अन्य

गाउँका बुहारी

बुहारी बुहार्तनका लागि जन्मेका हुन्, नेपाली समाजमा। त्यसैले बुहार्तन गर्नुपर्छ अर्काको घर छिरेपछि। यो उनीहरूको जन्मसिद्ध अधिकार हो गाउँका बुहारीको। बुहारी ढिकीजाँतो गर्छन् साँझ–बिहान। तर बिचरा! आफैं फलिएका छन्, ओखलमा मुसलको पीडा सहेर।मकै कोदो र गहुँ बनेर मिसिएका छन्, घट्टमा। परिवार समाज र राज्यको जाँतोमा युगौंदेखि पिसिँदै र कुटिँदै आएका छन्, गाँउका बुहारीहरू। उनीहरूको सुनुवाई गर्ने स्वतन्त्र निष्पक्ष इजलास छैन। बहस पैरवी गरिएदिने कानुन व्यवसायी पनि छैन। कुना पसेर गुनिपोको फुर्काले आँसु पुछेर इन्साफको अनुभूति गर्छन्, समय–समयमा। उनीहरूलाई मन फुकाएर सबैले देख्ने गरी रुन छुट छैन। न त सबैका अगाडि खुलेर हाँस्न नै।

हिन्दु कानुन र वर्णाश्रम व्यवस्थाको अक्षरशः पालन गर्ने कसम खाएर मात्रै जन्मिने अधिकार छ उनीहरूलाई। बुहार्तनका लागि तयार पार्न तालिम दिने जिम्मा आमाले पाउँछन्। आमाले जे जति भुक्तमान सहिन्, त्यति नै र त्योभन्दा बढी खप्नुपर्छ, सहनुपर्छ भन्ने पाठ पढाइन्छ आमाको पाठशालामा। बामे सर्ने भएपछि छिमेकीले सिकाउन थाल्छन्, बुहार्तनका उपदेशहरू। यसले छोरीहरूको मन दासताका लागि बलियो बन्छ। निरीह नारीहरू बुहार्तनका लागि तम्तयार भएर गृह प्रवेश गर्दछन्।

हिजोआज मंगलसूत्रको दाम्लोले डोराएर लैजाने चलन आएको छ। मोटो मंगलसूत्र बलियो हुन्छ भन्ने विश्वास छ। अग्नि साक्षी राखेर ध्रुवतारा देखाएर कसम ख्वाइन्छ विवाहको मण्डपमा। पण्डितले 'नस्त्री स्वातन्त्र मर्हती'को सन्देश सुनाउँछन्। लगनगाँठो कसिन्छ। खसमको जुठो खान सिकाइन्छ। पाउ पखालेर जल खान लगाइन्छ। एउटा स्वतन्त्र आत्मा बँधुवा दासीमा दर्ज भएको घोषणा हुन्छ। घरछिमेकले अनुमोदन गर्छन्। आजकाल अदालतले प्रमाणपत्र दिने कानुन बनेको छ।

बुहारीमाथि शासन गर्ने कानुन बुहारीकै रगत, पसिना र आँसुले लेखिएको छ। सत्ता र सम्पत्तिको उत्तराधिकारी जन्माउन आमाले निकै ठूलो तपस्या गरिन्। छोरो जन्माइन्। आफ्नो सन्तानले आफ्नै हातमा हतकडी लगायो। घरमा बन्दी बनायो। दासताको दाम्लोले बाँध्यो। बुहारीलाई बुहार्तनका लागि बाध्य पार्योा। गाउँका बुहारीको दशा झन् दयनीय छ।

सासु–ससुराको क्रुर शासन, देवर–जेठाजुको सम्मान, देवरानी–जेठानीबीचको घरायसी भेदभावको पीडा आँसुको सितनसित निलिदिन्छन्, गाउँका बुहारीहरू। लाऊँलाऊँ र खाउँ्कखाऊँ भन्ने दिनमा खसम अरूका छोरी–बुहारीतिर आँखा लगाउँदै झ्याउरे र रोदीमा जान्छन्। बाटो पर्खेर बस्दाबस्दै उज्यालो हुन्छ। 'माइती हुनेखाने भए किन हेपिनुपर्ने थियो र' भनेर कतिखेर माइतीलाई त कतिखेर आफ्नै पुर्पुरोलाई धारेहात लगाउँदै जवानीको सुकेको आँतलाई आँसुको वर्षाले सिञ्चेर बाँच्न बाध्य छन्, गाउँका बुहारीहरू।

