अन्य

अम्ब्रेला हाइकिङ

मनसुन अर्थात् वर्षा ऋतु। रमाइलो मौसम, घरि आकाशमा कालो बादल मडारिन्छ, घरि टन्टलापुर घाम लाग्छ। हेरिबस्नु पर्छ, आकाश सुन्दर देखिन्छ। कहिले इन्द्रधनुष जस्तो, कहिले दूधजस्तो अनि कहिले निख्खर कालो। गर्मी महिना भनेर के गर्नु, कुनै बेला चिसो हुन्छ, विन्डचिटर लगाउनुपर्छ।कृषिप्रधान देश नेपालका हामी नेपाली। किसानको सबैभन्दा ठूलो चाड मनसुन। मानो रोपेर मुरी फलाउने समय। कतै रोपो हरियो भइसक्यो, कतै रोपाहार असारे भाकामा छुपुछुपु रोप्दै छन्।

वैशाख १२ को महाभूकम्पले जनमानसमा त्रास बाँकी नै छ। मनसुन सुरुवातसँगै त्यो कालो क्षण बिर्सेर नेपालीहरू जीवनको लयमा फर्कंदै छन्। सहर छेउछाउका गाउँमा गयो भने राम्रोसँग देखिन्छ खेतका गरागरामा दुःखद क्षण भुलेर रोपाइँमा ओइरिएको दृश्य। कामप्रतिको लगाव र विश्वास देख्दा मन निकै प्रफुल्लित बन्छ।

मनसुनमा सेता बादल आकाशमा डुलिरहन्छन्। भुइँकुहिरो उडिरहन्छ। पानी परेर रोकिएपछिको आकाश सफा हुन्छ। निलो आकाश, सेतो बादल, चिसो बतास, कलकल गरेर बग्ने नागबेली खोला अनि सेता झरना, चराको चिरबिर र इन्द्रेणीले मनसुन मनमोहक बन्छ।

दर्के पानीमा रुझ्दै, चर्को घामसँग लुकामारी खेल्दै, कहिले हिलोमा लड्दै र आँप टोक्दै अनि किसानसँग असारे भाका गाउँदै, गोरु जोतेको हेर्दै पदयात्रा गर्न निकै रोमान्चकारी हुन्छ! कहिले पानीमा रुझ्दै त कहिले छाता ओढ्दै उकाली–ओराली गर्दा गाउँले जीवन बुझ्न सकिन्छ।

मनसुनमा माटोको सुवास पाइन्छ। त्यसैले मनसुन यात्रा किन नगर्ने? गरौं। त्यसलाई चाहे तपाईं अम्ब्रेला हाइकिङ भन्नुस् या रोपाइँ हाइकिङ अथवा म्याङ्गो हाइकिङ। यसले आन्तरिक पर्यटनमा टेवा पुर्यायउँछ। नेपाल चिनाउँछ।

भुइँचालोको ह्याङओभरबाट मुक्त हुन मनसुनमा काठमाडौं उपत्यकालाई घेरेर बसेका धेरै डाँडातिर उकालो चढ्न सकिन्छ। जता पायक पर्छ, त्यतै जाँदा राम्रो हुन्छ। चारैतिर हरियालीमा आँखा डुलाउँदा शीतल अनुभव हुन्छ। सामान्यतः मनसुनमा हिमाल खुल्दैनन्। खुलिहाले भने एकदमै सुन्दर देखिन्छन्, दूधजस्तै सेता। मनसुनको लागि केही हाइकिङ रुटहरू :

दलचोकी
ललितपुरको दक्षिणी भेकमा पर्छ, दलचोकी (२,३०० मिटर)। टीकाभैरव र दलचोकीमा मन्दिर छन्। आकाश सफा भएका बेला दलचोकीको थाप्लोबाट उत्तरमा हिमाल, काठमाडौ र पाटन देखिन्छ, पूर्व, पश्चिम र दक्षिणमा महाभारत शंृखला। दलचोकीमा बास बस्न र खाजा खान होमस्टे सुविधा छ।

