अन्य

वास्तुकला कार्यपत्र पुरस्कृत

काठमाडौं- नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले गरेको कार्यपत्र लेखन प्रतियोगिताका विजयीहरु पुरस्कृत भएका छन्। 'लोक–परम्परागत वास्तुकला र कलाकारको अवस्था एक अध्ययन' विषयमा गरिएको प्रतियोगितामा अर्जुन खालिङ प्रथम, काइँचवु काःतिच 'उत्तम' द्वितीय र सोमप्रसाद खतिवडा तृतीय भएका छन्।पुरस्कृतहरुलाई बिहीबार प्रतिष्ठान परिसरमा कुलपति रागिनी उपाध्यायले पुरस्कार प्रदान गरिन्। प्रथम हुनेले २५ हजार, द्वितीयले १५ हजार र तृतीयले १० हजार रुपैयाँ पाएका छन्। प्रथम पुरस्कार विजेता अर्जुन खालिङलाई एक वर्षका लागि एक लाख २५ हजार रुपैयाँको विद्वतवृत्ति पनि प्रदान गरिएको छ। अर्जुनले किरात लोक वास्तुकलाका बारेमा अध्ययन गरी कार्यपत्र लेखेका थिए।

प्रतियोगितामा शिवमाया तुम्बाहाम्फे, दीपना शर्मा र सुरेश बज्राचार्यले पाँच हजार रुपैयाँको विशेष पुरस्कार पाएका छन्। कार्यक्रममा निर्णायक तथा वास्तुविद् शंकरनाथ रिमालले नेपाली लोक–परम्परागत वास्तुकलाका विषयमा विस्तृत खोज अनुसन्धान हुनुपर्ने बताए। उनले भने, 'नेपालमा विभिन्न जातजाति र आदिवासीका मौलिक वास्तुकलाको जगेर्ना गर्ने कार्य ढिला भइसकेको छ।'

विभागीय प्रमुख नारदमणि हार्तम्छालीले लोक–परम्परागत वास्तुकलाको अध्ययन अनुसन्धानमा प्रतिष्ठानले आगामी दिनमा कार्यक्रम गर्दै जाने योजना सुनाए। 'प्रतिष्ठानले ग्रामर अफ वास्तुकला र सौन्दर्यमूलक वास्तुकलालाई लोक–परम्परागत वास्तुकलासँग जोडी त्यसको खोज अनुसन्धान गर्दै आधुनिक वास्तुकलासँग फ्युजन गराउन संस्थागत प्रयास गरेको छ,' उनले भने।

कुलपति रागिनी उपाध्यायले नेपाली वास्तुकलाका बारेमा पुस्तक प्रकाशन र यसको विकासका लागि थप योजनाहरु ल्याउने प्रतिवद्धता जाहेर गरिन्। कार्यक्रममा बटुककृष्ण पराजुली, अर्जुन खालिङ र सोमप्रसाद खतिवडा लगायतले वास्तुकलाबारे मन्तव्य राखे।

प्रकाशित: ३१ असार २०७२ २१:३४ बिहीबार