूर्णिमा, शुभकामना लगायतका होटल सञ्चालनमा छन्। केही मर्मत हुँदै छन्।
बर्खापछि आन्तरिक पर्यटक आउनेमा कार्की ढुक्क छन्। समस्या होटलकै हो। भूकम्प प्रतिरोधी कटेज बनाउन सुरु भइसकेको छ। होटल प्याराडाइजका सञ्चालक मिङगुर शेर्पाले कटेज बनाइसके। त्यस्तै शैलुङ भिलेज रिसोर्टका रञ्जितकुमार पाठक कटेज बनाउँदै छन्।
दोलखा चम्कँदै छ। चरिकोट, भीमेश्वर र जिरी पहिल्यै स्थापित थिए। पछिल्लो समय कालिञ्चोक चर्चित बनेको छ। हिन्दु र बौद्धमार्गीको साझा तीर्थ कालिञ्चोक (३,६१० मिटर) दर्शनले मनोकांक्षा पूरा हुने जनविश्वास।
वर्षैभरि त्यहाँ नेपाली पुग्थे। कुरि भञ्ज्याङमा होटल छन्। त्यहाँबाट एक घन्टा उकालो चढे मन्दिर पुगिन्छ। कुरिमा डेढ दर्जन होटल, लज छन्। भुइँचालोले तिनमा ठूलो क्षति पुर्याएको छैन। डाँडामा भने पहिरो लागेको छ।
कालिञ्चोक कन्ट्री भिल्ला होटल सञ्चालक ग्याल्पो पाखि्रनका अनुसार मन्दिरछेउमा पहिरो लागेको छ। 'जनैपूर्णिमा मेला लाग्नुअघि सरकारले पहिरो रोकथाम गरी संरक्षण गर्नुपर्छ,' उनले भने।अर्को सम्भावना बोकेको ठाउँ हो शैलुङ। दोलखा र रामेछापको साँधमा शैलुङ (३,१६५ मिटर)। त्यहाँ १०८ थुम्का छन्। कालिञ्चोकजस्तै शैलुङ पनि हिन्दु र बौद्धमार्गीको साझा तीर्थ। जहाँ शैलुङेश्वर महादेव र गुरु पद्मसंभवका पाइला छन्।
जनैपूर्णिमा र बुद्धजयन्तीमा मेला लाग्छ। प्रकृति, धर्म र संस्कृतिको त्रिवेणीधाम शैलुङमा थोरै नेपाली पुग्छन्। तर, संख्या बर्सेनि बढ्दै छ। त्यहाँ खोलाखर्कमा खाना र बास पाइन्छ।पर्यटनको जालो धेरैतिर फैलेको हुन्छ। होटल नचल्दा गाउँका उत्पादन दूध, अन्डा र काउली व्यापारमा मन्दी आएको अनुभव छ, कार्कीसँग। 'सरकार, जिविस र भीमेश्वर नगरपालिकाले पर्यटनलाई प्राथमिकतामा राख्नुपर्यो,' उनी भन्छन्।
हामी चरिकोट पुगेको दिन 'हाम्रो रेडियो'को हलमा अन्तरक्रिया थियो। दोलखा पर्यटन विकास समितिले आयोजना गरेको अन्तरक्रियामा स्थानीय युवाको जागरुकता तारिफयोग्य थियो। लाग्यो, एक्लाएक्लै हिँडे कतै पुगिन्न। जिरी, भीमेश्वर, शैलुङ, चरिकोट र कालिञ्चोक लगायतका गन्तव्यहरू सरोकारवालाको एकीकृत प्रयासबाट मात्रै पर्यटन उँभो लाग्न सक्छन्।
समग्र दोलखाको पर्यटनमा हातेमालो गर्न छाता संगठन 'दोलखा पर्यटन परिषद्' गठन गर्न ढिला भयो कि! भुइँचालोले हरित उपत्यका जिरीका सबै घर भत्केको समाचार पढेका थियौं। भोलिपल्ट बिहानै हामी जीपमा त्यता लाग्यौं। साथमा थिए, सञ्चारकर्मीहरु भरत बमजन, किशोर खड्का र तीर्थमान महर्जन।
डाँडाबाट हामीले जिरी बजारको तस्बिर खिच्यौं। बजार पुगेपछि देख्यौं— कुनै घर सग्ला रहेनछन्। सबैमा क्षति पुगेको। घर, होटल, पशु विकास फार्म, गुम्बा, अस्पताल, जिरी टेक्निकल स्कुल सबै भत्केका। बजारमाथिको गुरु पद्मसंभव हेर्न गयौं। सुरक्षित रहेछ। त्यहाँबाट ओर्लेर होटल जिरेल गाविला पुग्यौं। आँगनमा टेन्ट गाडिएको थियो।