लगनखेल बसपार्कबाट टीकाभैरवसम्म गाडीमा। त्यहाँबाट हिँडेर शिखर्पा, बासुकी हुदै दलचोकी मनाकामना मन्दिर पुग्ने। त्यहाँ खाजा खाएर दलचोकी टप हुँदै सानो भैंसे, मल्ल होटल भएर टीकाभैरव झर्ने। पदयात्रा दुरी १८ किमि। समय छ घन्टा। टीकाभैरवबाट गाडीमा फर्कने।

कीर्तिपुर
कीर्तिपुर पुरानो नेवार बस्ती। जहाँ पुराना मठ, मन्दिर, संस्कृति र चैत्य छन्। बजारमा नेवार खाजाघर र होटल। मातातीर्थ र मच्छेगाउँ हुँदै कीर्तिपुर हाइकिङ अविस्मरणीय हुन्छ। मातातीर्थ र मच्छेगाउँ दुवै धार्मिक तीर्थ हुन्। मातातीर्थमा आमाको मुख हेर्न औंसीमा मेला लाग्छ। मच्छेगाउँमा अहिले पुरुषोत्तममास मेला लागेको छ। त्यहाँ मत्स्यनारायण मन्दिर छ।

कलंकी हुँदै थानकोटसम्म गाडीमा। थानकोटबाट मातातीर्थ, मच्छेगाउँ हुँदै कीर्तिपुर (१,५४५ मिटर) को नयाँबजारसम्म पदयात्रा गर्ने। पदयात्रा दुरी १४ किमि। समय छ घन्टा। नयाँबजारबाट गाडीमा फर्कने।

नगरकोट
नगरकोट (२,१९५ मिटर) हिल स्टेसन। गर्मी छल्न उपयुक्त। त्यहाँबाट हिमाल देखिन्छ। होटल छन्। पुरानो नेवार बस्ती साँखु हुँदै नगरकोट यात्रा राम्रो हुन्छ। साँखुमाथि बज्रयोगिनी मन्दिर छ। बजारमा नेवार परिकार पाइने खाजा घर छन्।

काठमाडौंको पुरानो बसपार्कबाट साँखुसम्म गाडीमा। त्यहाँबाट नगरकोट पुग्ने दुई रुट छन्। पहिलो लप्सेफेदी, जहरसिंह पौवा, कात्तिके भञ्ज्याङ हुँदै १४ किमि। समय पाँच घन्टा। दोस्रो, सालीनदी पारिबाट कात्तिके भञ्ज्याङ हुँदै नगरकोट आठ किमि। समय तीन घन्टा। नगरकोटबाट गाडीमा फर्कने।

आशापुरी
भक्तपुर र काभ्रेको सीमामा आशापुरेश्वर (१,४०० मिटर) महादेव मन्दिर छ। मनको आशा पुर्याञइदिने देवताको रूपमा पुजिन्छ। डोलेश्वर हुँदै आशापुरेश्वर भएर साँगाको अग्लो कैलाशनाथ महादेवसम्म पदयात्रा गर्न सकिन्छ। तीन वटै मन्दिर हातामा खाजाघर छन्। फूलपाती बेच्ने पसल पनि। भक्तपुुरको सूर्यविनायकसम्म गाडीमा। सूर्यविनायक दर्शन गरेर हिँडे एक घन्टामा डोलेश्वर पुगिन्छ।

डोलेश्वर दर्शनपछि उकालो चढ्ने अढाइ घन्टामा आशापुरेश्वर पुगिन्छ। फर्कंदा उत्तरको कच्ची बाटो हुँदै साँगा निस्कने। पदयात्रा दुरी १७ किमि। समय छ घन्टा। साँगाबाट गाडीमा फर्कने।

इन्द्रदह
काठमाडौंको इन्द्र दह (१,८५०मिटर) मा इन्द्रजात्रामा मेला लाग्छ। इन्द्रले नुहाएको दह भएकले इन्द्रदह भनिएको हो। त्यहाँ कालु पाण्डेको शिर गाडिएको ठाउँ छ। दहबाट पूर्वमा काठमाडौं, पश्चिममा धादिङ, उत्तरमा हिमाल र दक्षिणमा चन्द्रागिरि देखिन्छ।

