अनौठो चलन रहेछ, हरेक वर्ष माघ १ गते माथिल्लो तलाको झ्यालबाट चटामरी, रोटी आदि फ्याँकेर 'भाउ एकै भयो कि भएन' भनेर सोधिन्छ। तलबाट एकै स्वरमा 'छैन' भनेपछि फेरि अर्को वर्षका लागि थाती राखिन्छ। अहिलेसम्म पनि सबै देवता मण्डपमै भएकाले सबैको दर्शन त्यहीँ पाइने किरणले सुनाए।
एउटै रूखको काठबाट बनाएको झन्डै हजार वर्ष पुरानो इतिहास साक्षी राखेर भरिया, ढाक्रे, बटुवा, तीर्थयात्री र व्यापारी सबैलाई आश्रय दिएको कलात्मक काष्ठमण्डप भत्कियो, वैशाख १२ गते। त्यही ठाउँबाट आन्तरिक तथा बाह्य पर्यटकमाझ काठमाडौं उपत्यकालगायत नेपाल घुम्न सुरक्षित छ भन्ने सन्देश दिन १९ असारमा 'पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि सम्पदा साइकल' नारा दिएर साइकल र्यादली गरियो।
नेपालको पर्यटन इतिहासमा सन् १९६०–७० को दशकमा हिप्पीहरूले सर्वाधिक मन पराएको स्थल काष्ठमण्डप। हलिउड र बलिउड चलचित्र छायांकन यहाँ भएको बताउँछन्, पूर्व बक्सिङ खेलाडी किरण तथा वसन्त। देव आनन्द, जिनत अम्मान मुमताजजस्ता कलाकारद्वारा अभिनित चलचित्र हरेराम हरेकृष्णको लोकप्रिय गीत 'दम मारो दम'को छायांकन यहीँ भएको थियो रे।
नेवारी लोक संस्कृतिका बाजा–गाजासहित सगुन खुवाएर निकालिएको साइकल र्या लीको नेतृत्व पुष्कर शाहले गरे। उनी यस धर्तीका एक्ला यस्ता मानव हुन् जसलाई साइकलमा १५१ देश घुमेर मात्र पुगेन, सर्वोच्च शिखर सगरमाथा सफल आरोहण पनि गरे। र्या्लीमा उनको साथमा नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेल, सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरिक्षक सिंहबहादुर श्रेष्ठ, वरिष्ठ पत्रकार कनकमणि दीक्षित, पर्यटनकर्मी मेघ आले, हिमालयन सिंगल ट्र्याकका सन्तोष राई, राष्ट्रिय खेलाडीहरू अजय पण्डित क्षेत्री, नारायण गोपाल महर्जन, आयमान तामाङ, राजकुमार श्रेष्ठ, लक्ष्मी मगर र निश्मा श्रेष्ठलगायत सहभागी थिए।
कान्छा साइकल यात्रीमा छ वर्षीय सुयोग र अनर्ग्य पनि सहभागी भए। विभिन्न पेसाका प्रकृतिप्रेमी साइकलयात्री सहभागी भए। र्यातली विष्णुमती पुल, डल्लु हुँदै पुराना घरका भग्नावशेष छिचोल्दै भगवानपाउ पुग्न हम्मे भयो। साँघुरा सडक यत्रतत्र थुप्रिएका ढिस्का, खण्डहर नियाल्दै स्वयम्भू पहिलो सम्पदा परिक्रमा पूरा गरे। सहरी क्षेत्रमा साइकल कुदाउनु पट्यार लाग्ने हुन्छ, तैपनि साइकलेहरू शोभा भगवती, क्षेत्रपाटी, ठमेल, नारायणहिटी, हात्तीसार, कमलपोखरी, गौशाला हँुदै पशुपति र बौद्धसम्म पुगे। थाहा थिएन धेरैलाई बौद्धनाथको क्षतिको अवस्था। स्तुप परिसर परिक्रमा गरी सेल्फीबाट तस्बिर खिचे, सामूहिक तस्बिर खिचाए।
असिनपसिन साइकलेलाई पानी खुवाउन काठमाडौं बाइक स्टेसनका बुद्ध लामा उत्साहित मुद्रामा मूलद्वारमा कुरिरहेका थिए। उद्धार तथा आवश्यक सहयोग गर्न, सूचना प्रवाह गर्न मोटरसाइकलमा दौडिरहेका नेपाल माउन्टेन बाइकका रञ्जन राजभण्डारी अन्तिम टोली लिएर आइपुगे। अन्तिम टोलीमा उद्धार तथा प्राथमिक उपचार उपकरणसहित चन्द्र आले थिए, बीचमा उनका सहकर्मी चेल्सी। अगुवा टोली थकान मेटेर मूलद्वार लागे अर्को गन्तव्य साँखु।