जिरीमा होटलवालाले दुई–चार जना बस्न मिल्ने कटेरा बनाएका छन्। बजारभन्दा दुई किलोमिटर वर्तिर हाट डाँडामा भर्खरै बनेको होटल जुरिचलाई भने भ्याइनभ्याई छ। भूमिराज खड्काले बनाएको होटलमा १६ कोठा चालु छन्। साँढे तीन करोड रुपैयाँमा खोलेछन्, होटल।
जिरी विकासमा स्विस सरकारको योगदान ठूलो छ। भुइँचालोपछिको अवस्था बु‰न आएको स्विस टोलीले चीज कारखाना, अस्पताल र जिरी प्राविधिक शिक्षालय मर्मत तथा पुनर्निर्माण गरिदिने प्रतिबद्धता जनाएको होटल जिरेल गाविलाका सञ्चालक केशर जिरेलले बताए।
जिरीबाट दुई घन्टा उकालोमा पुगिने चीज कारखाना चालु रहेको जिरेल दाइले सुनाए। चीज र छुर्पी जिरीको कोसेली। बिहान ब्रेकफास्ट चीज खायौं।हामी दिउँसो चरिकोट फर्कंदा नेपाल पर्यटन बोर्डका प्रमुख प्रशासक रमेशकुमार अधिकारी, पर्यटन मन्त्रालयका सहसचिव उमाकान्त पराजुली, बोर्डका अधिकृत लेखनाथ भुसालसहितको टोली अन्तरक्रियामा सामेल भइसकेको रहेछ।
अपराह्न हामी दोलखा बजारमा गयौं, जहाँ भीमेश्वर मन्दिर छ। भुइँचालोबाट भीमेश्वर सुरक्षित रहेछ। त्यहाँका पुराना घर सबै भत्किए। लामो इतिहास बोकेको बजारका धेरै पुरातात्विक सम्पदा भुइँचालोले निलेछ। पुरानो दरबार, टक्सार भवन भत्किएछन्।
भीमेश्वरलाई जे सम्झेर पुज्यो त्यही फल प्राप्त हुने विश्वास छ। काठमाडौं उपत्यकाभन्दा दोलखा पुरानो बस्ती मानिन्छ। काठमाडौंको प्राचीन बस्ती साँखु ३३ सय वर्ष पुरानो हो भने दोलखा बजार पाँच हजार वर्ष पुरानो मानिन्छ।
भीमेश्वर सामुदायिक विकास संस्थाका अध्यक्षसमेत रहेका संस्कृतिकर्मी शान्तकृष्ण श्रेष्ठ काठमाडौंभन्दा दोलखा पुरानो नेवार बस्ती भएको प्रमाणित गर्ने दौडमा छन्।
के नेवारको उत्पत्ति काठमाडौंमै भएको हो त?
'होइन,' श्रेष्ठ भन्छन्, 'उनीहरू दोलखा हुँदै काठमाडौं पसेका हुन्।'
उनी संस्कृति मन्त्रालय, नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास) र पुरातŒव विभाग धाउँदै छन्। ती संस्था अध्ययनमा जुटेका छन्।बजारको मुखमा राजा जयइन्द्रसिंह देवको प्रतिमा छ। १५९१ सालदेखि १६०५ सम्म उनले दोलखाको राजगद्दी समालेका थिए। भुइँचालोअघि पनि पुराना दरबार र टक्सार भवन संरक्षित थिएनन्। भुइँचालोले ध्वस्त बनाएका ती सम्पदा संरक्षणमा सरकारको ध्यान जाला? पक्कै जानुपर्छ।
बजारमा संस्कृतिकर्मी श्रेष्ठले लालभैरव रिसोर्ट सञ्चालनमा ल्याएका रहेछन्। त्योसहित दोलखा दर्शन, शंकर, गोल्डी र सन्देश–उपदेश होटल चालु अवस्थामा रहेछन्। 'तिनमा एनजिओ, आइएनजिओका मान्छे बसेका छन्,' श्रेष्ठ भन्छन्, 'एकैचोटि धेरै पर्यटक आए बास बस्न समस्या पर्छ।'
दुई रात बस्दा थाहा भयो, बाहिर प्रचार भएजस्तो दोलखा सखापै भएको होइन रहेछ। त्यहाँ घुम्नलायक प्राकृतिक तथा सांस्कृतिक सम्पदा जीवितै छन्। त्यसैले बर्खापछि दोलखा घुम्ने योजना बनाइहाल्ने हो कि!
कसरी पुग्ने : काठमाडौं–चरिकोट १३३ किमि। चरिकोट–जिरी ५५ किमि। चरिकोट–भीमेश्वर ४.५ किमि। चरिकोट–कालिञ्चोक १७ किमि। मुडे–शैलुङ २५ किमि। काठमाडौंको पुरानो बसपार्कबाट दोलखा, शैलुङ र जिरी जाने बस छुट्छन्।
प्रकाशित: १ श्रावण २०७२ २२:३९ शुक्रबार