कलंकी हुँदै नैकाप भञ्ज्याङसम्म गाडीमा जाने। त्यहाँबाट पुरानो नैकाप हुँदै इन्द्रदह पुग्ने। दहमा खाजा खाने। गुम्बा भएर थानकोट निक्लन १४ किमि। समय पाँच घन्टा। थानकोटबाट गाडीमा फर्कने।

लेले मनकामना मन्दिर
ललितपुरको लेले उपत्यकामा पनि मनकामना मन्दिर छ। मनोकांक्षा पुर्यागइदिने देवी। ललितपुरको टीकाभैरवसम्म गाडीमा। टीकाभैरवबाट सिधा मोटर बाटो हिँड्ने, एक घन्टामा लेले सरस्वती कुण्ड। कुण्डबाट लेले उपत्यकाको पूर्वी कुनाको मन्दिर पुग्न एक घन्टा। मनकामना मन्दिरबाट बडिखेलमाथि देउरालीसम्म उकालो चढ्न दुई घन्टा। देउरालीबाट पूर्व जंगलबीचबाट उकालो आधा घन्टा हिँडे टप (१,८०० मिटर) मा पुगिन्छ।

डाँडाबाट हरियाली, हिमाल र काठमाडौं भ्यु देखिन्छ। त्यहाँबाट पूर्व देउरालीसम्म तेर्सो हिँड्ने र दुई घन्टा ओरालो झरे गोदावरी। तर पानी पर्ने मौसम भएकाले डाँडा नचढ्ने। गएकै बाटो फर्कने। पदयात्रा दुरी १६ किमि। समय छ घन्टा। टीकाभैरवबाट गाडीमा फर्कने।

फर्पिङ पावर हाउस
फर्पिङको पावर हाउस (१,५०० मिटर) नेपालको पहिलो पावर हाउस हो। जुद्ध शमशेरले बनाएका। पावर हाउसको माथि पानी जम्मा गरिएको पोखरीसम्म पदयात्रा गर्ने।

ललितपुरको सातदोबाटोसम्म गाडीमा। त्यहाँबाट हिँडेर नख्खु खोला तरेपछि बुङ्मती हुँदै फर्पिङ पावर हाउस पुगिन्छ। फर्कंदा सेतीदेवी खोकना हुँदै सातदोबाटोसम्म हिँड्ने। खोकना र बुङ्मती गुचुमुच्च नेवार संस्कृति भएका बस्ती हुन्। त्यहाँ मठ मन्दिर र देवालय र तोरी पेल्ने मिल हेर्न पाइन्छ। पदयात्रा दुरी १६ किमि। समय चार घन्टा। सातदोबाटोबाट गाडीमा फर्कने।

सन्तानेश्वर
ललितपुरको सन्तानेश्वर (१,८००मिटर) महादेव दर्शन गरे सन्तान प्राप्ति हुन्छ भन्ने विश्वास। डाँडाको मन्दिरबाट चारैतिर सुन्दर दृश्य देखिन्छ। बज्रवाराही हुँदै त्यहाँसम्म पुग्नु राम्रो हुन्छ। हाइकिङ रुटमा पर्ने नागदहमा नागपञ्चमीका दिन मेला लाग्छ। धापाखेलमा अवस्थित दहमा डुंगा चढ्न पाइन्छ। दह वरिपरि आधुनिक रेस्टुरेन्ट छन्।

ललितपुरको नेवार बस्ती चापागाउँसम्म गाडीमा। त्यहाँबाट एक घन्टामा बज्रवाराही। बज्रवाराही दर्शनपछि उत्तर लागे डेढ घन्टामा सन्तानेश्वर। सन्तानेश्वर दर्शनपछि झरुवारासी, नागदह हुँदै सातदोबाटोसम्म हिँड्ने। पदयात्रा दुरी १५ किमि। समय पाँच घन्टा। सातदोबाटोबाट गाडीमा फर्कने।

