अन्य

अभिले लेखे 'फ्लानर डायरी'

काठमाडौं- साहित्यकार अभि सुवेदीको 'फ्लानरको डायरी' नामक निबन्ध संग्रह सार्वजनिक भएको छ। शनिबार शिल्पी थियटरमा आयोजित कार्यक्रममा केदारभक्त माथेमाले संग्रहको विमोचन गरे।माथेमाले पुस्तक राजधानी बाहिरबाट आएका मानिसको दृष्टिकोणमा आधारित रहेको बताए। 'विभिन्न कारणले राजधानीमा आएका मानिसले राजधानीलाई हेर्ने, बुझ्ने र अनभूत गरेको दृष्टिकोण पुस्तकमा समेटिएको छ। राजधानीसँग जोडिने सम्बन्धहरुका बारेमा लेखिएका निबन्धहरुले प्राथमिकता पाएका छन् ,' माथेमाले भने।

पुस्तकमा ४५ वटा निबन्धहरु समेटिएका छन्। 'मेरो बोरा महायात्रा', 'किताबमा हेदिगर दृष्टि', 'शब्द शहीदहरु', 'बागमती महायात्रा', 'रंगमञ्चको आकाशमुनि ग्रीस', 'हामी विश्वमा कहाँ छौं?', 'मेरो पनि प्रतिविम्ब', 'आसन ग्रहण गनुहोस्', 'धर्मराजको तेञ्जिङ सुसेली', 'अस्मिताको खेती', 'साँढेको शोषण', 'ब्रिटेनमा भोको विद्यार्थी हुँदा', 'मान्छे राष्ट्रिय सम्पदा' र बोराको अतीतमा मीतको सम्झना' शीर्षकका निबन्धहरु पुस्तकमा राखिएका छन्।

'राजधानीमा फ्लानर बन्न सजिलो हुन्छ, कारण यहाँका बाटोहरु साँघुरा छन्। भित्री गल्लीमा गाडीहरु जान एकदम अफ्ठ्यारो छ। तेह्रथुमका लेखकले राजधानीसँगको सम्बन्धलाई तुलना गरेका छन्। यसमा साहित्यका स्रष्टाहरुको समेत योगदान रहेको छ। पुस्तकमा राजधानीलाई केन्द्र नबनाएर एउटा खोजीको विषय बनाइएको छ,' शेखर खरेलले भने। पुस्तक विमोचनसँग अन्तर्क्रियात्मक कार्यक्रममा सम्पादक दीपक सापकोटाले पुस्तक सम्पादन गर्दाका घटनाहरु सुनाएका थिए।

अन्तर्क्रियामा बोल्दै खगेन्द्र संग्रौलाले लेखक सुवेदीलाई निक्रिय मेन्टरको उपमा दिए। उनले भने 'अधिकांश पाठकहरुले लेखक सुवेदीको लेखाई बुझिएन भनेर गुनासो गर्छन्। मेरो बुझाईमा उनी वर्तमान र भविष्यका लेखक हुन्। उनीजस्ता लेखकले अँध्यारोमा उज्यालो छर्ने काम गर्छन्।'

त्यस्तै लेखक सुवेदीले पुस्तकमा विभिन्न विषय र पृष्ठभूमि समावेश गरिएको बताए। 'यसमा साहित्यका नयाँ र पुराना विषयहरु राखिएका छन्। फ्लानरको नेपाली शब्द नभेटिएकाले अंग्रेजी नाम राखिएको हो।' पुस्तकलाई बिएन पुस्तकले बजारमा ल्याएको छ। प्रकाशक विष्णुकुमार पौडेलले भूकम्पले गर्दा पुस्तक बजारमा ल्याउन ढिलो भएको बताए।

यसअघि लेखक सुवेदीका 'निबन्ध र टु"डिखेल', 'निबन्धमा उत्तरवर्ती कालखण्ड', 'आरुका फूलका सपना', 'कार्पेट टाँगिएको आकाश', 'अग्निको कथा' र 'मायादेवीको सपना' लगायत कृतिहरु प्रकाशित भइसकेका छन्।

प्रकाशित: २६ असार २०७२ २०:४६ शनिबार