रौतहट— रौतहटमा एक महिलाको घाँटी रेटेर हत्या भएको छ। पचरुखी–२ छतौना टोलका बली ठाकुर हजामकी ३० वर्षीया श्रीमती रञ्जुदेवी ठाकुरको आइतबार साँझ हत्या भएको हो।
श्रीमान्, सासुससुरा, कान्छी श्रीमती मिलेर ब्लेडले रञ्जु सुत्ने कोठामा घाँटी रेटेर हत्या गरी परिवारका सबै सदस्यहरु फरार भएको प्रहरीले जनाएको छ। हत्यापछि ढोका बन्द गरेर परिवारै भागेका थिए। छिमेकी थाहा पाई राति इलाका प्रहरी कार्यालय गंगापिपरालाई जानकारी गराएका थिए।
मृतक महिलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको छ। घटनाबारे मृतक महिलाको माइती सर्लाही जिल्ला बहादुरपुर गाविस ९ बस्ने बुवा जगरनाथ ठाकुर हजामलाई जानकारी गराइएको प्रहरी निरीक्षक रामप्रकाश चौधरीले बताए।
प्रहरी निरीक्षक चौधरीका अनुसार बली ठाकुर, कान्छी सौता सीतादेवी ठाकुर, ससुरा समारु ठाकुर, देवर अजय ठाकुर मिलेर रञ्जुको हत्या गरी फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
ठाकुरले भारत बिहार सितामढी जिल्ला बसबिटा गाउँबाट दोश्रो विहे गरी सितालाई घर भित्रयाएको र दुवै श्रीमतीबाट पाँच वटा छोराछोरीहरु रहेको बताइएको छ।
'हामी घटनाको गहन अनुसन्धान गर्दैछौं। दुई श्रीमती भएका कारण पारिवारिक विवादमा रञ्जुको हत्या भएको हुनसक्छ', जिल्ला प्रहरी कार्यालयका डिएसपी शाहीले भने, 'महिला हिंसाका घटना प्रति हामी सचेत छौं । दोषीलाई कानूनी दायरामा ल्याएर चाडै कारवाही गर्छौं।'
प्रकाशित: २१ असार २०७२ ०२:२४ सोमबार