जोरपाटी कटेपछि हरियाली सुरु भयो। जोरपाटी साँखु सडक खण्ड पक्की छ। छोटा, ससाना उकाली–ओरालीले थोरै चुनौती तर धेरै रोमाञ्चित। रामाञ्चित मनलाई राष्ट्रिय खेलाडिको साथ पाएपछि त के, उनीहरू कोभन्दा को कम भनेर कुदाउँदा एक टोली साँखु पुगेको पत्तै पाएनन्। प्राकृतिक रूपमा साँखु सुन्दर छ तर अधिकांश घर भूकम्पले खण्डहर बनाइदिएकाले सुनसान छ।
मानिस घरवारविहीन छन्। जीवन कष्टपूर्ण छ। आफन्त, साथीभाइ, इष्टमित्र गुमाएका छन्। अन्न सबै पुरिएकोे छ। व्यापार गुमेको छ। वर्षाको कालो बादल मडारिएसँगै समस्यामा परेका स्थानीयको बोली, वचन र व्यवहारमा आत्मीयता, अनुहारमा खुसी झल्कन्छ। पुष्कर शाहले भनेजस्तै 'घर भत्किए पनि मन त भत्किएको छैन।'
खाना पाकुन्जेल केही सुस्ताए भने धेरैजसो ध्वस्त बजार परिक्रमा गर्न लागे। उपकारी मन भएकाले स्थानीयलाई भग्नावशेषका इँटा ट्रकमा भर्न सघाए। 'अरू पनि स्वयंसेवक भए यता नि पठाइदिनुस् न। हाम्रो पनि पानीले बिजोग भैरा'छ,' मलिन मुद्रामा साँखुले दाइले अनुरोध गरे।
ट्रक भरियो। संवाद राम्ररी टुंगिन नपाउँदै खाना तयार भयो भनेर बबिनजीले फोन गरे। भन्ने र सुन्ने दुवै खिन्न मुद्रामा मौन, आ–आफ्नो बाटो लाग्यौं।
साँखुको भाग्योदय उमाविमा स्थानीयले पकाएको दाल, भात, अचार र साँखुकै आलुबोडीको तरकारी खुब मिठो मानेर थपीथपी खायौं। स्थानीयसँग थोरै भए पनि दुःख–सुख साट्यौं। इतिहासिविद् प्रकाशमान दाइले साँखुको इतिहास बताए। उनले काष्ठमण्डपको नक्सांकन लीलाबज्रले गरेको सुनाए।
आधा बाटो सँगै यात्रा गरे पनि विश्व साइकल यात्री र नेपालका राष्ट्रिय खेलाडीसँग राम्ररी चिनारी भएको रहेनछ। गोलो घेरा बनाएर चिनारी गराइदिएपछि त सबका सेल्फीले पालो पाउन मुस्किल पर्योख। टीकाटालो गरी बिदाइ गरे साँखुका दाजुभाइले।
साँखुबाट सुष्मा कोइराला स्मृति प्रतिष्ठान अस्पतालबाट सालीनदी पुल तरेर मंगलटार हुँदै चाँगुतिर उकालो लाग्दै गर्दा एकातिर बाउसेले सम्याएको खेतमा 'अहिलेको वर्षा पालमै कटाउनुपर्ला, भुइँचालाले लग्यो बास पनि' भन्दै भाका हालेर धान रोप्दै गरेका रोपाहारको गीतले र अर्कोतिर ३६० डिग्री वरिपरि नै हरियाली, डाँडा, घुमाउरो बाटो, शिरदेखि पुच्छारसम्मै कमिले ताँती रंगीचंगी साइकले सहयात्री उकालो लाग्दै गरेको देख्दा ऊर्जा अझ थपियो। यहाँ सेल्फी क्लिक गर्न कोही चुकेनन्। रोमाञ्चले मात नै लगाउने यो कस्तो ठाउँ? धन्य प्रकृतिको सिर्जना।
चार किमि चुनौतीपूर्ण उकालो पार गरेपछि चाँगु पुगियो। धाप्पिएर पुगेका साइकले चिसो पेय देखेर के थामिन्थे। घुट्क्याए कोकाकोला, फ्यान्टा र बियर। केही बेर सुस्ताएपछि चाँगुनारायण परिसरमा एक घन्टा सफाइमा संलग्न हुने कार्यक्रमअनुसार सहभागी स्थानीय क्लबका रोजन थापाको नेतृत्वमा जुटे। खण्डहर मन्दिर परिसरभित्र पसेर भग्नावशेष पन्छाउन सहयोग गर्दा जीवनकै सर्वाधिक आनन्द मिल्यो।
