अन्य

कविता प्रतियोगिता 'भविष्यवाणी' हुने

काठमाडौं- बेलायतबाट प्रकाशित हुने ड्रिम्स ई–म्यागजिनले नेपालमा कविता प्रतियोगिता गर्ने भएको छ। भदौ १ देखि आयोजना हुने प्रतियोगिताको नाम 'भविष्यवाणी' राखिएको छ। चार चरणमा हुने प्रतियोगिताका लागि दुई हजार रचनाकारको कविता प्राप्त गर्ने लक्ष्य राखेको आयोजकले बुधबार पत्रकार सम्मेलनमा जनाए। प्रतियोगितामा विदेशमा बसेका नेपाली तथा गैरनेपाली ३० वर्षमुनिका सबैले भाग लिन पाउनेछन्।भदौ १ सम्म प्राप्त हुने रचनाबाट उत्कृष्ट २० वटा कविता आयोजकले छान्नेछन्। उनीहरुलाई एक समारोहमा कविता वाचन गर्ने अवसर दिइनेछ। त्यही दिन उत्कृष्ट तीन रचना छनोट गर्दै पुरस्कृत गरिनेछ।

'अन्तिम चरणमा हामी उत्कृष्ट कविताहरु संग्रहित गरी एक पुस्तक प्रकाशित गर्नेछौं,' कार्यक्रम संयोजक कृतिका लम्सालले जानकारी गराइन्।

प्रतियोगिताका उत्कृष्ट तीनले क्रमशः ५०, २५ र १० हजार रुपैयँा प्राप्त गर्नेछन्। प्रतियोगितालाई वर्ड वारियर्स र नेपाल लिटरेचर फेस्टिभलले साथ दिएको छ भने युवा, नेसनल भोलुन्टिर प्रोग्राम र स्प्यारो एसएमएस साझेदार रहेका छन्।

ड्रिम्सका संस्थापक ओजेश सिंहले प्रतियोगिता नेपाली साहित्यका लागि फलदायी हुने आशा व्यक्त गरे। 'हाम्रो मुख्य उद्देश्य भनेको नेपाली युवा पुस्ताको वर्तमान साहित्यिक जमातलाई प्रतिस्पर्धा, कार्यक्रम र प्रकाशनमार्फत उभो लगाउनु हो। भविष्यवाणीले यसमा ठूलो भुमिका खेल्न सक्छ,' उनले भने।

प्रकाशित: ३० असार २०७२ २१:५१ बुधबार