भीमढुंगा
काठमाडौंको भीमढुंगा शीतल छ। चक्रपथको सीतापाइलाबाट भीमढुंगा बसपार्कसम्म गाडीमा जाने। माथि बसपार्कबाट जालपादेवी, भीमसेनस्थान, महेशनारायण, थाप्ले, भीरकोट, गुम्बा, शक्ति बल्लेश्वर हुँदै लक्ष्मेश्वरसम्म १६ किमि पदयात्रा। समय ६ घन्टा।

तामाङ बस्ती थाप्ले (२,००० मिटर) मा होमस्टे सुविधा छ। गाउँमा खाजा घर छन्। आकाश सफा हुँदा दक्षिणतिर दहचोक, पूर्वमा काठमाडौं बजार, उत्तरमा नागार्जुन र पश्चिममा धादिङ देखिन्छ। भीमढुंगा पार्कबाट गाडीमा फर्कने।

नमोबुद्ध
गौतम बुद्ध (१,७५० मिटर) को पूर्वजन्म भएको ठाउँ हो काभ्रेको नमोबुद्ध। त्यहाँ गुम्बा, चैत्य र बौद्ध मन्त्र लेखिएका झन्डैझन्डा छन्। वरपर होटल तथा रेस्टुरेन्ट छन्। त्यहाँबाट हिमाल देखिन्छ। धुलिखेलबाट नमोबुद्ध हुँदै पनौतीसम्म पदयात्रा गर्न सकिन्छ। धुलिखेल र पनौती नेवार बस्ती हुन्। दुवै ठाउँमा मन्दिरै मन्दिर छन्।

काठमाडौंबाट धुलिखेल बसपार्कसम्म गाडीमा। त्यहाँबाट गौखुरेश्वर महादेव हुँदै या ठाडो उकालो काभ्रेकोट, कालीमन्दिर भएर नमोबुद्ध पुगेर पनौती झर्ने। पदयात्रा दुरी २० किमि। समय छ घन्टा। पनौतीबाट गाडीमा फर्कने।

मणिचुड
काठमाडौंको साँखुमाथि रहेको मणिचुड (२,००० मिटर) धार्मिक क्षेत्र हो। त्यहाँ जनै पूर्णिमामा मेला लाग्छ। डाँडामा खाजा पसल छैन। साँखुसम्म गाडीमा जाने। त्यहाँबाट एक घन्टा उकालो चढे बज्रयोगिनी। मन्दिरबाट उत्तर उकालो लागे स्कुस गाउँ हुँदै शिवपुरी निकुञ्ज प्रबेश। २० मिनेटमा चिसोपानी जाने सडक भेटिन्छ। चिसोपानी नलागी गोरेटो उकालिएको केही बेरमा मणिचुड।

फर्कंदा मूलबाटो झरेर पश्चिम लाग्ने। दुई घन्टामा सुन्दरीजल बाँध। बाँधबाट बसपार्क। पदयात्रा दुरी १७ किमि। समय छ घन्टा। सुन्दरीजलबाट बसमा फर्कने।

सुन्दरीजल
काठमाडौंको महाराजगन्ज हुँदै बुढानीलकण्ठसम्म गाडीमा। त्यहाँबाट नागी गुम्बा, तारेभीर, बागमती हुँदै सुन्दरीजल बसपार्कसम्म पदयात्रा। अथवा सुन्दरीजलबाट सुरु गरेर बुढानीलकण्ठ पुग्ने। सुन्दरी जलमा झर्ना आकर्षक देखिन्छ। बुढानीलकण्ठमा खाजाघर छन्। सुन्दरीजल (१,४०० मिटर) मा होटल छन्। बुढानीलकण्ठमा विष्णु र कृष्ण मन्दिर छन्। गुम्बा, तारेभीरबाट काठमाडौं, ललितपुर र भक्तपुरको राम्रो दृश्य देखिन्छ।

