अन्य

सँगै नाचे च्याम्पियन जोकोभिच र सेरेना

लन्डन- विम्बल्डन टेनिसको उपाधि जित्दै नोभाक जोकोभिच र सेरेना विलियम्सले पुनः आफूलाई ग्रासकोर्ट खेलाडी भएको प्रमाणित गरेका छन्। पुरानो परम्परालाई निरन्तरता दिँदै जोकोभिच र सेरेना ग्रान्ड स्लाम प्रतियोगिता विजेताको रात्रिभोजमा गए, सँगै नाचे।'म धेरै खुसी छु,' एक दिनअघि रोजर फेडेररलाई फाइनलमा हराउदै तेस्रो विम्बल्डन र नवौं ठूलो उपाधि जितेका सर्बियाली जोकाभिचले भने, 'सेरेना राम्रो नृत्यङ्गना हुन्।'

अमेरिकी सेरेनाले शनिबार आफ्नो छैटौं तथा २१ औं ग्रान्ड स्लाम उपाधि जितेकी थिइन्। उनले जोकोभिचसँग रात्रिभोजको तस्बिर टि्वटर पेजमा राख्दै 'बधाई जोकोभिच, हामी फेरि नाच्यौं' लेखेर जोकोभिचलाई मेन्सन गरेकी थिइन्।

प्रतियोगिताको अन्त्यमा प्रत्येक वर्ष यस्तो कार्यक्रम हुने गर्छ। जसमा पुरुष र महिला विजेताले नृत्य गर्ने गर्छन्। तर संगीत भने दशकौं पुरानो हुने गर्छ।

'पुरानो जुन करिब बिर्सिसकेका थियौं,' सेरेना र अल इङ्ल्यान्ड क्लबका अध्यक्षलाई नाच्न आग्रह गरेका जोकोभिचले भने, 'भाग्यवस उनीहरूले स्वीकारे।'

प्रकाशित: २८ असार २०७२ १९:५४ सोमबार