चारै बजे उठेर लिपपोत, सरसफाई, पानीपँधेरो, गोठको काम भ्याएर घाँस–दाउराका लागि जंगलतिर छिर्छन्। कुटानी–पिसानीको काम पनि राति नै भ्याउनुपर्छ। एक दिन, दुई दिन होइन मृत्युपर्यन्त जोतिन्छन्, काममा। जीवनमा राम्रो बंैस र बहार आउँदैन गाउँका बुहारीलाई। सम्पत्तिको उत्तराधिकारी जन्माइदिनुपर्छ सासू, ससुरा, लोग्ने र छिमेकीलाई। मेसिनसरह काममा जोतिन्छन्। फुर्सद छैन सुस्ताउन। पीडा पोख्ने ठाउँ छैन। दुःख–सुखको साझेदारी गर्ने कोही छैन। पँधेरोमा दिदीबहिनी भेट हुन्छन्। केही कुरा भैहाले पँधेर्नीका कुरा भनेर उडाइदिन्छन्।

घाँस–दाउरा गर्न जाँदा एकान्त जंगलमाभित्र छिरेर विरह पोख्छन्। संगीहरू मिलेर जान्छन्। एक–आपसमा पीडा पोख्छन्। सासू, नन्द, देवरानी, जेठानीको कुरा गर्छन्। कुरा गरेर बसिरहन समय हुँदैन। घाँस–दाउरा बटुल्न व्यस्त रहन्छन्। विरह पोख्ने समय त्यत्ति हुन्छ। एकान्त जंगलमा दिल खोलेर विरहको गीत गाउँछन्। गीतले भन्छ : 'जाँ टेक्यो हुइँ पैरो जाने, को छ मेरो सम्झेर मन खाने ।' यो गीतभित्र जति गहिरो पीडा छ त्यति नै मर्म पनि। तरक्क पसिना काडेर घाँस–दाउरा जम्मा गर्छन्, हतार–हतारमा। फर्केर चौतारीमा जम्मा हुन्छन्। वरिपरि कोही छ कि भनेर हेर्छन् अनि एकैसाथ भाका मिलाएर गाउँछन् : 'चौतारीमा म बसे होला कि, बरको डाली नुगरे हौ कि।' सुकेको मन बोकेर रसिक जंगलभित्र सुकेका दाउरा बटुल्न छिरेका बुहारीहरू लालीगुँरास फुलेको देखेर लोभिन्छन्। देउरालीको देवीलाई लालीगुराँसको एक थुँगा चढाएर लोग्नेको न्यानो माया र परिवारमा सद्भावको वरदान माग्छन्। लोग्नेको मन अन्यत्र नलागोस् भनेर भैरवलाई भाकल गर्छन्।

लोग्नेलाई रिझाउन देउ–देवताको भाकल गर्छन्। कतै मन्दिरमा परेवा उडाउँछन्, कतै भाले र रोठले पूजा गरेर चित्त प्रशन्न गर्दछन्। व्रत बस्छन् लोग्नेको आयु बढाउनका लागि । शिवलिंगमा दूधको धार दिएर आत्मसन्तुष्टिको सास फेर्छन्। जति गरे पनि लोग्ने रिझाउन सकिनन्। बैगुनी परेछ। जो भन्ने उही आफ्नो नभए पछि उसैले मर्म नबुझेपछि अरूले किन हेर्छन्। बिहे भएके चार वर्ष भइसक्यो। जायजन्मको सुरसार छैन। जननी धरती हो। बाँझो धरती कसैले मन पराउँदैन। बाँझो फोरेर हराभरा बनाउने भइदिएन। सासूले आँखा तर्न थालिन्। पँधेर्नीले कुरा काट्न थाले। पीडा थपिन थाल्यो। सौता हाल्ने कुरा चल्यो 'यो त बाँझै बस्छे कि जस्तो छ' भन्ने आमाको वचनले श्रीमतीप्रतिको बचेखुचेको लगाव पनि टुट्न थाल्यो।