पदयात्रा दुरी १८ किमि। समय छ घन्टा। सुन्दरीजलबाट गाडीमा फर्कने।

चित्लाङ
मकवानपुरको चित्लाङ (१,४०० मिटर) एउटा सानो उपत्यका हो। त्यहाँ मन्दिर, चैत्य छन्। तरकारी राम्रो उत्पादन हुन्छ। गाउँमा होमस्टे सुविधा छ। केही होटल पनि छन्। चित्लाङबाट मार्खु हुँदै इन्द्रसरोवर पुगिन्छ।

थानकोट गोदामसम्म गाडीमा। गोदामबाट दुई घन्टा ठाडो उकालो चढे चन्द्रागिरि भञ्ज्याङ पुगिन्छ। सिधा पश्चिम मोटर बाटो हिँड्ने। चित्लाङ पुगेर त्यही बाटो थानकोट फर्कंदा २४ किमि। समय सात घन्टा। दक्षिण गोरेटो जंगल बाटो लागे भालेश्वर मन्दिर, फाखेल हँुदै मातातीर्थ पुगिन्छ तर बर्खाको मौसम भएर जंगल बाटो हिँड्दा बाटो चिप्लिने र जुका लाग्ने हुन्छ। थानकोटबाट गाडीमा फर्कने।

जातिपोखरी
ललितपुरको जातिपोखरी (२,००० मिटर) मा ठूलो चौर छ। त्यहाँबाट काठमाडौं उपत्यका छर्लङ्ग देखिन्छ। आकाश खुलेका बेला हिमाल पनि देखिन्छ।

बल्खु भएर दक्षिणकाली मन्दिरसम्म गाडीमा। मन्दिरको ठाडो उकालो चढेर आमा थान, दक्षिण मनकामना, गोलपोखरी, चौकटदेवी, खोर्पा भञ्ज्याङ हुँदै जातिपोखरी पुग्ने। त्यहाँ खाजा खाएर राम्चे भञ्ज्याङसम्म हिँड्ने। पदयात्रा दुरी १५ किमि। समय पाँच घन्टा। राम्चेबाट गाडीमा फर्कने।

फूलचोकी
काठमाडौं उपत्यकाको सबैभन्दा अग्लो डाँडा फूलचोकी (२,८००मिटर)। डाँडामा मन्दिर र चैत्य छन्। त्यहाँबाट काठमाडौं उपत्यका र हिमाल राम्रो देखिन्छ। तर, माथि होटल र खाजा घर छैन।

ललितपुरको गोदावरीसम्म गाडीमा। गोदावरी कुण्डबाट सिधा मोटरबाटोको फराकिलो उकालो चढ्ने। फूलचोकीसम्म कच्ची सडक छ। तीन घन्टामा उकालो चढे फूलचोकी पुगिन्छ। फर्कंदा गएकै बाटो फर्कने। जंगलको बाटो हिँडे पनि हुन्छ तर वर्षायाम भएकोले जंगलको बाटो नहिँड्ने। पदयात्रा दुरी १८ किमि। समय सात घन्टा। गोदावरीबाट गाडीमा फर्कने।

त्रिशूलडाँडा
भक्तपुरको तेलकोट र चाँगुनारायणको बीचमा त्रिशूल डाँडा (१,६५० मिटर) छ। धार्मिकस्थल। साँखु बसपार्कसम्म गाडीमा जाने। त्यहाँबाट पूर्व–दक्षिण खेतको बाटो हिँडे एक घन्टामा पञ्चलक्ष्मी मन्दिर पुगिन्छ। मन्दिरबाट अर्को एक घन्टा उकालोमा तेलकोट भञ्ज्याङ। भञ्ज्याङबाट पश्चिम एक घन्टामा त्रिशूलडाँडा।

डाँडाबाट चार किमिमा चाँगुनारायण मन्दिर। विश्व सम्पदा सूचीमा परेको चाँगु वैशाख १२ को भुइँचालोले भत्किएको छ। फर्कंदा चाँगुबाट उत्तर ओरालो झरे एक घन्टामा इन्द्रायणी। पदयात्रा दुरी १४ किमि। समय छ घन्टा। इन्द्रायणीबाट गाडीमा फर्कने ।

प्रकाशित: २५ असार २०७२ २१:५१ शुक्रबार