अन्य

भेँडीगोठमै बित्यो जोवन

लमजुङ- 'फूल फुलेर पहेंलै भयो, आधी उमेर हाँसखेलमै गयो, आधी उमेर मायालाई भयो...।'
घलेगाउँका ६० वर्षीय केशबहादुर गुरुङलाई आफ्नो पुरानो मोडेलको नोकिया मोबाइलको मेमेरीकार्डमा भएको यो लोकगीत असाध्यै मनपर्छ, गाउँका भाइछोरा कसैले उनको मोबाइलमा राखिदिएको यो गीत हिजोआज उनी दिनहुँजसो सुन्ने गर्छन्।

गीतको शब्द र भावसँग उनको जीवनको लय कहीँकतै मिल्दै मिल्दैन, तैपनि यो गीत सुनेपछि उनलाई रमाइलो लाग्छ रे। गीतको शब्दले उनलाई छोयो कि लय र संगीतले त्यो स्वयं केशबहादुरलाई पनि थाहा छैन तर यो गीत साह्रै मनपर्ने उनी बताउँछन्।

यथार्थमा, न उनको जीवनको फूल फुलेर कहिल्यै पहेंलपुर भयो, न उनको बैंस कहीँकतै हाँसखेलमा बित्यो, न त उनको उमेरको कुनै हिस्सा आफ्नी मायालुलाई नै भयो। बरु, उनको ६० वर्षे जीवनको झन्डै–झन्डै सिंगै हिस्सा २१ सय मिटर माथिका अनगिन्ती लेक र खर्कहरुमा सयौं भेंडाबाख्रा र दजनौं जङ्गी कुकुरहरुसँग बित्यो।

सँगैका साथीसंगीमध्ये कोही ब्रिटिस त कोही भारतीय लाहुरे बने, कोही पढलेख गरेर जागिर खाँदैछन्, त कोही गाउँको विकासमा जुटेका छन्। उनकै छिमेकी नायुँ गाउँका उनीभन्दा कान्छा शेष घले अस्टे्रलिया पुगेर विश्वकै धनीमध्येका रुपमा दरिँदैछन्, उनकै उमेरका छिमेकी घनपोखरा गाउँका हेमजङ्ग गुरुङ अहिले राप्रपाका सहमहामन्त्री छन्, अनि झन्डै उनीसरहकै उनकै गाउँले बालसंगी प्रेम घलेले घलेगाउँलाई विश्वमै चिनाइसके। तर उनलाई ती सबैको बारेमा उतिसारो भेउ छैन, उनी त केवल जीवनभर भेँडीगोठका तियाले (हेरालो) बनिरहे, बनिरहेका छन्।

उनीसरहका अरु जो जे–जे बने, ती अधिकांश शहरबजारमा आलिसान बंगला बनाएर सुख सुविधामा रमाउँदैछन्। तर उनको जीवन शहरबजारसम्म त परको कुरा, गाउँसम्म पनि फर्किएको छैन। उनको संसार भन्नु नै तिनै लेकाली खर्क र वनपाखा, सम्पत्ति भन्नु कम्मरमा भिरेको खुर्पेटो, हँसिया, नुन र टिम्मुरको पोको, काँधमा कहिल्यै नटुट्ने बख्खु, अनि सक्कली आफन्त भन्नु नै तिनै भेँडाबाख्रा र जङ्गी कुकुरहरु।

नौ वर्षको कलिलै उमेरमा हँसिया, खुर्पेटो, बख्खु अनि भेँडाबाख्रा, कुकुर र खर्कहरुसँग गाँसेको साइनो अझै उनले भेंडा चराउने भ्रोंजे र कोम्दी खर्कको पहरो जत्तिकै बलियो छ। 'खै, कुन्नि त, ९ वर्षकै छँदा गोठतिर पस्यो,' केशबहादुर गुरुङ लवजमा बताउँछन्, 'यही काम जान्यो, वनवनै हिँड्यो, वनमै खायो, आहिलेसम्म यतै रमायो त।' आफू, पत्नी, २ छोरा र २ छोरी गरी ६ जनाको परिवार पनि छ उनको।