विवाहको डोरीले बाँधेको साइनो बुहारीले जोगाइराख्नुपर्छ। सतीसावित्री बनेर जीवनपर्यन्त सतित्व धानिदिनुपर्छ। लोग्नेले नौ वटी फेरे पनि छाडे पनि, यौवनलाई विनासित्ती सिस्नोको गाँजमा फ्याँकिदिनुपर्छ, लोग्नेले कहिले नहेरे पनि । गाउँका बुहारीको यो नियति हो, हिन्दु कानुनको पोथीमा लेखिएको। बुहारीको पवित्रता सधैं आगोको भट्टीमा पसेर परीक्षण हुनुपर्छ। अरूका छोरी बुहारीको अस्मितामाथि आक्रमण गर्ने पापीले सधंै श्रीमतीप्रति शंका गर्छ। शंकाकै भरमा कतिको ज्यान गएको छ। कतिले आत्महत्या गरेका छन्। महिला हिंसाका घटना दिनप्रतिदिन बढ्दै छन्।

'छोरी १६ वर्ष पुगिसकी राम्रो घर केेटो खोजेर कन्यादान गरेर पितृ दण्डबाट उम्किने होइन र बूढा? के सोचेको हो कुन्नि छोरीको विवाहकोे आइनो अन्नेरी केही छैन। बढेकी छोरी हातको आगो भन्छन्,' बुढी कराउँछिन्। मंसिरको पहिलो लगन छोपेर निरक्षर अनजान अबोध बालिकाको विवाह भव्य रूपमा सम्पन्न हुन्छ। गाईको बाच्छीको पुच्छर समाएर एकैसाथ कन्यादान गर्छन् आमाबाबुले।

सयम बित्यो दुई–चार वर्ष पुग्दानगुग्दै तीन छोरी र एक छोरो जन्माउँछन्। छोरो भर्खर एक वर्षको छ। बाबुले दुई वर्षपहिले नै छुटाइदिए। चारमुरी धान फल्ने खेत र एक दुई मुरी कोदो, मकै फल्ने बारीबाहेक सम्पत्ति केही छैन। एक दिन साँझपख हुरीबतास चल्यो, आँधी आयो। सबै परिवार अगेना वरिपरि आगो ताप्दै थिए। अचानक चड्केनी पर्योक। लोग्नेको तत्कालै मृत्यु भयो। गोठको लैनो भैंसी, पाडी, छेवैमा बाँधेको ब्याउने बाख्री, खसी एकै साथ ढले। लाऊँलाऊँ र खाऊँखाऊँ भन्ने बैंसमा विधवा भएर बाँचेकी छन्, उनी। छोराछोरीको हातखुट्टा लगाइदिन कति हण्डर खानुपर्यो होला। मर्दसरह अरूको भारी बोकेर खेतालो बनेर आफूले आधा पेट खाएर भए पनि छोराछोरी हुर्काइन्। ती महिलाको मुटु छामेर वेदनाको पोको फोर्ने हो भने महाभारतको ठेली बन्छ।

नेपाली समाजको यो एउटा प्रतिनिधि चित्र हो। जसलाई पर्यो उही मर्योछ। उनैले पोई टोकुवाको आरोप सहेर समाजमा बाँच्नुपरेको छ।

बुहारीको पनि मन छ। चाहना छ भन्ने मनोविज्ञान लोग्ने मानिसले बुझ्न सक्दैन। गाउँका बुहारीको वेदना बुझ्न कवि, कलाकर, साहित्यकार गाउँघरतिर छिर्न सकेका छैनन्। कालिकोटको पाखोमा विरहको गीत गाउने युवतीको मनको व्यथा कसले बुझिदिने। राराको वरपर घाँस–दाउरा गर्ने निरक्षर छोरीको व्यथा कसले सुनिदिने। मनको गहिराइमा अथाह पीडा बोकेर घाँस–दाउरा गर्दै छन्, बाजुरा र बझाङका बुहारीहरू।

