अन्य

कुखुराको विषयमा विवाद हुँदा भान्जाद्वारा मामाको हत्या

परासी—नवलपरासीको देवचुली नगरपालिका–४ परानपुरमा आइतबार बिहान भान्जाले आफ्नै मामाको हत्या गरेका छन्। कुखुराको विषयमा विवाद हुँदा ३५ वर्षका भान्जा गुनबहादुर आलेले करिब ६० वर्षका मामा तेजबहादुर पुलामीलाई कैँचीले प्रहार गर्दा गम्भीर घाइते भएका थिए।

घाइते पुलामीको उचारका क्रममा दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक पर्शुराम तिवारीले जानकारी दिए।

यस्तै घटनामा परी मृतकका ३२ वर्षका छोरा मनबहादुर पुलामी घाइते भएको र भरतपुरमा उपचार भइरहेको छ । घटनापछि तत्कालै प्रहरी घटनास्थलमा पुगी भान्जा आलेलाई नियन्त्रण लिएको र घटनाका बारेमा अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक तिवारीले बताए।

प्रकाशित: २१ असार २०७२ ०२:११ सोमबार