औंसीपूर्णिमा जस्तै आक्कल–झुक्कल बस्छन् परिवारसँग। उनको भनाइ सुन्दै गर्दा, परिवारको भन्दा पनि भेँडाबाख्राको माया पो बढी हो कि झैं लाग्ने। गएको चैतवैशाखमा उनको गोठका साढे ४ सयमध्ये झडै ३ सय बढी भेँडा रोग लागेर मरे। वर्षाैंदेखिको भरिभराउ गोठ उनलाई असाध्यै शुन्य र बिरानो लागेको बताउँछन्। ५० वर्षे गोठ बसाइको सबैभन्दा नरमाइलो दिन बेहोरेको उनले बताए।

बिहानै उठेर गोठको सरसफाइ, भेँडालाई कुँडोपानी, बिरामी, सुत्केरी वा ब्याउने भेँडी र बाख्रीहरुको स्याहारसुसार, घाँसपात, दबाइमुलो, बेलाबखत ऊन काट्ने र आफ्नो खानाको जोहो। दिनभर जंगलमा भेँडाबाख्रासँगै कुद्ने, कहिले बाघले भेँडाबाख्रालाई दच्काउँछ, कहिले मारी नै हाल्छ, उता, स–साना पाठापाठीलाई स्याल र चितुवाले खाइदेला भन्ने चिन्ता।

कहिलेकाहीँ साथी पनि हुन्छन् उनीसँग, तर उनका भरपर्दा साथीहरु चाहिँ झ्याप्ले, काले, डल्ले र भुन्टे नै हुन्। उनीहरु भेँडाको बगाललाई वरिपरिबाट घेरेर बस्छन्, स्याल, बाघ, भालु र चितुवाको सुइको पाए एक स्वरले भुक्छन् र उठाउँछन् केशबहादुरलाई। उनीहरु दुवैथरि मिलेर बाघभालुलाई लखेट्छन्। 'हामी त एउटै घरको जहान हो नि,' उनी बताउँछन्, 'म भएन भने यिन्हारु डराउँछ, अनि यिन्हारु भएन भने मलाई पनि आँट आउँदैन।'

जेठ १५ देखि असार १५ सम्म घनपोखरादेखि माथिको नल्युँ, भ्रोंजे, कोम्दी, घराङ, डेरीक्यु, ढोमे, कल्मा, प्रोबिमोसी कास्कीको सिमानासम्म भेंडीगोठ लैजान्छन् भने, असार १५ देखि साउन १५ सम्म फर्काएर रुस्तुँ, मैवो, क्युपारका खर्कहरुमा चराउने गर्दछन्। साउन १५ देखि असोज १५ सम्म म्हिजे, नागन, खिंह्वी, ठूलो नागन क्षेत्रका हिमाली खर्कमा र असोज १५ देखि वैशाखसम्म तल्लो खर्कहरु पाप्रोप्हें, मिजुलें, घारन, नायुँ, घलेगाउँको डाँडो लगायतका क्षेत्रमा गोठ सार्ने चलन रहेको केशबहादुर बताउँछन्।

पर्यटकीय घलेगाउँका स्थानीयले वर्षौंदेखि सामुहिक भेँडापालन गर्दै आएकोमा केशबहादुरलाई हेरालोको जिम्मा दिँदै आएका छन्। भेँडापालनबाट स्थानीयले ऊन र मासुबाट मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् भने हेरालोलाई पनि पारिश्रमिक दिँदै आएका छन्।

भेँडीगोठको आम्दानीबाट हेरालोले परिवार धान्दै आएका छन्। घलेगाउँ, घनपोखरा र भुजुङ्ग गाउँ सबैले आ–आफ्नै तरिकाले भेँडापालन गरेका छन्। भेँडीगोठ र भैंसीगोठ राख्ने परम्परागत चलन यी गाउँहरुमा अझै पनि जीवितै छ। यी उच्च पहाडी गाउँको आम्दानीको भरपर्दो स्थानीय स्रोत पनि हो सामुहिक पशुपालन।

प्रकाशित: २१ असार २०७२ २०:०५ सोमबार