घरमा बूढाबूढी, केटाकेटी खेतीपातीको जिम्मा लगाएर गएको बखते फर्केको छैन। यो वर्षको दसैंमा आउँछ कि भन्यो छैन। औला भाँच्दै जाँदा सात वर्ष भइसकेछ। तर पनि बुहार्तन गरेर बसेकै छ, सुन्तली। यसैबीचमा ससुरा बिते, कति गर्दा पनि भुन्टीलाई जोगाउन सकिन। गोठको भैंसी ब्याउन नसकेर मर्योे। गैरीखेत पैरोले लग्यो। तर पनि बखते फर्केन। सुन्तलीको मनभित्र छिरेर उसको पीडाको एकएक पाना पल्टाएर पस्कन के सफल कवि कलाकारले सक्ला? एउटा गाउँकी बुहारी, छोराछोरीकी आमा, बखतेकी श्रीमतीको व्यथा र कथाको महाभारत कोरेर कविता लेख्न गाह्रो छ। त्यसैले गाउँ उपेक्षित छन्। दुःखको महासागरमा डुबेका बुहारीको उद्धारका लागि गोताखोर बनेर समूहमा पस्ने हिम्मती कमै भेटिन्छ।

बुहारी सधैं बुहारीमात्रै होइन आमा पनि हुन्। अथाह वेदनाको भारी बोकेर आमा जीवन बिताउँछिन्। दुःख–सुख मृत्यु सँगै लिएर जान्छन्। महिला केवल महिलामात्रै होइन्, पुज्य आमा हुन्। प्रत्येक आमा सहनशील र महान् छन्। दुःखकष्टलाई पैतालामुनि दबाएर सधैं शान्त र धैर्य रहन आमामात्रै सक्छन्। आमा पृथ्वी हुन्, सहिदिन्छिन्।

कर्मकाण्डको कानुनमा लेखिएको लगनगाँठोले महिलाको हात खुट्टामा हतकडी र नेल बनेर कसेको छ। सिउँदोको सिन्दुर र एकलुङ पोतेले महिलालाई मात्रै कसेको छ। सम्पत्तिमा कुनै हक छैन। सम्पत्तिको उत्तराधिकारी जन्माउने र भोग गर्ने उन्नत मेसिनको रुपम उपयोग हुन्छ महिलाको गर्भ। धार्मिक, समाजिक कानुनी र राजनीतिक भेदभाव र पक्षपातको सिकार छन्, आमाहरू।

नारी स्तुत्य र पुज्य आमा हुन्। आमाको योनीबाट जन्मेको कुरा बिर्सिन्छ, कृतघ्न मानिस। आमाको छातीमा अन्यायको बुटले कुल्चिने कानुन बनाउँछ, छोरामान्छेले। छोराछोरीको स्वामित्व लिने अधिकार नयाँ बन्ने संविधानमा व्यवस्था गर भनेर महिला अनुनय विनय गर्छन्। जन्म दिने आमाको रगतको सम्बन्धको प्रमाणलाई स्वीकार गर्न मान्दैन, निकृष्ट लोग्नेमान्छे। महिलाहरूलाई युगौंदेखि लुछिन्छ, लखेटिन्छ लछारपछार गरिन्छ तर पनि पीडा पिउनुपर्छ आँसुको सितनसित। आमाको मनभित्र छिरेर चर्हादै रहेको मनमा मलमपट्टी लगाउन मन लाग्छ। पीडक छोरो र अत्याचारी पुरुष जातिको कित्तामा उभिनुपर्दा कहिलेकाहीँ आफैंलाई धिक्कार्न मन लाग्छ। वर्गमुक्तिका लागि संघर्ष गर्छु भनेर हिँडेको लोग्नेमान्छेले परिवारभित्र छोरी, बुहारी, श्रीमती देख्दैन। उनीहरूको मुक्ति उसलाई आवश्यक छैन। पुरुषकै स्वार्थका लागि गरिने राजनीति वर्गमुक्तिको अभियान कसरी हुन्छ? यसको पनि समीक्षा हुन जरुरी छ।

इतिहासको विभिन्न कालखण्डमा भएका मुक्ति युद्धमा बुहारीहरूले बन्दुक बोके। पुरुषहरूको पंक्तिमा उभेर दुस्मनको उछितो काडे। सिप, क्षमता र युद्धकलाको प्रखर प्रयोग गरे। आमा पात्र बनाएर गोर्कीले उपन्यास लेखे। क्षमताको प्रस्तुति गाए। युद्ध जितिए। परिवर्तनको कुर्चीमा पुरुष नै विराजमान हुन पुगे। उत्पीडित वर्गले क्रान्ति गर्योे। सत्ताले प्रतिक्रान्ति गर्योध। प्रतिक्रान्तिका वाहक अखिर पुरुषहरू नै भए। हातो फुक्लेको जाँतोसरह बनाइएका महिलाहरू प्रतिक्रान्ति एकलैले रोक्न सम्भव भएन।

