अन्य

सुन लुट्ने तीन युवकलाई ६ वर्ष कैद

खोटाङ– जिल्ला अदालत खोटाङले सुन लुटेको आरोपमा पक्राउ परेका तीन युवकलाई जरिवाना सहित कैंद सजाय सुनाएको छ। सामूहिकरुपमा सुन लुट्ने दिक्तेल नगरपालिका–६ का २७ वर्षीय सुबर्ण राई, दिक्तेल नगरपालिका–९ का १८ वर्षीय युवक राई र रतन्छा–३ का १८ वर्षीय दिपेन्द्र राईलाई जिल्ला न्यायाधीश ईश्वरीप्रसाद गौतमको एकल इजलासले जनही ६/६ वर्ष कैंद र ४२ हजार एक सय ५० जरिवानाको फैसला सुनाएको हो।सुन लुटेको आरोपमा वर्ष दिनअघि अबैध हतियार सहित पक्राउ गरेर पुर्पक्षकालागि कारागारमा राखिएका तीन युवकलाई अदालतले फैसला सुनाएको अदालतका तामेल्दार डिठ्ठा प्रल्हाद थापाले बताए।

रातको समयमा आँखामा टर्च बालेर रतन्छा–३ पिनालाखाका मनसेर राईको सुन र नगद लुटेको आरोपमा उनीहरु अघिल्लो वर्ष असार–२० गते पक्राउ परेका थिए। सुन र नगद लुटेपछि फरार रहेका उनीहरुलाई एक थान कटुवा पेस्तोल, सो को दुई थान गोली, लुटिएको सुनको सिक्री र नगद तीन हजार सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सुबर्णको योजनामा मुखमा कालोपट्टी बाँधेर गएको ५ जनाको समूहले अघिल्लो वर्षको असार–१७ गते राती राईको आँखामा टर्च देखाएर अलमलाउँदै घाँटीको दुई तोला सुनको सिक्री र ५० हजार नगद डाँका गरी लुटेको प्रहरीको भनाई छ।

घटनामा संलग्न अन्य दुई जनाको पहिचान भइसके पनि पक्राउ पर्न सकेका छैनन्। फरार रहेका कारण उनीहरुको मुद्धा मुलतबीमा राखिएको तामेल्दार डिठ्ठा थापाले जनाए।

प्रकाशित: २२ असार २०७२ ०५:१३ मंगलबार