भत्किएका बस्ती पार गरेका केही साइकलको ट्युब टाल्नै नमिल्ने गरी फुटेछन्। धेरैको अफ्ठ्यारो बेलाका लागि चाहिने पूर्व तयारीमा ध्यान दिने चलन छैन। जगेडा ट्युब उनीहरूलाई दिएँ। यात्रामा सहकार्य साइकलेको विशेषता हो।
चाँगुबाट हाम्रो गन्तव्य भक्तपुर। भक्तपुरतर्फको ओरालो बाटो यात्राभरिकै रोमाञ्चक साथै जोखिम पनि। साँघुरो घुम्तीयुक्त ओराला बाटोमा सवारी साधनको बाक्लै आवतजावत हुन्छ। सम्भावित ठाँउमा सतर्क गराउँदा गराउँदै दुई जना लडे। एक जना खुट्टा खोच्याउँदै पुनः साइकल चढे भने अर्कोलाई बुद्ध लामाको आकस्मिक उद्धार टोलीले सहयोग गर्योड।
ओरालो कटेपछि साइकलेको हुल खेतछेउमा झुम्मिएको देखेर सातो उड्यो। नियालेर हेर्दा आहा गर्मीमा क्या मज्जा भन्दै खेत रोप्न लागेका बाउसे र रोपाहारको घैंटोको ठों (जाँड) पालैपालो बुत्याउँदै रहेछन्। साइकलेको 'रानो माहुरी' बीचमा राखेर।
भक्तपुर दरबार परिसर पुगेपछि बिएमएक्स साइकलका नेपाल च्याम्पियन सन्दीप आलेले साइकल उडाएर ३६० डिग्रीमा फनक्क फन्को लाएर जमिनमा सुरक्षित अवतरण गर्ने जादु देखाए। अधिकांशले जिब्रोमात्र टोकेनन्, आँखालाई समेत विश्वास गर्न गाह्रंो पर्योा। तस्बिर खिच्नेले त वान्स मोर भनेर हैरान पारे।
भक्तपुर मध्यकालीन सहर। पाको इँटाको बाहिरी गारोमा काँचो इँटाको भित्री गारो, धमिरा लागिसकेका काठका दलिन र निदालका कच्ची संरचनाले निर्दयी झड्का के खप्न सक्थ्यो! ठाडो रहेका अधिकांश पुराना घर टेकोका भरमा छन्। भक्तपुरेको हालत विकराल छ। अधिकांश बाटो छेउछाउ घर भत्काइँदै छ। कामदार तथा सहयोगी हातको कमी देखिन्छ। जोखिमपूर्ण बाटा छिचोल्दै कोही सिद्धपोखरी, कोही ब्यासीतिर लागे। भक्तपुरे मित्रचाँहि घरपायक परेकाले पछाडि–पछाडि हुँदै अलप भए। बाँकी सानोठिमी हुँदै पाटन लागे।
पाटन पुग्दा बरुण देवताले स्वागत गरे। खासै अवलोकन गर्न पाइएन। एकै छिनको वर्षाले बाटो जलमग्न, ढलमग्न भयो। ओतमा निकै बेर बसेपछि पनि ढल बगेको बाटोबाट नागबहाल हुँदै पाटन ढोका कुपण्डा हुँदै जाने रुट पछ्याउन सकिएन। सजिलो बाटो भएर अन्तिम गन्तव्य वसन्तपुर दरबार क्षेत्र लागियो। पानीले साथीहरू पातलिए। झाँकीसहित शान्तिद्वीप प्रज्ज्वलन गर्ने कार्यक्रम भएकाले हतारिएर लाग्यौं वसन्तपुर हुँदै पुनः काष्ठमण्डप।
महाभूकम्पको एक हप्ताअगाडि मात्रै हामीले सात वटै सम्पदा परिक्रमा गरेका थियौं। दुःखका बेला पनि हामी तपार्इं कै साथमा छौं भन्ने भावनात्मक सन्देश दिई 'जनताको दरबार' भनेर चिनिने काष्ठमण्डप सत्तल पुनर्निर्माण गर्न सांकेतिक रूपमा भए पनि जनस्तरबाट सहयोग बटुल्यौं। साइकलेबाट एक लाख दुुई हजार रुपैयाँ संकलन भयो। त्यसमा थपेर एक लाख ११ हजार एक सय ११ रुपैयाँ बनाएर पुनर्निर्माण समितिलाई हस्तान्तरण गर्नेछौं।
साँझ काष्ठमण्डपमा बत्ती बालेर बाजा–गाजासहित समापनपछि घरतिर लाग्यौं, साउन २ गते काठमाडौं कोरामा भेट्ने गरी।
प्रकाशित: २५ असार २०७२ २१:५४ शुक्रबार