पुराणकालमा देवता र दानवका बीच भीषण लडाइँ भयो। देवता पराजित भए। आखिर महिसासुरको वध गरेर देवताको राज्य जोगाइदिन देवीले हतियार बोकिन्। देवी कसैकी छोरी, बुहारी, श्रीमती र आमा थिइन्, आखिर महिला थिइन्। महिसासुरको वध गरेर देवताको रक्षा गरिन्। ती देवता भन्नेहरू पनि उत्पीडक पुरुषहरू नै थिए। मनुले कानुन बनाएर महिलालाई कैद गर्न सफल भए। झाँसिकी रानी वीर नारी हुन्। बालक बोकेर युद्ध लडिन्। बालक र भूमिको रक्षा गरिन्।

मलाई पुरुष अत्याचारविरुद्ध आमा बनेर बन्दुक बोक्न मन लाग्छ। आमाले सहेको पीडाका विरुद्ध विद्रोहको झन्डा उठाउन र प्रताडनाको अनुभूति गर्न। बाले आमालाई लछारपछार पार्दै मझेरीमा ल्याएर जगल्टाएको र रगताम्य हुने गरी कुटेको बिर्सेको छैन। आमा निरीह बनेर मेरो बालसुलभ अनुहारमा हेरेर गुहार मागेको सम्भि्कँदा अहिले पनि मुटु पिरो हुन्छ। आँखा रसाएर आउँछ। आमाको कुनै गल्ती थिएन। मलाई एकै छिन काखमा च्यापेर बुबुमाम ख्वाउँदा भैंसीलाई घाँस दिन थोरै ढिला भएको थियो। 'आफू दिनभरि तास खेलेर बस्नेमात्रै' के बोलेकी थिइन्, बस् महाभारत भइहाल्यो। निहुँ त्यतिमात्रै हो।

एक्काइसौं शताब्दीको सभ्य समाजमा महिला हिंसाका घटना छरपस्ट बजारमा छरिएका छन्। समाजमा आर्थिक सामाजिक रूपान्तरण हुँदै गएको छ। त्यसैअनुरूप हिंसाका रूपमात्र फेरिएका छन्, सभ्य र सम्भ्रान्त सहर बजारमा। सडकमा, गाडीमा, बसमा, सिनेमा घर, होटल, मलमा जताततै हिंसाका घटना हुने गरेका छन्।

अशिक्षा, गरिबी, अन्धविश्वास, छुवाछुतको जातले गाउँका बुहारीलाई नै बढी थिचेको छ। परिश्रम नेपालको दुरदराजका गाउँमा बादी, छाउपडी, देउकी प्रथाले गरेको छोरी–बुहारीप्रतिको दर्दनाक अत्याचार एक्काइसौं शताब्दीको सभ्यता बनेको छ। बाह्र–तेह्र बर्ष पुग्दानपुग्दै छोरीको कन्यादान दिए तातुल्य स्वर्ग गइने मान्यता हटेको छैन। महिला मुक्तिको गीत गाउने अधिकारकर्मी महिलाले पश्चिमाको दुई–चार जना महिलालाई काठमाडौंको तारे होटलमा राखेर फोटो खिचाउँछन्। मिठा कुरा गर्छन्। वर्गीय मुक्तिको राजनीति गर्ने नेताको धन्दा पनि त्योभन्दा भिन्न छैन। कुराले मुक्ति सम्भव छैन। सरकार कमैया मुक्तिको घोषणा गर्छ। मन्त्री र नेताहरूका घरमा अझै बँधुवा नानीहरूले काम गरेकै छन्। बोक्सीको आरोपमा महिलामाथि हुने हिंसा देशको सभ्यताको निधारको कलंक बनेको छ। गाउँका बुहारी यिनै र यस्तैयस्तै हिंसाको जाँतोमा मकैमा मिसिएका घुनसरह पिसिएका छन्।

