अन्य

जोकोभिच उपाधि नजिक

लन्डन- साबिक विजता नोभाक जोकोभिच शुक्रबार रिचार्ड गास्क्वेटलाई हराउँदै विम्बल्डन टेनिस च्याम्पियनसिपको फाइनलपुगेका छन्। पाँच वर्षमा उनको यो चौथो फाइनल हो।अल इङ्ल्यान्ड क्लबको सेन्टर कोर्टमा सर्बियाली स्टार जोकोभिचले फ्रान्सेली खेलाडी गास्क्वेटलाई ७–६(२), ६–४, ६–४ को सेटमा पराजित गरेका हुन्।

'कुनै कुनै समयबाहेक आजको प्रदर्शन धेरै राम्रो थियो,' जोकोभिचले भने।

बायाँ पाखुरामा समस्या झेलिरहेका जोकोभिचले दोस्रो सेटमा दुईपटक उपचार गराएका थिए। तर, १७ ग्रान्डस्लामको फाइनल पुगेका जोकोभिचतेस्रो सेटमा पूर्ण फिट देखिएका थिए।

'यसमा कुनै चिन्ता गर्नुपर्दैन,' जोकोभिचले भने, 'अर्को खेलसम्म यो ठिक हुन्छ।'

शीर्ष वरीयताप्राप्त जोकोभिचले तेस्रोपटक विम्बल्डन र नवौं ठूलो उपाधि उचाल्नबाट एक जित टाढा छन्।

'पक्कै पनि विश्वकै प्रख्यात टेनिस कोर्टमा विम्बल्डनको उपाधि उचाल्ने सपना हुन्छ,' जोकोभिचले भने, 'मैले राम्रो खेल्ने प्रयास गरेको छु र अर्को ठूलो प्रतियोगिताको फाइनलमा पुग्दा खुसी लागेको छ।'

२००७ मा पनि सेमिफाइनल पुगेका गास्क्वेट विश्व नम्बर एक जोकोभिचसँग हारेको यो लगातार १५औं खेल हो।

प्रकाशित: २५ असार २०७२ १९:३८ शुक्रबार