समाजको जगत् खोस्रेर हेर्योए भने बुहारीमाथि भएका हिंसा र अन्यायको वीभत्स चित्र देखिन्छ। अत्याचारको कुहिगन्धे हर्कतले सम्पूर्ण वायुमण्डल प्रदूषित गरेको छ। मानव जातिको जन्मदाता, पालक, रक्षक र सृष्टिको सञ्चालक पनि आमा हुन्। आमा एक, रूप अनेक। अनेक रूप धारण गरेर संसार चलाउने आमा यो अपमान धिक्कार छ। लोग्ने मानिस उनकै गर्भमा नौ महिना बसेर आउँछन्। छोरी पनि उसैगरी त्यही लाम्टो चुसेर हुर्केकी हुन्। आमाको माया बराबर छ। तर कानुन, धर्म, समाज, परम्परा, संस्कृतिले भेदभाव गर्न सिकाएको छ। छोरीलाई पैतृक सम्पत्तिबाट वञ्चित गरेर सर्वहारा बनाएको छ। सम्पन्न घरानियाँका छोरीबुहारी पनि पीडित छन् भन्दा अपमान ठान्लान्। तर उनीहरू राम्रो खानलाउन दिएर घरमा सजाइएका भोग र सौन्दर्यका सजावटजस्तै हुन्। उनीहरू लोग्नेको दयामा बाँचेका छन्। लोग्नेलाई खुसी पार्नु उनीहरूको धर्म हो। सबभन्दा धेरै मठमन्दिर धाउने तिनै हुन्। तिनलाई खानलाउन चिन्ता छैन। त्यही उनीहरूको मुक्ति हो।

आमालाई केवल भोग र उपयोगको रूपमा प्रयोग गर्न प्रयत्न भएको छ, पुरुष जातिबाट। वर्तमान विश्वले स्तुतिगान गाउने लोकतन्त्र भाले लोकतन्त्र हो। भाले लोकतन्त्रले भाले जातिको रक्षा गर्छ। अहिले विश्वव्यापी रूपमा आदर्शीकरण गरिएको अधिकार पनि भाले मानवअधिकार हो। आमाको अस्मिताको बजार व्यवस्थापन गर्ने कानुन बनाउने र त्यसैको पालन गर्ने अदालत भाले अदालत हो। बाँके बर्दियाका गाउँमा खुलेआमा बालविवाह हुन्छ। १२/१३ वर्षे बालिका बुहारी बनेर जान्छिन्। पढ्ने अधिकारबाट वञ्चित हुन्छिन्। कलिलै उमेरमा इच्छाविपरीत यौन हिंसा हुन्छ। बलात्कृत हुन्छिन्। भाले लोकन्त्रको भाले सरकारले रमिता हेर्छ। कानुन हातमा लिएर बसेका भाले मौन बस्छन्।

पुरुष वर्ग गुमनाम आमाको गुन बिर्सिन्छ र अहिलेसम्म बिर्सिंदै छ। कथित भाले लोकतन्त्रमा सीमित अधिकार दिन पनि पुरुष वर्ग हिचकिचाइरहेछ। आमाको नामबाट सन्तानलाई परिचित बनाउने व्यवस्था गर्दा आफूलाई कमजोर भएको महसुस गर्छन्। आमाको नाममा नागरिकताको संवैैधानिक व्यवस्था गर्न नचाहने देशका शासकविरुद्ध आमाहरूले विद्रोह ओकल्न सक्दैनन्। उनीहरूभित्र दया छ। दयाकै सागर छातीमा बोकेर हिँडेका आमाले आफ्ना सन्तानविरुद्ध विद्रोहको आगो ओकल्न सकेका छैनन्। अधिकार प्राप्ति र रक्षाका लागि आफ्नो र पराई भन्ने कोही हुँदैन। महाभारतको लडाइँ अधिकारका लागि थियो, रक्षाका लागि थियो। निष्कर्ष फेरि पनि हजार अत्याचार सहेरै भए पनि आमा, छोरी, बुहारी नै भाले लोकतन्त्रको रक्षाकवच बनेका छन्। धन्य बुहारी!

प्रकाशित: १ श्रावण २०७२ २२:१२ शुक्रबार